नेभिगेशन
राजनीति

रमेश लेखकले दिए बयान, ओलीमाथि दबाब

जाँचबुझ आयोगले ओली र लेखकको बयान कहिले लिन्छ ? बयान दिन गएनन् भने आयोगले के गर्ला ? 

पछिल्लो दिनमा धेरैको मनमा उठेको जिज्ञासा हो । आइतबार त्यसको आधा जवाफ मिलेको छ । 

तत्कालिन गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा गएर बयान दिएका छन् । उनले इन्कारी बयान दिएका छन्, तर आयोगमा उपस्थित हुने उनको कदमले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि दबाब बढेको छ । 

तत्कालिन गृहमन्त्री रमेश लेखकले आयोगले सोधेका प्रश्नहरुको विषयमा लिखित रुपमा ६ पेज लामो बयान दिएका छन् । उनको बयानको सार छ, भदौ २३ गते त्यति धेरै मान्छे मारिनुमा मेरो कुनै दोष छैन, घुसपेठ भएका कारण सुरक्षाकर्मीले परिस्थिति हेरेर आफैं बल प्रयोग गरेका हुन् । 

तत्कालिन गृहमन्त्री लेखकका अनुसार उनले भदौ २२ गते साँझ ६ बजे सुरक्षा समितिको बैठक बोलाएका थिए । 

त्यहाँ आफूले कुनै पनि हताहती नहोस्, यसबारे सचेत रहनुहोला, सावधानी अपनाउनुहोला भनेको लेखकले आफ्नो बयानमा खुलाएका छन् । अनि सबै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । 

कुनै पनि राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्छ, प्रदर्शनमा घुसपेठ पनि हुन सक्छ भनेर सतर्क गराएको पनि पूर्वमन्त्री लेखकले बताएका छन् । त्यसपछि भदौ २२ गते साँझ नै तीनवटै सुरक्षा प्रमुखलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको उनको बयान छ । 

बालुवाटारबाट छुट्टिने बेला पनि सबै सुरक्षा निकायले समन्वयमा काम गर्नुहोला, कुनै क्याजल्टी नहोस् भनेर प्रधानमन्त्री र आफूले भनेको लेखकले बताएका छन् । 

भदौ २३ गते बिहान पनि आफूले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई फोन गरेर हताहती नहोस् है ख्याल गर्नुहोला भनेको उनले बताएका छन् । 

लेखकले प्रदर्शनमा ब्यापक घुसपेठ भएको र जेनजीको प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्वहरुले हाइज्याक गरेको टिप्पणी गरेका छन् ।  

उनका अनुसार धमिलो पानीमा माछा मार्न चाहने तत्वले जेनजीको भावनामाथि खेलेर सुनियोजित रुपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएको हो । बानेश्वरमा प्रदर्शन उग्र भएपछि आफूले प्रधानमन्त्री, रक्षामन्त्री र नेपाली सेनाको प्रधान सेनापतिलाई जानकारी गराएको लेखकले बताएका छन् । 

भदौ २३ गते युवाहरुको ज्यान गएको र कैयौं घाइते भएपछि आफू मर्माहत भएको र गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिएर राजीनामा गरेको उनले बताएका छन् । 

जेनजी आन्दोलनमा भदौ २३ गते एकै दिन प्रहरीको गोली लागेर २२ जनाको मृत्यु भयो । त्यतिबेला सरकारको नेतृत्व ओलीले गरेका थिए भने गृहमन्त्री लेखक । घटना भएकै साँझ लेखकले राजीनामा दिएका थिए ।

लेखकका अनुसार कुनै पनि कानुनले बल प्रयोग गर्न निर्देशन दिने अधिकार र गृहमन्त्रीलाई दिएको छैन । त्यसैले आफूले पनि बल प्रयोग गर्न आदेश पनि नदिएको उनको जिकिर छ ।

प्रधानमन्त्रीलाई समेत बल प्रयोग गर्ने कि नगर्ने भन्ने कुराको जिम्मेवारी र ज्ञान नहुने लेखकले बताएका छन् । 

बरु प्रदर्शनका बेला शान्ति सुरक्षा कायम गर्ने क्रममा आवश्यकता हेरेर सुरक्षा निकायले नै बल प्रयोग गर्ने उनको दाबी छ । 

प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने कसरी गर्ने कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने विषय सुरक्षा निकायले परिस्थिति विश्लेषण गरेर निर्धारण गर्ने तत्कालीन गृहमन्त्री लेखकले बयानमा बताएका छन् । 

स्थानीय प्रशासन सम्बन्धी ऐन तथा अन्य कानुनले पनि सुरक्षा निकायलाई त्यसको निर्क्योल गर्ने अधिकार दिएको उनको भनाइ छ । 

लेखकले भदौ २४ गतेको तोडफोड र आगजनी तत्कालिन घटनाबाट उत्पन्न रिस र आवेगको उपज मात्र नभएको बताएका छन् । त्यो पूर्वतयारीका साथ सुनियोजित रुपले गरिएका आक्रमण, तोडफोड र आगजनीका घटना हो । 

भदौ २४ गतेको घटनालाई युवाको मागभन्दा पृथक ढंगले हेर्नुपर्ने र आपराधिक कार्यमा संलग्नलाई कारबाही गर्ने लेखकले बताएका छन् । 

यसरी हेर्दा तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रधानमन्त्री ओलीको भनाइको सारमा ठूलो अन्तर छैन । ओलीले पनि सार्वजनिक रुपमा यस्तै धारणा राख्ने गरेका छन् । गोली चलाउन आदेश आफूले नदिएको, जेनजी आन्दोलनमा घुसपैठ भएको र यो सुनियोजित भएको ओलीले पटक पटक भनिसकेका छन् । 

यद्यपि आयोगमा गएर बयान दिने तत्कालीन गृहमन्त्री लेखकको कदमलाई चाहिँ सकारात्मक मान्नुपर्छ । 

किनकी तत्कालीन प्रधानमन्त्री ओलीले सुरुदेखि नै भन्दै आएका छन्, म बयान दिन जान्न । उनले आफू मात्र नजाने बताएनन्, कांग्रेस सभापति शेरबहादुर देउवामार्फत लेखकलाई पनि रोक्न प्रयास गरेका थिए ।

ओलीसँग भेट भएपछि देउवाले लेखकलाई पनि नजान भनेका थिए । तर कांग्रेस नेताहरुले लेखकलाई त्यसो नगर्न सुझाए । आयोगमा गएर बयान दिनु नै उपयुक्त हुन्छ भनेर सल्लाह दिएपछि लेखक आयोग पुगेका हुन् । 

यसले ओलीमाथि पनि दबाव पर्ने छ । जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार तत्कालिन गृहमन्त्री रमेश लेखकले एकसरो आफ्नो कुरा राखेका छन् । आयोगसँग उनलाई सोध्नुपर्ने अरु प्रश्नहरु पनि छन् । 

त्यसपछि मात्र तत्कालीन प्रधानमन्त्री ओलीलाई बोलाइने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति