रेनुको विवादित जित, ८ वर्षको काम र चितवन-३ मा परीक्षा
२०७४ साल जेठ १४ गते, राति पौने १२ बजे । भरतपुरको प्रर्दशनी केन्द्रमा भरतपुर महानगरपालिकाको मतगणना चलिरहेको थियो ।
बाहिर एमाले कार्यकर्ताको उपस्थिति बढ्दो थियो । किनकी एमाले उम्मेदवार देवी ज्ञवाली जित उन्मुख देखिएका थिए ।
करिव ११ः५२ बजे निर्वाचन अधिकृत उठेर शौचालयतिर लागे । लगत्तै एउटा मतगणना स्थलमा विवाद भयो । प्रहरीले त्यता ध्यान दिँदा अर्को मतगणना स्थलमा एक अनधिकृत व्यक्ति प्रवेश गरेर मतपत्र च्याते ।
उनलाई नियन्त्रणमा लिइनसक्दै अर्को स्थलमा फेरि गणना गरेर राखेको मतपत्रको मुठा नै च्यात्न खोजियो । निर्वाचन अधिकृतकै शब्दमा भन्ने हो भने मतगणना स्थल रणभूमितुल्य भयो ।
मतपत्र च्यातेको करिव २ महिनापछि मतपत्र च्यात्नेहरु पक्राउ परे, वडा नम्बर १९ मा पुनः मतदान भयो । तर हार्दै गरेकी रेनु २०३ मत अन्तरले मेयर निर्वाचित भइन्, जित्दै गरेका देवी ज्ञवाली पराजित भए ।
पहिलो पटक निकै विवादित तरिकाले मेयर बनेकी रेनुले दोस्रो पटक करिव १२ हजार मतान्तरले चुनाव जितिन् । तर ५ वर्ष कार्यकाल पुरा नहुँदै मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा जुटेकी छन् ।
माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी हुन् रेनु । जब २०५२ सालमा माओवादीले सशस्त्र विद्रोह सुरु गर्यो, प्रचण्ड मात्र होइन, रेनु पनि भूमिगत भइन् । उनका अनुसार २०५१ सालमै उनले पार्टीको सदस्यता लिएकी थिइन् । एसएलसी दिएपछि पार्टी राजनीतिमै लागिन् ।
भूमिगत कालमा रोल्पाको पार्टी सहइन्चार्जसम्म बनिन् । माओवादी शान्ति प्रक्रियामा आएपछि अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव, माओवादीको काठमाडौं जिल्ला सचिव र केन्द्रीय समिति सदस्यसम्म भइन् ।
रेनु २०६४ को पहिलो संविधानसभामा समानुपातिक पद्धतिबाट सभासद् बनिन् । जतिबेला उनी ३१ वर्षकी मात्र थिइन् । २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ मा चुनाव उठिन् । तर, कांग्रेसका प्रकाशमान सिंहसँग हारिन् ।
उनले राजनीतिमा त्यति उचाइ बनाउन सकिनन् । उनको परिचय प्रचण्डकी छोरीका रुपमा मात्रै सीमित थियो ।
तर २०७४ सालको स्थानीय तह निर्वाचनले उनी एकाएक चर्चामा आइन् । माओवादीले उनलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनायो । मुलुक संघीयतामा गएपछि पहिलो पटक अधिकार सम्पन्न स्थानीय तह बनेको थियो । अनि, भरतपुर महानगरपालिकामा अपग्रेड भएको थियो ।
भरतपुरसँग प्रचण्ड परिवारको साइनो पनि छ । प्रचण्डको परिवार कास्कीबाट बसाईं सरेर चितवन आएको थियो । रेनुको जन्म पनि चितवनको शिवनगरमा भएको थियो । माओवादीले भरतपुरमा रेनुलाई मेयरको उम्मेदवार बनाउने निर्णय गर्यो ।
तर चुनाव जित्न सहज थिएन । ०६४ मा चितवनको ५ मध्ये ४ वटा क्षेत्र जितेको माओवादीले ७० मा भने सबै क्षेत्रमा हार व्यहोरेको थियो । त्यसैले माओवादीले भरतपुरसहितका केही स्थानीय तहमा कांग्रेससँग गठबन्धन गर्ने भयो ।
कांग्रेसले उपमेयर पद लिएर मेयरमा रेनुलाई सघायो । तर, एमाले उम्मेदवार देवी ज्ञवाली स्थानीय स्तरमा भिजेका उम्मेदवार थिए । उनले कडै टक्कर दिए ।
वडा नम्बर १९ को गणना अगाडिसम्म देवी ज्ञवाली ७८४ मतले अगाडि थिए । कांग्रेस र माओवादी नेताहरुलाई लागेको थियो, यो वडाको मतले अन्तर घट्छ र रेनु झिनो अन्तरले चुनाव जित्छिन् ।
तर जबजब गणना अघि बढ्यो, मतान्तर घटेन । त्यो वडाको १८०० मत गनिसक्दा पनि देवी ज्ञवालीको अग्रता निकै रहेपछि नेताहरुले मतपत्र च्यात्ने योजना बनाए । जुन, योजनावद्ध रुपमा १४ जेठको मध्यरातमा भयो । निर्वाचन आयोगले भरतपुर–१९मा पुनः मतदान गराउने निर्णय गर्यो ।
त्यसपछि पुनः मतदान भयो, रेनुले मेयरको चुनाव त जितिन्, तर सत्ता र शक्तिका आडमा चुनाव जितेको आरोप खेप्नुपर्यो ।
तर २०७४ वैशाखको स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेसँग गठबन्धन गर्ने सहमति गर्यो । रेनुका लागि अनुकल परिस्थिति बन्यो ।
२०७४ मंसिरको चुनावमा वाम गठबन्धनले बुहमत ल्याएपछि भरतपुरमा बजेट ओइरियो । किनकी चितवन–३ बाट चुनाव जितेका प्रचण्ड यसलाई आफ्नो स्थायी क्षेत्र बनाउन चाहन्थे, अनि तत्कालीन प्रधानमन्त्री ओली, प्रचण्डलाई खुसी बनाउन चाहन्थे ।
त्यसपछि त केन्द्र र प्रदेश सरकारका एकपछि अर्को योजना भरतपुरमा पर्न थाल्यो । नेकपा फुटेपछि पनि रेनुले बजेटको समस्या झेल्नु परेन । किनकी प्रचण्ड र उनले नेतृत्व गरेको दल सत्ताकै वरिपरि रह्यो ।
त्यसैले होला, २०७९ मा दोस्रो पटक मेयर लड्दा कांग्रेसको साथ त चाहियो, तर सहजै चुनाव जितिन् ।
रेनुले गरेका काम
रेनु ८ वर्षभन्दा लामो समय भरतपुरको मेयर रहँदा भएको सबभन्दा ठूलो विकास भनेको सडक हो । भरतपुरको त्यस्तो सडक छैन, जुन कालोपत्रे नभएको होस् । नारायणगढ बजारमा ६ लेनको सडक त भरतपुरको भौतिक विकासको नमुनाका रुपमा लिन सकिन्छ ।
नारायणी नदीमा किनारमा तटबन्ध बनेको छ, खानेपानी र सिँचाइका आयोजना चलिरहेको छ । नारायणी नदीमाथि सिग्नेचर पुल बनाउने योजनाका लागि रेनुले नै पहल लिइन् । गौतमबुद्ध क्रिकेट रंगशाला बनिरहेको छ, भरतपुर विमानस्थल स्तरोन्नतिको काम चलिरहेको छ ।
३ हजार क्षमताको सिटी हल बनिरहेको छ, महानगरको पुरै क्षेत्र घेर्ने गरी ८८ किलोमिटर लामो रिङरोड अहिले बनिरहेको छ । यसलाई नेपालकै सबैभन्दा ठूलो रिङरोड भनिएको छ । काठमाडौंपछि भरतपुरमै विद्युतको तार भूमिगत गर्ने काम भइरहेको छ ।
खासगरी दोस्रो कार्यकालमा उनले समुदायसँग जोडिने कार्यक्रमहरु पनि सुरु गरिन् । मेयर स्वास्थ्य कार्यक्रम चलाइन्, सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको जीवन बीमा गर्ने व्यवस्था मिलाइन् । ज्येष्ठ नागरिक र महिलालाई भरतपुर अस्पतालमा ओपीडी टिकट निःशुल्क गराइन् ।
किसानहरुलाई दूधमा थप अनुदान दिने व्यवस्था मिलाइन् ।
रेनुले महानगरभित्र शिक्षा र सुशासनको क्षेत्रमा भने खास काम गर्न सकिनन् । फोहोर व्यवस्थापन र योजनावद्ध शहरी विकासमा हात हालिनन् । उर्बर फाँटहरु घडेरी बन्ने क्रम रोक्न कुनै पहल लिइनन् ।
उनको मेयरको कार्यकाल करिव डेढ वर्ष बाँकी छ । तर उनले फाुगन २१ मा हुने चुनाव लड्ने मन बनाएकी छन् । उम्मेदवारका लागि नेपाली कम्युनिस्ट पार्टी नेकपाले उनको नाम एकल रुपमा सिफारिस गरिसकेको छ । माघ ६ मा उम्मेदवारी दर्ता गर्नुअघि उनले मेयर पदबाट राजीनामा दिनेछिन् ।
महानगरको कामपछि रेनुको परिचय प्रचण्डकी छोरीका रुपमा मात्रै छैन । उनीसँग साढे ८ वर्ष मेयरका रुपमा काम गरेको अनुभव पनि छ ।
कति सजिलो छ चुनाव ?
चितवन ३ बाट २०७४ मा प्रचण्ड निर्वाचित भएका थिए । तर, २०७९ मा पनि कांग्रेसले यो क्षेत्र माओवादीलाई छाड्यो । तर, रवि लामिछानेले चितवन ३ मा उम्मेदवारी दिने तयारी गरेपछि प्रचण्डले त्यहाँ लड्ने आँट गरेनन् । सुरक्षित क्षेत्र खोज्दै गोरखा–२ मा पुगे । त्यहाँ डा.भोजराज अधिकारी उम्मेदवार बने ।
समानुपातिकतर्फ रास्वपा पहिलो दल बन्दा प्रत्यक्षमा भने राप्रपाका बिक्रम पाण्डे निर्वाचित भए ।
चितवन ३ मा माडी नगरपालिकाका ९ र भरतपुर महानगरका २९ मध्ये १९ वटा वडा पर्छन् । अघिल्लो चुनावमा चितवन–३ मा १ लाख ४४ हजार २ सय ८३ मतदाता थिए । अहिले त्यो संख्या केही बढेको छ ।
यो पटक रेनु आफैं चुनावी प्रतिस्पर्धामा उत्रिन लागेकी छन् । नेताहरुका अनुसार भरतपुरको मेयरका रुपमा गरेको कामले उनको समर्थनको आधार फैलिएको छ । खासगरी महिला तथा जेष्ठ नागरिक लक्षित उनको कार्यक्रमले यो पटक संसदीय चुनाव लड्दा उनलाई राम्रै सहयोग गर्नेछ ।
तर, राष्ट्रिय राजनीति भने उनको प्रतिकुल बन्दै गएको छ । काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङ समेत जोडिएपछि रास्वपा निकै बलियो भएको छ । र, रास्वपाले चितवनलाई आफ्नो गढ बनाउन खोजेको छ ।
रास्वपा सभापति रवि लामिछाने यो पटक पनि चितवन २ बाटै चुनाव लड्ने छन् । क्षेत्र नम्बर १ मा अघिल्लो पटक चुनाव जितेका हरि ढकाललाई नै निरन्तरता दिने वा तनहुँबाट उपचुनाव जितेका स्वर्णिम वाग्लेलाई उठाउने भन्ने टुंगो लागेको छैन ।
चितवन ३ मा सोबिता गौतमको सम्भावना छ । हुन त अघिल्लो चुनावमा उनी काठमाडौं २ बाट निर्वाचित भएकी हुन् । तर यो पटक बालेन शाहका लागि काठमाडौं २ छाडेर सोबिता चितवन ३ मा जाने सम्भावना छ ।
अहिलेसम्म कांग्रेस र एमालेबाट को उम्मेदवार हुने भन्ने तय छैन । राप्रपाबाट विक्रम पाण्डे नै उठ्ने सम्भावना बलियो छ ।
त्यसैले रेनुलाई चितवन–३ को चुनाव सहज छैन ।
निर्वाचन आयोगले पर्सिसम्म टुंग्याउने विश्वास छ : गगन थापा
देउवासँग वार्तामा विश्वप्रकाशको प्रस्ताव : गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरौं
'यहाँ लुगा र पानी बाँड्नेहरु पनि नेता भए'
पुराना नेताको अनुहारै हेर्न मन छैन


-1767872172.jpg)
