नेभिगेशन
राजनीति

कुलमानले रास्वपाबाट धोका पाए कि दिए ?

सहमति भएको १२ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीको सहमति भाँडिएको छ । र कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । 

अब फागुन २१ गते हुने चुनावमा रवि, बालेन र कुलमान एक ठाउँमा नरहने अब पक्का भएको छ । वैकल्पिक शक्तिलाई आफ्नो छाताभित्र गोलवद्ध गर्ने रास्वपाको चाहना अधुरै भएको छ । सँगै लोडसेडिङ हटाएर वाहवाही कमाएका कुलमानलाई राजनीतिमा पनि आफूलाई स्थापित गर्ने चुनौती खडा भएको छ । 

पुस १४ गते रास्वपा र उज्यालो नेपालबीच ७ बुँदे सहमति भएको थियो । कुलमान घिसिङ रास्वपाको पहिलो वरियताको उपसभापति रहने भनिएको थियो । 

अनि एकतापछि पार्टीको नाम रास्वपा नै रहने, झण्डा र चुनाव चिह्न पनि रास्वपाकै रहने भनिएको थियो । तर उज्यालो नेपालको अभियानलाई रास्वपाले अपनत्व लिएर आफ्ना कार्यक्रमहरुमा जोड्दै लैजाने भनिएको थियो ।

उज्यालो नेपाल पार्टीमा आवद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सहमति पनि थियो । 

कुलमानसँग सहमतिअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति भएको थियो । जसमा भावी प्रधानमन्त्री बालेन शाह हुने भनिएको थियो । 

रवि र बालेनको सहमति हुँदा नै त्रिपक्षीय सहमति गर्ने तयारी थियो । तर कुलमान रास्वपा जान तयार नभएपछि अन्तिममा रवि र बालेनबीच मात्र सहमति भएको थियो । 

यद्यपि भोलिपल्ट कुलमान पनि रास्वपा जान तयार भएका थिए । त्यतिबेला कुन परिस्थितिमा कुलमान रास्वपा जान तयार भएका थिए भन्ने खुलेको छैन । तर सार्वजनिक भएका तस्वीर हेर्दा उनको चेहरा त्यति खुशी देखिँदैनथ्यो । 

पुस १४ गते रास्वपा र कुलमान दुबै पक्ष सहमतिका लागि हतारिएको देखिन्थ्यो । त्यसको कारण थियो, समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका । 

किनकी निर्वाचन आयोगले पुस १५ गतेभित्र समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने भनेको थियो । समानुपातिकको सूची बुझाउनुअघि नै एकता गर्नुपर्ने बाध्यताका कारण धेरै कुरामा मन माझामाझ नहुँदै एकता भएको थियो । 

तर, यो एकताको सहमति टिकेन । रास्वपाले कुलमानहरुले पदको बार्गेनिङ गरेको आरोप लगाएको छ भने कुलमानले रास्वपाले आफूहरुलाई इन्गेज मात्रै गरेर बिदखबन्दमा पारेको आरोप लगाएका छन् । यसका कारण बालेनलाई प्रधानमन्त्री बनाउने गरी भएको यो एकताको डोरी टुटेको छ ।  

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता भाँडिनुका धेरै कारणहरु छन् । 

एउटा भागबण्डा नै हो । 

दुई पार्टीबीच सहमति हुँदा कुलमान घिसिङलाई रवि लामिछानेपछि दोस्रो वरियता दिने भनिएको थियो । 

तर रास्वपाले दोस्रो वरियतामा बालेन शाह नै रहने र कुलमान तेस्रो बरियतामा रहने अडान राख्यो । 

कुलमान, बालेन र रविबीच रास्वापको महामन्त्री उज्यालो नेपालले दिने व्यक्तिलाई राख्ने भद्र सहमति भएको थियो । तर रास्वपाले बालेन पक्षलाई महामन्त्री दियो भने उज्यालो नेपाललाई सहमहामन्त्री मात्र दिने भन्यो । 

त्यस्तै उज्यालो नेपालले केन्द्रीय समितिमा आफ्ना २६ जना समावेश गर्नुपर्ने भनेको थियो । रास्वपा १२ जना भन्दा केन्द्रीय सदस्य दिन तयार भएन ।

अनि समानुपातिक प्रणालीको उम्मेदवार सूचीमा उज्यालो नेपालले १८ जना पठाएको थियो । तर रास्वपाले १४ जना मात्र समावेश गर्‍यो । 

उज्यालो नेपालले कम्तीमा ६ जना सांसद निर्वाचित हुने गरी प्राथमिकता क्रममा आफ्ना पक्षमा उम्मेदवारलाई अगाडि राख्नुपर्ने भनेको थियो । तर उज्यालो नेपालले नाम दिएका मध्ये रीमा विश्वकर्माको नाम मात्र दलित महिलाको पहिलो नम्बरमा थियो ।

तीबाहेक अरु धेरै नाम प्राथमिकता क्रममा धेरै पछाडि थिए । जसका कारण उज्यालो नेपालबाट समानुपातिक उम्मेदवार बनेका धेरैले अवसर नै नपाउने पक्कापक्की जस्तै थियो । 

एकता भंग भएपछि गरिएको पत्रकार सम्मेलनमा कुलमान घिसिङले आफूहरुले सबै कुरामा लचक हुँदा पनि रास्वपाले एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाए । 

रास्वपा र उज्यालो नेपालबीचको एकता नहुँदै दूरी बढाउने काम समानुपातिक सूचीले पनि गर्‍यो । 

अर्को कारण हो, रास्वपा र उज्यालो नेपालको भोट बैंक । 

रास्वपाको भोट बैंक शहरी मध्यमवर्ग हो भने उज्यालो नेपालको शहरी मध्यमवर्ग सँगै आदिवासी जनजाति समुदाय पनि हो । त्यसैले उज्यालो नेपालमा पहिचान पक्षधर ठूलो शक्ति आवद्ध भएको थियो । जसले रास्वपासँग एकता सुरुदेखि नै मन पराएको थिएन । 

डा. महेन्द्र लावतीसहितका नेताहरुले सार्वजनिक रुपमा नै रास्वपासँगको एकताको विरोध गरेका थिए । डा. लावतीले त रास्वपाको समानुपातिक सूचीमा पनि बस्न अस्वीकार गरे । 

कुलमान घिसिङ आफैं जनजाति समुदायका हुन् । उनको भोट बैंक पनि आदिवासी समुदाय, पहिचान र संघीयताको पक्षधर छ । संघीयताको पक्षमा रास्वपाले लिएको विचार यो समूहले मन पराएको छैन । 

रास्वपाले संघीयता खारेजी नै त भनेको छैन, तर प्रदेशसभा चाहिँ नराख्ने भनेको छ । 

रास्वपासँग मुद्दाका विषयमा पनि असहमति रहेको कुलमानले पत्रकार सम्मेलनमा खुलाएका छन् । समावेशीता, संघीयता र संविधानका आधारभूत विषय एड्रेस गर्न पूरक सम्झौता गर्न प्रस्ताव गरेको पनि बताए । सुरुमा रास्वपा पूरक सम्झौता गर्न पनि सहमत भएको तर ढिलाइ मात्र गरिरहेको उनले बताए । 

कुलमानका अनुसार पहिचान पक्षधर ठूलो शक्तिले आफूहरुलाई सोध्दै नसोधी एकता गरेको भनेर असन्तुष्टि राखेका थिए । 

यो सहमति भंग भएपछि उज्यालो नेपाल पार्टीलाई फागुन २१ गतेको चुनावमा एउटा नोक्सानी भएको छ, त्यो हो, उज्यालो नेपाल पार्टीले आफ्नो छुट्टै समानुपातिक सूची बुझाउन पाएको छैन । 

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले आफूहरुलाई इन्गेज मात्र गरेर राख्ने रणनीति रास्वपाले लिएको आरोप लगाए । र, देशभर एकता प्रक्रिया नटुंगिँदै उज्यालो नेपालका नेता कार्यकर्तालाई रास्वपामा प्रवेश गराएको उनको अर्को आरेप पनि छ । 

उज्यालो नेपालले अब देशभरि क्याम्पेन गर्ने र १६५ निर्वाचन क्षेत्रमा नै उम्मेदवारी दिने पनि कुलमानले खुलाएका छन् । सँगै इच्छुक अन्य दलहरुसँग सहकार्य गर्न पनि खुला रहेको बताएका छन् । 

कुलमानले आफ्नो प्रधानमन्त्री हुने चाहना आजको पत्रकार सम्मेलनमा पनि लुकाएका छैनन् । उनले आफूले जर्जर अवस्थामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको, जेनजी आन्दोलनपछि ३ वटा मन्त्रालय सम्हालेको भन्दै अब देशको नेतृत्व गर्ने चाहना रहेको बताए । 

उनले एक चोटीलाई आफूलाई सपोर्ट गर्न पनि आग्रह गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति