निर्वाचन आयोगले भन्यो : गगन थापा नै कांग्रेसको सभापति
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ कार्यसमितिलाई मान्यता दिएको छ ।
शुक्रबार साँझ निर्वाचन आयोगको बैठकले पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले निर्वाचित गरेको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिएको हो ।
कांग्रेसमा शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन र उसले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको थियो ।
विशेष महाधिवेशनले निर्वाचन कार्यक्रम अगाडि बढाएपछि पुस ३० गते देउवा पक्षले केन्द्रीय समितिको बैठक राखेर गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि पार्टीबाट निलम्बन गरेको थियो ।
त्यसै दिन राति विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा १६६ सदस्यीय समिति चयन गरेको थियो । त्यसपछि देउवा पक्ष गगन–विश्वप्रकाशलाई कारबाही गरेको केन्द्रीय समितिको निर्णय लिएर निर्वाचन आयोग पुगेको थियो । गगन थापा पक्ष भने विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको निर्णय अद्यावधिक गरिदिन निर्वाचन आयोग पुगेको थियो ।
शुक्रबार बिहान देउवा पक्ष पुनःनिर्वाचन आयोगमा गएर विशेष महाधिवेशन अवैधानिक रहेको र विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरुले पनि हस्ताक्षर फिर्ता लिइसकेको जानकारी गराएका थिए ।
देउवा पक्ष पुगेको केही समयमा पुनः गगन थापा पक्षका उपसभापति विश्वप्रकाश शर्मासहितको टोली निर्वाचन आयोगमा पुगेर छिटो निर्णय दिन आग्रह गरेको थियो । आयोगले शुक्रबार नै निर्णय दिने भएपछि दुबै पक्ष निर्वाचन आयोग पुगेको थियो ।
निर्वाचन आयोगको निर्णय आएपछि देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आयोगको निर्णय अमान्य भएको बताए । उनले आयोगको निर्णयको विरुद्धमा वैधानिक, कानुनी र राजनीतिक लडाईं लड्ने प्रतिक्रिया दिए ।
‘संविधान, दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान, प्रक्रिया र विधिको विपरीत निर्णय आएको छ, हामीले आशंका गरेजस्तै षड्यन्त्रपूर्ण तरिकाले आएको छ । निर्वाचन आयोगकै यो भन्दा अगाडिका दलका विवादको निर्णयको स्थापित नजिरको विपरीत आएको छ, हाम्रो लागि यो निर्णय अमान्य छ’, उनले भनेका छन् ।
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र
बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?






