नेभिगेशन
राजनीति

उम्मेदवार छनोट गर्न कांग्रेसले बनायो संसदीय बोर्ड, आजैदेखि काम सुरु

देउवा पक्ष भने सर्वोच्च जाने

नेपाली कांग्रेसले शनिबार साँझदेखि उम्मेदवार छनोटको काम सुुरु गर्ने बताएको छ । 

शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका सभापति गगनकुमार थापा, उपसभापतिहरु, महामन्त्रीहरु र सहमहामन्त्रीहरु रहेको संसदीय बोर्ड बनाएको हो । १३ सदस्यीय बोर्डमा केही नेताहरु मनोनित हुनेछन् । 

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संसदीय बोर्डको बैठक शनिबार साँझ नै बस्नेछ र उम्मेदवार छनोटको काम सुरु गर्नेछ । अल्पमत, बहुमत र विशेष महाधिवेशनलाई समर्थन वा विरोध गरेका आधारमा कसैलाई पनि टिकटबाट वञ्चित नगर्ने उनले बताए । 

बैठकले पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरुलाई पार्टीमा जोडिन आह्वान गरेको छ । प्रवक्ता चालिसेले भने, ‘पूर्वसभापति शेरबहादुर देउवाबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राखेका छौं । 

कांग्रेसले अप्राकृतिक गठबन्धन र सत्ताकेन्द्रित सम्झौता पनि नगर्ने प्रष्ट्याएको छ । त्यस्तै नवयुवाको आकांक्षा प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्ने दृढता पनि व्यक्त गरेको छ । 

पार्टीमा देखिएको समस्या चुनाव अगाडि नै समाधान हुने प्रवक्ता चालिसेले विश्वास व्यक्त गरे । 

पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको थियो । सो केन्द्रीय समितिको पहिलो बैठक शनिबार बानेश्वरको अर्पण ब्यांकेटमा बसेको थियो । 

कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको छ । निर्वाचन आयोगले शनिबार गगन थापा पक्षलाई नै आधिकारिक मान्यता दिएपछि देउवा पक्षले अदालत जाने घोषणा गरेको छ । 

शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिने निर्णय गरेको छ । प्रवक्ता प्रकाशशरण महतका अनुसार निर्वाचन आयोगको निर्णय पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन विपरीत भएकाले सर्वोच्च जाने निर्णय भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति