मौका हेरेर चुनाव लडेका बाबुराम
२०७९ को चुनावमा जब बाबुरामले प्रचण्डलाई आफ्नो चुनाव क्षेत्र छाडे, धेरैले सोचेका थिए, बाबुरामले अब चुनाव लड्दैनन् ।
झन् जेनजी बिद्रोहपछि उनले पार्टीहरुमा पुस्तान्तरण हुनुपर्छ भन्ने आवाज उठाए । त्यसैले पनि यस वर्ष बाबुराम चुनाव उठ्छन् भन्ने धेरै कमलाई मात्र लागेको थियो ।
जब उम्मेदवारी दर्ताको दिन नजिक आयो, दलहरुले भटाभट उम्मेदवार तोक्न थाले । डा. भट्टराईलाई पनि सांसद बन्ने रहर जाग्यो ।
किनकी अघिल्लो पटक चुनाव जितेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ छाडेर रुकुम पूर्वतिर लागे । नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सर्लाही–३ तिर लागे । गोरखा–२ मा नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ ।
एमालेले पनि विवादित छवि भएका, गुण्डा नाइके भनेर चिनिने चक्रे मिलनलाई उम्मेदवार बनायो । कांग्रेसले पूर्वप्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीलाई टिकट दियो, रास्वपाले महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । सबै दलको उम्मेदवार देखेपछि डा. भट्टराईले पनि गोरखा–२ मा उम्मेदवारी दिने घोषणा गरे ।
भट्टराईले गोरखा–२ बाट दुई पटक र समग्रमा गोरखाबाट ३ पटक चुनाव जितेका छन् । तर यो पटक पहिला जस्तो सहज छैन ।
सुरुमा उनको सजिलो पक्षका बारेमा कुरा गरौं ।
१. बाबुरामको व्यक्तित्व
बाबुरामको राष्ट्रिय राजनीतिमा जुन पहुँच छ, त्यो पहुँच गोरखाका अरु नेताहरुको छैन । त्यसैले विकास निर्माणको योजना ल्याउन होस् वा कुनै गाह्रो अप्ठेरो फुकाउनुपर्दा होस्, बाबुरामले सक्छन् भन्ने मान्यता गोरखाबासीमा छ ।
त्यसकारण बाबुराम शक्तिमा हुँदा फेरि पनि गोरखाले लाभ पाउनसक्छ, उनैलाई जिताउनुपर्छ भन्ने भावना कतिपय गोरखाली मतदातामा पाइन्छ ।
२. गोरखामा सहजै उपलब्ध
२०६४ सालको संविधानसभा चुनाव जितेकै बेला बाबुरामले आफू हरेक महिना गोरखा आउने प्रतिज्ञा गरेका थिए । यो प्रतिवद्धता उनले अहिलेसम्म पूरा गरिरहेका छन्, सांसद हुँदा होस् वा नहुँदा ।
गोरखाका विकास निर्माणको विषय लिएर सरकारी निकायमा डेलिगेसन गइरहन्छन्, गोरखाका मानिसहरु भेट्न आउँदा सजिलै उपलब्ध हुन्छन् ।
उनी गोरखा गएका बेला आफ्ना पार्टीका कार्यकर्ता मात्र भेट्दैनन् । अन्य दलका नेता कार्यकर्ताले पनि बाबुरामलाई उत्तिकै आदर गर्छन् । ठूला नेता भए पनि सबैको एक्सेसमा भएकाले उनीप्रति सकारात्मक भावना छ ।
बाबुराम भट्टराईको अप्ठेरा
१. संगठनात्मक रुपमा कमजोर
उनले गठन गरेको नयाँ शक्ति पार्टी राष्ट्रिय राजनीतिमा मात्र होइन, गोरखामा पनि कमजोर रह्यो । पार्टी गठन गर्दा माओवादी छाडेर उनको पार्टी नयाँ शक्तिमा जाने नेता कार्यकर्ता धेरै नै थिए । तर उनले ठूलो पार्टी बनाउन सकेनन्, धेरै नेता कार्यकर्ता माओवादीमै फर्किए ।
बाबुराम आफैं गोरखामा अरु पार्टीको सहयोग बिना चुनाव जित्न नसक्ने अवस्थामा पुगे । गोरखाका ११ पालिकामध्ये कुनै पालिकामा बाबुरामको पार्टीले जितेको छैन ।
बाबुरामको घर रहेको पालुङटार नगरपालिकाको मेयरमा २०७४ र २०७९ को स्थानीय चुनावमा माओवादी र बाबुरामको पार्टीको बराबरजस्तै मत आयो । तर २०७४ मेयर पद कांग्रेसले जित्यो, २०७९ मा माओवादीले । जम्मा ३ वटा वडाध्यक्ष मात्र बाबुराम भट्टराईको पार्टीले जितेको छ ।
बाबुरामले २०७४ सालमा कांग्रेससँगको तालमेलबाट गोरखा–२ मा चुनाव जिते । अहिले एक्लै जित्नुपर्ने दबाब छ ।
२. एलायन्सको सम्भावना कम
यसपटक गोरखा–२ मा चुनावी तालमेलको सम्भावना लगभग सकिएको छ । पुरानो माओवादी र हालको नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । एमालेले चक्रे मिलनलाई उठाएको छ । अनी रास्वपाले महामन्त्री बुर्लाकोटीलाई नै फेरि उठाएको छ ।
कांग्रेसले पूर्व प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीलाई टिकट दिएको छ । त्यसैले तालमेलको सम्भावना ज्यादै न्यून छ ।
३. अवसरवादीको ट्याग
२०७९ सालमा माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो क्षेत्र छाडिदिँदा नै धेरैले सोचेका थिए, बाबुरामले सक्रिय राजनीतिबाट बिदा लिए ।
अनि माओवादीसँग तालमेल गरेर काठमाडौं–७ मा छोरी मानुषी यमीलाई उम्मेदवार बनाएका थिए । त्यसैले गोरखाली मतदाताको अनुमान थियो, अब बाबुरामले छोरीलाई अगाडि बढाउन खोजे ।
भदौ २३ र २४ को जेनजी जनआन्दोलनपछि त दलको नेतृत्व छाडेका थिए । कुनै दलमा नभएको भन्दै उनले चुनाव पनि नलड्ने बताएका थिए ।
तर नेकपाले तुलनात्मक रुपमा कमजोर उम्मेदवार उठाएको देखेपछि जित्ने आशाले भट्टराई फेरि चुनाव लड्न आएको ठान्नेहरु पनि धेरै छन् । त्यसैले उनी गोरखा आउँदा खुशी हुने र रिसाउने मानिसहरु उत्तिकै छन् ।
त्यसैले बाबुरामको चुनावी नतिजा के आउँछ भन्ने अहिले नै अनुमान गर्न गाह्रो छ । उनी नै उम्मेदवार भएपछि अब त्यहाँ नेकपा, कांग्रेस, रास्वपा, एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच प्रतिस्पर्धा हुनेछ ।
२०६४ सालमा बाबुरामले गोरखा–२ बाट सर्वाधिक मतान्तरसहित जितेको रेकर्ड बनाएका थिए । यो पटक कस्तो रेकर्ड बन्छ, यसका लागि फागुन २१ नै पर्खिनुपर्ला ।
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र






