बालेनले किन अस्वीकार गरे पब्लिक डिबेट ?
हामीले अमेरिकाको राष्ट्रपति चुनाव अगाडि उम्मेदवारहरुको डिबेट हेरेका छौं ।
राष्ट्रपतिका उम्मेदवारहरु एकै ठाउँमा आएर प्रश्नको जवाफ दिन्छन्, आफ्ना एजेण्डाहरु सुनाउँछन्, अनि आफ्ना प्रतिस्पर्धीलाई आरोपित गर्छन्, आफूमाथि लागेको आरोपको खण्डन गर्छन् ।
यस्ता डिबेटमा बलियो देखिएको उम्मेदवारले चुनाव जित्ने आकलन पनि गरिन्छ ।
नेपालमा पनि फागुन २१ को चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको छ । र यसपटक नेपालमा पनि दलहरुले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका छन् । नेपाली कांग्रेसले गगनकुमार थापालाई, नेकपा एमालेले केपी शर्मा ओलीलाई र रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार तोकेका छन् ।
अनि ती उम्मेदवारको पब्लिक डिबेटको माग भएको छ । कमसे कम उनीहरुले एउटै मञ्चमा उभिएर आफ्ना एजेण्डा सुनाउन्, अनि आफूमाथि सोधिएका प्रश्नको जवाफ दिउन् ।
सामाजिक सञ्जालमार्फत सर्वसाधारणदेखि पत्रकारसम्मले यस्तो डिबेट मागिरहेका थिए । केही पत्रकारहरुले यस्तो डिबेट आफूले होस्ट गर्न चाहेको सार्वजनिक गरिरहेका थिए । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीमाझ डिबेटका लागि तयार रहेको बताएका थिए ।
आइतबार विहान त ओलीले फेसबुकबाटै यस्तो डिबेट आह्वान गरे । उनको भनाइ छ, ‘पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।’
भावी प्रधानमन्त्रीका अर्का उम्मेदवार कांग्रेस सभापति गगनकुमार थापाको यसमा प्रतिक्रिया आएको छैन । तर उनका सहमहामन्त्री उदयशमशेर राणाले पनि पब्लिक डिबेटको मागप्रति समर्थन जनाएका थिए ।
धेरैको प्रश्न थियो, बालेनले के गर्लान् ? किनकी उनले २०७९ सालमा काठमाडौंको मेयरमा निर्वाचित भएदेखि नै मिडियामा अन्तर्वार्ता दिएका छैनन्, सार्वजनिक सुनुवाइहरुमा गएका छैनन् । पब्लिक फोरममा प्रश्नोत्तरमा सहभागी भएकै छैनन् ।
अन्ततः बालेनले ओलीको पोस्टमै कमेन्ट गरेर यस्तो डिबेटलाई अस्वीकार गरेका छन् । उनले भदौ २३ गते जेनजी बिद्रोहमा तत्कालिन सरकारले गरेको दमनलाई ल्याएर यहाँ जोडेका छन् र केपी शर्मा ओलीसँग मञ्च सेयर गर्न अस्वीकार गरेका छन् ।
उनले लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसामा सामेल भएको बुझिनेछ ।’
बालेनको यो भनाइपछि अब ओली, बालेन र गगन एउटै मञ्चमा देखिने सम्भावना समाप्त भएको छ ।
प्रधानमन्त्रीका रुपमा देश चलाउँछु भन्नेको सोच के रहेछ, राज्य सञ्चालनबारे बुझाइ के रहेछ थाहा पाउन यस्तो डिबेट फलदायी नै हुने थियो । नेपालमा नयाँ अभ्यास हुने थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली तीन पटक प्रधानमन्त्री भइसकेका पात्र हुन् । उनको विकासे दृष्टिकोण र कार्य क्षमता त जाँच नै भइसकेको छ ।
जेनजी आन्दोलनबाट सत्ताच्युत भएका उनी चुनावमा के नयाँ कुरा लिएर आउँदैछन् त ? योबारे जनताले सार्वजनिक प्रश्न गर्न पाउने अवस्था यस्तो डिबेटले दिनसक्छ ।
गगन र बालेन भने प्रधानमन्त्रीमा नयाँ दावेदार हुन् । बालेन काठमाडौं महानगरका साढे ३ वर्ष मेयरका रुपमा काम गरेका व्यक्ति हुन् । बालेनले महानगरमा बसेर गरेका कामको विवरण र त्यसबारे उठ्ने गरेको प्रश्नको जवाफ पनि यस्तो मञ्चबाटै जनतालाई दिनसक्थे ।
गगन थापा पूर्वसांसद तथा स्वास्थ्यमन्त्री हुन् । ४ पटक संसद भइसकेका उनी जेनी आन्दोलनपछि कांग्रेसभित्र विद्रोह गरेरै नेतृत्वमा आए । उनलाई फेरि किन जनताले चुनाव जिताउनुपर्ने हो ? यसबारे उनले पनि सार्वजनिक रुपमै जवाफ दिनुपर्ने छ ।
त्यसैले माग भइरहेको यस्तो डिबेट साँच्चिकै रोचक हुन सक्थ्यो । यस्तो डिबेटमा ओलीसँग बसेर गगन र बालेनहरुले आफ्नो आफ्ना एजेन्डाहरु कसरी प्रस्तुत गर्छन् र जनतालाई आश्वास्त पार्छन् भन्ने चासो सबैमा थियो ।
ओलीले त सामाजिक सञ्जालमा बालेनलाई लक्षित गर्दै फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री देखाएर वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले पब्लिक डिबेट माग भएको हुनसक्ने बताएका छन् ।
बालेन शाहले भने जेनजी बिद्रोहको कुरा उठाएर पब्लिक डिबेटलाई विषयान्तर गरिदिएका छन् ।
बालेनले ओलीलाई हत्याराका रुपमा र गगनलाई तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसका गगन थापालाई मतियारका रुपमा आरोपित गर्दै डिबेटमा सहभागिताको प्रश्नलाई खारेज गरेका छन् ।
योसँगै सामाजिक सञ्जालमा बालेनका पक्ष र विपक्षमा मत आइरहेका छन् । कतिले भदौ २३ को नरसंहारको जिम्मा नलिएका ओलीसँग बालेनले स्टेज सेयर नगर्नु सही हो भन्दै समर्थन जनाएका छन् ।
गम्भीर प्रश्नमा ओलीले दिने जवाफ पूर्वानुमानयोग्य रहेको भन्दै ओलीसँग बहस गर्नुको अर्थ नै नभएको धारणा पनि आएको छ।
तर, कतिले भने यसलाई प्रश्नहरु सामना नगरी पन्छाउने बालेनको पुरानै प्रवृत्तिको सिलसिला भनेका छन् । बालेन काठमाडौंको मेयर भएदेखि नै उनी प्रश्नबाट भागेको आरोप लागेको थियो ।
महानगरको काम कारवाहीबारे गुनासो र प्रश्न लिएर जानेलाई बालेनले कहिल्यै भेटेनन् । उनले महानगरले गर्नुपर्ने नियमित सार्वजनिक सुनुवाई पनि गरेनन् । महानगरका पत्रकार सम्मेलनहरुमा पनि प्रश्नको सामना गर्न उपस्थित भएनन् । अब त उनी मेयरबाट प्रधानमन्त्री हुने दौडमा छन् ।
भविष्यको प्रधानमन्त्री बन्न मत मागिरहेकै बेलामा बालेन प्रश्नहरुबाट भाग्न पक्कै मिल्दैन ।
अहिले मतदाताले प्रधानमन्त्रीका दावेदारहरुलाई सुन्न चाहेका छन् । तर, बालेनले यस्तो डिबेट अस्वीकार गर्दा उनी पनि भविष्यमा ओलीजस्तै अनुत्तरदायी हुने जोखिम कतिपय सामाजिक तथा राजनीतिक युवा अभियन्ताहरुले नै औंल्याएका छन् ।
जेनजी अभियन्ता रक्षा बमले डिबेटबारे भइरहेको बहसमा बालेनसँग मिल्दोजुल्दो धारणा राखेकी छन् । उनले लेखेकी छन्, ‘ तु इधर उधर की बात मत कर, ये बता, बच्चे को क्यों मारा ?’
जेनजी अभियन्ता भावना राउतले भनेकी छिन्, ‘लोकतन्त्रमा प्रश्न र बहसलाई दबाइन्छ भने त्यो लोकतन्त्रकै आत्माविरुद्ध हुन्छ । झापा–५ कम्तीमा पनि व्यक्तिपूजामा आधारित राजनीति दोहोर्याउन चाहँदैन । हामीलाई जवाफदेही नहुने, आलोचनाबाट भाग्ने अर्को ओलीजस्तो शासक चाहिँदैन ।’
सामाजिक अभियन्ता ईःले पनि बालेनले डिबेट छल्न खोजेको भन्दै ब्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो । चिप्लिनुभन्दा स्टेज म्यानेज्ड अपियरेन्सेस गर्नु र स्टाटस ठोक्दै बस्नु बेस ।’
यहाँ प्रधानमन्त्रीको उम्मेदवारमाथि मात्र होइन । डिबेट गराउँछु भन्ने पत्रकारमाथि पनि प्रश्न उठेको छ । पत्रकार विजयकुमार पाण्डेले नै यस्तो डिबेटमाथि प्रश्न उठाएका थिए ।
उनले पत्रकारहरुमाथि नै आशंका गर्दै उनले लेखेका छन्, ‘जुन देशको मिडिया नै राजनीतिमा नग्न पक्षपातको पहिचान बनेको छ, त्यहाँको टेलिभिजनमा के को राजनीतिक डिबेट ?’
कांग्रेसको किल्लामा रञ्जु र रवीन्द्रको कडा टक्कर
कुलमान उठेको काठमाडौं–३ का मतदाता कसलाई जिताउन चाहन्छन् ?
महेश र राजीव भिडेको भक्तपुर–२ का मतदाताको मुड के छ ?
प्रकाशमानसँगै लड्न पाएको भए मज्जा हुन्थ्यो : रवीन्द्र मिश्र






