नेभिगेशन
राजनीति

रवीन्द्र मिश्रदेखि कमल थापासम्म, यी हुन् काठमाडौंमा चुनाव जित्न सक्ने राप्रपा नेता

हरेक चुनावमा काठमाडौंले सरप्राइज दिन्छ । यहीँ हो २०४८ सालमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हारेको ।

नेकपा एमालेको शक्तिशाली महासचिव हुँदा माधव नेपाललाई रोल्पाका माओवादी नेता झक्कु सुवेदी आएर हराइदिएको । अनि गएको निर्वाचनमा काठमाडौंमा अपरिचित सोविता गौतमदेखि गणेश पराजुलीसम्मले चुनाव जितेको । 

काठमाडौं उपत्यकामा आर्थिक रुपमा सम्पन्न र चेतनशील मतदाताको बाहुल्य छ । उनीहरु एउटै पार्टीको भोटर भएर बस्दैनन्, उम्मेदवार हेर्छन्, नयाँ नयाँ मान्छे छान्न रुचाउँछन् । एउटा पार्टीले जितिरहेको ठाउँमा अर्को चुनावमा नयाँ पार्टीलाई जिताइदिन्छन् । पार्टीहरुका लागि पनि उपत्यकामा मतदाताको समर्थन जोगाइराख्नु धेरै नै चुनौतीपूर्ण छ ।

कुनै समय उपत्यकामा नेकपा एमाले बलियो थियो । २०५६ सालमा कुल १२ सिटमध्ये ८ वटा एमालेले जितेको थियो । तर २०७९ को चुनावमा जम्मा दुई सिटमा खुम्चियो । २०६४ मा माओवादीले ७ सिट जित्यो, तर २०७० मै शून्यमा झर्‍यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी गठनको पाँच महिनामै २०७९ को चुनावमा ४ सित जित्यो । नेपाली कांग्रेसको भने उपत्यकामा स्थिर खालको जनमत देखिएको छ, चुनावहरुमा एक दुई सिट तलमाथि भए पनि ठूलो उतारचढाव आएको छैन ।

राजतन्त्र पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि उपत्यकामा राम्रो जनमत भएको पार्टी हो । तर २०४७ सालमा पार्टी स्थापना भएदेखि नै राप्रपाले काठमाडौंमा आम चुनाव जित्न सकेको छैन । 

२०७९ को स्थानीय तहमा शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित निर्वाचित भए । प्रदेशसभा निर्वाचनमा राप्रपाले काठमाडौंबाट ५ जना प्रदेश सांसद जित्यो । २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फ काठमाडौंमा राप्रपा पहिलो भयो । 

काठमाडौं १ मा राप्रपाका रवीन्द्र मिश्र २०७४ र २०७९ को चुनावमा झिनो मतान्तरले पराजित भए । अरु केही क्षेत्रमा पनि राप्रपाले तेस्रो–चौथो स्थानमा आइरहेको छ । यसपटकको चुनावमा भने राप्रपाले उपत्यकामा खाता खोल्ने दाबी गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठको भनाइ छ, ‘खाता खोल्ने मात्र होइन, आउँदो संसदमा काठमाडौंबाट राप्रपाको बलियो उपस्थिति हुनेछ ।’ 

देशको राजधानी शहर, अनि धेरै जनसंख्याको बसोबास, चुनाव क्षेत्र पनि धेरै । काठमाडौंमा १०, ललितपुरमा ३ र भक्तपुरमा दुई गरी टोटलमा उपत्यकामा १५ निर्वाचन क्षेत्र छन् । राप्रपा नेताहरुको दाबी छ कि यसपटक उपत्यकाको ५ वटा निर्वाचन क्षेत्र राप्रपाले जित्न सक्छ । 

काठमाडौं–१ 

राप्रपाले जित्ने दावी गरेको एउटा क्षेत्र हो काठमाडौं–१ । यो क्षेत्रबाट राप्रपाका उम्मेदवार छन्, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र । मिश्रले यो क्षेत्रबाट २०७४ र २०७९ सालको चुनाव पनि लडेका थिए । दुबै पटक उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भए । 

२०७४ सालमा प्रकाशमान सिंहले १० हजार ९३६ मत ल्याएर निर्वाचित हुँदा रवीन्द्र मिश्रले १० हजार ११८ मत ल्याए । जम्मा ८१८ मतान्तरले पराजित भए । 

२०७९ सालको चुनावमा त जम्मा १२५ मतान्तरले पराजित भए । प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा रवीन्द्र मिश्र ७ हजार १८ मत ल्याए । 

यसपटक प्रकाशमान सिंह चुनावी मैदानमा छैनन् । रवीन्द्र मिश्र चुनाव जित्नेमा ढुक्क छन् । 

यो क्षेत्रमा रवीन्द्र मिश्रले चुनाव जित्ने दाबी गर्नुको दुई–तीन वटा कारण छन् । पहिलो हो, उनलाई हराउने कांग्रेसको नेता प्रकाशमान सिंह यसपटक मैदानमा छैनन् । कांग्रेसले बानेश्वर क्षेत्रकै युवक प्रबल थापा उम्मेदवार बनाएको छ । 

एउटा हेभी वेट उम्मेदवार नहुँदा कांग्रेसले पाउने केही मत घट्न सक्ने राप्रपाको विश्वास छ । कांग्रेसको मत घट्नासाथ दोस्रो स्थानमा रहेका आफूलाई स्वतः फाइदा हुने मिश्रको दाबी छ । 

अर्को कारण हो, अघिल्लो पटक कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । यसपटक कांग्रेस एक्लै छ, माओवादी र एकीकृत समाजवादीसहित दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले मेनुका भण्डारीलाई उठाएको छ । 

रवीन्द्र मिश्रले २०७९ मा आफूले हार्नुमा पूर्वडीआईजी रमेश खरेल र स्वतन्त्र उम्मेदवार बालकृष्ण न्यौपानेको उम्मेदवारीलाई पनि कारण मानेका छन् । रमेश खरेल २०७९ सालको चुनावमा नेपाल सुशासन पार्टीबाट काठमाडौं–१ मा उम्मेदवार बनेका थिए र ३ हजार १२४ मत ल्याएका थिए । 

त्यस्तै राजावादी विचार बोक्ने वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पनि ५९० मत ल्याएका थिए । यसपटक उनीहरु दुबै जना उम्मेदवार छैनन् । त्यतिबेला उनीहरुले पाएको मतको ठूलो हिस्सा आफूले पाउने मिश्रको दाबी छ । 

२०७९ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ४ हजार ११५ मत पाएका थिए । अहिले पुकार काठमाडौं–१ छाडेर काठमाडौं–४ मा गएका छन् । रास्वपाबाट रञ्जु दर्शना उम्मेदवार छिन् । पुकारको ठाउँमा रञ्जु दर्शना आउँदा रास्वपाको मतमा धेरै फरक नपर्ने राप्रपाको आकलन छ । 

यो क्षेत्रमा नेकपा एमालेको अवस्था कमजोर नै छ । २०७९ सालमा एमालेका किरण पौडेल ३ हजार ५३२ मत ल्याएर चौथो स्थानमा थिए ।

यसपटक एमालेले मोहनराज रेग्मीलाई उम्मेदवार बनाएको छ । 

यो क्षेत्रमा २९ जना उम्मेदवार छन् । हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलगायतका नयाँ दलले यो क्षेत्रबाट कति मत पाउँछन् भन्ने गाह्रो छ । 

स्वतन्त्र उम्मेदवार बनेका पठाओ नेपालका सञ्चालक असिममान सिंह बस्नेतसहित १३ जना स्वतन्त्र उम्मेदवार बनेका छन् । उनीहरु कुन पृष्ठभूमिका हुन् र उनीहरुले ल्याउने मतले को उम्मेदवार प्रभावित हुन्छ भन्ने अनुमान गर्न सकिन्न । 

काठमाडौं २

काठमाडौं–२ पनि राप्रपाले चुनाव जित्ने भनेर गणना गरेको क्षेत्र हो । यो क्षेत्रमा राप्रपा उम्मेदवार छिन्, कुन्तीदेवी पोखरेल । पार्टीको केन्द्रीय सदस्य रहेकी पोखरेलले २०७९ सालको चुनावमा ११ हजार २४ मत पाएर तेस्रो भएकी थिइन् । 

त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले १५ हजार २३८ मत ल्याएर चुनाव जितेकी थिइन् भने एमालेका मणिराम फुयाल ११ हजार ५५६ मत ल्याएर दोस्रो भएका थिए । 

२०७९ को चुनावमा राप्रपाले काठमाडौं–२ बाट प्रतिनिधिसभाको चुनाव जित्न नसके पनि दुईवटै प्रदेशसभा क्षेत्रमा जितेको थियो । काठमाडौं २ (क) बाट सुनील केसी र काठमाडौं–२ (ख) बाट राजु विष्ट निर्वाचित भएका थिए । अनि काठमाडौं २ मै पर्ने शंखरापुर नगरपालिकामा २०७९ को चुनावमा राप्रपाका रमेश नापितले मेयर जितेका थिए । 

यसपटक सोविता गौतम यहाँ उम्मेदवार छैनन्, उनी चितवन–३ मा झरेकी छन् । पार्टीको जनाधार बलियो रहेको र चुनाव हार्दा पनि आफू निरन्तर मतदाताकै बीचमा रहेकाले यसपटक मतदाताले आफूलाई जिताउने उम्मेदवार कुन्तीदेवी पोखरेल बताउँछिन् ।

यसपटक राप्रपाको चुनौती बनेर आएका छन्, राप्रपाबाटै प्रदेश सांसद जितेका सुनील केसी । केसी राप्रपाको प्रदेश सांसदबाट राजीनामा दिएर रास्वपाबाट प्रतिनिधिसभा चुनाव लड्न आएका छन् । 

उनी रास्वपामा जाँदा राप्रपाको मत पनि काटिने सम्भावना छ । तर राप्रपा नेताहरु भने सुनील केसी विगतदेखि नै राप्रपाप्रति प्रतिवद्ध नभएकाले उनले मत नकाट्ने जिकिर गर्छन् । 

काठमाडौं–२ नयाँ नयाँ नेता जिताउने चुनाव क्षेत्र हो । २०६४ सालमा यो क्षेत्रमा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाललाई हराएर माओवादीका झक्कु सुवेदीले चुनाव जितेका थिए । 

२०७० सालमा भने तत्कालिन एमाले नेता माधवकुमार नेपालले चुनाव जिते । त्यसवर्ष उनले रौतहटबाट पनि चुनाव जितेकाले काठमाडौं–२ छाडे । त्यसपछि भएको उपचुनावमा कांग्रेसका दीपक कुइँकेलले जिते । 

२०७४ सालमा तत्कालिन एमाले नेता माधवकुमार नेपाल निर्वाचित भए । २०७९ सालमा भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले जितिन् । 

यो पटक काठमाडौं–२ मा एमालेले मणिराम फुयाल, कांग्रेसले कविर शर्मा, नेपाली कम्युनिस्ट पार्टीले नितेश पौडेललाई उम्मेदवार बनाएका छन् । कुल उम्मेदवार २७ जना छन् ।

काठमाडौं ५ 

राप्रपाले चुनाव जित्ने दाबी गरेको अर्को क्षेत्र हो काठमाडौं ५ । यहाँ राप्रपाका उम्मेदवार छन्, पूर्वअध्यक्ष कमल थापा । यो क्षेत्रमा अघिल्ला निर्वाचनको मत परिणाम हेर्दा राप्रपा जितकै तहमा पुग्ला भन्ने त देखिँदैन, तर हेभीवेट उम्मेदवार हुनाले चुनाव जित्न सक्ने राप्रपाको आशा छ । 

थापाले २०७४ मा कांग्रेसको र २०७९ मा एमालेको समर्थनमा मकवानपुर–१ बाट चुनाव लडे । तर दुबै चुनावमा हार व्यहोरेपछि यसपटक काठमाडौं–५ मा आएका छन् । 

यो क्षेत्रमा यसपटक धेरै हेभीवेट नेताहरु उम्मेदवार छन् । नेपाली कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल, नेकपा एमालेबाट नेता ईश्वर पोखरेल उम्मेदवार छन् । 

नेपाली कम्युनिस्ट पार्टीबाट कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा बालेन शाहको टिममा काम गरेका सस्मित पोखरेल छन् । गतिशील लोकतान्त्रिक पार्टीबाट अभिनेत्री निशा अधिकारी उम्मेदवार छिन् ।

श्रम संस्कृति पार्टीले केन्द्रीय सदस्य अमित थापालाई र उज्यालो नेपाल पार्टीले श्रीराम गुरुङलाई उम्मेदवार बनाएको छ । सबै दल सिंगल सिंगल प्रतिस्पर्धामा रहेकाले मत अत्यधिक बाँडिने सम्भावना छ । 

२०७९ सालको चुनावको नतिजा हेरौं । कांग्रेस नेता प्रदीप पौडेल १५ हजार २६९ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार ईश्वर पोखरेलले १० हजार १९० मत पाएका थिए । 

रास्वपा उम्मेदवार प्रणय राणा ५ हजार ४७७ मत ल्याएर तेस्रो हुँदा राप्रपा उम्मेदवार रामप्रसाद उप्रेती ३१६२ मत ल्याएर चौथो भएका थिए ।

त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङले २ हजार ७३१ मत ल्याएका थिए, जो अहिले उज्यालो नेपाल पार्टीबाट उम्मेदवार छन् । 

२०७९ मा परिचित उम्मेदवार नहुँदा पनि राम्रो मत आएको र यसपटक कमल थापा नै उम्मेदवार हुँदा धेरै मत आउन सक्ने राप्रपाको आकलन छ । 

२०७९ मा कांग्रेसलाई तत्कालिन माओवादी र एकीकृत समाजवादीले समर्थन गरेको थियो । अहिले यो पार्टी नेपाली कम्युनिस्ट पार्टीका रुपमा आफैं मैदानमा छ, त्यसैले कांग्रेसले पहिलेजति भोट ल्याउन कठिन छ । 

यसरी हेर्दा यो क्षेत्रमा १० हजार भन्दा कम मतमा नै उम्मेदवारको हारजित हुन सक्छ । राप्रपा नेताहरुले भनेझै कमल थापाले जितका लागि आफ्नो मत निकै बढाउनुपर्छ र अरु उम्मेदवारको मत बाँडिनुपर्छ । 

राप्रपाले देखेको कमल थापाको जितको आधार भनेको २०७९ सालकै प्रदेशसभा निर्वाचनको मत पनि हो । त्यतिबेला काठमाडौं ५(क) बाट राप्रपाका राजेन्द्र प्रजापति निर्वाचित भएका थिए । उनले ४ हजार ३०४ मत पाएर जित्दा कांग्रेस उम्मेदवार दोस्रो र एमाले उम्मेदवार तेस्रो भएका थिए । 

अनि काठमाडौं ५ (ख) मा कांग्रेस उम्मेदवार श्याम खड्का ९ हजार ७४२ मत पाएर निर्वाचित हुँदा एमालेका दीपक निरौला ८ हजार ४१४ मत पाएर दोस्रो र राप्रपा उम्मेदवार सुसनकुमार श्रेष्ठ ५ हजार ६३६ मत ल्याएर तेस्रो भएका थिए । तर पहिले राप्रपामा रहेका अमित थापा अहिले श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेकाले उनले राप्रपाको मत काट्ने सम्भावना पनि छ । 

यसपटक काठमाडौं ५ मा यसपटक विभिन्न दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार छन् । 

काठमाडौं ८

राप्रपाले चुनाव जित्ने दाबी गरेको अर्को क्षेत्र हो, काठमाडौं–८ । यहाँ राप्रपाको उम्मेदवार छन्, नवीन शाही । पार्टीको केन्द्रीय सदस्य रहेका उनी कालीमाटी तरकारी बजारमा व्यापारी हुन् । 

यो क्षेत्रमा काठमाडौं महानगरको १३, १५, १९, २०, २३ र २४ पर्छ । त्यो भनेको  छाउनी, डल्लु, कालीमाटी, स्वयंम्भू लगायतका कोर नेवार बस्ती पर्छ । अनि नागार्जुन नगरपालिकाको वडा नम्बर ४ र ५ पनि काठमाडौं–८ मै पर्र्छ । यो क्षेत्रबाट धेरैजसो नेवार समुदायले नै चुनाव जित्दै आएका छन् । 

२०७९ सालमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार ११२ मत ल्याएर चुनाव जिते । हाम्रो नेपाल पार्टीका सुमन सायमीले ६ हजार १७९  मत ल्याएर दोस्रो भए । 

कांग्रेस र माओवादीको समेत समर्थनमा तत्कालिन एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८८१, राप्रपाका प्रकाश रिमालले ४ हजार ३८८ र नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३ हजार ८९१ मत ल्याएका थिए । 

यसपटक रास्वपाबाट विराजभक्त श्रेष्ठ नै दोहोरिएका छन्, कांग्रेसले सपना राजभण्डारी, एमालेले राजेश शाक्य, नेपाली कम्युनिस्ट पार्टीले सुमन सायमी उम्मेदवार छन् । कुल २२ जना उम्मेदवार छन् । 

राप्रपाले यसपटक नेवार समुदायबाट उम्मेदवार बनाएकाले चुनाव जित्ने दाबी गरेका छन् । २०७९ सालमा राप्रपा उम्मेदवार रहेका नेता प्रकाश रिमाल नेवार समुदायका उम्मेदवार होइनन्, उनी नागाजर्नुन नगरपालिकाको रामकोट क्षेत्रका बासिन्दा हुन् । 

उनले आफूले नेवार समुदायले आफूलाई भोट नै नदिएकाले नेवार समुदायबाटै उम्मेदवार बनाउनुपर्ने सुझाव पार्टीका नेताहरुलाई दिएका थिए । 

काठमाडौं–८ को रिङरोड बाहिरको भूगोलमा राप्रपाको राम्रो जनमत छ । २०७९ को प्रदेशसभा चुनामा काठमाडौं ८(ख) बाट राप्रपाका उद्धव थापा ३ हजार ३४९ मत ल्याएर निर्वाचित भएका थिए । 

यसपटक धेरै उम्मेदवार नेवार समुदायको रहेकाले रिङरोडभित्रको कोर एरियाको मत बाँडिन सक्छ । त्यसैले रिङरोड बाहिरको पार्टी भोट जोगिँदा चुनाव जित्ने राप्रपा नेताहरुको दाबी छ । 

ललितपुर २ 

उपत्यकामा राप्रपाले चुनाव जित्ने दाबी गरेको अर्को क्षेत्र हो, ललितपुर–२ । ललितपुर २ मा राप्रपा उम्मेदवार छन्, रघुबर राजा थापा । 

उनी २०७९ सालको चुनावमा ६ हजार ६४६ मत ल्याएर यो क्षेत्रमा पाचौं भएका थिए ।   

२०७९ सालमा यहाँबाट नेकपा एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मत पाएर निर्वाचित भएका थिए । हाम्रो नेपाल पार्टीका सुदिन शाक्य ८ हजार ८८६ मत पाएर दोस्रो भएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन ८ हजार ६६६ मत ल्याएर तेस्रो भएका थिए । अनि कांग्रेस र माओवादीको समेत समर्थन पाएका तत्कालिन एकीकृत समाजवादीका नेता कृष्णलाल महर्जनले ८ हजार २६४ मत ल्याएका थिए । 

राप्रपा नेताहरुका अनुसार त्यतिबेला राप्रपासँग निकट पत्रकार दीपेश केसी स्वतन्त्र उम्मेदवारी दिएर १ हजार ३९२ मत ल्याएका थिए । यसपटक उनको समर्थन राप्रपा उम्मेदवारलाई छ । 

यसपटक कांग्रेसले प्रेमकृष्ण महर्जन, एमालेले प्रेमबहादुर महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीले जगदिश खरेल र नेपाली कम्युनिस्ट पार्टीले राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ । 

राप्रपाबाट रघुबर राज थापा नै दोहोरिएका छन्, कुल २३ जना उम्मेदवार छन् । 

यस क्षेत्रमा ललितपुर महानगरपालिकाको ९ वटा वडा र महालक्ष्मी नगरपालिकाको पुरै क्षेत्र पर्छ । यो निर्वाचन क्षेत्रको जनमत चक्रपथ भित्र र बाहिर गरी विभाजित छ । चक्रपथ बाहिर पर्ने महालक्ष्मी नगरपालिकाका बासिन्दामा चक्रपथ भित्रका उम्मेदवारले जित्दा आफ्नो क्षेत्रलाई हेरेनन् भन्ने भावना देखिन्छ । अहिले पनि कांग्रेस र एमालेका उम्मेदवार चक्रपथ भित्रका छन् । 

राप्रपा उम्मेदवार थापा भने चक्रपथ बाहिरका हुन् ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि अहिले ललितपुर–२ मै बसोबास गर्छन् । उनले यस क्षेत्रको जितलाई आफ्नो पनि प्रतिष्ठा बनाएका छन् । आफ्नो टोलका धेरै मानिसहरुलाई राप्रपा प्रवेश गराएका छन् । राप्रपाले आफ्नो मत, पुराना दलप्रतिको असन्तुष्टिको मत र रिङरोड बाहिरको मत पाउँदा जित्न सक्ने अनुमान गरेको छ । 

राप्रपाले जस्तै चुनावका बेला जित हारको अनुमान सबै राजनीतिक दलले गर्छन् । उनीहरुको अनुमान मेल खान्छ कि खाँदैन, त्यसको जाँच त फागुन २१ को चुनावले नै गर्नेछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति