नेभिगेशन
राजनीति

ओली-बालेनको प्रतिस्पर्धामा निर्णायक चार पात्र

हिजोआज चिया चौतारामा छलफलको विषय छ, झापा ५ । 

केपी ओलीले जित्लान् कि बालेन शाहले ? सबैको आआफ्नै विश्लेषण छ । तर झापा–५ को चुनावलाई केपी ओली भर्सेज बालेन शाहको रुपमा मात्र हेर्नुहुन्न । 

राजनीतिक दल र स्वतन्त्र गरी कुल २४ उम्मेदवार छन् ।

त्यसमा पनि नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी यो क्षेत्रमा राम्रो जनमत छ । उनीहरुले पाउने मत अर्को उम्मेदवारको हार–जितका लागि निर्णायक हुन सक्छ ।

०००० 

झापा–५ मा बलियो संगठन भएको दल हो, कांग्रेस । तर यो क्षेत्रमा कांग्रेसले चुनाव भने अहिलेसम्म जितेको छैन । अघिल्ला दुई चुनावमा खगेन्द्र अधिकारी उम्मेदवार थिए । दुबै पटक उनले चुनाव हारे ।

यो पटक कांग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ । मन्धरा, झापा र वरपरका जिल्लामा राजनीतिसँगै समाजसेवाका कारण चिनिएको नाम हो । 

दमक नगरपालिका–९ निवासी ६३ वर्षकी मन्धराले २०३८ सालदेखि १३ वर्षसम्म सरकारी जागिर खाइन् । २०५१ सालपछि भने जागिर छाडेर सामाजिक काम र राजनीतिलाई अघि बढाइन् । 

मन्धराले २०५९ सालमा आफ्नै अध्यक्षतामा जनचेतना महिला संघ गठन गरिन् । यो संस्थाले हिंसा पीडित महिलाको न्यायका लागि काम गर्छ ।

मन्धरा दमकको अनाथ बाल आश्रमकी अध्यक्ष समेत हुन् । २०६० सालमा स्थापना भएको यो संस्थाले अनाथ र असहाय वालबालिकालाई आश्रय दिन्छ ।

राजनीतिक रुपमा उनी नेपाल महिला संघको दमक नगर सभापति,  कांग्रेसको महाधिवेशन प्रतिनिधिसम्म भइन् । मत विश्लेषण गर्ने हो भने २०७९ को चुनावमा समानुपातिकतर्फ कांग्रेसले १६ हजार ८५९ मत पाएको छ । 

००००

झापा–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छन्, रञ्जित तामाङ । उनको घर झापाको कमल गाउँपालिका बासबारीमा हो । ४३ वर्षका रञ्जित आफ्नो चुनाव क्षेत्रमा पहिलो पटक उम्मेदवार भएर गएका हुन् । 

उनी तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक कार्यकाल अध्यक्ष भएका थिए । रञ्जितको यो पहिलो चुनावी यात्रा हुन् ।

माओवादीभित्र उनी अध्ययनशील र सम्भावना भएका नेता मानिन्छन् । यद्यपि अहिलेसम्म उनी जनमतबाट परीक्षण भएका नेता होइनन् । 

अनि, उनको दलले २०७० सालपछि यो क्षेत्रमा चुनाव लडेको छैन । 

अहिलेको झापा–५ को धेरै क्षेत्र २०७० साल भन्दा अगाडि झापा–७ थियो । २०६४ सालमा झापा–७ मा माओवादीका विश्वदीप लिङ्देनले केपी शर्मा ओलीलाई पनि हराउँदै संविधानसभा सदस्य निर्वाचित भएका थिए । 

२०७० सालमा माओवादीका गोपाल किरातीले प्रतिस्पर्धा गरेका थिए । केपी ओलीले चुनाव जित्दा किराती तेस्रो भएका थिए । 

२०७४ सालमा निर्वाचन क्षेत्र पुनर्संरचना हुँदा झापामा ५ निर्वाचन क्षेत्र मात्र कायम भयो । पुरानो झापा–७ को धेरैजसो क्षेत्र झापा–५ मा पर्‍यो । 

चुनावमा एमाले र माओवादी गठबन्धन गरेकाले माओवादीले झापा–५ मा उम्मेदवारी दिएन, एमाले अध्यक्ष ओलीलाई नै सघायो । २०७९ मा माओवादीले फेरि उम्मेदवार उठाएन,  कांग्रेससँग समर्थन गर्‍यो । 

लगातार दुई वटा चुनावमा उम्मेदवार नउठाएका कारण यो क्षेत्रमा माओवादीको प्रभाव कमजोर बनेको थियो । तर २०७९ को चुनावमा माओवादीले ८ हजार ६८० मत मात्र पाएको थियो ।

०००

झापा क्षेत्र नम्बर ५ मा राम्रो मत ल्याउन सक्ने अर्का उम्मेदवार हुन्, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला । 

५४ वर्षका संग्रौला दमककै बासिन्दा हुन् । उनी काठमाडौंमा मार्बलको व्यापार गर्छन् । गृहजिल्ला झापामा सामाजिक कामबाट चिनिएका छन् ।

उनले आफ्नै खर्चमा विभिन्न सामाजिक काम गर्दै आएका छन् । संग्रौलाले आफ्नै नेतृत्वमा राष्ट्रिय स्वाभिमान पार्टी गठन गरेका थिए । 

२०७८ सालमा राप्रपासँग बिलय गराए । हाल उनी राप्रपाको केन्द्रीय सदस्य हुन् । उनले झापा–५ मा उम्मेदवार बन्न केही वर्षदेखि तयारी गरिरहेका थिए । तर पछिल्लो दुई पटक चुनावमा राप्रपाले ओलीलाई समर्थन गरेका कारण यो क्षेत्रमा कसैलाई पनि उम्मेदवार बनाएको थिएन ।
यो पटक भने संग्रौला उम्मेदवार छन् । 

अनि, यो क्षेत्रमा राप्रपाका संगठन बलियो नै छ । खासगरी गौरीगञ्ज र दमक क्षेत्रमा राप्रपाको प्रभाव छ । दमक नगरपालिकाको मेयर त राप्रपाका राम थापा नै मेयर छन् । हुन त उनी २०७९ सालमा कांग्रेस र माओवादीको समर्थनमा जितेका हुन् । तर थापाको बलियो प्रभाव छ । 

२०७९ को चुनावमा राप्रपाले समानुपातिकतर्फ ७ हजार ३७० मत पाएको छ । त्यसैले झापा–५ मा राप्रपाको राम्रो प्रभाव छ ।

०००

झापा–५ मा अर्का बलिया उम्मेदवार हुन् समीर तामाङ । धरानका बासिन्दा उनी जम्मा ३३ वर्षका भए । 

धरानका निवर्तमान मेयर हर्क साम्पाङले एउटा कार्यक्रममा बालेन जहाँबाट उठे पनि हराइदिने घोषणा गरेका थिए । 

बालेनले झापा–५ मा उम्मेदवारी दिने भएपछि श्रम संस्कृति पार्टीले समीरलाई त्यहाँ उम्मेदवार बनायो । 

समीर श्रम संस्कृति पार्टीका सहमहासचिव हुन् । अनि, हर्क साम्पाङका निकट सहयोगी । धरानमा हुने श्रमदान अभियानमा उनी सधैं हर्क साम्पाङको साथमा हुन्थे । 

उनले अहिले झापा–५ मा श्रमदान र घरदैलो अभियान एकसाथ चलाइरहेका छन् । श्रम संस्कृति पार्टीले झापाको कमल गाउँपालिका–२ र ४ जोड्ने ढ्याङ्ग्री खोलामा श्रमदानबाटै काठे पुल बनाएको छ ।

झापा–५ मा श्रम संस्कृति पार्टीको चुनाव प्रचार शैली अरु पार्टीको भन्दा भिन्न छ । श्रम संस्कृति पार्टीका उम्मेदवार तडक भडक गर्दैनन् । हर्क साम्पाङको फोटो भएको, म हुँ श्रमदाता लेखिएको टिसर्ट लगाएर उम्मेदवार र उनका सहयोगीहरु श्रम गरिरहेका भेटिन्छन् । श्रम संस्कृति पार्टीले सञ्चालन गरेको अभियानहरुमा दमकमा मानिसहरुको ठूलो उपस्थिति देखिन्छ ।

समीरले आफ्नो र पार्टीको एजेण्डा लेखिएको एउटा पर्चा बनाएका छन् । त्यही बाँडेर चुनाव प्रचार गरिरहेका छन् । 

०००

ओली चार पटकका प्रधानमन्त्री, अनि एमालेका अध्यक्ष हुन् । झापा ५ उनको गढ हो । उनले यस क्षेत्रबाट ०६४ मा बाहेक ६ पटक चुनाव जितेका छन् । अघिल्लो चुनावमा त ओली ५२ हजारभन्दा बढी मतले विजयी भएका थिए । समानुपातिकतर्फ पनि एमालेले ३५ हजार ८७२ मत पाएको छ । 
रास्वपा, अनि बालेन उनका मुख्य प्रतिस्पर्धी हुन् । अघिल्लो चुनावमा नै राप्रपाले यो क्षेत्रमा १८ हजार २०५ मत पाएको थियो । अहिले त देशभर नै बालेन र रास्वपाको पक्षमा लहर नै देखिएको छ । 

तर यो प्रतिस्पर्धामा कसले बाजी मार्छ भन्ने चाहिँ कांग्रेस, राप्रपा, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारले पाउने मतले पनि धेरथोर निर्धारण गर्छ । खासगरी कांग्रेसकी मन्धरा, राप्रपाका सिटौला र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले पार्टीको भोट कति जोगाउन सक्छन् भन्ने हो । 

अनि, श्रम संस्कृतिका समीरले कसको भोट कति काट्छन् भन्नेले पनि झापा ५ मा ओली वा बालेन को जित्छन् र उनीहरुको फासला कति हुन्छ भन्ने निर्धारण गर्ने देखिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति