नेभिगेशन
राजनीति

कुलमानको घोषणापत्र : विजुलीको शेयर दिने, सांसद र मन्त्री घटाउने

२७५ जना प्रतिनिधिसभा सांसद । ५९ जना राष्ट्रियसभाका सांसद । ५५० जना प्रदेश सांसद । 

संघीय सरकारमा २५ जनाको मन्त्रिपरिषद । सबै प्रदेशमा आआफ्नै सरकार । अहिलेकै कुरा गर्ने हो भने ७ प्रदेशमा गरेर ७४ जना मन्त्री छन् ।

कर्णाली र गण्डकी ८/८, सुदूरपश्चिममा ९, कोशीमा ११, मधेश र लुम्बिनीमा १२/१२ अनि बागमतीमा १४ सदस्यीय मन्त्रिपरिषद छ । 

झण्डा हल्लाउँदै हिँड्ने मन्त्री र माननीयहरुको संख्या धेरै छ, तर जनताको गाउँठाउँमा पुग्नुपर्ने सेवा सुविधा पुगेको छैन । शासन प्रणालीप्रति नागरिकको वितृष्णा हुनुको एउटा कारण यो पनि हो । 

त्यसैले यो चुनावमा दलहरुले शासन सुधार्छु मात्र भनेर सुख पाएका छैनन् । जनप्रतिनिधिको संख्या घटाउँछु पनि भनिरहेका छन् । 

त्यसमा एक कदम अगाडि बढेको छ, उज्यालो नेपाल पार्टी । कुलमान घिसिङ नेतृत्वको यो पार्टीले आफ्नो चुनावी घोषणापत्रमा जनप्रतिनिधिको संख्या कति घटाउने स्पष्ट खाका नै अगाडि सारेको छ । 

अनि उसको चुनावी नारा छ, गफ होइन काम, भाषण होइन परिणाम ।

०००० 

संविधानमा नै प्रतिनिधिसभा सदस्यको संख्या २७५ किटान गरिएको छ । १६५ क्षेत्रबाट १/१ जना प्रत्यक्ष चुनाव जितेर निर्वाचित हुन्छन् । अनि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिन्छन् । 

अनि एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र हुन्छ । सातै प्रदेशमा गरी प्रत्यक्षबाट ३३० जना चुनिन्छन् । यसैगरी समानुपातिक तर्फ २२० जना चुनिन्छन् ।

अनि संघीय मन्त्रिपरिषद २५ सदस्यीयसम्म बनाउन सकिन्छ । प्रदेश मन्त्रिपरिषदको आकार प्रदेशसभाको २० प्रतिशतसम्म हुन सक्ने भनेको छ । त्यो भनेको बागमतीमा त २२ जनासम्मको हुन्छ । 

उज्यालो नेपाल पार्टीले संविधान नै संशोधन गरेर जनप्रतिनिधिको संख्या घटाउने ठोस खाका अगाडि सारेको छ ।

उसले प्रतिनिधिसभाका सांसद संख्या २७५ बाट घटाएर २०१ बनाउने भनेको छ । प्रदेशसभा ५५० बाट घटाएर ३३० मा झार्ने भनेको छ । 

यद्यपि प्रत्यक्षतर्फ कति र समानुपातिकमा कति सिट घटाउने तोकेको छैन । यदि अहिलेकै जस्तो ६०/४० को अनुपातमा गर्ने हो भने प्रत्यक्षतर्फ १२१ र समानुपातिकतर्फ ८० हुन आउँछ । 

उज्यालो नेपाल पार्टीले सांसदको संख्या मात्र होइन, मन्त्रीको संख्या पनि घटाउने भनेको छ । संघमा २५ वटा मन्त्रालय नै धेरै भयो भन्ने यो पार्टीको निश्कर्ष छ । त्यसलाई १५ वटामा झार्ने भनेको छ । 

प्रदेशमा ५ देखि ७ वटासम्म मन्त्रालय राख्ने भनेको छ । 

उज्यालो नेपालको अर्को घोषणा छ, प्रदेशमा जनताबाट प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री । अहिले केन्द्रमा जसरी संसदबाट प्रधानमन्त्री चयन हुन्छ, प्रदेशमा मुख्यमन्त्रीहरु पनि त्यसरी नै प्रदेशसभाबाट छानिन्छ । 

तर उज्यालो नेपाल पार्टीले भने प्रदेशका मुख्यमन्त्रीहरु जनताले सिधै मत दिएर छनोट गर्ने प्रस्ताव अघि सारेको छ । 

अनि स्थानीय निर्वाचन चाहिँ दलविहीन हुने भनेको छ । स्वतन्त्र उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुने गरी स्थानीय निर्वाचनलाई निर्दलीय बनाउने उज्यालो नेपाल पार्टीको योजना छ । 

साझा सहमति कायम गर्न र विकासलाई गति दिनका लागि स्थानीय निर्वाचन निर्दलीय हुनुपर्ने उसको मत छ ।

०००

अब कुलमानको यूएसपी मानिएको जलविद्यतुको कुरा गरौं । उज्यालो नेपाल पार्टीले हरेक नेपाली घर परिवारलाई कम्तीमा १ हजार कित्ता जलविद्युत आयोजनाको शेयर दिने योजना अघि सारेको छ । 

शेयर किन्न नसक्ने गरिब परिवारलाई प्राइमरी सेयर किन्न सहुलियतमा ऋण दिने भनेको छ । त्यति मात्र होइन, विद्युत आयोजनामा काम गर्ने श्रमिकले श्रमकै आधारमा शेयर पाउने व्यवस्था गर्ने घोषणा गरेको छ । 

जलविद्युत आयोजनाबाट आउने राजस्वको २० प्रतिशत रकम जनताको जलविद्युत कोष बनाएर राख्ने घोषणा गरेको छ । त्यो रकम शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा खर्च गर्ने भनिएको छ । 

उज्यालो नेपाल पार्टीले सन् २०३० अर्थात् अबको ५ वर्षभित्र १२ हजार मेगावाट बिजुली निकाल्ने घोषणा गरेको छ । सन् २०३५ सम्म २५ हजार मेगावाट र २०४५ सम्म ४० हजार मेगावाट बिजुली निकाल्ने घोषणा गरेको छ । 

००० 

सडक निर्माणमा पनि उज्यालो नेपाल पार्टीले महत्वाकांक्षी घोषणा गरेको छ । ५ वर्षभित्र ८ हजार किलोमिटर सडक कालोपत्रे गर्ने उसको घोषणा छ । ४ हजार किलोमिटर ग्राभेल गर्ने र ३ हजार किलोमिटर ट्रयाक खोल्ने भनेको छ । 

सन् २०४० सम्म लुम्बिनी, निजगढ र भरतपुरजस्ता १३ वटा शहरलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको छ । 

सिँचाइमा पनि त्यस्तै महत्वाकांक्षी घोषणा छ । ५ वर्षमा थप ८ लाख हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने घोषणा गरेको छ । 

सुनकोशी मरिण, भेरी बबई, रानी जमरा कुलरिया, बबइ सिँचाइ, सिक्टा सिँचाइ योजना र महाकाली सिँचाइ योजना ५ वर्षभित्रै पूरा गर्ने दाबी गरेको छ । यसबाट ३ लाख हेक्टरमा सतह सिँचाइ पुग्नेछ । 

स्यालो र डिप ट्युबेलबाट ५ वर्षभित्र ३ लाख हेक्टर जमिनमा सिँचाइ गर्ने घोषणा गरेको छ । अनि विद्युत प्रयोग गरेर लिफ्ट प्रविधिबाट २ लाख हेक्टरमा सिँचाइ गर्ने भनेको छ । 

०००० 

गरिबी र बेरोजगारी घटाउने अर्को महत्वाकांक्षी घोषणा छ । हाल १२ प्रतिशत रहेको बेरोजगारी सन् २०३० सम्म ८ प्रतिशतमा झार्ने भनेको छ । अनि हाल २० प्रतिशत रहेको गरिबीलाई ५ वर्षभित्रै १५ प्रतिशतमा झार्ने भनेको छ । 

५ वर्षमा १० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न १० लाखसम्म निब्र्याजी ऋण दिने घोषणा गरेको छ । १० अर्बको स्टार्ट अप कोष स्थापना गरेर सातै प्रदेशमा आईटी पार्क स्थापना गर्न कर छुट दिने भनेको छ । 

५ वर्षभित्र ६ लाख युवालाई कोडिङ, एआई, साइबर सेक्युरिटी लगायत आईटी शिक्षा दिने घोषणा गरेको छ । जलविद्युत आयोजना, कृषि, पर्यटन, आईटी, उद्योग, पूर्वाधार र खेलकुद क्षेत्रमा एक वर्षमै ९ लाख रोजगारी सिर्जना गर्ने उज्यालो नेपाल पार्टीको घोषणा छ । यसरी ५ वर्षमा ४५ लाख जनालाई रोजगारी दिन सकिने उसको दाबी छ । 

शिक्षा र स्वास्थ्य 

उज्यालो नेपाल पार्टीले स्थानीय तहको अस्पतालमा हाडजोर्नी, स्त्रीरोग र बालरोगमध्ये कम्तीमा एउटा विशेषज्ञ डाक्टर राख्ने घोषणा गरेको छ । अनि हरेक वडामा मानसिक स्वास्थ्य परामर्श सेवा दिने भनेको छ । 

हरेक बच्चा जन्मेपछि उसको नाममा १५ हजार रुपैयाँको बचत खाता खोल्ने घोषणा गरेको छ । त्यो रकम १८ वर्ष पुगेपछि ब्याजसहित एकमुष्ट फिर्ता दिने भनेको छ । त्यो रकमले उच्च शिक्षा लिन र सीप विकास गर्न सकुन् भन्ने उद्देश्य राखिएको छ । 

कृषिमा ५ वर्षमा ५० प्रतिशत कृषि क्षेत्रलाई अर्गानिक कृषि क्षेत्र घोषणा गर्ने भनिएको छ । अर्गानिक उत्पादन किसानको लागत भन्दा २० प्रतिशत थपेर राज्यले किनिदिने उज्यालो नेपाल पार्टीको घोषणा छ । 

युवा किसानलाई ५ वर्षका लागि २५ लाखसम्मको सहुलियत ऋण दिने घोषणा गरेको छ । सिँचाइका लागि निशुल्क बिजुली दिने भनेको छ । 

वर्षमा १ लाख भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई घर बनाएर दिने घोषणा पनि गरिएको छ । 

त्यस्तै राष्ट्रिय खेलाडीलाई मासिक २५ हजार र अन्तर्राष्ट्रिय खेलाडीलाई मासिक ६० हजार पेन्सन दिने घोषणा गरेको छ । 

सहकारी र लघुवित्तको अनियमिताको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग बनाउने घोषणा गरेको छ । सहकारीका ५ लाख रुपैयाँसम्मको वचचतकर्तालाई पीडकसँग असुल गरेर वचत रकम फिर्ता गर्ने घोषणा गरेको छ । 

सन् २०३० सम्म वार्षिक ९ प्रतिशतको आर्थिक वृद्धि गर्ने घोषणा गरेको छ । त्यसो गर्दा नेपालको कुल ग्राहस्थ्र्य उत्पादन ७० अर्ब डलर पुग्नेछ । सन् २०३५ मा जीडीपी १११ अर्ब डलर पुर्‍याउने भनेको छ । 

००० 

उज्यालो नेपाल पार्टीले बेजिल्ला र विदेशबाट समेत चुनावमा भोट हाल्न पाउने व्यवस्था  गर्ने भनेको छ । 

विदेशमा रहेका नेपालीले लामो समयदेखि भोट हाल्ने अधिकार माग गर्दै आएका छन् । बैदेशिक रोजगारीमा रहेकाहरुले नोट चल्ने भोट नचल्ने भन्दै नेपालको निर्वाचन प्रणालीप्रति असहमति राख्दै आएका छन् ।

सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपालीलाई भोट हाल्ने अधिकार देऊ भनेर आदेश गरेको छ । तर सरकारले त्यसको व्यवस्था मिलाउन सकेको छैन । 

त्यस्तै मतदाताको ठूलो संख्या देशभित्रै आफ्नो स्थायी ठेगाना भन्दा बाहिर बसोबास गरिरहेको छ । चुनावका उनीहरु भोट हाल्नका लागि आफ्नै मतदाता नामावली भएको केन्द्रमा जानुपर्ने बाध्यता छ । देशभित्रै पनि आफू बसेकै ठाउँबाट भोट हाल्न पाउनुपर्ने माग हुँदै आएको छ । 

उज्यालो नेपाल पार्टीले उनीहरुको मागलाई सम्बोधन गर्दै बेजिल्लामा रहेका मतदाताले नजिकको मतदान केन्द्रमा भोट हाल्ने व्यवस्था गर्ने घोषणा गरेको छ । 

अनि विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गर्ने भनेको छ । अनि नो भोट अर्थात कुनै पनि उम्मेदवारलाई भोट दिन्न भन्ने व्यवस्था पनि गर्ने भनेको छ । 

उज्यालो नेपाल पार्टीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अवधारणा स्वीकार गरेको छ । विदेशमा बस्ने नेपाली र तिनका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन कानुन नै संशोधन गर्ने भनेको छ । यसका साथै गोर्खा सैनिकलाई पनि वंशजको नागरिकता दिने भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति