नेभिगेशन
राजनीति

भीम रावललाई एमालेकै भर, एमालेकै डर

सुदूरपश्चिमको भूगोलबाट आएर राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने थोरै नेताहरुमध्ये एक हुन् भीम रावल । 

२०७९ को आम चुनावमा केपी ओलीले जब रावललाई टिकट नदिने निर्णय गरे, धेरैलाई लाग्यो, एमालेले अछाममा त हार्ने नै छ । रावलकै कारण सुदूरपश्चिममै पनि नराम्रो धक्का लाग्नेछ । 

यो पटक प्रश्न अर्कै छ । एमालेको संगठन विना, भीम रावलले चुनाव जित्लान् ? 

०००० 

भीम रावल, लामो राजनीतिक इतिहास भएका नेता हुन् । 

२०३० सालमा विद्यार्थी राजनीति होमिएका रावल २०४७ सालमा तत्कालीन कृषिमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकार बनेका थिए । त्यसपछि उनी सांसद भए, गृहमन्त्री भए, उपप्रधान तथा रक्षामन्त्री रहे ।

राष्ट्रिष्य राजनीतिमा भीम रावलको छवि राष्ट्रवादी नेताको रुपमा छ । एमसीसीको विरोधमा होस् या संविधान निर्माणका बेला नागरिकताको सवालमा होस्, उनले आफ्नो अडान प्रष्टसँग राखे । 

एमालेमा पनि उनी उपाध्यक्षसम्म भए । तर २०७८ मंसिरमा चितवनमा भएको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग चुनाव लडेपछि उनको राजनीतिको ओरालो यात्रा सुरु भयो । 

उनलाई २०७९ सालको आम चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नै दिएनन् । रावललाई टिकट नदिँदा अछाम मात्र होइन, सिंगो सुदूरपश्चिम प्रदेशको चुनावी ननिजामा प्रभाव पर्नसक्थ्यो । एमालेका नेताहरुले त्यो जोखिमबारे नभनेका होइनन्, तर एमालेमा ओलीको इगोले जित्यो । 

चुनाव चाहिँ एमालेले हार्‍यो । अछामको एउटा क्षेत्र कांग्रेस र अर्को क्षेत्र एकीकृत समाजवादीले जित्यो । सिंगो सुदूरपश्चिममा प्रत्यक्षतर्फ एमालेले दुई सिटमात्र जित्यो । 

२०८१ पुसमा त भीम रावल एमालेबाटै निकालिए । त्यसपछि रावलले मातृभूमि जागरण अभियानको नाममा राजनीतिक गतिविधि गर्न थाले ।

माधवकुमार नेपालले एकीकृत समाजवादीमा भित्र्याउने प्रयास पनि गरेका थिए, तर खै के मिलेन, अन्तिम समयमा रावल रोकिए ।

भदौ २३ को जेनजी बिद्रोहपछि तत्कालिन माओवादी, एकीकृत समाजवादीसहितका दलहरु मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्यो । भीम रावल पनि आफ्नो समूहसहित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भयो । रावल, नेपाली कम्युनिस्ट पार्टीको छैटौं बरियताको नेता छन्  । 

अनि, फागुन २१ को चुनावका लागि रावल आफ्नो नियमित चुनाव क्षेत्र अछाम–१ बाट उम्मेदवार बनेका छन् । 

अछाम–१ मा भीम रावलले हार र जित दुबैको अनुभव लिएका छन् । २०४८ र २०५६ मा चुनाव हारेका । २०५१ र २०७४ मा प्रत्यक्ष जिते । २०६४ को चुनावमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए । 

यो पटक उनीसँग बलियो संगठन भएको एमाले पार्टी छैन । त्यसका बाबजुद रावलले चुनाव जित्ने दाबी गर्दै आएका छन् । 

त्यसको मुख्य कारण हो, व्यक्तिगत प्रभाव । अछाममा मात्र होइन, सुदूरपश्चिम प्रदेशमा नै भीम रावल जति राजनीतिक उचाइ बनाएका धेरै छैनन् ।

उनी भन्दा उचाइका व्यक्ति शेरबहादुर देउवा नै हो, जो ५ पटक प्रधानमन्त्री भए, दुई कार्यकाल कांग्रेस सभापति भए । अरु पार्टीमा यो उचाइको नेता नहुनाले व्यक्तित्वको प्रभाव हुने नै भइहाल्यो । 

रावलले पनि आफू सुदूरपश्चिमकै नेता भनेर भोट मागेका छन् । उनले स्थानीय भाषामा नै चुनावी सभाहरुमा सम्बोधन गरिरहेका छन् र अरु उम्मेदवारले जितेर गए पनि केही गर्न नसक्ने भनिरहेका छन् । 

अनि, पछिल्लो समय संगठन पनि बलियो भएको नेपाली कम्युनिस्ट पार्टीका नेताहरुको दाबी छ । 

अछाम–१ मै पर्ने रामारोशन गाउँपालिकाका नेकपा नेता पहल साउदका अनुसार अछाममा पूर्व माओवादीको पनि बलियो संगठन थियो । एकीकृत समाजवादी र रावलको मातृभूमि जागरण अभियानका कमिटी समायोजन गरेकाले संगठन बलियो बनेको उनको दाबी छ । 

पार्टीको संगठनात्मक अवस्था र भीम रावलको व्यक्तित्वका कारण चुनाव जित्ने उनी दाबी गर्छन् ।

नेपाली कम्युनिस्ट पार्टीले भीम रावलले चुनाव जित्न देखेको अर्को कारण हो, एमालेका उम्मेदवार । 

एमालेले यसपटक दीपक साउदलाई उम्मेदवार बनाएको छ । 

दीपक साउद पूर्वमाओवादी नेता हुन् । उनले सशस्त्र युद्धमा भूमिगत युद्ध नै लडेका थिए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले अछाम १ बाट भीम रावलसँगै प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला भीम रावलले उनलाई पराजित गरेका थिए । 

त्यसैले दीपक साउदले चुनावी कार्यक्रमहरुमा अछाममा १२ वर्षपछि खोलो फर्किन्छ भन्दै भाषण गर्न थालेका छन् । उनले आफू चुनाव जित्ने पार्टीमा रहेको र भीम रावलको हार्ने पालो आएको दाबी गरेका छन् । 

तर नेपाली कम्युनिस्ट पार्टीका नेताहरु भने एमालेले हारको मानसिकता लिएर चुनाव लडिरहेको टिप्पणी गर्छन् । चुनाव हारिन्छ भनेर एमालेले पूर्वमाओवादीलाई टिकट दिएको उनीहरुको आरोप छ ।

एमालेका नेताहरु भने यसलाई रणनीतिक कदम मान्छन् । 

२०८२ कात्तिकमा माओवादी र एकीकृत समाजवादी पार्टी सहितका कम्युनिस्ट घटक एक ठाउँमा आउँदा माओवादी नेता जनार्दन शर्मा भने पार्टीबाट अलग भए ।

दीपक साउद जनार्दन शर्माहरुसँगै माओवादीबाट बाहिरिए । उनलाई जनार्दनले प्रगतिशील लोकतान्त्रिक पार्टीको सुदूरपश्चिम कमिटीका अध्यक्ष बनाएका थिए । 

यो चुनावमा मनोनयन दर्ताको मुखमा एमालेले दीपक साउदलाई पार्टीमा भित्र्याउने बारेमा छलफल गर्‍यो । दीपकको चाहना आफू प्रलोपाबाटै उम्मेदवार बन्ने र एमालेले समर्थन गरोस् भन्ने थियो । 

त्यही अलमलका बीच एमालेले २०७९ सालकै उम्मेदवार झपट बोहरालाई टिकट दिने निर्णय पनि गरेको थियो । तर साउद एमालेबाटै चुनाव लड्न तयार भएपछि बोहोराको टिकट खोसेर उनलाई दियो । 

एमालेलाई पनि थाहा छ, भीम रावल अर्को पार्टीबाट उम्मेदवार बन्दा एमालेको धेरै भोट काटिन सक्छ । दीपक साउदलाई उम्मेदवार बनाउँदा माओवादीको भोट तान्न सक्ने एमालेको विश्लेषण छ । 

एमालेको दाबी छ कि, अछाम १ मा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हो । भीम रावल तेस्रो हुने उनीहरुको दाबी छ ।

आफ्नो दाबी पुष्टि गर्न एमाले नेताहरु २०७९ सालको चुनावको मत देखाउँछन् ।

त्यो चुनावमा अछाम–१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवरले १९ हजार ५३४ मतका साथ निर्वाचित भएका थिए । तर उनलाई कांग्रेससँगै माओवादी केन्द्रको समेत समर्थन थियो । एक्लै चुनाव लडेको एमालेका उम्मेदवार झपट बोहराले १५ हजार ४५ मत पाएका थिए । 

यस्तै समानुपातिकतर्फ कांग्रेसले साढे १४ हजार र एमालेले करिव १४ हजार मत पाएको थियो । अनि, माओवादी केन्द्रले ७ हजार बढी मत पाएको थियो भने एकीकृत समाजवादीले २७ सय बढी मत ल्याएको थियो ।

यसपटक सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् । त्यसैले एमालेका नेताहरु भन्छन्, ‘मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हो, भीम रावल तेस्रो हुन्छन् ।’ 

कांग्रेसबाट भरतकुमार स्वाँर उम्मेदवार छन् । उनी जिल्लामा कांग्रेसका कुशल संगठकका रुपमा समेत चिनिन्छन् । उनी २०४९ देखि २०५४ सालसम्म जिल्ला विकास समितिको सभापति थिए । त्यतिबेलै उनले जिल्लामा कांग्रेसको संगठन बलियो बनाएका थिए । 

उनी अछाममा कांग्रेस नेताहरुमध्ये बढी भोट ल्याउन सक्ने नेता समेत हुन् । २०७४ सालको चुनावमा भीम रावल वाम गठबन्धनको साझा उम्मेदेवार भएका बेला उनले प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला रावल २४ हजार ८९३ मतका साथ निर्वाचित हुँदा स्वाँरले १७ हजार ६८९ मत पाएका थिए । 

यो चुनावमा कांग्रेस उम्मेदवार स्वाँरले आफू अछाममा नै भेटिने उम्मेदवार भनेर भोट मागिरहेका छन् । चुनावमा भोट माग्न आउनेहरु जितेर गएपछि कोही पनि अछाममा नभेटिने गरेको उनले बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रबहादुर शाह उम्मेदवार छन् कुल उम्मेदवार ८ जना छन् । 

यो क्षेत्रमा ८२ हजार ५१३ मतदाता छन् । मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच हुने देखिन्छ । 

अछाम १ मा ५ वटा स्थानीय तहका ४२ वटा वडा पर्छन् । साँफेबगर नगरपालिका, चौरपाटी, रामारोशन, मेल्लेख र बान्नीगढी जयगढ गाउँपालिका । भीम रावलको अन्य स्थानीय तहमा भन्दा साँफेबगरमा बढी प्रभाव छ । 

साँफेबगरमा नेपाली कम्युनिस्ट पार्टी र कांग्रेसबीच प्रतिस्पर्धा हुन्छ भने अरु पालिकामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने एमाले नेताहरुको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति