नेभिगेशन
राजनीति

रास्वपालाई बाबुरामको सरप्राइज

फागुन १६ गते शनिबार गोरखाबाट एउटा खबर आयो, यो चुनावमा बाबुराम भट्टराईले कांग्रेसलाई समर्थन गर्ने । 

गोरखाको दुबै क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीले कांग्रेसका उम्मेदवारलाई मत दिनेछ । 

यो चुनावमा बाबुराम आफैं गोरखा–२ बाट उम्मेदवार बनेका थिए । पार्टीभित्र नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने विचार राख्दै आएका भट्टराईले ७० वर्ष कटिसक्दा पनि उम्मेदवार हुन चाहिँ आफैं गएको भन्दै आलोचना भइरहेको थियो । 

कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नयाँ शक्ति, एमालेसहितका सबै दलहरु सिंगल सिंगल प्रतिस्पर्धामा भएकाले भट्टराईले विगतका चुनावजस्तो सहज जित पनि नहुने देखे । त्यसपछि प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार गोरखा–२ का बाबुराम भट्टराई र गोरखा–१ का गोपाल श्रेष्ठले आफ्नो मनोनयन फिर्ता लिए ।

प्रलोपाले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा बाबुरामको समर्थन लिन दल र उम्मेदवारहरुको होडबाजी चल्यो । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले अब डा. बाबुराम भट्टराईको समर्थन आफूलाई हुने भन्दै प्रचार गरे । भट्टराईले भने देशले चाहेको अनुसारकै व्यक्तिलाई समर्थन हुने भन्दै तत्कालै कुनै दल वा उम्मेदवारको नाम लिएनन् । 

चुनाव आउन एक हप्तामात्र बाँकी रहँदासम्म गोरखामा बाबुरामका समर्थक भने प्रत्यक्षमा के मा मत हाल्ने भन्नेमा अलमलमा थिए । 

कयौं नेता कार्यकर्ता अरु दलमा पनि आवद्ध हुन थालेका थिए, बाबुरामलाई आफ्नै कार्यकर्ता जोगाउन गाह्रो हुन थालेको थियो । त्यही बेला प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेससँग चुनावी सहकार्यको सहमति गर्‍यो । 

जस अनुसार फागुन २१ को चुनावमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले गोरखाको दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्नेछन् । समानुपातिकतर्फ भने आफ्नै पार्टीको चुनाव चिह्नमा मतदान गर्नेछन् । 

कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने र प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष नारायण खत्रीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

००० 

चुनावी सहकार्यले कांग्रेस नेताहरु चुनाव जित्नेमा ढुक्क देखिएका छन् । दुईवटै क्षेत्रमा कांंग्रेस एकल रुपमै प्रतिस्पर्धामा रहेका बेला प्रगतिशील लोकतान्त्रिक पार्टीको मत थपिएपछि ढुक्क भएको कांग्रेस गोरखाका सचिव किशोरजंग थापा बताउँछन् । 

गोरखा–१ मा कांग्रेसबाट प्रेमकुमार खत्री र गोरखा २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार छन् । दुबै क्षेत्रमा कांग्रेसको मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ । 

प्रलोपाको संगठन गोरखा–१ मा भन्दा गोरखा–२ मा मजबुत छ । तर कुन क्षेत्रमा कति मत छ भन्ने अहिले अनुमान गर्न कठिन छ । किनकी बाबुरामको दल नेपाल समाजवादी पार्टीले २०७९ सालमा माओवादीकै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । त्यसैले उसको समानुपातिकमा कति मत आयो भन्ने हिसाब निकाल्न सकिँदैन । 

२०७४ सालमा गोरखाका दुबै क्षेत्रमा गरी १८ हजार मत पाएको थियो । त्यो मत अहिलेसम्म यो दलले जोगाएर राखेको छ भन्न कठिन हुन्छ ।

किनकी यसका कतिपय नेताहरु तत्कालिन माओवादी र हालको नेपाली कम्युनिस्ट पार्टीमा फर्केका छन् । 

कतिपय अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् । यद्यपि बाबुरामको गृहजिल्ला भएकाले उल्लेख्य संख्यामा नेता कार्यकर्ता अहिले पनि प्रलोपामा छन् । 

यद्यपि कांग्रेसले गोरखा–२ मा २ हजारसम्म मत थपिन सक्ने अनुमान गरेको छ । अनि गोरखा–१ मा एक हजार मत थपिने अनुमान गरेको छ । प्रलोपाले भने दुबै क्षेत्रमा कांगेसले अनुमान गरेको भन्दा दोब्बर मत थपिन सक्ने भनेको छ । 

०००

गोरखामा बाबुरामले यसअघि पनि नेपाली कांग्रेससँग चुनावी सहकार्य गरेका थिए ।

२०७४ सालमा एमाले र माओवादी मिलेर बाम गठबन्धन बनाए । सुरुमा यो वाम गठबन्धनमा बाबुराम भट्टराई पनि थिए । 

२०७४ साल असोज १७ गते राष्ट्रिय सभागृहमा केपी ओली र प्रचण्डसँगै बाबुरामले पनि हात उठाएका थिए । तर त्यो सम्बन्ध धेरै टिकेन । 

वाम गठबन्धनले धोका दिएको भन्दै बाबुराम अलग भए । जानकारहरुका अनुसार २०७४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा बाम गठबन्धनबाट गोरखा–२ मा उठ्ने बाबुरामको चाहना थियो । तर वाम गठबन्धनबाट तत्कालिन माओवादी नेता नारायणकाजी श्रेष्ठ उठ्ने भएपछि बाबुरामले गठबन्धन छाडेका थिए ।

कांग्रेससँगको तालमेलपछि भट्टराईले नारायणकाजी श्रेष्ठ भन्दा करिब ६ हजार मत बढी ल्याएर चुनाव जिते । गोरखा–२ (क) बाट प्रदेशसभामा तत्कालिन नयाँ शक्ति पार्टीका हरिशरण आचार्य निर्वाचित भएका थिए । 

गोरखा–१ मा भने नयाँ शक्तिको समर्थन पाएका कांग्रेस उम्मेदवार चीनकाजी श्रेष्ठ र प्रदेशसभा उम्मेदवारहरुले चुनाव जित्न सकेनन् । २०७४ को चुनावी तालमेलबाट नयाँ शक्तिले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा चुनाव जित्यो भने कांग्रेसले एउटा प्रदेशसभा चुनाव मात्र जित्यो । 

००००

जेनजी आन्दोलनपछि बाबुरामले सबै वैकल्पिक शक्तिहरु एक ठाउँमा ल्याउन जमर्को गरेका थिए । 

गत कात्तिक २० गते बाबुराम भट्टराईको अग्रसरतामा उनको दल नेपाल समाजवादी पार्टी नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा, उज्यालो नेपाल अभियान, सीके राउत, रेशम चौधरीसहितका  नेताहरुबीच छलफल भएको थियो । 
उनले जेनजी आन्दोलनपछि पुराना दलहरु रक्षात्मक भएका बेला वैकल्पिक शक्ति एक जुट भएर पुराना दलहरुलाई चुनावबाटै हराउनुपर्ने धारणा राख्दै आएका थिए । 

तर उनको प्रस्तावले सार्थकता पाएन । नेसपा नयाँ शक्ति र जनार्दन शर्माको प्रगतिशील अभियान मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी बन्यो । 

विवेकशील साझा राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय भयो भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी छुट्टै दलको रुपमा रह्यो । 

बाबुरामले प्रगतिशील लोकतान्त्रिक पार्टी मजबुत भएर चुनावमा जान सकेन । यसपटक चुनावमा राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको प्रलोपाले यो चुनावमा आफ्नो अनुकुलता र सहजता हेरेर जुनसुकै पार्टीसँग तालमेल वा समर्थन गर्न सकिने निर्णय गरेको थियो । सबै जिल्ला समितिहरुलाई यो निर्णय सर्कुलर पनि गरेको थियो । 

त्यसैले प्रलोपाले देशका विभिन्न जिल्लामा फरक फरक पार्टीसँग सहकार्य गरेको छ । नेता जनार्दन शर्माले रुकुम पश्चिमसहित कर्णाली र लुम्बिनीका केही जिल्लामा नेकपा एमालेसँग तालमेल गरेका छन् । 

पूर्वमा नेता सुदन किरातीले हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग तालमेल गरेका छन् । बागलुङसहितका केही जिल्लामा प्रलोपाले उज्यालो नेपाल पार्टीसँग सहकार्य गरेको छ । अनि गोरखामा कांग्रेससँग तालमेल भएको छ ।

प्रलोपाका एक केन्द्रीय सदस्य भन्छन्, प्रलोपालाई राष्ट्रिय पार्टी बनाउने र प्रत्यक्षमा पनि धेरै सिट जित्ने गरी जोसुकैसँग सहकार्य गर्न सकिने निर्णय भएको छ । 

गोरखाको तालमेलबारे बाबुराम भट्टराईले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर गोरखा उनको गृहजिल्ला भएकाले उनको चाहनामै सहकार्यको भएको कांग्रेस र प्रलोपाका नेताहरु बताउँछन् । 

प्रलोपाका नेताहरुका अनुसार कांग्रेससँग सहकार्य गर्दा जिल्लामा आफ्नो संगठन जोगाउन सहज हुन्छ । प्रलोपा र नेपाली कम्युनिस्ट पार्टीबीच गोरखामा सम्बन्ध राम्रो छैन । दुई पार्टीका कार्यकर्ता तहसम्म सत्रुतापूर्ण सम्बन्ध छ । त्यसैले यो चुनावमा नेपाली कम्युनिस्ट पार्टीले प्रलोपासँग सहकार्यका लागि पहल पनि गरेन । प्रलोपा पनि नेपाली कम्युनिस्ट पार्टीसँग मिल्न इच्छुक देखिएन । 

प्रलोपाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्न सक्ने अनुमान थियो । बाबुरामले उम्मेदवारी फिर्ता लिँदाखेरि नै रास्वपाले राष्ट्रपति पदको आश्वासन दिएकाले फिर्ता लिएको प्रचार भएको थियो । तर प्रलोपाले रास्वपासँगको सहकार्यले भविष्यमा आफ्नो संगठन जोगिन नसक्ने देख्यो ।

रास्वपामा गएका कार्यकर्ता भोलि प्रलोपामा फिर्ता आउने सम्भावना पनि नहुने यो पार्टीका जिल्ला नेताहरु स्वीकार्छन् । अनि रास्वपाले सहकार्यका लागि पहल पनि नगरेको, बरु विना शर्त सहयोग गर्छन् भन्ने सन्देश फैलाएकामा प्रलोपाका नेताहरु रुष्ट थिए । 

कांग्रेससँग सहकार्य गरेमा जिल्लामा संगठन पनि जोगिने र भविष्यमा स्थानीय तह र प्रदेशका चुनावमा कांग्रेससँग तालमेल गरेर जित्न सक्ने देखिएकाले कांग्रेससँग सहकार्य रोजेको नेताहरु बताउँछन् । 

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएकाले कांग्रेसमा पुस्तान्तरण भएकाले सहकार्य पनि सहज भएको उनीहरुको भनाइ छ ।

००००

कांग्रेस नेताहरु विगतमा कांग्रेसले बाबुराम भट्टराईलाई सहयोग गरेकाले अहिले समर्थन गर्नुलाई गुन तिरेको अर्थमा ब्याख्या गर्छन् । 

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको एउटा क्षेत्रमा कांग्रेसले बाबुरामलाई सहयोग गरेको थियो ।

२०७९ सालको आम चुनावमा भने कांग्रेस, माओवादी र बाबुराम एउटै गठबन्धनमा थिए । गठबन्धनबाट गोरखा–२ (क) मा बाबुरामको तत्कालिन नेपाल समाजवादी पार्टीले फणिन्द्र देवकोटालाई उम्मेदवार बनाएको थियो । उनी गण्डकी प्रदेशसभामा निर्वाचित भए । 

त्यसैले कांग्रेसले विगतमा बाबुरामलाई दुई दुई पटक गुन लगाएको बताउने गरेको छ । कांग्रेसलाई चुनाव जित्नुपर्ने, बाबुरामलाई संगठन जोगाएर समानुपातिक मत बढाउनुपर्ने स्वार्थले एक ठाउँमा पुर्‍याएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप राजनीति