२२ वर्षमै मेयर लडेकी रञ्जुको संसद यात्रा
एक महिला, जो भोट माग्ने बेला नौ महिनाकी गर्भवती थिइन् ।
तर, हिम्मतसाथ घरदैलो, भेटघाट र चुनावी अभियानमै व्यस्त थिइन् ।
बच्चा जन्माएको एघारौं दिनमा, ती महिला देशको संसदमा पुगेकी छिन् ।
यो कथा रञ्जु दर्शनाको हो, जसले कांग्रेसको पुरानो किल्ला भत्काएर सानदार ढंगले चुनाव जितेकी छिन् ।
त्यो पनि ३० वर्षकै उमेरमा आफ्नो पूर्व पार्टीका अध्यक्षललाई समेत हराएर ।
को हुन् रञ्जु दर्शना ? कसरी उनले कठिन चुनाव सजिलै जितिन् ?
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य बनेकी छिन् रञ्जु दर्शना । १५ हजार ४५५ मत पाएर उनले सजिलो जित निकालिन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा ६ हजार ३६४ मत ल्याएर हारे । काठमाडौं–१मा तेस्रो पटक चुनाव लडेका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै ल्याए । यसवर्ष मिश्र प्रतिस्पर्धामै आउन सकेनन् ।
काठमाडौं १बाट चुनाव जितेकी रञ्जु दर्शना, तिनै हुन्, जो २०७४ सालको स्थानीय तह चुनावमा काठमाडौंमा मेयर पदको चुनाव लडेकी थिइन् । त्यसअघि उनी बन्द–हड्तालको विरोधमा बिबेकशील नेपाली दलले चलाएको ‘नेपाल खुला छ’ अभियानमा सक्रिय थिइन् । उनी कहिले भूकम्पपछि राहत तथा पुनस्र्थापनाको काममा त कहिले डा. गोविन्द केसीको भ्रष्टाचारविरुद्धको अनशनमा सहयोगी बनेर पुग्थिन् । उज्वल थापा उनको राजनीतिक गुरु थिए ।
२२ वर्षकै उमेरमा विवेकशील नेपाली दलबाट काठमाडौंमा मेयरको चुनाव लडेपछि उनी चर्चाको शिखरमा पुगेकी थिइन् । त्यतिबेला २३ हजार ४३९ मत ल्याएपनि एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन् । तर, वैकिल्पक राजनीतिमा त्यही चुनावबाट उनी उदाइन् ।
२०७८ सालमा विवेकशील साझाभित्र राजतन्त्रात्मक व्यवस्थालाई समर्थन गर्ने बहस चल्यो रवीन्द्र मिश्रहरुको त्यो प्रयासपछि रञ्जुले वैकल्पिक राजनीतिको नाममा पार्टीलाई गलत दिशातिर लैजान लागेको भन्दै दल त्यागिन् ।
२०७९को चुनावमा उनी काठमाडौं–५बाट स्वतन्त्र उम्मेदवारका रुपमा उठेकी थिइन् । सेल रोटी चुनाव चिन्ह लिएकी उनले ६०० मात्रै मत पाइन् र चुनाव हारिन् ।
रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेपछि दर्शना फेरि विवेकशील साझा दलमा सक्रिय भएकी थिइन् । उनी महासचिव समेत बनिसकेकी थिइन् ।
गत मंसिरमा मात्रै विवेकशील साझाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकीकरण गरेको थियो । त्यसैमार्फत दर्शना पनि रास्वपामा समाहित भएकी थिइन् ।
सुरुमा उनी रास्वपाको समानुपातिक सांसदको आकांक्षी थिइन् । त्यसका लागि रास्वपाको प्राइमरी इलेक्सनमा समेत सहभागी भएकी थिइन् । उनले प्राइमरीमा महिलातर्फ सबैभन्दा धेरै मत ल्याएकी थिइन् । निर्वाचन आयोगमा रास्वपाले बुझाएको सूचीमा उको नाम पछाडि पर्यो ।
त्यसमाथि समानुपातिकमा दर्शनाजस्ता व्यक्तिको नाम आएको भनेर विरोध समेत भयो । आलोचना भएपछि रञ्जुले नाम फिर्ता लिएकी थिइन् ।
त्यसपछि उनी काठमाडौं–१बाट प्रत्यक्ष उम्मेदवार बनिन् । यसपटक पनि चुनाव लड्नु उनका लागि सजिलो अवस्था थिएन । किनभने यो कांग्रेसको गढ मानिएको निर्वाचन क्षेत्र थियो । कांग्रेसका प्रकाशमान सिंहले यहाँ लगातार ३ पटक जितिसकेका थिए । २०६४, २०७४ र २०७९मा कांग्रेसले जितेको क्षेत्र हो यो । राप्रपाका प्रभावशाली नेता मानिएका रवीन्द्र मिश्रले २ पटकसम्म पनि जित्न नसकेकाले पनि यो क्षेत्रमा रञ्जुलाई सजिलो नहुने अनुमान थियो ।
त्यसमाथि उम्मेदवारी दिँदा उनी साढे सात महिनाकी गर्भवती थिइन् । गर्भवती महिलाले ४५ दिनको इलेक्सन क्याम्पेयन कसरी चलाउलिन् भन्ने धेरैको चासो थियो ।
तर, रञ्जु सुरुबाटै घरदैलो र भेटघाटमा व्यस्त भइन् । उनी फागुन ११ गतेसम्म पनि इलेक्सन क्याम्पेनमा नै सक्रिय थिइन् । फागुन १२ गते उनले पुत्र लाभ गरिन् । चुनाव हुनुभन्दा एक हप्ताअघि सुत्केरी भकएकी उनी त्यसपछि घरदैलोमा जान पाइनन् ।
त्यसैले उनका लागि यो चुनाव सजिलो नहुने आँकलन अरु दलका उम्मेदवार थियो । तर, दर्शनाले छोरोको न्वारन गर्ने दिनमै चुनाव जितन् । त्यो पनि ९ हजार ९१ मतान्तरले ।
२०५२ सालमा जन्मिएकी हुन् दर्शना । उनले ३० वर्षकै उमेयर सांसद बन्ने मौका पाएकी छिन् । १८ वर्षको उमेरबाटै राजनीतिमा सक्रिय भएकी दर्शनालाई यसपटक काठमाडौं–१ले युवा उमेरमै संसदमा पठाएको छ ।
दर्शना काठमाडौंको मैतीदेवी क्षेत्रमा बस्छिन् । स्नातक तहसम्मको अध्ययन गरेकी उनी युवा पुस्ताको आवाज बोल्ने नेतृका रुपमा परिचित छिन् । सामाजिक आन्दोलन, सुशासन र भ्रष्टाचारविरोधी एजेन्डामा निरन्तर सक्रिय रहेकै कारण सयपटक मतदाताले उनीमाथि भरोसा देखाएका छन् ।
उनी आमा बनेको एक हप्तापछि नै देशको नीति निर्माणको सर्वोच्च पदमा पुगेकी छिन् । त्यो पनि आफ्नै पूर्वपार्टीका अध्यक्ष समेतलाई हराएर ।
यसरी, मेयरको चुनावबाट चर्चामा आएकी एक युवा हार–जीत, आलोचना र राजनीतिक उतारचढाव पार गर्दै आज देशको संसदसम्म पुगेकी छिन् ।
आमा बनेको एघारौं दिनमै सांसद बन्नु आफैंमा दुर्लभ घटना हो, यसले नेपाली राजनीतिमा नयाँ पुस्ता र नयाँ शैली प्रवेश गरिरहेको संकेत पनि दिन्छ ।
अब प्रश्न भने बाँकी छ, संसद पुगेपछि दर्शनाले मतदाताले राखेको भरोसा कसरी पूरा गर्छिन् ? के उनले बोलेका सुशासन र भ्रष्टाचारविरोधी एजेन्डा व्यवहारमा देख्न पाइएला ?
यसको उत्तर भने आगामी दिनको राजनीतिले दिनेछ ।
जनताले नयाँ भनेर ल्याएका छन्, मेरो शुभकामना
मतपत्र लिँदा हात काम्यो, जेनजी सहीद सम्झेर भोट हाल्यौं
तयार भयो मतदान केन्द्र, भोट हाल्नुअघि यी हुन् जान्नैपर्ने कुरा
रास्वपालाई बाबुरामको सरप्राइज



-1772283185.jpeg)
