जसले भेट्रानहरुलाई साइड लगाए
ठूला दलका अध्यक्ष र सभापतिलाई हारको स्वाद चखाएर थुप्रै ‘जाइन्ट किलर’हरु सांसद छिरेका छन् ।
यो चुनावमा राजनीतिक हस्तीहरुको किल्ला भत्काउने जाइन्ट किलरहरु को को हुन् ?
१. बालेन शाह
यो चुनावको सबैभन्दा ठूला जाइन्ट किलर बालेन शाह नै हुन् । २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर चुनिएका उनले यसपटक झापा–५ मा गएर केपी शर्मा ओलीलाई हराए ।
सुरुमा चर्चा चल्दा त ओलीले बालेनको यो निर्णयलाई दुत्कारेका थिए । तर, साँच्चिकै बालेनले झापा–५ रोजेपछि ओली पनि सबै शक्ति खर्चिएर चुनावमा होमिए । बालेनले अहिलेसम्म कुनै उम्मेदवारले नल्याएको ६८ हजार ३४८ भोट ल्याएर यो चुनाव जिते । गत भदौसम्म दुई तिहाईको सरकार चलाइरहेका ओलीले ६ महिनापछि भएको चुनावमा १८ हजार ७३४ मात्रै भोट ल्याए । बालेन झण्डै ५० हजार मतान्तरले विजयी भए ।
खासमा बालेनको जितको भन्दा पनि ओलीको राजनीतिक हारको अर्थ ठूलो छ । केपी ओली झापा विद्रोहबाट उदाएका नेता हुन् । उनले २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को चुनाव झापाबाटै जितेका थिए ।
तर, काठमाडौंबाट चुनावको ४५ दिनअघि झापा झरेका बालेनले ओलीलाई उनकै घरमा ब्यालेट बक्सबाटै नराम्रोसँग हराएका छन् । २०७२, २०७४ र २०८० गरी ३ पटक प्रधानमन्त्री भएका ओली समकालीन राजनीतिका सबैभन्दा चतुर खेलाडी मानिन्छन् ।
जेनजी आन्दोलन दबाएका र सत्ता छाडेर भागेका ओली अहिले पनि रक्षात्मक थिएनन्, बरु अझै आक्रामक नै थिए । गत मंसिरमा भएको महाधिवेशनबाट तेस्रोपटक एमाले अध्यक्षमा चुनिएका थिए ओली ।
तर, बालेनले राजनीतिका ‘पेले’ मानिएका ओलीलाई झापा–५ को चुनावी मैदानमै हराएर प्रधानमन्त्री बन्ने बाटो खुला गरेका छन् ।
२. अमरेशकुमार सिंह
अमरेश सिहंले पनि यो चुनावमा ठूलो माछालाई बल्छीमा पारे । अघिल्लो संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई हराए । सर्लाही–४ मा उनले ३५ हजार ६८८ भोट ल्याएर चुनाव जिते । गगन थापाले जम्मा २२ हजार ८३१ मत मात्रै ल्याए ।
अमरेश पहिला कांग्रेसकै नेता थिए । २०४२ सालमा नेविसंघबाट राजनीति सुरु गरेका उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य भए ।
२०७० र २०७४ मा गरी सर्लाही ४ मा प्रतिनिधिसभामा सदस्यका लागि कांग्रेसबाट २ पटक निर्वाचित भए ।
२०७९ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारका हैसियतमा २० हजार १७ मतसहित निर्वाचित भए ।
यसपटक भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बने ।
उनलाई हराउन यसपटक चानचुने व्यक्ति सर्लाही पुगेनन्, विशेष महाधिवेशनबाट निर्वाचित हुनासाथ कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ मा उम्मेदवार बनेर पुगे ।
उनी कांग्रेस बदलिएको र अब देश पनि कांग्रेसले नै बदल्छ भन्ने सन्देशसहित मधेश झरेका थिए ।
सर्लाही–४ विगतदेखि नै कांग्रेसको गढ मानिन्थ्यो । अमरेशले २०७९ मा चुनाव लड्दा पनि चुनाव जितेपछि आफू कांग्रेसमै फर्किने भनेर मत बटुलेका थिए । त्यसमाथि उनका निकटतम् प्रतिस्पर्धी पनि कांग्रेसकै नागेन्द्र साह थिए, उनले १८ हजारभन्दा बढी भोट ल्याएका थिए । त्यसैले गगनलाई लागेको थियो, थोरै मिहिनेत गर्दा पनि सर्लाही–४ बाट सजिलै चुनाव जितिन्छ ।
तर, त्यस्तो भएन । उनी मधेश झरेपछि थापा पाए, त्यहाँ त घण्टीको लहर आइसकेको रहेछ ! गगन थापाले आफ्नो भोट जोगाउन मिहिनेत त गरे । तर, अमरेशको माहोललाई उनले भत्काउन सकेनन् ।
३. राजुनाथ पाण्डे
राजुनाथ पाण्डेले यसपटक उज्यालो नेपालको नायक भनेर चिनिएका कुलमान घिसिङलाई हारको अध्याँरोमा धकेले ।
चुनावभन्दा अघि उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका घिसिङलाई पाण्डेले काठमाडौं–३ मा पराजित गरे ।
२०२७ सालमा नुवाकोटमा जन्मिएका पाण्डेको बसोबास काठमाडौं–३ मा छैन । काठमाडौंको सामाखुसीमा बस्ने पाण्डेले बौद्ध बस्ने घिसिङलाई उनकै क्षेत्रमा गएर हराए ।
पाण्डे चुनावअघिसम्म काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख थिए । उनी बालेनको विश्वासपात्र हुन् । यो चुनावमा उनले आफू ‘बालेनको सिपाही’ भएको भन्दै भोट मागेका थिए ।
भर्खरै राजनीतिक यात्रा सुरु गरेका पाण्डेले राजनीतिका अर्का नयाँ खेलाडी कुलमानलाई ७ हजार ५८५ मतान्तरले हराए । पाण्डेले जितका लागि १८ हजार ७५७ मत पाए । तर, कुलमानले ११ हजार १७१ मात्रै भोट पाए ।
२०७३ सालमा नेपाल विद्युत प्राधिकरणको प्रमुख भएपछि कुलमानले केही महिनामै काठमाडौंबाट लोडसेडिङ हटाएका थिए । घाटामा रहेको प्राधिकरणलाई नाफामा लगे । देशभर विद्युतीकरण गराए । अपूरा जलविद्युत र प्रशारणलाइन आयोजनाहरु पूरा गरे, नयाँ आयोजनाहरु अघि बढाए । उनकै नेतृत्वमा भारतमा विद्युत निर्यात सुरु भएको थियो ।
२०८१ चैतमा केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गरेपछि उज्यालो नेपाल अभियान चलाइरहेका थिए । जेनजी आन्दोलनपछि उनी नागरिक सरकारमा ऊर्जा, शहरी विकास र भौतिक पूर्वाधार मन्त्री बने ।
चुनावको मुखमा मात्रै उनले संसदीय चुनाव लड्न भनेर राजीनामा दिए । रास्वपासँग पार्टी एकता गरेका कुलमान १२ दिनमा एकता भंग गरेर उज्यालो नेपाल पार्टीबाटै चुनाव लडे ।
कुलमानले चुनाव हार्लान् भन्ने धेरैको अनुमान थिएन । तर, यसपटक रास्वपा र बालेनको आँधीमा उनी पनि सुरक्षित रहेनन्, बालेनका नगर प्रहरी प्रमुख भएर काम गरेका पाण्डे उनीमाथि भारी परे ।
४. प्रकाश पाठक
रास्वपाका प्रकाश पाठकले यो चुनावमा हराएका नेता हुन्, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।
झापा–३ बाट जितेका ३७ वर्षीय पाठक झापा बाह्रदशी गाउँपालिकाका बासिन्दा हुन् । उनी पूर्व सञ्चारकर्मी हुन्, रबि लामाछानेले चलाएको ग्यालेक्सी फोरकेमा समेत उनले काम गरेका थिए । उनी अहिले रास्वपाको झापा जिल्ला सभापति हुन् ।
दोस्रो पटक संसदीय चुनाव लडेका पाठकले लिङ्देनलाई भारी मतान्तरले हराएका छन् । पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित भएका छन् । लिङ्देनले १७ हजार २९४ मत मात्रै पाए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रमा पाठक लिङ्देनसंग पराजित भएका थिए । त्यतिबेला यो क्षेत्रमा राप्रपा र एमालेको गठबन्धन थियो ।
तर, यसपटक बालेन शाह झापा–५ मा चुनाव लड्न गएपछि जिल्लाको चुनावी माहोल नै घण्टीमय भयो । झापाका ५ वटै क्षेत्रमा रास्वपाले जितेको छ ।
रास्वपाले झापामा ल्याएको सुनामीमा लिङ्देन पनि बढारिए । लिङ्देन झापा–३ मा कमजोर नेता हैनन् । उनले २०७४ र २०७९ को चुनाव यसै क्षेत्रबाट जितेका थिए ।
यो क्षेत्रमा राजतन्त्र पक्षधरहरुको संख्या उल्लेख्य छ । त्यसमाथि यसपटक लिङ्देनसँग चुनाव लड्दै आएका कांग्रेसका कृष्ण सिटौला समेत यहाँ चुनाव लडिरहेका थिएनन् । त्यसैले राप्रपा पार्टी अध्यक्ष लिङ्देनले यो चुनाव सजिलै जित्नेमा विश्वस्त थियो ।
तर, रास्वपा नेता पाठकले लिङ्देनलाई संसदीय चुनावमा ह्याट्रिकबाट रोके । आफ्नो गढमा पनि लिङ्देन रास्वपाको लहरको अघि बलियो भएर उभिन सकेन ।
प्रकाश पाठकले लिङ्देनको राजनीतिक जीवनमा नै धक्का दिने गरी शानदार जित निकालेका छन् ।
५. सस्मित पोखरेल
रास्वपाका सस्मित पोखरेलले यो चुनाव काठमाडौं–५ बाट जितेका छन् । उनले एक–दुई जना हैन, तीन जना धुरन्धर नेताहरुलाई एक साथ हराएका छन् ।
यो क्षेत्रमा सबैभन्दा बलियो उम्मेदवार मानिएका थिए, कांग्रेस महामन्त्री प्रदीप पौडेल । अनि, एमाले नेता ईश्वर पोखरेल पनि यहीँ चुनाव लडेका थिए । राप्रपाका पूर्वअध्यक्ष कमल थापासँग पनि सस्मितको चुनावी लडाइँ थियो ।
उनले यि तीनै नेतालाई उछिनेर चुनाव जिते । सस्मित पोखरेल २९ वर्षका मात्रै भए । उनी काठमाडौंकै स्थायी बासिन्दा हुन् । कानुनमा स्नातक पूरा गरेका सस्मितको राजनीतिक यात्रा भने विवेकशील अभियानबाट सुरु भएको हो । उज्वल थापा र मिलन पाण्डेहरुसँग नै उनले राजनीतिको कखरा सिकेका हुन् ।
उनी बालेनका साथि हुन्, २०७९ मा बालेन काठमाडौंको मेयर निर्वाचित भएपछि सस्मितले महानगरको शहरी योजना आयोगमा पनि सहायक विज्ञका रूपमा काम गरे ।
उनी विवेकशील साझाको युवा संगठनको नेता हुँदै पार्टीको केन्द्रीय सदस्य समेत भएका थिए । उनी बालेन शाहसँगै रास्वपा प्रवेश गरेका थिए । अहिले रास्वपाको केन्द्रीय सदस्य तथा सहप्रवक्ता छन् ।
रास्वपा प्रवेश लगत्तै उनले काठमाडौं–५ को टिकट पाए । एक त कांग्रेस, नेकपा एमाले, राप्रपालगायत पार्टीका स्थापित र प्रभावशाली नेतासँग प्रतिष्पर्धा सहज थिएन । त्यसमाथि उनले टिकट पाएपछि रास्वपाकै स्थानीय नेता रुष्ट थिए । यो क्षेत्रका नेता रास्वपा नेता प्रणय राणा त कांग्रेसमै फर्किए ।
त्यसैले यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलसँग सस्मितको कडा भिडन्त हुने अनुमान थियो । तर, त्यस्तो भएन, सस्मितले ३० हजार ७३७ भोट ल्याएर चुनाव जिते । कांग्रेम महामन्त्री पौडेलले ९ हजार १५९ मत पाएका थिए ।
प्रदीप पौडेल नेविसंघको पूर्वसभापति समेत हुन् । उनी कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्मापछि धेरै रुचाइएका नेता हुन् । यसअघिको सरकारमा उनी स्वास्थ्य मन्त्री समेत थिए । २०७९ को चुनाव उनले काठमाडौं–५बाट नै जितेका थिए । त्यसैले यो चुनाव उनका लागि यति प्रतिकूल हुने अनुमान थिएन ।
एमालेका नेता ईश्वर पोखरेल पनि यही क्षेत्रका पुराना नेता र पूर्वसांसद हुन् । काठमाडौं–५ बाट उनले पछिल्लो पटक २०७४ को चुनाव जितेका थिए ।
जेनजी आन्दोलनपछि केपी शर्मा ओलीविरुद्ध पार्टी अध्यक्षमा उम्मेदवारी दिएका उनी एमालेभित्र विद्रोह गरेका नेताका रुपमा चिनिएका थिए
मकवानपुरमा लगातार चुनाव हारेपछि काठमाडौं–५ आएका थिए, राप्रपाका पूर्वअध्यक्ष कमल थापा । २०७९ को चुनावमा यही क्षेत्रको एउटा प्रदेशसभा सिटमा राप्रपाले चुनाव जितेकाले कमल थापा यहाँ आएका थिए । तर, उनी पनि सस्मितको शिकार भए ।
यसरी तीन ठूला नेताको संसद जाने सपना चकनाचुर पारेर सस्मित आफैं सिंहदरबार पुगेका छन् ।
६. विपिनकुमार आचार्य
रास्वपाका विपिनकुमार आचार्यले यो चुनावमा एमालेका महासचिव शंकर पोखरेललाई हराएका छन् । दाङ–२ बाट जितेका विपिन २०४३ मा दाङको तुलसीपुरमा जन्मिएका हुन् । अध्ययनका हिसाबले उनी बायोटेक इन्जिनियर हुन् ।
विपिन रवि लामिछाने ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक हुँदा क्रिएटिभ डाइरेक्टर थिए । रबि लामिछानेले रास्वपा गठन गर्ने भएपछि उनले पनि साथ दिए । २०७९ को चुनावमा देशभर उम्मेदवार छनोटमा उनको भूमिका मुख्य थियो ।
अहिले उनी रास्वपाका सहमहामन्त्री हुन् । उनी उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म काठमाडौंकै कुनै क्षेत्रमा चुनाव लड्न चाहिरहेका थिए । तर, पार्टीभित्र धेरै आकांक्षी भएपछि उनी गृह जिल्लामा गए ।
दाङ–२ सजिलो निर्वाचन क्षेत्र थिएन । त्यहाँ एमाले महासचिव शंकर पोखरेल सबैभन्दा बलिया प्रतिस्पर्धीका रुपमा थिए । तर, विपिनले पोखरेललाई २८ हजार २७२ मतान्तरले पराजित गरे । विपिनले ४३ हजार ५५९ मत ल्याएर यो चुनाव जितेका छन् । पोखरेलले जम्मा १५ हजार २८७ मत मात्र पाए ।
शंकर पोखरेल मंसिरमा भएको पार्टी महाधिवेशनमा दोस्रोपटक महासचिव चुनिएका थिए ।
२०७४ मा उनी दाङबाटै प्रदेशसभा चुनाव लडेर जिते । लुम्बिनीको मुख्यमन्त्री भए । दाङमै प्रदेश राजधानी सारे । २०७९ को चुनाव भने उनले कांग्रेससँगको गठबन्धनबाट माओवादीकी उम्मेदवार बनेकी रेखा शर्मासँग हारेका थिए ।
तर, यसपटक रेखा शर्मा प्रतिस्पर्धामा थिइनन् । कुनै चुनावी गठबन्धन पनि भएका थिएनन् । त्यसैले पोखरेलले यो चुनाव सजिलै जित्ने आँकलन गरेका थिए ।
किनकी रास्वपाबाट विपिनले टिकट पाउँदा रास्वपाका स्थानी नेता असन्तुष्ट थिए । त्यसका विरुद्ध पार्टीमा निवेदन नै दिएका थिए ।
तर, शंकरले सोचेजस्तो भएन उनी विपिनसँग प्रतिस्पर्धामै देखिएनन् । विपिनले सजिलै यो चुनावी बाजी जिते ।
७. रुविना आचार्य
रुविना आचार्य मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार थिइन् । उनले यो चुनावमा चानचुने हैन, कांग्रेस नेता डा. शेखर कोइरालालाई हराएकी छिन् ।
शेखर कोइराला अहिले कांग्रेसभित्र कुनै पदमा त छैनन् । तर, उनी कांग्रेसको नेतृत्व तहमा पटक–पटक पुगेको कोइराला परिवारका विरासत धानिरहेका नेता हुन् ।
उनी पार्टीभित्र अहिले पनि बलियो गुटको नेतृत्व गर्छन् । स्थानीय क्षेत्रमा निकै प्रभावशाली नेता मानिन्छन् । यो चुनावमा रुविनाले तीनै शेखरलाई हराइन् ।
२०५१ सालमा मोरङको विराटनगरमा जन्मएकी रुविना डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा पनि सक्रिय थिइन् । कोरोना महामारीका बेला ‘तातो भात अभियान’ चलाउँथिन् ।
आचार्यको राजनीतिक यात्रा विवेकशील साझाबाटै सुरु भएको हो । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रचारमा खटिएपछि उनी सक्रिय राजनीतिमा लागिन् । विवेकशील साझाको युवा संगठनमा काम गर्दै पार्टीको केन्द्रीय सदस्य समेत बनेकी थिइन् ।
कांग्रेसको गढ मानिएको मोरङ ६ मा रास्वापाको उम्मेदवार बनेर उभिनु उनका लागि सहज थिएन । तर, चुनावी परिमाणमा उनले ४२ हजार ६६३ मतान्तरले जित हासिल गरिन् । रुविनाले ५५ हजार ५१३ मत ल्याएर चुनाव जित्दा शेखर कोइरालाले १२ हजार ८५० मत पाए ।
यसरी मोरङमा कोइराला परिवारको बलियो राजनीतिक हस्तीलाई रुविनाले लज्जास्पद हार चखाइन् ।
८. अमरकान्त चौधरी
अमरकान्त चौधरी मधेशका मसिहा नेता उपेन्द्र यादवलाई हराउने व्यक्ति हुन् ।
पटक पटक सत्तामा पुगेर बदनाम भए पनि कुनै समय उपेन्द्र यादव आफैं परिवर्तनको पर्यायवाची थिए । नेपालमा संघीय शासन व्यवस्था सुरु हुनुमा उनकै ठूलो देन छ ।
२०६३ सालमा उनकै नेतृत्वमा तत्कालिन मधेशी जनाधिकार फोरमले अन्तरिम संविधान जलाएर आन्दोलन सुरु गरेको थियो । त्यहीँबाट सुरु भएको पहिलो मधेश आन्दोलनले अन्तरिम संविधानमा संघीयताको व्यवस्था गरेको थियो ।
२०६४ सालमा उनले नेतृत्व गरेको मधेशी जनाधिकार फोरमले मधेशमा ५४ सिट जितेर पहिलो शक्ति भएको थियो ।
२०६४, २०७० र २०७४ सालमा उनले सप्तरी–२ बाट चुनाव जिते । तर २०७९ सालमा भने उनी सप्तरी–२ मा जनमत पार्टीका सीके राउतसँग भारी मतान्तरले पराजित भए ।
सीके राउतले ३५ हजार ४२ मत ल्याएर चुनाव जित्दा उपेन्द्रले जम्मा १६ हजार ९७९ मत पाए ।
तर उपेन्द्र हारमा चित्त बुझाएर बसेनन् । चोरबाटो बाटै भए पनि संसद प्रवेश गरेरै छाडे । बारा–२ बाट जितेका आफ्नो पार्टीका नेता राम सहाय प्रसाद यादवलाई कांग्रेस–एमालेसँग मिलेर उपराष्ट्रपति बनाए । अनि बारा–२ खाली भएपछि त्यहाँबाट सांसद निर्वाचित भए ।
२०८२ फागुनमा चुनाव हुने भएपछि उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता गरेका थिए ।
सप्तरी–२ मा सीके राउतसँग अघिल्लो चुनावमा नै पराजित भएकाले यसपटक क्षेत्र फेरेर सप्तरी–३ मा आएका थिए । तर यसपटक उनलाई हराइदिए अमरकान्त चौधरीले । अमरकान्त चौधरी राजनीतिमा सुनेको नाम होइन ।
उनी सप्तरीको डाक्नेश्वरी गाउँपालिकाका हुन् । उनी ४४ वर्षका भए । २०७४ सालमा महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टीबाट राजनीति सुरु गरेका थिए । पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका थिए । उनी पछिल्लो समय काठमाडौंमै बसोबास गर्थे ।
उनले टिकट पाउँदा रास्वपाका स्थानीय नेता कार्यकर्ताले विरोध पनि जनाएका थिए ।
डाक्नेश्वरीको श्रीकान्त चन्द्र नमुना माविको व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका उनीमाथि भ्रष्टाचारको आरोप पनि छ । अख्तियारले पटक पटक बयानमा बोलाए पनि बयान छल्दै आइरहेका छन् ।
तर, विवादले खासै अर्थ राखेन । उनी उपेन्द्र यादव हराएर यो चुनावका बलिया विजेता बनेर उभिएका छन् ।
९. रामजी यादव
रास्वपाकै रामजी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई स्तब्ध पारे ।
२०७९ को चुनावमा त जनमत पार्टीका सीके राउतको मधेशमा निकै हाइहाइ थियो । सप्तरी–२ मा उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराएर जाइन्ट किलरको परिचय बनाएका थिए ।
२०७० को दशकको सुरुदेखि उनले मधेश स्वराज आन्दोलन चलाएका थिए । उनलाई बिखण्डनकारी भन्दै सरकारले राजनीतिक गतिविधि गर्न रोक लगाएको थियो । सीके राउत र उनको समूहका नेता कार्यकर्ता पटक पटक पक्राउ पर्ने र राज्य विरुद्धको अपराधमा मुद्दा चल्ने भइरहन्थ्यो । सीके राउत आफैंले धेरै मुद्दा खेपे ।
तर मधेशमा उनको दलको समर्थन बढिरहेको थियो । २०७५ सालमा केपी ओली सरकारसँग सहमति गरेर सीके राउत खुला राजनीतिमा आए ।
जनमत पार्टी बनाएर २०७९ को चुनावबाट खुला राजनीतिमा आए । प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष चुनाव जित्ने सीके राउत मात्र भए । तर समानुपातिकमा ५ सिट पाएर कुल ६ सिटको पार्टी भयो ।
सीके राउत पार्टीभित्र आर्थिक मामिलामा विवादमा परे । पटक पटक सत्तामा जाँदा पनि केही गर्न नसकेको दाग लाग्यो । अन्तत ३ वर्षपछिकै चुनावमा उनी मात्र होइन उनको पार्टी प्रतिनिधिसभामा एक सिट जित्न नसक्ने अवस्थामा पुग्यो ।
३ वर्षअघि ३५ हजार भोट पाएर चुनाव जितेको सप्तरी–२ मा सीके राउत जम्मा ९ हजार भोटमा सीमित भए ।
उनलाई हराए राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले । रामजी यादव जम्मा ३० वर्षका युवक हुन् ।
पेशाले हाइड्रो इन्जिनियर रामजी इजी वल्र्ड इन्जिनियरिङ प्रालि नामको कन्सल्टेन्सीको प्रबन्ध निर्देशक छन् ।
सप्तरी राजविराजका उनले स्थानीय स्तरमा धेरै सामाजिक काम गरेका छन् । केही वर्षयता उनी राजनीतिक गतिविधिमा पनि सक्रिय हुँदै आएका थिए । राजविराजमा इन्जिनियरिङ कलेज स्थापना, राजविराजमा फोहोर प्रशोधन केन्द्र निर्माणको पहल गरेका थिए ।
रामजी २८ हजार ४०४ मत ल्याएर निर्वाचित भए भने सीके राउत तेस्रो भए । माओवादी छाडेर चुनावअघि जसपा नेपाल प्रवेश गरेका उमेशकुमार यादव दोस्रो भए उनले १४ हजार २६३ मत ल्याए । सीके राउतले भने ९ हजार ८८० मत मात्र पाए ।
यसरी रामजीले सीके राउतलाई यो चुनावमा नसोचेको झड्का दिए ।
१०. रुकेश रञ्जित
यो चुनावमा सबैभन्दा ठूलो सरप्राइज दिने विजेता हुन्, रुकेश रञ्जित । उनले रास्वपाबाट भक्तपुर–१मा जितेनन् मात्रै, यो क्षेत्रको स्थायी सत्ता जस्तो बनिसकेको नेमकिपालाई पन्छाइदिए ।
भक्तपुर–१ बाट २०४८ सालपछि नेपाल मजदुर किसान पार्टी बाहेक कुनै पार्टीले चुनाव जितेको थिएन । २०४८, २०५१, २०५६, २०६४ र २०७० मा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव जिते । त्यसपछि भने बिजुक्छे चुनाव लडेनन् । उनको उत्तराधिकारीका रुपमा पार्टीकै नेता प्रेम सुवाल आए । उनले २०७४ र २०७९ को चुनाव जिते ।
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने दल कुनै पनि थिएनन् । जहिले पनि नेमकिपाले भारी मतान्तरले जित्थ्यो ।
त्यति मात्र होइन भक्तपुर १ मै पर्ने भक्तपुर नगरपालिकामा २०७४ र २०७९ को चुनावमा नेमकिपाले मेयरदेखि वडा सदस्यसम्म सबै पद जितेर क्लिन स्वीप गरेको थियो ।
भक्तपुर–१ मा नेमकिपाको गढ भत्काए यसपटक रास्वपा उम्मेदवार रुकेश रञ्जितले ।
उनी भक्तपुरकै नेवार समुदायका ब्यक्ति हुन् । भक्तपुरमा सामाजिक अभियन्ता, उद्यमी र ब्लड डोनर्सको रुपमा उनले परिचय बनाएका थिए ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीको भक्तपुर जिल्ला सचिव हुन् । अनि भक्तपुर उद्योग वाणिज्य संघका महासचिव । ब्लड डोनर्स एशोसिएसन नेपालका केन्द्रीय सदस्य ।
भक्तपुर–१ मा रुकेशले ३३ हजार ४३६ मत ल्याएर जिते । प्रेम सुवाल २८ हजार १४७ मत ल्याएर दोस्रो स्थानमा रहे ।
३ वर्षअघिको मत हेर्दा प्रेम सुवाल ४२ हजार ७६१ मत पाएर निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेको एमाले उम्मेदवार नवराज गेलालले ११ हजार ९६८ मत पाएका थिए ।
रास्वाका उम्मेदवार रुकेश भक्तपुर नगरपालिकाकै बासिन्दा र स्थानीय समुदायमा राम्रो छाप छाडेका व्यक्ति हुन् । उनी रास्वपामा गएपछि भक्तपुरमा रास्वपाले संगठन मजबुत बनाएको थियो ।
भनिन्छ भक्तपुरमा नेमकिपाले कम्युनिस्ट शासन नै चलाएको छ । त्यसबाट असन्तुष्टहरु पनि धेरै थिए । उनीहरुले रास्वपालाई समर्थन गरे । अनि नेपाल मजदुर किसान पार्टी छाडेर धेरै नेताहरु रास्वपामा प्रवेश गरेका थिए ।
पछिल्लो समय भक्तपुरमा बसाइसराइको दर पनि बढिरहेको थियो । नयाँ आउनेहरुले पनि नेमकिपा भन्दा रास्वपा नै रोजे ।
निर्वाचनका बेला भक्तपुरमा एक्लो सांसदलाई किन पठाउने भन्ने ट्रेन्ड नै चलेको थियो । किनकी हरेक संसदमा नेमकिपाको उपस्थिति हुन्छ । तर एक सिट मात्र । भक्तपुरमा युवाहरुमाझ नेमकिपालाई जिताएर सरकारमा जाने होइन, किन जिताउने भन्ने प्रश्न उठेको थियो । प्रेम सुवाल प्रचार प्रसारमा जाँदा पनि यो प्रश्नको सामना गर्नुपरेको थियो ।
भक्तपुर नगरपालिकाकै बासिन्दा उम्मेदवार बन्नु, उनको सामाजिक छवि राम्रो हुनु, देशभर रास्वपाको लहर चल्नु र नेमकिपाभित्रको असन्तुष्टिका कारण भक्तपुर–१ मा रास्वपा विजयी भएको हो ।
खासमा भक्तपुर–१ मा रुकेशको जितले नेमकिपाका प्रेम सुवाल र नारायाणमान बिजुक्छेको वर्चस्वमा ब्रेक लगाएको छ ।
एमालेमा ओलीको विकल्प को ?
नयाँ संसद भवनमा बैठक हल सजाउने चटारो
जनताको मुड पढ्न चुकेका गगन
२२ वर्षमै मेयर लडेकी रञ्जुको संसद यात्रा



-1772635654.jpeg)
-1772707909.jpeg)
-1773132763.jpeg)
-1773239709.jpeg)