नेभिगेशन
राजनीति

अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु

गत असारमा कांग्रेसले पार्टीबाट निष्कासन गरेपछि नवलपरासी पश्चिमका बिक्रम खनाल घरमै फुर्सदमा थिए ।

२०७९ को चुनावमा नवलपरासी–१ मा पार्टीका उम्मेदवार विनोद चौधरीलाई सहयोग गरेको भन्दै अनुशासन समितिले कारबाही गरेको थियो । 

कारबाही फिर्ता नभएकाले चुनावका बेला पनि उनी पार्टी गतिविधिमा संलग्न थिएनन् । 

माघको २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले फोन गरेर रवि लामिछानेले भेट्न खोजेको बताए । 

बिक्रम माघ ३ गते रविलाई भेट्न काठमाडौं आए । उनका अुनसार रवि लामिछानेले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भइदिनुपर्‍यो भनेर प्रस्ताव गरे । 

उनले आफू कांग्रेसको राजनीति गर्दागर्दा थाकेको र चुनाव लड्ने जाँगर नभएको बताए । अनि चुनाव लड्न पैसा पनि छैन भने । रविले पैसा चाहिँदैन, तपाईं उम्मेदवार भइदिनुस्, जित्नुहुन्छ भने । 

उनलाई कांग्रेस छाड्ने निर्णय गर्न निकै गाह्रो भयो । खनालका अनुसार कांग्रेसमा बसेर जिन्दगीभर रुने कि एक दिन रोएर कांग्रेस छाड्ने भन्ने स्थिति आयो । अन्तिममा  उनले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिए । 

०००

बिक्रमले नवलपरासी–१ मा रास्वपाबाट टिकट पाउँदा कांग्रेसबाट अर्बपति ब्यापारी विनोद चौधरीले टिकट पाए । 

उनले ४५ हजार २४१ मत ल्याएर चुनाव जित्दा विनोद चौधरीले जम्मा ९ हजार ५०२ मत पाए । 

३ वर्षअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा बिक्रम यो क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बन्न चाहेका थिए । तर कांग्रेसले विनोद चौधरीलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिए । 

चुनाव त विनोद चौधरीले जिते, तर बिक्रममाथि पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोपमा कांग्रेसको अनुशासन आयोगले कारबाही गर्‍यो । उनलाई १ वर्षका लागि पार्टीबाट निष्कासन गर्‍यो । 

विनोद चौधरीले पैसाको बलमा टिकट पाउँदा पार्टीमा लामो समय योगदान गरेकाहरुमाथि अन्याय भएको बिक्रम बताउँछन् । 

‘पैसाको बलमा नै टिकट पाउने हो भने पार्टीमा १३ वर्षको उमेरदेखि योगदान गर्नेहरुको के काम भयो’, उनले विनोद चौधरीलाई असहयोग गर्नुको कारण खुलाए । 

२०४० सालमा १३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघमा लागेर कांग्रेसको राजनीति गरेका उनले पार्टीको विभिन्न पदमा रहेर काम गरे । २०७८ सालमा भएको १२ औं महाधिवेशनअघि भएको प्रदेश अधिवेशनबाट कांग्रेसको लुम्बिनी प्रदेश महामन्त्री भएका थिए । 

उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा नजाँदै गगन थापाहरुले बिद्रोह गरेर विशेष महाधिवेशन गरेर नेतृत्वमा आएका थिए । तर बिक्रम गगन थापाको नेतृत्वसँग पनि धेरै आशावादी हुन सकेनन् ।

रास्वपाबाट जितको स्वाद

डडेल्धुराका ताराप्रसाद जोशीले एमालेबाट राजनीति सुरु गरेका थिए । एमालेको जिल्ला अध्यक्ष पनि भए । २०७० सालको संविधानसभा चुनाव पनि एमालेबाटै लडे । शेरबहादुर देउवाको गृहजिल्लामा उनले चुनाव जित्न सकेनन् । तैपनि एमालेमै थिए । 

तर पछिल्लो ३–४ वर्षमा उनले ३ वटा पार्टी फेरे । 

२०७८ सालमा माधव नेपालहरु एमालेबाट अलग हुँदा उनी पनि एकीकृत समाजवादीमा लागे । एकीकृत समाजवादीको केन्द्रीय सदस्य थिए ।

२०७९ सालको चुनावमा एकीकृत समाजवादीले कांग्रेस र माओवादीसँग चुनावी गठबन्धन गर्‍यो । 

जोशीले डडेल्धुराबाट प्रदेशसभा सदस्य बन्ने आशा राखेका थिए । तर प्रदेशसभाको दुई सिटमा एउटा कांग्रेसले र एउटा माओवादीले लियो । तारा जोशीले टिकट पाएनन् । उनी स्वतन्त्र हैसियतमा उम्मेदवार बने र प्रदेश सांसद चुनिए । 

चुनाव जितेपछि उनी पार्टीमै फर्किने अनुमान थियो । तर उनी स्वतन्त्र नै बसे । 

यसवर्ष कुलमान घिसिङले उज्यालो नेपाल गठन गरेपछि उनी उज्यालो नेपालमा लागे । उज्यालो नेपाल र रास्वपाबीच एकीकरण भयो । तर १२ दिनमै कुलमानहरु ब्याक भए । तर तारा जोशी रास्वपामै रहे ।

अनि रास्वपाबाट डडेल्धुरामा टिकट पाए । यसपटक शेरबहादुर देउवा त्यहाँ उम्मेदवार बनेनन् । कांग्रेसबाट नैनसिंह महर उम्मेदवार बने । तारा जोशीले १९ हजार १३१ मत ल्याएर चुनाव जिते, महरले १२ हजार १२१ मत पाए । उनले छाडेपछि उज्यालो नेपाल पार्टीले डडेल्धुरामा उम्मेदवारी नै दिन सकेन ।  

नेकपाले टिकट नदिएपछि रास्वपा

यो चुनावमा सर्लाहीका नेता नरेन्द्र साह कलवार यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट सर्लाही–३ मा उम्मेदवार बन्न चाहेका थिए । 

गत पुसको अन्तिम हप्ता उनी आफ्नो टिकट पक्का गर्न काठमाडौं आएका थिए । तर नेपाली कम्युनिस्ट पार्टीको अर्कै तयारी थियो । 

नेता नारायणकाजी श्रेष्ठले सर्लाही–३ बाट उम्मेदवार बन्ने मन बनाएका थिए । उनले प्रतिनिधिसभा चुनाव लड्नैका लागि राष्ट्रियसभा सदस्यको कार्यकाल एक महिना बाँकी छँदै राजीनामा दिएका थिए । तर चुनाव लड्न आफ्नो गृहजिल्लाको सट्टा सर्लाही–३ रोजे । 

श्रेष्ठले नरेन्द्रलाई तपाईं नउठ्नुस्, यसपटक मलाई सहयोग गर्नुस् भने । 

नरेन्द्रले मलाई त्यहाँको जनताले मैदान छाड्न दिँदैनन् भन्दै आफू नै उठ्ने जिकिर गरे । 

तर प्रचण्डले नारायणकाजीलाई टिकट दिइसकेका थिए । 

माघ ६ गते मनोनयन दर्ता गर्ने दिन १२ बजेसम्म उनले नेकपाले टिकट दिन्छ कि भनेर पर्खिए । तर नेकपाले टिकट पाउने सम्भावना थिएन । 

यसपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने निधो गरे । त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बने ।

उनले ४६ हजार ८९० मत ल्याएर चुनाव जित्दा नारायणकाजी श्रेष्ठले जम्मा १३ हजार ३३८ भोट पाए । अघिल्लो पटक चुनाव जितेका एमालेका हरि उप्रेती ५ हजार ७७६ मत ल्याएर चौथो स्थानमा रहे । 

नरेन्द्र साह कलवार सर्लाहीको बरहथवा नगरपालिका – ११ हिरापुरका हुन् । उनी २०७० सालमा तत्कालिन तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य भएका थिए । 

२०७४ सालमा उनी स्वतन्त्र हैसियतमा चुनाव लडे । १२ हजार ३६ मत पाएर पराजित भए । 

२०७९ सालमा कांग्रेस, माओवादीसहितको गठबन्धन हुँदा उनले माओवादीबाट चुनाव लडे । ३२ हजार १६८ मत ल्याए, तर झिनो मतान्तरले एमालेका हरि उप्रेती निर्वाचित भए । 

यसपटक पनि उनले पूर्व माओवादीको पार्टी नेपाली कम्युनिस्ट पार्टीबाट टिकट आश गरेका थिए, नपाएपछि रास्वपाबाट उठेर त्यही पार्टीको नेतालाई हराइदिए । 

कांग्रेसको हेंलामा परेपछि रास्वपा

बिक्रम सिंह थापा रिटायर्ड पुलिस अफिसर हुन् । प्रहरी सेवाबाट अवकाश पाएपछि उनले जिल्ला फर्केर कांग्रेसको राजनीति गरे । कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य भए । 

२०७९ सालको चुनावमा कपिलवस्तु २ को क बाट प्रदेशसभा उम्मेदवार बने । तर चुनाव हारे । गएको साउनमा प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले उनलाई प्रदेश कार्यसमितिबाट कारबाही गरे । उनी जिल्लामा युवामाझ लोकप्रिय थिए । जिल्लामा संगठन विस्तारको काममा सक्रिय थिए । 

पार्टीमा विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि उनले टिकट पाउने आशा राखेका थिए । तर यसपटक सुरेन्द्रराज आचार्यले नै टिकट पाए । त्यसपछि उनले पार्टी छाडे र तत्कालै राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिएर चुनावमा गए । 

चुनावमा उनले यसै क्षेत्रबाट २०७९ को चुनाव जितेका कांग्रेस नेता सुरेन्द्रराज आचार्य र नेपाली कम्युनिस्ट पार्टीका बृजेशचन्द्र गुप्तालाई हराए । 

थापाले २७ हजार ६३५ मत ल्याएर चुनाव जित्दा दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारले २१ हजार ५२७ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका गुप्ताले २० हजार ४८२ मत पाए । 

चुनाव जित्न रास्वपा

रहबर अन्सारी गतेसम्म नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मधेश प्रदेशसभा सदस्य थिए । गत २४ पुसमा उनले पार्टी संयोजक प्रचण्डलाई रचनात्मक राजीनामा पत्र लेखेर पाटी छाडे । 

सोसल मिडियामा खुबै चर्चा भएको त्यो पत्रमा उनले एउटा सायरी लेखेका थिए । ‘साहस, इमान र जोखिम तिनै कुरा पार्टीले त्यागिसकेको छ, म यो विरोधाभासको हिस्सा बन्न सक्दिन’, उनले त्यो राजीनामा पत्रमा लेखेका थिए । 

२०६६ सालदेखि माओवादीको राजनीति सुरु गरेका रहबर २०७४ सालमा वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए । भर्खर ३२ वर्षका युवक वीरगञ्जको मेयरको उम्मेदवार बनेको भन्दै देशभरि चर्चा कमाएका थिए । उनले माओवादीको जनाधार भन्दा धेरै बढी मत पनि पाएका थिए । 

तर चुनाव जित्न सकेनन् । 

त्यसै वर्ष भएको प्रदेशसभा चुनावमा पनि माओवादीले उनलाई पर्सा १ (क) बाट टिकट दियो, उनले चुनाव जिते । प्रदेश मन्त्रिपरिषदमा राज्यमन्त्री पनि भए । तर अन्तिममा पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गए ।

बारा–४ बाट उम्मेदवार बनेका उनले ४१ हजार २०० भोट ल्याएर चुनाव जिते । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठले जम्मा ११ हजार ६३९ मत मात्र पाए । 

प्रदेश सांसद छाडेर सांसद

सुनील केसी राजावादी दल राप्रपाबाट प्रदेशसभा सदस्य थिए । यो चुनावको मनोनयन दर्ता गर्ने एक दिन अगाडि उनले राजीनामा बुझाए र राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडे ।

काठमाडौं–२ बाट २०७९ सालमा चुनाव जितेकी सोबिता गौतमले यसपटक चितवन–३ बाट उम्मेदवार बन्ने भनिसकेकी थिइन् । त्यसैले रास्वपाबाट काठमाडौं–२ मा को होला उम्मेदवार भन्ने कौतुहलता थियो । त्यही बेला सुनिल प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बन्न आइपुगे । 

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा काठमाडौं २ को दुईवटै प्रदेशसभामा राप्रपाका उम्मेदवारले चुनाव जितेका थिए । एक जना सुनील आफैं थिए । प्रतिनिधिसभामा पनि राप्रपा उम्मेदवार कुन्ती पोखरेलले प्रतिस्पर्धी मत ल्याएकी थिइन् । 

अन्तिममा सुनिल रास्वपा प्रवेश गरेर उम्मेदवार बनेपछि उनले नै चुनाव जिते । उनले ३४ हजार २३८ मत पाएर चुनाव जित्दा दोस्रो स्थानमा रहेका कांग्रेसका कवीर शर्माले ८ हजार ८७७ मत मात्र पाए । राप्रपाकी कुन्ती पोखरेल ५ हजार २१० मत पाएर तेस्रो भइन् । 

उनी युवा क्लबहरुमार्फत खेलकुद र सामाजिक काममा सक्रिय थिए । काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनी बालेन शाहसँग नजिक थिए । बालेनसँगको सम्बन्धकै कारण उनले राप्रपा छाडेर रास्वपा प्रवेश गरेका थिए । 

चुनावको बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीको देशको सबै क्षेत्रमा संगठन विस्तार भइसकेको थिएन । अन्तिम समयमा बालेन शाह समूह पनि मिसियो । अनि पुराना राजनीतिक दलबाट रास्वपा जान चाहनेहरु पनि धेरै भए । 

चुनाव जित्ने सम्भावना भएकाहरुलाई रास्वपाले पनि पार्टीमा भित्र्यायो । त्यसैले रास्वपाका धेरै उम्मेदवारले एक हातले पार्टी सदस्यता र एक हातले उम्मेदवारको टिकट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति
एमालेमा ओलीको विकल्प को ?

एमालेमा ओलीको विकल्प को ?

जसले भेट्रानहरुलाई साइड लगाए

जसले भेट्रानहरुलाई साइड लगाए

जनताको मुड पढ्न चुकेका गगन

जनताको मुड पढ्न चुकेका गगन