रङ फेरिरहेका रवीन्द्र मिश्र
राजनीतिमा आउनु अगाडि रवीन्द्र मिश्रको आवाज धेरैलाई मन पर्थ्यो ।
त्यो बेला रेडियो नै समाचारको भरपर्दो माध्यम थियो । अनि, बीबीसी नेपाली सेवा त्यतिकै लोकप्रिय । मानिसहरु बीबीसी नेपाली सेवाको समाचार मात्र सुन्दैनथे, रवीन्द्र्र मिश्रलाई पनि सुन्न रुचाउँथे ।
उनी नेताहरुलाई कडा प्रश्न गर्थे । जनताले सुन्न चाहेका प्रश्नहरु सोध्थे । तार्किक, तर ठाडो प्रश्न गर्ने शैलीका कारण उनले सम्मान मात्र पाएनन्, देशभर ठूलो संख्यामा समर्थन समेत बटुलेका थिए ।
आर्थिक हिसाबले पनि बीबीसीको जागिर निकै राम्रो थियो । मासिक सात लाख रुपैयाँसम्म कमाइ हुन्थ्यो ।
००
२०७३ मा रवीन्द्र मिश्रले बोल्ड निर्णय लिए, बीबीसीको जागिर छाडेर सक्रिय राजनीतिमा आउने ।
नयाँ संविधान बनेपछि देशमा विकासका मुद्दाहरुले स्थान पाउन थालेको थियो । राजनीतिमा पनि वैकल्पिक शक्ति निर्माणको बहस हुन थालेको थियो । त्यही बेला मिश्रले राजनीतिमा आउने निर्णय गरे ।
उनका श्रोताका लागि यो सरप्राइज थियो । तर पुराना राजनीतिक दलहरुको कार्यशैलीले वाक्क भएकाहरुलाई वैकल्पिक राजनीतिको स्वाद चखाउने रवीन्द्रको कुरा प्रिय नै लाग्थ्यो ।
त्यसैले होला, पूर्वसचिव किशोर थापा, पूर्वाधारविद सूर्यराज आचार्य, राजनीतिक विश्लेषक मुमाराम खनाल र केशव दाहाल लगायत लब्ध प्रतिष्ठित वौद्धिकहरु रवीन्द्रले खोलेको साझा पार्टीमा समेटिए ।
मिश्र नेतृत्वको पार्टीको नारा थियो, पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता । मूल दर्शन चाहिँ कल्याणकारी लोकतन्त्र थियो । अनि चुनाव चिह्न तराजु । सबैलाई न्याय दिनसक्ने देशको परिकल्पना थियो यो ।
हुन त उज्वल थापाहरुले विवेकशील नेपाली दल खोलेर वैकल्पिक राजनीति अघि बढाएको धेरै भइसकेको थियो । उनीहरु नेपाल बन्दको विरोध गर्न माइतीघरमा नेपाल खुला छ, लेखेको पम्प्लेट लिएर उभिन्थे । अनि तलब पूरा लियौं, अब काम पनि गर भनेर सांसदहरुलाई खबरदारी गर्थे ।
पार्टीभित्र रुपान्तरण र राजनीतिमा युवा हस्तक्षेपको पक्षमा उभिन्थे ।
तर त्यो दलभन्दा बढी अभियान जस्तो थियो । रविन्द्र मिश्रहरुले नयाँ दल खोलेपछि बौद्धिक जमातले समर्थन गर्न थाल्यो । रवीन्द्र निकै उत्साहित भए । उनलाई लाग्यो, छिट्टै सेलिब्रिटी नेता बन्न सकिन्छ ।
पार्टी खोलेको छोटो समयमै २०७४ को स्थानीय तह चुनाव आयो । त्यो बेला काठमाडौं महानगरको मेयर र उपमेयरमा विवेकशील र साझाबीच मिलेर चुनाव लड्न छलफल पनि भएको थियो ।
तर दुबैले मेयर दावी गरपेछि सहमति जुटेन । साझा पार्टीले मेयरमा किशोर थापालाई उम्मेदवार बनायो । उनी शहरी विकास मन्त्रालयका पूर्वसचिव थिए । विवेकशील नेपाली दलले रञ्जु दर्शनालाई उम्मेदवार बनायो ।
त्यो चुनाव एमालेका विद्यासुन्दर शाक्यले जिते । साझा पार्टीका थापाले १८ हजार ४१६ मत ल्याए । अनि विवेकशीलकी उम्मेदवार रञ्जुले २३ हजार ४३९ ।
चुनावी परिणाम हेरेपछि दुबै दलका नेताहरुलाई लाग्यो, मिलेको भए त नयाँ दलले नै मेयर जित्ने रहेछ ।
नेताहरु शहरी जनमत नयाँ दलप्रति आकर्षित देखिएको, तर दुईवटा दल हुँदा मतदाता अलमलिएको निष्कर्षमा पुगे ।
त्यसपछि २०७४ साउनमा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भयो । रविन्द्र मिश्र र उज्ज्वल थापा दुबै जना सहसंयोजक रहने गरी बन्यो, विवेकशील साझा पार्टी ।
त्यही वर्ष मंसिरमा प्रतिनिधिसभा चुनाव भयो । रवीन्द्र काठमाडौं– १ बाट उम्मेदवार बने । तर प्रकाशमान सिंहसँग ८१९ मतान्तरले चुनाव हारे ।
विवेकशील साझाका अरु उम्मेदवारहरुले शहरी क्षेत्रमा राम्रै मत ल्याए, तर प्रतिनिधिसभामा एक जना पनि पुग्न सकेनन् । त्यसपछि पार्टीमा भाँडभैलो सुरु भयो । कारबाही र बहिस्कारको श्रृङ्खला नै चल्यो र, पार्टी फुट्यो । केही समयपछि फेरि एकता गरे ।
२०७६ मंसिरमा कास्की २ लगायत केही सिटका लागि भएको उपचुनावमा विवेकशील साझाले निकै ठूलो अपेक्षा गरेको थियो । तर नतिजा निराशाजनक आयो ।
यसले सबभन्दा ठूलो झट्का मिश्रलाई लागेको देखियो । चुनावमा जाँदासम्म मिश्र लोकतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षताको वकालतकर्ता थिए ।
चुनाव हारेपछि विस्तारै उनको बोली फेरिन थाल्यो । राजतन्त्रको पक्षमा विचार राख्न थाले, जुन उनको पार्टीभित्रकै सहकर्मीका लागि पनि अनपेक्षित थियो । त्यसमा असहमत नेताहरु क्रमशः निष्क्रिय बन्न थाले ।
२०७८ जेठमा उज्वल थापाको निधन भएपछि मिश्रलाई पार्टीमा आफ्नो विचार लाद्न झन् सहज भयो । अनि, साउनमा पुग्दा मिश्रले विचारभन्दा माथि देश भन्दै मार्ग परिर्वतनको प्रस्ताव ल्याए ।
संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अघि सारे । उनले विवेकशील साझा मात्रै हैन, वैकल्पिक राजनीति नै हाइज्याक गर्न खोजे ।
मिलन पाण्डेहरुले प्रतिकार नगरेको भए सायद वैकल्पिक राजनीतिको झिल्को त्यतिबेलै निभ्न सक्थ्यो । पार्टी नेतृत्वविरुद्ध उभिएकाहरुले नै वैकल्पिक राजनीतिलाई प्रदूषित हुनबाट रोके ।
यही किचलोको कारण पनि पार्टी विवादमा फसिरह्यो । २०७९ को स्थानीय तह चुनावमा साझा पार्टीका उम्मेदवारहरु जताततै पराजित भए । त्यसपछि मिश्रले पार्टी अध्यक्षबाट राजीनामा दिए ।
तर पार्टीले विचार बदल्नुपर्छ भनेर जोडबल लगाउन छाडेनन् । पार्टीभित्रै भाँडभैलो मच्चाउँदै खुलेआम राजतन्त्रको पक्षपोषण गरिरहे । राजतन्त्र किन चाहिन्छ भनेर ‘विचारभन्दा माथि देश’ नामक पुस्तक लेखे ।
तर उनको जालझेल, षड्यन्त्र र जोडबलले काम गरेन । विवेकशील सझा पार्टीलाई मोडरेट कन्जरभेटिभ कित्तामा उभ्याउन असफल भएपछि २०७९ असोजमा पार्टी छाडेको घोषणा गरे ।
रवीन्द्र मिश्र विवेकशील साझालाई आफ्नो राजनीतिक छलाङका लागि भर्याङ बनाउन चाहन्थे । त्यसमा सफलता नमिलेपछि मार्ग परिर्वतन गरेका हुन् । यो सब चुनाव जित्नकै लागि थियो भन्ने घटनाक्रमले देखाउँछ । किनभने २०७९ मंसिरको प्रतिनिधिसभा चुनाव लड्न उनी स्वतन्त्र भएर वा नयाँ दल खोलेर गएनन् । बरु आफ्नो समूह लिएर राप्रपामा गए, त्यहाँ वरिष्ठ उपाध्यक्ष बने ।
राप्रपाबाट काठमाडौं–१ मा फेरि चुनाव लडे । आफ्नो व्यक्तिगत पपुलारिटी र राजतन्त्र पक्षधर जनमत आकर्षित गरेर सजिलै जित्छु भन्ने लागेको थियो । तर यो चुनावमा पनि उनी प्रकाशमान सिंहसँगै हार्न पुगे ।
अनि, पार्टीमा पनि सोचेजस्तो जिम्मेवारी पाउन सकेनन् । राजतन्त्रको पक्षमा आफूलाई खरो ढंगले प्रस्तुत गरेपनि अध्यक्ष राजेन्द्र लिङ्देनले धेरै विश्वास गरेनन् । त्यसपछि उनी संस्थापन इतर समूहतिर लागे । दुर्गा प्रसाईँको अगुवाईमा भएको ध्रुविकरणमा मिश्र थप एक्सपोज हुन पुगे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बासपास गरेर नवराज सुवेदीको नेतृत्वमा बनेको आन्दोलन समितिको सदस्य सचिव मिश्र आफैं थिए । तर २०८१ चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा दुर्घटना भयो ।
आन्दोलनमा हिंसात्मक घटना हुँदा दुई जनाको मृत्यु भयो भने दर्जनौं निजी तथा सरकारी संरचनामा आगजनी भयो । भीड उक्साउने काम गरेको आरोपमा मिश्र पक्राउ परे । राज्यविरुद्धको कसुर मुुद्दा अनुसन्धानको सिलसिलामा ५० दिन हिरासतमा बसे । पछि हाजिर जमानीमा छुटे ।
हिरासतबाट छुटेपछि मिश्र मौन बसे ।
जब जेनजी आन्दोलनको बलमा फागुन २१ मा चुनाव घोषणा भयो, रवीन्द्र मिश्रले राजनीतिक सक्रियता बढाए । धेरैले चुनाव होला र भन्ने प्रश्न गरिरहँदा मिश्र भने चिया भेटघाट भनेर भोट भाग्न हिँडिसकेका थिए ।
कांग्रेस, एमाले जस्ता पुराना दलहरु निकै रक्षात्मक बनेका थिए, वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएको रास्वपाको नेतृत्वमाथि पनि थुप्रै प्रश्न उठेको थियो । त्यसैले मिश्रलाई यो पटक चाहिँ चुनाव जित्छु भन्ने लागेको थियो ।
अनि, चार पटक चुनाव जितेका प्रकाशमान सिंहलाई कांग्रेसले टिकट नै नदिएपछि मिश्र झन् ढुक्क भए । पृथ्वीनारायण शाहले तेस्रो पटकको हमलामा काठमाडौं विजय गरेझैं आफू पनि तेस्रो प्रयासमा सांसद हुने सुनाउँथे ।
यो क्षेत्रमा रास्वपाले उम्मेदवार फेरेर रञ्जु दर्शनालाई उठाएको थियो । तर मिश्रले उनलाई प्रतिस्पर्धी नै मानेनन् । उनी भन्ने गर्थे, प्रकाशमान सिंहलाई नै हराउन पाएको भए मज्जा हुन्थ्यो ।
तर चुनावी परिणाम उल्टो आयो । यसपटक त उनी हार्दा दोस्रो पनि भएनन्, तेस्रो स्थानमा पुगे । रास्वपाकी रन्जुले १५ हजार ४५५ मत ल्याएर जित्दा रवीन्द्रले ३ हजार ९७२ मत मात्रै ल्याए । दोस्रो स्थानमा कांग्रेसकै प्रबल थापा आए ।
रवीन्द्र मिश्र राजनीतिक सहमतिमा राजा फर्काउनुपर्छ भनिरहेका थिए । जनताले झण्डै दुई तिहाई दिएर बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा ल्याए । यो चुनावी परिणाम रवीन्द्रका लागि ठूलै झापड हो ।
त्यसैले होला उनले भनेका छन्, दलीय राजनीतिबाट तत्कालका लागि विदा लिन्छु ।
राजनीतिमा विश्रामको अर्थ हुन्छ, पछाडि हट्नु । मिश्रको विश्राम चाहिँ भोलिका दिनमा दलीय राजनीति गर्दै नगर्ने हो वा फेरि मार्ग परिर्वतन गर्ने हो, समयले बताउने छ ।
सुशीला कार्की भन्नुमात्रै रहेछ !
अन्तिममा रास्वपा गएर बाजी मार्नेहरु
निभ्न थाल्यो चुलो, सरकारले उठायो हात !
एमालेमा ओलीको विकल्प को ?

-1773931562.jpeg)
-1773930665.jpeg)

-1773656815.jpeg)

