नेभिगेशन
राजनीति

गगनले सुनाए कांग्रेसको 'ग्राण्ड रिफर्म' योजना

केन्द्रीय समितिले राजीनामा अस्वीकृत गरेपछि कांग्रेस सभापति गगनकुमार थापा जिम्मेवारीमा फर्किएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दैै उनले चुनावी समीक्षा र पार्टीको आगामी योजनाबारे जानकारी गराए । 

थापाले पाँच वर्ष सरकार चलाउने म्याण्डेट पाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाइ दिए । अनि, सुशासन, विकास र सेवा प्रवाहमा जनताले जुन अपेक्षा राखेका छन्, त्यसअनुसार काम गर्दा नयाँ सरकारलाई पूर्ण रुपमा साथ रहने बताए ।

उनका अनुसार अब २०८२ देखि ०८७ को नयाँ अध्याय सुरु भयो । तर त्यसभन्दा अगाडिको केही विषय टुंगो लगाउनुपर्ने छ । यसमा नयाँ सरकारले काम गरोस् भन्ने अपेक्षा समेत राखे । 

सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन 

चुनावमा जाँदा कांग्रेस, रास्वपा लगायतका दलले भनेका थिए कि, २०४६ सालदेखि सार्वजनिक जीवनमा भएका सबैको सम्पत्ति छानबिन गर्छौं ।

कसैको कमाई अवैध देखिए राष्ट्रियकरण गर्छौ । 

त्यसैले कांग्रेसले सम्पत्ति छानबिन आयोग बनाउन माग गरेको छ र, सरकारले त्यो काम गर्दा आफ्नो पूर्ण साथ रहन्छ भनेको छ । 

भ्रष्टाचार काण्डहरुको छानबिन 

पछिल्ला वर्षहरुमा भ्रष्टाचारका अनेक काण्ड आए, तर त्यसको ठोस छानबिन भएको छैन । कांग्रेसले सरकारलाई आग्रह गरेको छ कि अब त्यसको छानबिन गरौं ।

चाहे त्यो गिरिबन्धु होस् कि ललिता निवास जग्गा प्रकरण होस् । चाहे भदौ २४ गते नेताहरुको घरमा जलेको पैसा होस् । सबैको कानुनसम्मत रुपमा छानबिन होस् । 

सभापति थापाका अनुसार अख्तियारको दुरुपयोग भएको र पूर्वाग्रह नराखी हुने हरेक अनुसन्धानमा कांग्रेसले सरकारलाई साथ दिनेछ ।

यसबाहेक कांग्रेसले भदौ २३ र २४ मा भएको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई काबारही गर्न पनि सरकारसँग माग गरेको छ । 

यस्ता काममा नागरिकको अपेक्षा अनुसार सरकारको स्पीड नपुग्दा दबाव समेत दिने बताएको कांग्रेसले लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा भने कुनै सम्झौता नगर्ने बताएको छ । 

यो त भयो सरकारको कुरा । कांग्रेस सभापति थापाका अनुसार कांग्रेसमा सानो होइन, ग्राण्ड रिफर्म चाहिएको छ । त्यसका लागि पनि केही योजना अगाडि सारेका छन् । 

क्रियाशील सदस्यता निलम्बन  

कांग्रेसमा करिव ९ देखि १० लाख क्रियाशील सदस्य छन् भनिन्छ । तर कहिल्यै समयमा नवीकरण हुन्न । जब महाधिवेशन नजिकिन्छ, क्रियाशीलकै विवाद हुन्छ । क्रियाशील सदस्यतालाई देखाएर समयमा महाधिवेशन समेत नगर्ने परिपाटी छ ।

त्यसैले गगनले अहिले भएका क्रियाशील सदस्यलाई शून्य मानेर नयाँ यात्रा  सुरु गर्ने बाटो रोजेका छन् । 

उनका अनुसार कांग्रेसमा अहिले जति क्रियाशील सदस्य छन्, त्यो सबै रेकर्डमा रहन्छ । वैशाख १ देखि ३० गतेसम्म क्रियाशील सदस्य वितरण सुरु हुनेछ । 

यसका लागि नयाँ होस् वा पुरानो सबैले आफ्नो वडामा नै गएर निवेदन दिनुपर्नेछ । अब गगन थापा काठमाडौं ३० को वडामा गएर क्रियाशील लिनुपर्छ, शेरबहादुर देउवाले डडेलधुरा र शेखर कोइरालाले मोरङमा गएर निवेदन दिनुपर्छ । 

कांग्रेस नेताहरुका अनुसार अब १० लाख भनिएको क्रियाशील सदस्यको संख्या २ लाखमा झर्न पनि सक्छ । तर कांग्रेसलाई रिफर्म गर्न उनले यही बाटो रोजे । 

शुभेच्छुक संस्थाबाट महाधिवेशन प्रतिनिधि बन्न नपाउने

गगन थापाको यो निर्णय महाधिवेशन प्रतिनिधि बन्ने र नबन्नेसँग मात्र सीमित छैन । पेशाकर्मीहरुको दलीय आवद्धतासँग जोडिएको छ । 

कांग्रेसले जब शुभेच्छुक संस्थाबाट महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था गर्‍यो, हरेक पेशामा आवद्ध भएकाहरुको संगठन बन्यो । कांग्रेसमा अहिले २७ वटा शुभेच्छुक संस्था छन् । 

निजामती कर्मचारीको नेपाल निजामती कर्मचारी युनियन छ, शिक्षकहरुको नेपाल शिक्षक संघ छ । पत्रकारहरुको प्रेस युनियन छ, प्राध्यापकहरुको प्रजातन्त्रवादी प्राध्यापक संघ छ । यसरी नै वकिल, चिकित्सक, कलाकार, आदिको पनि छुट्टै संघ बनेको छ । 

हरेक संघबाट कांग्रेसको महाधिवेशनमा ५/७ जना प्रतिनिधि आउँछन्, नेता छान्न भोट हाल्छन् । कांग्रेस सरकारमा भएका बेला आफ्नो अनुकुल सरुवा बढुवादेखि नीतिगत निर्णय गराउन लाग्छन् । महाधिवेशनमा आउने भोटका लागि नेताहरुले पनि त्यही गर्छन् । 

यसले विश्वविद्यालयदेखि संवैधानिक निकायसम्म भएको चरम दलीयकरण भएको छ ।

यो चुनावमा राज्यका संस्थाहरुमा भएको दलीयकरणको अन्त्य गर्ने प्रतिज्ञा गरेको थियो । त्यहीअनुसार सभापति गगन थापाले अब कुनै पनि शभेच्छुक संस्थाहरुबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्न नपाउने घोषणा गरेका हुन् । 

ल्याट्रल इन्ट्री 

विभिन्न पेशा व्यवसायमा भएका मानिसले कांग्रेसको राजनीति गर्छु भनेर खुलेर आउन चाह्यो भने चाहिँ ढोका खुला राखेका छन् । त्यो हो, ल्याट्रल इन्ट्री ।

सभापति थापाका अनुसार विभिन्न पेशा व्यवसायमा लागेका मानिस, जसले कांग्रेसले राजनीति गर्छु भन्ने चाहन्छ । उसले पार्टीको सदस्यता लिएर कुनै पनि पदमा प्रतिस्पर्धा गर्न पाउँछ । यस्तो प्रतिस्पर्धा ल्याट्रल इन्ट्री लिनेहरुको बीचमा मात्र हुन्छ ।

मानौं, तपाईं निजामती कर्मचारी हुनुहुन्थ्यो, अवकाशपछि कांग्रेसको केन्द्रीय सदस्य बन्न चाहनुभयो भने ल्याट्रल इन्ट्रीबाट आउन चाहनेहरुबीच प्रतिस्पर्धा गर्नुस् । 

लिडरसीप एकेडेमी

कांग्रेस पटक पटक सरकारमा त पुग्यो, तर सरकारमा पुगेपछि के गर्ने भन्ने योजना नभएका कारण जनताको अपेक्षाअनुसार डेलिभरी दिन सकेन । 
त्यसैले राजकाज सञ्चालनलाई लिएर कांग्रेसले लिडरसिप एकेडेमी नै चलाउने भएको छ । 

अहिले उपसभापतिको नेतृत्वमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान छ । त्यसको मातहतमा एकेडेमी बनाइने छ । जसको आफ्नै पाठ्यक्रम हुन्छ । र, अबका दिनमा कांग्रेसबाट उम्मेदवार बन्न चाहने जो कसैले पनि यो कोर्स गरेको हुनुपर्छ ।

पार्टी रिफर्मका लागि यत्ति काम गरेपछि आगामी भदौमा नियमित महाधिवेशन हुनेछ ।

हुन त गत मंसिरमा नै १५औं महाधिवेशन हुनुपर्ने हो । तर तत्कालीन नेतृत्वले आलटाल गरेपछि गगन थापा र विश्वप्रकाश शर्माहरुले विशेष महाधिवेशन गरेर नेतृत्व बदले । 

यो नेतृत्वको म्याद एक वर्ष हो । त्यसैले गगन थापाले भदौ २४, २५ र २६ गते केन्द्रीय अधिवेशन १५औं महाधिवेशनको कार्यतालिका अगाडि सारेका छन् ।

त्यो महाधिवेशनमा सभापतिका दाबेदार अरु को को हुनेछन् अहिले भन्न सकिन्न । तर, थापा सभापतिको उम्मेदवार हुने छन् र, सबैभन्दा बलियो दाबेदार रहेनछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति