नेभिगेशन
राजनीति

ठूला नेताहरुको सम्पत्तिको स्रोत के हो ?

सरल भाषामा भन्नुपर्दा अवैध रुपमा कमाएको कालोधन सेतो बनाएर देखाउनु नै सम्पत्ति शुद्धीकरण हो । 

जस्तो, घुस वा भ्रष्टाचार जस्ता गतिविधिबाट आएको रकम, जसलाई विभिन्न माध्यमबाट वैध बनाउने प्रयास गरिन्छ ।

अनि, कसरीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको हो कि होइन भनेर अनुसन्धान गर्ने निकाय हो, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग । 

२०६५ सालमा स्थापना भएको यो विभाग सुरुमा अर्थ मन्त्रालय मातहत थियो । केपी ओली सरकारको पालामा प्रधानमन्त्री कार्यालयमा सारियो, अहिले फेरि अर्थ मान्त्रालय मातहतमै फर्काइएको छ ।

विभागले जब अनुसन्धान सक्छ, कसैले अवैध रुपमा सम्पत्ति आर्जन गरेको देख्छ । त्यस्तो व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सघाउँछ । 

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार यो विभाग गठन भएदेखि अहिलेसम्म जम्मा १२१ वटा मुद्दा दायर भएको छ ।

त्यसमध्ये ९९ वटामा फैसला भएको छ । र, समग्रमा मुद्दामा सफलता दर ८१ प्रतिशत छ । यसरी हेर्दा विभाग निकै सफल मान्नुपर्ने हो, तर त्यसो मानिन्न । किनकी हालसम्म दायर गरेको मुद्दा स–साना छन् ।

सार्वजनिक रुपमा प्रश्न उठेका राजनीतिक नेतृत्व र उनीहरुबाट लाभ लिएका व्यवसायीहरुमाथि अनुसन्धान नै गर्न सकेको छैन ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक पूर्व महानिर्देशकको अनुभवमा त्यसको प्रमुख कारण राजनीतिक संरक्षण नै हो । 

जतिबेला उनी महानिर्देशक थिए, नेताका निकट रहेर लाभ लिएका एक व्यवसायीको आर्थिक कारोबार शंकास्पद देखियो । ती व्यवसायीमाथि थप अनुसन्धान गर्नुअघि तत्कालीन प्रधानमन्त्रीलाई जानकारी गराए । तर प्रधानमन्त्रीले अनुसन्धान मात्र रोकेनन्, दुई दिनमा नै उनको विभागबाटै सरुवा भयो । 

जब ठूला केसहरुमा अनुसन्धान गर्न खोजिन्छ, यसरी नै डिसमिस गर्ने काम हुन्छ । विभागमा एउटा महानिर्देशकले औषतमा आठ महिना विताएको छ । स्थिरता र स्थायित्व नहुँदा अनुसन्धान र अभियोजनमा अपेक्षित नजिता हासिल गर्न नसकिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ ।

विभागले आफ्नो प्रतिवेदनमै भनेको छ, १३ वर्षमा १९ पटक नेतृत्व परिर्वतन भएको छ । महानिर्देशक चाँडो चाँडो परिर्वतन हुने प्रवृत्तिले कार्य वातावरणमा समेत अस्थिरता पैदा गरेको छ ।’ 

तर यो पटक  विभागले तीन पूर्वप्रधानमन्त्री, दुई मन्त्रीसहित शक्तिशाली नेताहरुको सम्पत्तिबारे एकसाथ अनुसन्धान अगाडि बढाएको छ । 

जेनजी विद्रोहको भोलिपल्ट भदौ २४ मा थुप्रै नेताको घर जल्यो । त्यसमा एउटा घर थियो, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको । 

बुढानीलकण्ठस्थित देउवाको घरमा आगजनीका क्रममा  थुप्रै नोटहरु समेत जल्यो । कतिसम्म भने आगजनी भएको केहीदिनसम्म मानिसहरु पुग्दा कोठाभर जलेको नोटको टुक्राहरु यत्रतत्र भेटिएको थियो । 

पूर्वमन्त्री दीपक खड्काको घरमा त आगजनी गर्नु अगाडि प्रदर्शनकारीले नोटहरु छतबाट छरेर उडाएको भिडियो भाइरल भयो । 

अरु नेताको घरमा पनि जलेका नोटका टुक्राहरु भेटिएपछि छानबिन गर्नुपर्ने आवाज उठ्यो । सम्पत्ति शुद्धीकरण विभागले चासो देखायो । 

यो पटक विगतमा जस्तो रोक्न सरकार थिएन । जेनजी विद्रोहको बलमा बनेको नागरिक सरकार थियो । त्यसैले विभागले देउवा, प्रचण्ड, दीपक खड्काहरुको जलेको घरमा खरानी संकलन गरेर परीक्षणका लागि पठायो । र, प्रारम्भीक अनुसन्धानमा केही कैफियत देखिएको विभाग स्रोतले बताएको छ । 

त्यसपछि अर्को चरणको अनुसन्धान सुरु भयो । जसमा नेताको मात्र होइन, उनीहरुको परिवारका सदस्यहरुको नाममा रहेको चल अचल सम्पत्तिबारे पनि अनुसन्धान हुनेछ । 

जस्तो, जग्गा, बैंक खाता, शेयर वा लगानी । सबैको स्रोतको खोजी हुनेछ । 

विभागले अनुसन्धान त गरिरहेको बताएको थियो, तर कोही पक्राउ परेका थिएनन् ।

बालेन शाह नेतत्वमा नयाँ सरकार बने लगतै पूर्वमन्त्री दिपक खड्का पक्राउ परे । आइतबार विहान केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई बुढानीलकण्ठस्थित एक अपार्टमेन्टबाट पक्राउ गरेको हो ।

उनलाई दिएको पक्राउ पूर्जीमा भनिएको छ, तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ बमोजिम यो पक्राउ पूर्जी जारी गरिएको छ । 

यहाँ ध्यान दिनुपर्ने कुरा यो छ, खड्का दोषी ठहर भइसकेका होइनन् । तर उनको वैध आय र सम्पत्तिको अध्ययन गर्दा केही कैफियत देखिएकाले थप अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको हो । 

अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

विभागका अधिकारीहरुका अनुसार अनुसन्धान खड्कामा मात्र रोकिने बाला छैन । 

पूर्व प्रधानमन्त्रीत्रय केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवामाथि पनि विस्तारमा अनुसन्धान भइरहेको छ । देउवा पत्नी आरजु र उनका भाइ भूषण राणा पनि अनुसन्धानको दायरामा आएका छन् । 

नेताहरुको सम्पत्तिको स्रोत के हो ? 

डडेलधुराको गन्यापधुरा–१ रुवाखोलामा जन्मिएका देउवा ५ पटक प्रधानमन्त्री भए । सुदूरपश्चिमको सामान्य परिवारमा जन्मिएर ५–५ पटक प्रधानमन्त्री बनेको भनेर जति गर्व गरिन्छ, उनको विलाशी जीवन शैलीलाई लिएर त्यति नै प्रश्न पनि उठेको छ ।

उनले बुढानीलकण्ठमा करिव ६ रोपनी क्षेत्रफलमा फैलिएको आलिशान महल बनाएका थिए । पछिल्ल्लो समय देउवा प्रधानमन्त्री भएको बेला सरुवा बढुवाका नाममा ठूलो रकम लेनदेन भएको दाबी गर्दै खबरहरु आएका थिए । देउवाका छोरा जयवीरको नाममा काठमाडौं, बर्दिया, कास्की जस्ता ठाउँमा जग्गा किनेको भेटिएपछि सम्पत्तिको स्रोत के हो भन्ने प्रश्न उठेको थियो । 

जेनजी विद्रोहका क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भयो । घरमा जलेका नोटका थुप्रा टुक्राहरु भेटिए । 

देउवाले एआई भिडियो हो भनेका छन्, तर वास्तविकता भने उल्टो छ । घरमा आगजनी भएको केही दिनसम्म केही बहुमूल्य बस्तु भेटिन्छ कि भनेर खोज्न जानेहरुको भीड लागेको थियो । जेलेका नोटका टुक्राहरु यत्रतत्र भेटिएको थियो । 

त्यही जलेको नोट र खरानीको फरेन्सिक रिपोर्ट पोजेटिभ आएपछि विभागले थप अनुसन्धान अगाडि बढायो । देउवा पत्नी आरजुका भाइ भुषण राणाको घरमा छापा समेत मारेको थियो । 

अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पनि विलासी जीवनशैलीलाई लिएर बारम्बर प्रश्न उठ्ने गरेको छ । कहिले उनले लगाएको घडी त कहिले छोरीहरुले बोकेको लुइस भिटोनको ब्यागको मूल्यलाई लिएर समाचारहरु समेत बनेका छन् । 

प्रचण्डले पछिल्लो पटक प्रधानमन्त्री भएको बेला बुझाएको सम्पत्ति विवरणअनुसार चितवनको भरतपुरमा सीता दाहाल, जसले केही समय पहिले निधन भयो, उनको नाममा १४ घठ्ठा जग्गामा घर थियो । भरतपुरमै १ कठ्ठा जग्गा छ भने ५ तोला मात्र सुन छ भनेर उनले सम्पत्ति विवरण बुझाएका थिए । 

काठमाडौंमा प्रचण्डको आफ्नै घर छैन । शान्ति प्रक्रियामा आएदेखि उनी पहिला विवादित व्यापारी अजेयराज सुमार्गीको आफन्तको घरमा र ठेकदार शारदाप्रसाद अधिकारीको घरमा बसे । तर उनका दुई छोरी रेनु र गंगाले घर बनाएका छन् ।

जेनजी आन्दोलनका क्रममा दुबैको घरमा आगजनी समेत भएको थियो । प्रचण्ड बस्दै आएको घरमा समेत आगजनी भयो । त्यहाँ पनि पैसा जलेको आशंकामा अनुसन्धान भइरहेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली ०४८ मा पहिलो पटक सांसद निर्वाचित हुँदा चप्पल लगाएको तस्वीर बेलाबेला सामाजिक सञ्जालमा भइरल हुन्छ । 

पछिल्लो १० वर्षमा चार पटक प्रधनमन्त्री भएका ओलीको भक्तपुर बालकोटमा करिव डेढ रोपनी जग्गामा दुई वटा घर थियो । लामो समय राष्ट्र बैंकमा काम गरेकी पत्नी राधिका शाक्यले आफ्नो कमाइबाट यो घर बनाएको उनीहरुको दाबी छ । 

उनीहरुको सन्तान छैन । शेष पछि त्यो घरजग्गा राधिका शाक्य ट्रष्टको हुने गरी दान दिने घोषणा गरेका थिए । जेनजी आन्दोलनका क्रममा दुबै घरमा आगजनी भयो । 

पूर्व प्रधानमन्त्री ओलीमाथि विवादित व्यवसायीलाई पोसेको, सरकारी सम्पत्ति न्यून भाडादरमा उनीहरुलाई सुम्पिएको आरोप लाग्दै आएको छ ।

नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई दिने क्रममा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले उपहारमा घर लिएको विषय समेत सार्वजनिक भएको थियो । तर, यस विषयमाथि कसैले छानबिन गरेको थिएन । 

अब भने तीनै जना पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । 

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०७४ अनुसार अनुसन्धानका क्रममा शंका गर्नुपर्ने मनासिव आधार भए पक्राउ परेर थुन्न सक्छ ।

पक्राउ गरेको व्यक्तिलाई बाटोको म्याद बाहेक २४ घन्टाभित्र थुनामा राख्न अनुमति लिनुपर्छ । अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारीसमक्ष पक्राउ परेका व्यक्तिमाथि लागेको अभियोग, त्यसको धारण तथा आधार, बयान भएको भए त्यसको व्यहोरा र थुनामै राखेर अनुसन्धान गर्नुपर्ने कारण खुलाउनुपर्छ । 

त्यो बेला मुद्दा हेर्ने अधिकारीले ९० दिनसम्म थुनामा राख्न अनुमति दिनसक्छ । 

यस्तै अनुसन्धानका क्रममा देश भित्र वा वाहिर रहेको सम्पत्ति रोक्का गर्न सक्छ । राहदानी वा ट्राभल डकुमेन्ट रोक्का गर्न पनि सक्छ । 

अनुसन्धान सकिएपछि विभागका प्रमुखले आफ्नो रायसहित मुद्दा चल्ने वा नचल्ने निर्णय गर्नुपर्छ र, सरकारी वकिलसमक्ष मिसिल एवं प्रमाण पेश गर्नुपर्छ ।

सरकारी वकिलबाट पनि मुद्दा चल्ने निर्णय भए बल्ल अदालतमा दायर हुन्छ । 

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा हद म्याद लाग्दैन । यो भनेको कसुर कहिले गरेको हो भन्ने आधारमा पुरानो भयो भनेर अनुसन्धान रोक्नुपर्दैन । 

अनि जब मुद्दा चल्छ, सम्पत्ति अवैध होइन भनेर प्रमाणित गर्ने दायित्व जसमाथि अभियोग लागेको छ, उसकै हो । सम्पत्ति, मात्र होइन, अस्वभाविक उच्च जीवनस्तर यापन गरेमा वा हैसियतभन्दा बढी कसैलाई दान, उपहार, चन्दा वा सापटी दिएको पाए त्यो कस्तो स्रोतबाट आर्जन गरेको हो खुलाउनुपर्छ । 

स्रोत प्रमाणित गर्न नसके सम्पत्ति जफत हुन्छ । कसुर हेरेर कैद समेत हुन्छ । 

यसरी अब पूर्वप्रधानमन्त्रीहरुले सरकार समक्ष आफ्नो सम्पत्ति कुन वैध स्रोतबाट आर्जन भएको हो भन्ने खुलाउनुपर्ने हुन्छ । आफ्नो विलासी जीवनशैली कुन स्रोतको पैसाबाट मेन्टेन भइरहेको छ भन्ने पनि जवाफ दिनुपर्ने हुन्छ । अवैध स्रोतबाट यो सबै भइरहेको हो भने कारवाहीको भागिदार समेत हुनुपर्ने सम्भावना छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति