बैंक खातामा अलपत्र पैसा तान्दै सरकार, कानुनले मिल्छ ?
तपाईंले कतिवटा ब्यांकमा खाता खोल्नुभयो ? अनि अहिले कतिवटा खाताबाट कारोबार गरिरहनुभएको छ ? कुनै बेला चलाइरहेको ब्यांक खाता चलाउन छाडेपछि बन्द गराउनुभयो ?
जागिर परिवर्तन गर्दा, सेयर किन्दा, कुनै पुरस्कार वा अफर लिँदा कुनै ब्यांकमा खाता खोलेको हुन सक्छ । विगतमा ब्यांकहरुले शाखा विस्तार गर्दा खाता खोल्ने अभियान नै चलाएका थिए, मेला महोत्सवहरुमा स्टल राखेर पनि ब्यांक खाता खोल्ने गर्थे । यसरी खोलिएका धेरै खाता अहिले निष्क्रिय छन् ।
हामी काम सकिएपछि वा कारोबार नगर्ने भएपछि ब्यांक खाता बन्द गर्दैनौं । वा पछि कुनै दिन काम लाग्ला नि भनेर राखिराखेका हुन्छौं ।
त्यसपछि के हुन्छ ? ती खाताहरु निष्क्रिय हुन्छ । हामी पनि त्यहाँ खाता छ भनेर सम्झिरहँदैनौं । बेला बेलामा ब्यांकका कर्मचारीले फोन गरेर केवाईसी भर्न आउनु, एकाउन्ट रिन्यू गर्नु भनेर सम्झाउँछन् । तर पटक पटक बेवास्ता गरेपछि ब्यांकहरुले पनि चासो दिँदैनन् ।
सबै ब्यांकहरुमा करिब ६ करोड बैंक खाता छन् । यो संख्या नेपालको कुल जनसंख्याको दोब्बर हो ।
नेपालका ब्यांकहरुमा खुलेका खातामध्ये ३६ प्रतिशत निष्क्रिय छन् । त्यसमा भएका पैसा ब्यांकले चलाउन मिल्ने त कुरै भएन । सम्बन्धित खातावालाले पनि अपडेट गरेपछि मात्र कारोबार गर्न पाउँछन् ।
यस्तै निष्क्रिय खाताहरुमा छ १ खर्ब ८८ अर्ब रुपैयाँ । यो ३ वर्षभन्दा बढी समयदेखि निष्क्रिय खातामा रहेको पैसा हो । १० वर्षदेखि निष्क्रिय खातामा कति पैसा छ भन्ने यकिन छैन ।
यो सानो रकम होइन, यो पैसा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पुग्ने पैसा हो । १ हजार मेगावाटसम्मको हाइड्रो पावर प्रोजेक्ट बनाउन पुग्ने पैसा हो । नेपालको ठूला विकासे मन्त्रालयले एक वर्षभरिमा पाउने बजेट जति हो ।
अब सरकारले १० वर्षदेखि निष्क्रिय खाताको पैसा सरकारी ढुकुटीमै लैजाने निर्णय गरेको छ । वर्षौंदेखि नागरिकले बेवास्ता गरेको र ब्यांकले पनि चलाउन नमिल्ने पैसा सरकारले आफ्नो ढुकुटीमा लैजान्छु भन्नु ठीकै हो भन्ने पनि लाग्न सक्छ । लाखौं ब्यांक खाताहरुमा छरिएर रहेको यस्तो पैसा एकमुष्ट जम्मा गरेर सरकारले कुनै राम्रो काममा लगाउन सक्छ ।
तर के यसो गर्न पाइन्छ ? हाम्रो कानुनले के भन्छ ?
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाले कस्तो बेलामा ब्यांक खाताहरु निष्क्रिय हुन्छन् भन्ने तोकेको छ ।
चल्ती र कल खाता १ वर्षसम्म कारोबार नभए निष्क्रिय हुन्छ । बचत खाता ३ वर्षसम्म चलेन भने निष्क्रिय हुन्छ । यदि खातामा पैसा छैन भने १० वर्षपछि बैंकले बन्द गराउन सक्छ । त्यसका लागि बैंकले सूचना निकाल्नुपर्छ ।
बैंकले निष्क्रिय खाताको पैसा लिन आउन प्रत्येक ५ वर्षमा पत्रिकामा सार्वजनकि सूचना निकाल्नुपर्छ । सूचना निस्केको ३५ दिनभित्र खाातावाल वा हकवालाले हकदावी गर्न पाउँछ । यदि त्यो अवधिमा कोही आएन भने पैसा राष्ट्र बैंकमा पठाइन्छ । १० वर्षदेखि नचलेको खाताको विवरण प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकलाई पठाउनुपर्छ ।
खातावालाको मृत्यु भए पनि खातामा भएको पैसा हराउँदैन । पहिलो हक इच्छाएको व्यक्तिको हुन्छ । यदि इच्छाएको व्यक्तिको पनि मृत्यु भए अन्य नजिकका हकवालाले पाउँछन् । कोही नभए कानुन अनुसार नातेदारले पाउँछन् ।
कोही कसैले दाबी नगरे २० वर्षपछि नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जान्छ । यो कोषमा अहिले यसैगरी १ अर्ब ६ करोड पैसा जम्मा भएको छ ।
यो कोष बैंकिङ क्षेत्रको विकासका लागि खडा गरिएको हो । यो कोषमा गएको पैसा बैंकिङ क्षेत्रको विकासकै लागि उपयोग गर्नुपर्छ ।
अहिलेको नियम यही हो । तर, सरकारले १० वर्षसम्म निष्क्रिय खाताको पैसा नै सरकारी कोषमा लैजाने भनेको छ ।
सरकारले ल्याएको शासकीय सुधारको १०० कामको ७८ नम्बरमा यो विषय उल्लेख छ । सरकारले यो काम ९० दिनभित्र गर्ने भनेको छ ।
सुन्दा यो योजना राम्रै लाग्छ । बैंकमा त्यसै बसेको निष्क्रिय पैसा उपयोग हुनु राम्रो पनि हो ।
तर, यथार्थमा त यो पैसा सरकारको होइन, नागरिकको हो । नागरिकले आर्जेको सम्पत्ति बैंकमा अलपत्र छ भने त्यसको स्वामित्व सरकारले लिन खोज्नु नाजायज त देखिँदैन ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अहिले यो पैसा बैंकहरुले नै चलाइरहेका छन् । तर, खातावाल वा हकवाला यो पैसा माग्न आएका दिनमा फिर्ता दिनैपर्छ ।
अहिलेको कानुनअनुसार सरकारले यसको उपयोग गर्न सक्ला, तर आफ्नो बनाउन सक्दैन । खातावाला र हकवाला फिर्ता माग्न आएका दिनमा बैंकले त्यो पैसा ग्राहकलाई नदिई सुखै छैन ।
किनकी मान्छेले बैंकमा पैसा सुरक्षित होस् भनेरै राख्छ । ब्यांकमा राखेको पैसा सुरक्षित हुन्छ भन्ने मानिन्छ, कसैले लगेर आफ्नो बनाउँछ भन्ने मानिँदैन । जुन, संविधानले दिएको सम्पत्तिको हकविरुद्ध पनि हुन्छ ।
अहिलेसम्म यस्तो पैसा सरकारी कोषमा जाने कानुनी व्यवस्था छैन, सरकारले त्यस अनुसारको कानुनी व्यवस्था गरेर मात्र लैजान सक्छ ।
यो पैसा सरकारले प्रयोग गर्न कानुन संशोधन गर्नैपर्छ ।
कानुन संशोधन गरेर त्यस्तो पैसा ढुकुटीमा लैजाने भन्यो भने ब्यांकहरुले एक पटक खातावाललाई हक दाबी गर्न समय दिन सक्छ । हक दाबी नपरेका वा नपुगेका खाताको पैसा राज्यको ढुकुटीमा लैजान सक्छ ।
अब प्रश्न, किन बढ्दैछ यस्तो समस्या ?
बैंकको पहुँच विस्तार भएसँगै मानिसहरुले एक भन्दा बढी बैंकमा खाता खोल्नु सामान्य हो, तर समयक्रममा सबै खाता प्रयोगमा नआउन सक्छ, त्यसैले केही खाता निष्क्रिय हुनुलाई अन्यथा मान्न सकिन्न ।
तर नेपालमा जनसंख्याको दोब्बर ब्यांक खाताहरु निष्क्रिय रहनु चाहिँ अलि अनौठो नै देखिन्छ । यसको एउटा कारण हो, ब्यांकहरुबीचको प्रतिस्पर्धा । हरेक बैंक चाहन्छन्, नयाँ ग्राहक बनाउँ । यतिसम्म कि बैंकहरुले आफ्ना बजार हेर्ने कर्मचारीलाई बैंक खाताहरु थप्नुपर्ने टास्क नै दिन्छन् ।
त्यही कारण बैंकका कर्मचारीले चिने जानेकाहरुलाई जोरजबरजस्ती गरेर समेत खाता खोल्न लगाउँछन् । ब्यांकहरुले खाता खोल्न जोड गर्नुको कारण हो, ब्यांकिङ पहुँच विस्तार गर्नु र वचत आकर्षित गर्नु ।
नेपालमा गाउँ गाउँमा ब्यांक पुगेको धेरै वर्ष भएको छैन । एक दशक अगाडिसम्म नेपालीहरुको ब्यांकमार्फत कारोबार गर्ने चलन थिएन । त्यसैले खाता खोल्दामात्रै पनि मोटो रकम वचत हुन्छ भन्ने मान्यता थियो ।
त्यसैले बैंकले ग्राहक आकर्षित गर्न अफर समेत ल्याए । धेरै बैंकहरुले सित्तैमा खाता खोल्ने सुविधा समेत दिए । यसरी ब्यक्तिको आवश्यकता भन्दा ब्यांकको जोडबलले खोलिएका खाताहरु प्रायः निष्क्रिय भएको देखिन्छ ।
बैंक खाताहरु निष्क्रिय हुनुको अर्को कारण हो, जागिर परिवर्तन । निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरु कम्पनी र कार्यालय फेरिरन्छन् । कम्पनी पिच्छे कर्मचारीको तलब दिने ब्यांक छुट्टाछुट्टै हुन सक्छ । त्यसैले जागिर फेरिनेबित्तिकै नयाँ ब्यांकमा खाता खोल्न करै लाग्छ । त्यसपछि पुरानो अफिसले तलब हाल्ने खाता निष्क्रिय भइहाल्छ ।
अनि अहिले खाताहरु बढी निष्क्रिय हुनुको अर्को कारण डिजिटल बैंकिङ पनि हो । कुनै एक बैंकको डिजिटल बैंकिङ सेवा लिएपछि मान्छेहरु अरु खाताबाट खासै कारोबार गर्दैनन् । त्यसैले धेरै ग्राहक एउटा बैंकमा नै बढी निर्भर छन् ।
नेपालमा पछिल्लो समयमा ब्यांकिङ पहुँच तीव्र रुपमा बढेको छ । कुल जनसंख्याको ७३ प्रतिशत ब्यांकिङ पहुँचमा छन् । युवामध्ये ९० प्रतिशत ब्यांकिङ पहुँच राख्छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी मोबाइल ब्यांकिङ प्रयोग गर्छन् ।
एटीएमबाट निकाल्न मिल्ने जति पैसा निकालेपछि बाँकी पैसाबारे वास्ता नगरी बस्ने पनि धेरै छन् । यहाँ खाता खोलेर विदेशमा गएर बस्नेहरु पनि उत्तिकै छन् ।
अनि खाताहरु निष्क्रिय हुनुको अर्को कारण भनेको खाता बन्द गर्ने झञ्झटिलो व्यवस्था पनि हो । बैंकमा खाता खोल्न सजिलो छ । कतिपय बैंकले अनलाइनबाटै केवाईसी फारम भरेर सेवा लिन सकिने बनाएका छन् । तर, खाता बन्द गर्न बैंक नै जानुपर्ने बाध्यता छ । त्यसैले मान्छेहरु त्यसलाई प्राथमिकतामा राख्दैनन् ।
अनि धेरैलाई खाता बन्द गर्नुपर्छ भन्ने पनि लाग्दैन । बैंक खाता बन्द गर्नैपर्ने बाध्यकारी नभएकाले निष्क्रिय खाताको संख्या बढ्दै गएको छ । तर, सक्रिय ग्राहक संख्या भने घट्दै गएका छन् ।
अनि कतिपय संस्था वा कम्पनी बन्द हुँदा पनि खाता निष्क्रिय हुन पुग्छन् । समस्याग्रस्त कम्पनी र संस्थाहरुको खातामा रहेका थोरै पैसाहरु पनि त्यतिकै हुन्छन् ।
अब कुरा गरौं कुन ब्यांकको निष्क्रय खातामा कति पैसा छ भन्नेबारे ।
अहिले ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । त्यसमध्ये सबैभन्दा धेरै निष्क्रिय खाता नेपाल बैंकमा छ । यो नेपालको पहिलो बैंक हो र सरकारी स्वामित्वको ब्यांक हो ।
यो ब्यांकको निष्क्रिय खातामा मात्र २३ अर्ब ४७ करोड रुपैयाँ छ । अर्को सरकारी ब्यांक राष्ट्रिय वाणिज्य बैंकमा १७ अर्ब ६१ करोड छ । प्राइम कमर्सियल बैंकमा १६ अर्ब ७ करोड छ ।
नबिल बैंकमा १४ अर्ब १५ करोड, कृषि विकास बैंकमा १० अर्ब ७ करोड र प्रभु बैंकमा १० अर्ब रुपैयाँ निष्क्रिय खातामा छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि निष्क्रिय खाताको पैसा ठूलो मात्रामा छ ।
अहिले पुराना बैंक र शहरउन्मुख क्षेत्रका ब्यांकहरुमा निष्क्रिय खातामा धेरै पैसा छ । किनकी त्यहाँ पुराना खाताहरु छन् । कुनै बेला बैंकमा खाता खोल्न सजिलो थियो । केवाईसी समेत अनिवार्य थिएन । नागरिकता लिएर गएपछि ब्यांक खाता खुल्थ्यो ।
ब्यांकहरुसँग ग्राहकको पूर्ण विवरणहरु पनि हुँदैन थिए । पछिल्लो समय ब्यांकहरुले केवाईसी फारम भर्न र राष्ट्रिय परिचयपत्रका आधारमा खाता अपडेट गर्नुपर्ने बाध्यकारी व्यवस्था गरे । ग्राहकहरुले झञ्झट मान्न थाले । त्यसैले स्वभाविक रुपमा पुराना ब्यांकका धेरै खाता निष्क्रिय हुन पुगे ।
पुराना बैंकका कतिपय खातावालको मृत्यु भएको रहेछ भने पनि ब्यांकहरुले थाहा पाउँदैनन् । खातामा ठूलो पैसा नभएको अवस्थामा वा हकवालाले त्यस्तो खाता खोलेको थाहा नपाउँदा उनीहरुको खाता पनि निष्क्रिय हुन सक्छ ।
०००
यदि तपाईंले खाता खोलेकै बिर्सनुभएको छ, त्यो खातामा कारोबार गर्नुभएको छैन, केवाईसी अपडेट गर्नुभएको छैन भने तपाईंका लागि यो महत्वपूर्ण सूचना पनि हो ।
किनकी १० वर्षसम्म तपाईंको खाता चलेको छैन भने पैसा सरकारको खातामा जानसक्छ । त्यसैले आफ्ना खाताहरु सक्रिय राख्ने वा बन्द गर्ने भन्ने निर्णय तपाईंकै हातमा छ ।
हाम्रो सुझाव आफ्नो सबै खाताहरुबारे सचेत हुनुस् । ब्यांकमा पुगेर केवाईसी अपडेट गर्नुहोस् । कम्तीमा सानो भएपनि कारोबार गर्नुहोस् । खाता सक्रिय राख्न कुनै शुल्क लाग्दैन ।
निष्क्रिय खाता फेरि चलाउन धेरै गाह्रो छैन । खातावाला आफैं ब्यांक जानुपर्छ । एउटा निवेदन दिनुपर्छ । यदि केवाईसी पहिले नै अपडेट छ भने अरू कागजात चाहिँदैन ।
निष्कर्षमा भन्दा ब्यांकमा थुप्रिएको पैसा सदुपयोग हुनु राम्रो हो । यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन पनि सक्छ ।
अहिले बजार चलायमान छैन । सरकारसँग विकास निर्माणका लागि पर्याप्त बजेट छैन । यदि यो निष्क्रिय पैसा सरकारले चलायो भने लगानी बढ्छ । रोजगारी सिर्जना हुन्छ । आर्थिक विकासमा सहयोग पुग्छ ।
सरकारले यो पैसा उपयोग गर्ने योजना बनाउनु राम्रो हो । तर, नागरिकले कुनै दिन आफ्नो पैसा दाबी गर्न आए भने त्यसलाई बिना झन्झट फर्काउने ग्यारेन्टी पनि जरुरी छ ।
११३ रूपैयाँको पेट्रोल १८७ मा बेच्दा पनि निगम घाटामा ?
अघिल्लो सरकारको नियुक्ति खानेहरुलाई रास्वपाको चेतावनी
सांसद तर्साउने रास्वपाको अस्त्र राइट टु रिकल
आशिका 'दिदी'ले बदलेको मैदान, फेरिएला त शैली ?







