एउटै चोक र सडकभरि दर्जनौं किराना पसल, कसरी चल्छन् ?
नेपालका गाउँदेखि शहरसम्म जहाँ पनि जानुहोस्, हरेक टोल, गल्ली, चोकमा एउटा समान दृश्य देखिन्छ, सानो–ठूलो किराना पसलहरु, त्यो पनि सँगसँगै ।
कतिपय टोलमा त सटरै पिच्छे नभए एक दुई वटा घर छाडेर लहरै किराना पसलहरु भेटिन्छन् ।
यस्तो किन भइरहेको छ ? के किरानाको व्यापार यति धेरै नाफामूलक छ ?
या यो भित्र अरु नै केही कारण लुकेको छ ?
००००
नेपालमा कति किराना पसलहरु छन्, यसको यकिन तथ्यांक कसैसँग छैन । नेपाल आर्थिक गणना–२०७५ ले नेपालमा थोक तथा खुद्रा व्यापार अनि गाडी र मोटरसाइकल मर्मत केन्द्रहरुको संख्या ४ लाख ९८ हजार वटा भएको देखाएको थियो ।
त्यसमा कति चाहिँ खुद्रा पसल र कति वर्कसपहरु हो भन्ने खुल्दैन ।
तर, देखिएको कुरा हो, कि किराना पसल नभएको कुनै ठाउँ छैन । किन यस्तो हुन्छ भन्ने बुझ्न नेपालको भौगोलिक तथा सामाजिक परिवेश अनि माग र आपूर्तिको प्रवृत्तिलाई हेर्नुपर्छ ।
नेपालका बस्तीहरु साना–साना क्लस्टरमा विभाजित छन् । यही कारण हरेक टोलमा किराना पसल सस्टेन भइरहेका छन् । हिजोआज शहरोन्मुख गाउँहरुमा पनि मिनी मार्केटहरु खुलिसकेका छन्, तर त्यहाँ पनि किराना पसलकै बाहुल्यता छ ।
किराना पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु हुन्छन् । विहान उठ्नासाथ चाहिने साबुन, मञ्जनदेखि भन्सामा चाहिने नुन तेलसम्म । तयारी खानेकुरादेखि दूध, पाउरोटी र अण्डासम्म । ट्वाइलेट क्लिनरदेखि ब्लेड र सियोसम्म पनि । गुट्खा र सुर्तिदेखि कोक र बियरसम्म ।
यी र यस्ता सामान सबै परिवारलाई नियमित चाहिन्छ । सकिनेबित्तिकै किन्नैपर्छ । यो सकियो, अब अर्कोले काम चलाउँछु भन्न पनि मिल्दैन ।
त्यसैले किराना पसल भनेको मान्छेहरुलाई तुरुन्तै चाहिने, नियमित चाहिने र नभई नहुने सामानहरु पाइने पसल हो । विहान बेलुकीको दैनिक व्यवस्थापन गर्न र भोक मेटाउन किराना सामग्री अनिवार्य छ ।
त्यसैले यी वस्तुको माग पनि अरुभन्दा बढी हुन्छ । तपाईं हामी पनि हरेक दिनजसो किराना पसल नगई सुखै पाउँदैनौं ।
यही कारण किराना पसलहरु हरेक टोल, गल्ली, चोकहरुमा छन् । जति किराना पसल थपिए पनि तिनीहरु टिकिरहेकै छन् ।
टोलमा केही निश्चित घर परिवारले गर्ने किनमेलले नै शहरहरुमा धेरै किराना पसलहरु टिकिरहेका छन् । ब्यस्त बजारका कति किराना पसलहरु त स्थानीयभन्दा बढी बुटवामा समेत निर्भर हुन्छन् ।
एकै ठाउँमा धेरै किराना पसलहरु हुँदा पनि ती पसलहरु कसरी चलिरहेका छन् त ? यसको मूल कारण हो, नियमित व्यापारको सुनिश्चितता ।
नेपाल व्यापार सर्वेक्षण २०७८ अनुसार किराना पसलहरुको मार्जिन औसतमा १८.२८ प्रतिशत छ । अर्थात् किराना पसलहरुले १०० रुपैयाँको सामान बेच्दा १८ रुपैयाँ नाफा कमाउँछन् ।
अब यो सुन्दा तपाईंलाई अच्चम्म लाग्ला ! औसतमा १८ प्रतिशत मार्जिन राखेर कसरी टिकिरहेको छ त व्यापार ? यसको कारण हो, बिक्रीको परिमाण र प्रवृत्ति ।
मार्जिन कम भएपनि किराना पसलहरुमा व्यापार अटुट रुपमा भइरहन्छ । बाढीपहिरो आओस्, कि भुइँचालो, महामारी आओस् कि आर्थिक संकट । किरानाको ब्यापारमा ठूलो फरक पर्दैन । मान्छेहरुलाई दैनिक उपभोग्य वस्तु चाहिन्छ–चाहिन्छ । अरु कतिपय व्यवसायमा सिजन पर्खिनुपर्छ, किरानाको १२ महिना २४ घण्टा नै सिजन हो ।
५ वर्षअघि कोरोना महामारीका बेलामा गरिएको लकडाउन कै बेला सम्झिनुस् न । निकै कडा लकडाउन गरिएको बेलामा समेत सरकारले विहान–बेलुका किराना र तरकारी पसलहरु खोल्न दिएको थियो । महामारीमा पनि किराना पसलेहरुको व्यापार ठप्प भएर उठिबास लागेन ।
तपाईं हामी आर्थिक समस्या पर्यो वा महँगी बढ्यो भने नयाँ लुगा नकिनी पुरानैले चलाउन सक्छौं, कोठाका लागि चाहिने फर्निचर नकिन्न सक्छौं, घुमफिर र रेष्टुरेन्ट नजान पनि सक्छौं ।
तर, दाल चामल, तेल, नुन, चिनी, मसला, आलु, प्याज नकिनेर सक्छौं त ?
हो, अर्थशास्त्रको भाषामा यसलाई ‘इनलास्टिक डिमान्ड’ भनिन्छ । यसको मतलब हो, चाहे जतिसुकै मूल्य बढोस्, मान्छेले किन्नैपर्छ, आर्थिक संकटमा पनि किराना सामानको माग घट्दैन ।
यसले देखाउँछ कि देशमा संकट आयो भनेपनि व्यापारमा सामान्य गिरावट आउला, तर किराना पसल डुब्दैन । लगानी खेर जाँदैन ।
अरु छाडिदिनुस्, कुनै किराना पसलेले पसल चलेन भनेर बन्द गर्न खोज्यो भने पनि भएका सबै सामान बेचेर पसल खाली गर्न समय लाग्दैन । अरुलाई बेचेर हिँड्दा पनि लगानी डुब्दैन । त्यसैले किराना पसलहरु शहरभरि हुँदा पनि चलिरहेकै छन् ।
कमाइ कति ?
त्यसो भए किराना पसलेले कमाइ चाहिँ कति गर्छन् त ?
किराना पसलको आम्दानीको कुरा गर्ने हो भने सबैको एकनासको हुँदैन । जसले जति धेरै व्यापार गर्नसक्छ, त्यसको कमाइ बढी हुने हो ।
सामान्यतयाः १८ प्रतिशत मार्जिन राखेर व्यापार भव्य हुन्छ त ? पक्कै पनि यो गाह्रो कुरा हो । यति थोरै मार्जिन भएकाले थोरै व्यापार गर्नेको कमाइ पनि सानै हुन्छ ।
एउटा हिसाब गरेर भनौं, एउटा पसलले दिनमा १ लाखको व्यापार गर्यो भने दिनभरमा १८ हजार नाफा कमाउँछ । तर, गाउँ शहरमा कति त्यस्ता किराना होलान् जसले दिनमै १ लाखको व्यापार गर्न सकुन् । फेरि धेरै व्यापार गर्ने पसलमा कामदार कर्मचारी राख्नैपर्यो, उनीहरुलाई तलब दिनैपर्यो । ठूलो सटर भाडामा लिनैपर्यो । त्यसैले मार्जिनबाट भएको नाफाको सबै पैसा जोगिन मुश्किल छ ।
साना किराना पसलहरुमा कामदार राख्ने चलन कम छ । किराना पसलहरु प्रायः पारिवारिक संलग्नताको बिजनेस हो । परिवारका सदस्यहरु पालैपालो पसलमा बस्छन् । विहान बेलुका श्रीमानले पसल हेर्ने, दिउँसो अफिस जाने । अनि महिलाले बिहान बेलुका भान्साको काम गर्ने दिउँसो पसल हेरेको पनि भेटिन्छ ।
किराना पसल परिवारकै भरमा चल्ने हुनाले कामदार राख्ने खर्च पनि जोगिन्छ । परिवारले मिलिजुली चलाएका कारण पनि बिजनेस सजिलो जस्तो देखिन्छ ।
तर, यही कारण नै किराना पसलहरु टिकेका हुन् । सामान्य मान्छेहरुले समेत जीविकाको जोहो गर्न पनि किराना पसल राखेको देखिन्छ । एउटै सटरमा आधा भाग बारेर खाने बस्ने ठाउँ र आधामा किराना पसल राखेको पनि देखिन्छ ।
किराना पसलहरुले एकैचोटी धेरै कमाउँदैनन्, तर सानोतिनो व्यापार भइरहन्छ । डेली क्यास फ्लो भइराख्छ । बिहान ल्याएको सामान साँझमै सकिन्छ, अनि ड्रयरमा पैसा जम्मा भइरहेको हुन्छ । भोलिपल्ट त्यसैबाट सामान किनेर ल्याउनुपर्छ । यसरी किरानामा पैसाको सर्कुलेसन ज्यादा हुन्छ । जति बढी पैसा चल्छ, त्यसले थोरै–थोरै भएपनि नाफा जम्मा हुँदै जान्छ ।
तर, यति सानो नाफाले सबै किराना पसलेहरुलाई धनी बनाउन सक्दैन । तर उसको खर्च पारिवारिक खर्च भने चलिरहेको हुन्छ ।
किरानामा नाफा घाटाको दैनिक हिसाब गरिराख्न समेत मुश्किल हुन्छ । सामान किन्दै र बेच्दै जाँदा महिनामा एउटा एमाउन्ट जम्मा हुन्छ, जसबाट भैपरी आउने खर्च टर्छ । किराना पसलको सजिलो के हो भने घरमा चाहिने सामान किन्न अन्यत्र जानु पर्दैन, दैनिक भान्सा पसलकै सामान झिकेर चलाउन सकिन्छ ।
महिनामा किरानाबाट यति नाफा भयो, अब त्यसलाई अन्यत्र लगानी गर्छु भन्न मुश्किल पर्छ । किनभने किराना ब्यापारमा पैसा हालिरहनुपर्छ ।
एकै ठाउँमा धेरै किराना पसल छन् भने ग्राहक बाँडिन्छन् । अनि सबै पसलको आम्दानी घट्छ । दीर्घकालमा बिजनेस ग्रोथ खुम्चिन्छ । किराना पसलका मान्छे व्यस्त त देखिन्छन्, तर त्यस अनुसारको प्रोफिट र प्रोडक्टिभिटी कम छ ।
यसो भन्दैमा कसैले पनि कमाउँदैनन् भन्ने होइन । बस्तीमा अरुको भन्दा ठूलो, सबैथरि सामान पाइने र कम मूल्यमा दिन सक्ने पसलमा ग्राहक पनि धेरै हुन्छन् ।
कमाइ बढाउन भनेर किराना पसल चलाउने कतिपयले ग्यास पनि बेच्छन्, तरकारी र फलफूल पनि बेच्छन् । कतिपयले मदिराको बिक्री गर्छन् त कसैले चिया, चटपटे र पानीपुरीसम्म पनि बेच्छन् ।
अनि ग्रामीण क्षेत्रका किराना पसलमा त कपडा, जुत्ता चप्पल, कापी कलम, महँगा कस्मेटिक्स प्रोडक्टहरु समेत पाइन्छ । यसरी किराना पसलहरुले टन्नै कमाउँछन् भन्ने होइन, थोरै नाफा खाने र धेरै सामान बेच्ने गरेर ठिक्कको आम्दानी गर्न सक्छन् ।
कत्ति सजिलो ?
कत्तिको सजिलो छ किराना पसल चलाउन ? वास्तवमा किराना पसल चलाउन त्यति सजिलो चाहिँ छैन ।
किराना पसल चलाउने हो भने तपाईं बिहान अरु मान्छे भन्दा छिटो उठ्नुपर्छ । राति मान्छेहरु सुतिसक्दा पनि ग्राहक पर्खिरहन सक्नुपर्छ । दिनमा सयौं ग्राहक आउँछन्, पाँच रुपैयाँको चकलेट बेच्न पनि झिँजो मान्न हुँन्न ।
जति तनावमा भएपनि हरेक ग्राहकसँग सौहार्दपूर्ण व्यवहार गर्नुपर्छ । कुनै दिन पसल नखोल्ने छुट छैन । शनिबार र सार्वजनिक विदा केही भन्न पनि पाउनुहुन्न । झरी पर्यो, घाम चर्कियो, चाडबाड लाग्यो, बिरामी भइयो भन्ने छुट हुँदैन । दैनिक मान्छेको चहलपहल हुने समयमा पसलको सटर खुल्नैपर्छ ।
कहिले खुल्ने, कहिले बन्द हुने पसलमा ग्राहकहरु जान रुचाउँदैनन् ।
त्यसमाथि हरेक समय तपाईंले कुन सामान सकियो र कुन बाँकी छ भनेर चनाखो भइरहनुपर्छ । तपाईंले नियमित बेच्दै आएको सामानबाहेक अरु कुन सामानको माग आइरहेको छ, उस्तै उस्तै चाउचाउ वा बिस्कुटमा पनि मान्छेले कुन चाहिँको डिमान्ड गरिरहेको छ भन्ने ख्याल गर्नुपर्छ ।
धेरै पसलेहरु सामान लिन आफैं बजार जानुपर्छ । हिजोआज शहर र शहरउन्मुख ग्रामीण भेगमा ठूला होलसेलर र सप्लायर्सहरुले गाडीमा राखेर सामान बेच्दै हिँड्छन् । त्यसैले शहरहरुमा किराना पसल चलाउन सजिलो भएको छ । तर, आफूलाई चाहिएको बेलामा र सही दाममा सप्लायर्सले नदिन पनि सक्छ । त्यसैले सामान किन्न दौडिन पनि तयार हुनुपर्छ ।
अनि पसलमा राखेको सामानहरुमा लेबल छ कि छैन, एक्सपायरी डेट बाँकी छ कि छैन भन्ने पनि हेरिरहनुपर्छ । कुनै सामानको गुणस्तरमा प्रश्न उठ्दा त्यसमा जवाफदेही बन्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा अहिले मान्छेहरु ब्रान्ड कन्सस छन् । यसबारे पसल चलाउने पनि सचेत हुनैपर्छ । जस्तो नुहाउने साबुन भनेर २–४ वटा ब्रान्ड मात्रै राखेर पुग्दैन । बजारमा उपलब्ध र बढी माग भइरहेका सबै ब्राण्डका साबुन राख्नुपर्यो । यस्तो गर्दा खर्च बढ्छ, लगानी होल्ड पनि हुन्छ । पसलमा सामान धेरै थुप्रिने समस्या पनि हुन्छ ।
समाजमा एकै स्तरका मान्छेहरु बस्दैनन् । आर्थिक क्षमताअनुसार कोही उच्च क्वालिटीको सामान खोज्छन्, प्राइसलाई वास्ता गर्दैनन् । कोही गुणस्तर हेर्दैनन्, जुन सस्तो छ त्यही लिन्छन् । त्यसैल किराना पसलले सबैलाई चित्त बुझाउनुपर्छ । फरक–फरक गुणस्तर, ब्रान्ड र मूल्यका सामानहरु राख्नुपर्छ ।
अहिले चलिरहेका अधिकांश किराना पसलहरुको कथा यही नै हो । समग्रमा भन्दा यो स्वरोजगारमा आधारित व्यवसाय हो । संकटमा पनि चल्ने र चलाउनै पर्ने व्यवसाय हो । त्यसैले यो कम जोखिम भएको व्यापार पनि हो ।
लगानी कति चाहिन्छ ?
अब कुरा गरौं, लगानीको । किराना पसल चलाउन कति लगानी लाग्छ त ?
किराना पसल चलाउन ठ्याक्कै कति लगानी चाहिन्छ भन्न मुश्किल छ । तर, शहरबजारमा साना सटरहरुमा किराना पसल चलाउन ५ देखि ७ लाख रुपैयाँ भयो भने पुग्छ ।
यो भन्दा थोरै लगानीमा पनि पसल सुरु गर्न नसकिने हैन । पसल रहने ठाउँ, पसलको आकार, व्यापारको भोल्युम, माग र आपूर्तिका आधारमा लगानी तलमाथि हुनसक्छ ।
व्यापार थालेपछि शहरमा त थोक सप्लायर्सहरु तपाईंलाई खोज्दै आउँछन् । विश्वास दिलाउन सक्ने हो भने उधारोमा सामान पनि पाइन्छ । पसलबाट सामान बेचेर त्यही पैसाबाट सामान किन्न पनि सकिन्छ ।
नेपाल व्यापार सर्वेक्षण–२०७८ खुद्रा किराना पसलहरुको औसत लगानी वर्षमा २ लाख १९ हजार हुने गरेको देखिन्छ । यस्तो लगानी प्रायः नाफाबाटै कमाएको पैसाबाट हुन्छ ।
उधारोको मार
अब कुरा गरौं, किराना व्यापारको संवेदनशील पक्षको । त्यो हो, उधारो । भनिन्छ नि, उधारो एउटा जादु हो । हामी दिन्छौं, तपाईं हराउनुहुन्छ । हामी देख्छौं तपाई नदेखेजस्तो गर्नुहुन्छ । हामी माग्छौं, तपाई रिसाउनुहुन्छ ।
हो, किराना पसलहेरुका लागि उधारो जादु जस्तै हो । उधारो दिने हो भने व्यापार बढ्छ । किराना चलाउनेले जति बढी उधारो दिनसक्छ, उसको व्यापार चम्किन्छ ।
तर, उधारो दिएपछि त्यसलाई उठाउन फेरि अर्को पापड बेल्नुपर्छ । अधिकांश पसलहरुमा उधारो खाता हुन्छन् । सामान लैजानेहरुले पैसा तिरेर हैन, लेख्दै लैजान्छन् । तर, कतिपय मान्छेहरु उधारो लिएपछि हराउँछन् ।
पसल आउन छाड्छन्, आफ्नो टोलभरका पसलबाट सामान उठाउँछन् । अनि उधारोको पैसा माग्यो भने रिसाउँछन् पनि । कतिपय त गायब नै हुन्छन् । शहरमा त अझै ग्राहकहरु थाहै नदिई कोठा सर्ने डर पनि हुन्छ । त्यसैले धेरै किराना पसलेहरु उधारो दिँदा फस्छन् । उधारो किराना पसलहरुको क्यान्सर नै हो ।
नयाँ च्यालेन्ज
अहिले पछिल्लो समयमा किरानाको विकल्पमा त टोल–टोलमा मिनी मार्ट, मार्ट र सुपरमार्केटहरु खुलिसके, यो पनि किराना पसलेका लागि चिन्ताको विषय हो ।
तर, रोचक कुरा यस्ता मार्ट र मिनीमार्टकै वरपरका धेरै किराना पसलहरु पनि चलिरहेकै छन् । यो देख्दा लाग्छ, कसरी कमाउँदैछन् यस्ता किराना पसलहरुले ।
हो, शहरमा धेरै मान्छेहरु भाटभटेनी, बिग मार्ट, सेल्सबेरी जस्ता मार्टहरुमा जान्छन् । तर, सबैले एकपटक यस्ता स्टोरमा गएर महिनाभरिलाई पुग्ने सामान किनेर ल्याउने क्षमता राख्दैनन् । थोरै–थोरै सामान लिन भाटभटेनी छिर्न पनि अप्ठेरो नै हुन्छ । अनि नुन तेल जस्ता सामान त तरकारीमा राख्नेबेलामा पनि किन्न दौडिनुपर्ने हुन सक्छ ।
अनि धेरै मान्छेहरु त यस्ता ठूला मार्र्टका सामान महँगो हुन्छ भने ठान्छन् । कतिपय मार्टहरु साँच्चिकै महँगो पनि छन् । त्यस्ता मार्टहरुले एमआरपी अर्थात म्याक्सिमम रिटेल प्राइसमा सामान बेच्छन् । टोलकै किराना पसलमा भए ५/१० रुपैयाँ डिस्काउन्ट पनि पाइन्छ ।
कुनै सामान मार्टमा सस्तो हुन सक्छ, तर नजिकको पसलमा जाँदा समय बचत हुन्छ र सहज पनि । यो कन्भिनेन्स ड्रिभन कन्जम्पसन हो ।
खासमा लोकल किरानामा पसलहरुको भाडा कम हुन्छ । तर, मार्ट लिएकाहरुले शहरका व्यस्त क्षेत्रमा महँगो भाडा तिर्दा त्यसको भार मूल्यमा थपिएको हुन्छ । कर्मचारीको खर्च र अरु अपरेसन कस्टका कारण मार्टहरु महँगो हुँदा किरानाहरु टिक्न सकिरहेका हुन् ।
बजारमा अहिले अनलाइन किराना पसलहरु पनि चलेका छन् । तर, मान्छेहरुको त्यसमा धेरै रुची छैन । किनकी घर बाहिर निस्कनासाथ उस्तै मूल्यमा सामान पाइन्छ भने कसले अनलाइनमा अर्डर गरेर कुरेर बस्ने ? किराना पसलहरुको व्यापकताका कारण पनि अनलाइन ग्रोसरी मार्केट फस्टाउन सकेको छैन । बरु टोल छिमेकमै नयाँ किराना पसलहरु थपिँदैछन् ।
किरानाको भविष्य
समग्रमा किराना पसल सीप र ठूलो पूँजी नभएकाहरुको बिजनेसमा इन्ट्री पोइन्ट होे । यो व्यवसाय थाल्न ठूला उपकरण पनि चाहिँदैन, प्रविधि सिक्नु पनि पर्दैन । जो कोहीले किराना खोल्नसक्छ । आफ्नो घरमै एउटा कबलमा व्यापार गर्न सकिने भएकाले ब्यापार सिक्नका लागि यो सजिलो व्यवसाय हो ।
स्थायी लेखा नम्बर (प्यान) लिएर स्थानीय तहमा व्यवसाय दर्ता गरेपछि किराना चलाउन कुनै कानुनी झन्झट नै छैन । त्यसैले यो लो इन्ट्री ब्यारियर भएको व्यवसाय हो । तर, मदिरा पनि बेच्ने हो भने छुट्टै अनुमतिपत्र लिनुपर्छ ।
छुटाउनै नहुने कुरा, किराना पसलहरु इन्फर्मल इकोनोमीको ब्याकबोन पनि हुन् । किनकी नेपाल व्यापार सर्वेक्षण–२०७८ का अनुसार ३३.३८ प्रतिशत किराना पसलहरु सरकारको कुनै पनि निकायमा दर्ता भएकै छैनन् । यतिकै स्वतःस्फुर्त चलिरहेका छन् ।
किराना पसल चलाउन विदेशबाट सामान आयात गर्ने भेन्डरहरु पनि चिन्नुपर्दैन । लोकल थोक बिक्रेताहरुसँग सम्बन्ध भए पुग्छ । अनि पसल चलाउन ठूलो क्षमता पनि चाहिँदैन । किनभने किरानामा बार्गेनिङ हुँदैन । पसलेले जति मूल्य भन्यो, त्यतिमै किन्न पर्छ । अहिले पसलका लागि चाहिने फ्रिज पनि निश्चित शर्तमा विभिन्न पेय पदार्थमा ब्रान्डहरुले नै दिन्छन् ।
आज नेपालमा सुपरस्टोर ब्रान्ड भाटभेटनी कुनै दिन किराना पसलबाटै सुरु भएको थियो । मीनबहादुर गुरुङ र उनकी पत्नीले सामान्य किरानाबाट सुरु गरेको भाटभटेनी अहिले नेपालको सबैभन्दा प्रतिष्ठित व्यापारिक ब्रान्ड बनेको छ ।
अहिले नेपालको ठूलो व्यापारिक घराना पञ्चकन्या ग्रुप पनि इलामको फिक्कलमा किराना पसलबाटै माथि उठेको हो । प्रेमबहादुर श्रेष्ठले सुरु गरेको किराना पसल व्यवसायबाट फैंलिँदै अहिले पञ्चकन्या ग्रुप नेपालको अधिकांश व्यावसायिक क्षेत्रको लगानीकर्ता बनिसकेको छ ।
यसरी किराना पसलबाट उठेका धेरैले व्यापार साम्राज्य फैलाएका छन् । यसले के देखाउँछ भने किराना पसल भन्दैमा त्यसलाई कसैले हेयको दृष्टिले हेर्नुपर्दैन । किराना पसलहरु नेपालको आर्थिक विकासमा योगदान पुर्याउने महत्वपूर्ण क्षेत्रमध्ये एक हो । ग्रामीण भेगमा त यो व्यापार मात्रै नभएर सेवा पनि हो ।
अन्तर्राष्ट्रिय परिवेश हेर्ने हो भने पनि प्रायः किराना पसलहरु त्यहाँ धेरै हुन्छन्, जहाँ मान्छे धेरै र अवसर कम हुन्छन् । नेपालमा मात्रै हैन, भारत, पाकिस्तान, बाङ्लादेशजस्ता दक्षिण एसियाली देशमा यही ट्रेन्ड छ ।
हरेक टोलमा किराना पसल हुनु सुखद नै हो । किनकी त्यहाँबाट कसैको जीविका चलेको छ । एउटा परिवारको आर्थिक बोझ कम भएको छ । तर, किरानाको बिगबिगीभित्र लुकेको महत्वपूर्ण सूचक हो, देशको कमजोर आर्थिक अवस्था ।
यदि देश आर्थिक रुपमा समृद्ध भयो भने किराना पसलहरुको संख्या स्वभाविक रुपमा घट्छ । बरु नयाँ नयाँ बिजनेसहरुले बजार ओगट्छन्, किरानाभन्दा बढी प्रडक्टिभिटी भएका क्षेत्रमा मान्छेले लगानी बढाउँछन् ।
स्वर्णीम-विश्व सम्बन्धको तितोमिठो: मित्रता कि मतभेद ?
पावर ब्रोकर दीपक भट्टको 'साम्राज्य'मा बालेनको बुलडोजर
बालेन सरकारको विकास मोडल कस्तो ?
३ अर्बको स्क्याम, देशकै बदनाम

-1775654839.png)





