रास्वपाले किन रोज्यो मध्यम वर्ग, खुशी पार्न के-के ल्याउँदैछ ?
मानिसहरुलाई उनीहरुको आम्दानी, स्रोत साधानमा पहुँच र जीवन शैलीका आधारमा तीन वर्गमा राख्ने गरिन्छ ।
मार्क्सवादी दृष्टिकोणबाट हेर्ने हो भने जो नाफामा बाँचेको छ, त्यो पुँजीपति वर्ग हो । जो ज्याला मजदुरीमा बाँचेको छ, त्यो वर्किङ क्लास हो ।
मध्यम वर्ग भनेको त्यस्ता मानिसहरुको समूह हो, जसले आफू पनि काम गर्छ, अरुलाई पनि काममा लगाउँछ । काम गरेर ज्याला पनि लिन्छ, थोरबहुत लगानी गरेर नाफा पनि कमाउँछ ।
नेपालमा मध्यम वर्ग कति छ भन्ने यकिन तथ्यांक छैन । किनकी नेपाली मध्यम वर्गबारे अहिलेसम्म ठोस अध्ययन भएको छैन ।
अहिलेसम्म जति अध्ययन भएको छ, त्यो गरिबीको दरमा मात्र सीमित छ ।
पछिल्लो पटक २०७९/८० नेपाल जीवनस्तर सर्वेक्षण भएको थियो । यसमा पनि गरिबीको रेखामुनि कति नागरिक छन् भनेर हेरिएको छ । यो सर्वे अनुसार २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् ।
यो संख्या पनि उपभोग खर्चका आधारमा निकालिएको हो । औषतमा एक वर्षमा ७२ हजार ९०८ रुपैयाँको उपभोग गर्छ कि गर्दैन भनेर हेरिएको छ । यदि गर्दैन भने गरिबीको रेखामुनि रहेको मानिन्छ ।
करिव २० प्रतिशत नागरिक सम्पन्न वर्गमा रहेको मानेको छ । यसरी हेर्दा कुल जनसंख्याको करिव ६० प्रतिशत मानिस मध्यम वर्गमा रहेको सरकारी बुझाइ पाइन्छ । तर यो यकिन नम्बर होइन ।
सरकारी अध्ययन नभएपनि मध्यम वर्गलाई पहिचान गर्ने केही उपाय भने छन् ।
सम्पत्तिका दृष्टिकोणले हेर्ने हो भने यो वर्ग निर्वाहमुखी किसान वा भूमिहिन मजदुरभन्दा धनी हुन् । उनीहरुसँग आफ्नो पारिवारिक सम्पत्ति हुन्छ ।
तर उनीहरु उच्च वर्ग मानिसहरुभन्दा गरिब हुन्छन् ।
आम्दानी र खर्चबाट पनि मध्यम वर्गलाई पहिचान गर्न सकिन्छ । यो वर्गका मानिसहरुको तलब वा व्यापारबाट स्थीर आम्दानी हुन्छ ।
उनीहरु आफ्ना बालबच्चालाई सम्पन्न वर्गले पढ्ने महंगो स्कुलमा पढाउन त सक्दैनन्, तर राम्रो शिक्षा दिलाउन सक्छन् ।
निम्न मध्यम वर्गमा पर्नेहरु स्कुटर, मोटरसाइकल जस्ता दुईपांग्रे सवारी प्रयोग गर्छन् । उच्च मध्यम वर्गका सदस्यहरुसँग चाहिँ चार पांग्रे सवारी साधान हुन्छ । आफ्नो घर हुन्छ, जग्गा पनि जोड्न सक्छन् ।
पेशाका हिसाबले हेर्ने हो भने मध्यमवर्ग मूलतः साना र मध्यमस्तरका व्यापारीहरु, डाक्टर, इन्जिनियर, बैंकमा काम गर्नेहरु हुन् ।
हुन त डाक्टर, इन्जिनियर, बैंकर पेशाका हिसावले श्रमिक वर्ग पछन् । तर उनीहरुको आम्दानी राम्रै हुन्छ । धेरथोर बैंक ब्यालेन्स पनि हुन्छ । अन्यत्र लगानी पनि गरेका हुन्छन्, त्यसले उनीहरु मध्यम वर्गमा पर्छ ।
ठूलो संख्यामा रहेका शिक्षकलाई पनि मध्यम वर्ग मान्न सकिन्छ । उनीहरुले जहाँ पढाउँछन््, त्यहाँ त शिक्षक वर्कर हो । तर उसको आफ्नो पुर्ख्यौली जग्गाजमिन हुन्छ । स्कुल बाहेकको समयमा पसल चलाएको हुन्छ, घर जग्गाको कारोबार गरेको हुन्छ । त्यहाँबाट पनि थोरबहुत नाफा जुटाउँछ ।
यसरी हेर्दा नेपालमा अहिले मध्यम वर्गको ठूलो जमात छ । तर यही मध्यम वर्ग सबैभन्दा दबावमा पनि छ ।
किनकी उनीहरुको खर्च बढेको बढ्यै छ । आम्दानी बढेको छैन । ग्लोबल स्ट्याण्डरमा दैनिक १० देखि १०० डलर खर्च गर्नसक्नेहरुलाई मध्यम वर्ग मानिन्छ । तर नेपालमा जसलाई मध्यम वर्ग मानिएको छ, त्यसको ७५ प्रतिशत भन्दा बढीसँग २ देखि ४ डलर खर्च गर्ने क्षमता मात्र छ ।
किनकी निम्न मध्यमवर्गको जग एकदमै कमजोर हुन्छ । उनीहरु गरिबीबाट भर्खरै माथि उठेका हुन्, तर उनीहरुलाई फेरि गरिबीमै धकेल्न एउटा सानो धक्का नै काफी हुन्छ । निम्न मध्यम वर्ग त यति संवेदनशील हुन्छ कि केही समय रोजीरोटी गुम्यो भने मात्रै पनि यो वर्ग ऋणको खाल्डोमा जाकिन्छ ।
बैंकको ब्याजदर थोरै तलमाथि हुँदा पनि घर–गाडीको ईएआई तिर्न धौ–धौ पर्छ । कोभिड महामारीको बेला सम्झौं न । त्यतिबेला पसल, रेष्टुरेन्ट वा अन्य व्यवसाय गर्ने यो वर्ग कमाउन नसकेर व्यापार नै छाडेर हिँडे ।
उनीहरुको अर्को दुःख के पनि हो भने सरकारले गरिब विपन्नलाई दिने राहत पनि पाउँदैनन्, धनीहरूको जस्तो संकट धान्ने बचत पनि हुन्न । एक हिसाबले भन्ने हो भने सँधै असुरक्षा भावमा हुन्छन्
यही असुरक्षाले जन्माएको निराशाका कारण नेपालको बौद्धिक र सक्षम मध्यमवर्ग विदेश पलायन भइरहेको छ ।
मध्यमवर्गभित्र नव धनाढ्य पनि छन् । उनीहरुको आफ्नै कथा छ, व्यथा छ । उनीहरुसँग बचत हुन्छ । उनीहरु आफूले जोडेका जग्गा वा व्यवसाय बेचेर भएपनि आफ्नो संकटलाई पार लगाउँछन् । तर लामो समयसम्म संकट आयो भने उनीहरु पनि निम्न मध्यमवर्गतिर धकेलिन्छन् ।
उनीहरुलाई समाजले धनी वर्गमा राखेपनि उनीहरु न त धनी भइसकेका हुन्, न त आफू गरिब हुँ भन्न सक्छन् ।
समग्रमा भन्दा मध्यम वर्गीय परिवारमा सपना र र क्षमतामा ठूलो ग्याप हुन्छ । उनीहरु क्वालिटी लाइफ जिउन चाहन्छन्, तर आर्थिक–सामाजिक बाध्यताहरु यतिधेरै हुन्छन् कि सधैं सम्झौतामा जीवन गुजारिरहेका हुन्छन् । अनि, सरकारले पनि सबभन्दा बढी यही वर्गलाई दुहुनो गाई बनाएको छ ।
००००
आजको दिनमा मध्यम वर्ग सबभन्दा दबावमा हुनुको एउटा कारण कर हो । नेपालमा धेरै मानिस सेवामुलक क्षेत्रमा आवद्ध छन् ।
उनीहरुले हरेक वर्ष सरकारलाई कर तिर्नुपर्छ । एकल छ भने बार्षिक ५ लाखसम्म, दम्पत्ति छ भने ६ लाखसम्म आयमा १ प्रतिशत कर लाग्छ ।
त्यसपछि थप २ लाखमा १० प्रतिशत, थप ३ लाखमा २० प्रतिशत गर्दै कर थपिन्छ ।
जबकी छिमेकी भारतमा बार्षिक आम्दानीमा लाग्ने कर यो भन्दा कम छ । ४ लाखसम्म कर लाग्दैन भने ४ देखि ८ लाखमा ५ र ८ देखि १२ लाखमा १० प्रतिशत मात्र आय कर तिर्दा पुग्दा छ ।
यसले के देखाउँछ भने नेपालको आय कर मध्यमवर्गमा लक्षित छ, जो आफ्नो लाइफस्टाइल र इन्कमबीच सन्तुलन मिलाउन नसकेर प्रताडित छ । त्यही कारण परिवारका सदस्य वैदेशिक रोजगारीमा जान्छन् ।
जब विदेशबाट थोरबहुत पैसा आउँछ, ठीकठाक आम्दानी हुन्छ । यही वर्ग नेपालको मुख्य उपभोक्ता हुन्छ ।
विपन्न र गरिब वर्गको आय नै कम हुन्छ, यसैले धेरै कर तिर्ने क्षमता हुँदैन धनाढ्य वर्गसँग कर तिर्ने क्षमता त हुन्छ । तर कर छल्ने र छुट पाउने अनेकौं उपाय लगाउँछन् । राज्यसँग लबिङ गर्ने ताकत उनीहरुसँग हुन्छ ।
त्यसैले सरकारलाई चाहिने प्रत्यक्ष र अप्रत्यक्ष करको भारी सबैभन्दा बढी यही मध्यमवर्गले बोकेको हुन्छ ।
०००
अब कुरा गरौं, वर्तमान सरकारले किन मध्यमवर्गप्रति प्रेम देखाइरहेको छ भन्नेबारे ।
यसका लागि इतिहासतिर फर्किनुपर्छ । नेपालको इतिहासमा हेर्ने हो भने सरकार सधैं गरिबी निवारणको मूल उद्देश्य बोकेर हिँड्यो । २०१५ सालमा बनेको बिपी कोइराला नेतत्वको सरकारले गरिब लक्षित नीतिहरु बनाए । गरिबलाई दुई छाक भात खान सक्ने वातावरण बनाउनेतिर नै सरकारी नीतिहरु केन्द्रित भए । तर बीपीको सरकार २ वर्ष पनि समय पाएन, २०१७ सालमा पञ्चायती व्यवस्था लागू भयो ।
पञ्चायती व्यवस्थामा धनीहरु झन धनी हुँदै गए, गरिबहरु झन–झन् गरिबीमा भासिँदै गए । जनसंख्याको वृद्धिदरलाई दोष देखाएर सरकार गरिबी घटाउने भन्दा पनि जनसंख्या वृद्धिदर रोक्नतिर बढी केन्द्रित भयो ।
२०४६ सालको राजनीतिक परिर्वतनपछि कांग्रेस नेतृत्वको सरकारले आर्थिक उदारीकरणको नीति लियो । यो आर्थिक सुधारको नीतिको मूल लाभ तीनै सम्पन्न वर्गले उठाए । २०५१ सालमा पहिलो पटक कम्युनिस्ट सरकार बन्यो । नेकपा एमाले नेतृत्वको सरकारले सरकारको पैसा सिधै विपन्न नागरिकको घरसम्म पुर्याउने उद्देश्यले वृद्ध भत्ता जस्ता कार्यक्रम अघि सार्यो ।
त्यही बेला तीनै विपन्नको मुक्तिको नारा दिएर माओवादी जनयुद्ध सुरु भयो । यो अवधिमा माओवादीबाट सबभन्दा बढी पीडित भयो, मध्यमवर्ग ।
यो वर्ग माओवादीसँग जंगल जान मान्दैन थियो । आफ्नो पेशा व्यवसायमै टिक्न चाहन्थ्यो । तर, दबाबका कारण परिवारका बलिया सदस्यहरुले गाउँ छाड्नुपर्यो । गाउँ घरमा राज्यपक्षबाट समेत यही वर्ग टार्गेटमा पर्थ्यो ।
२०६२/६३ को राजनीतिक परिर्वतन त भएपछि भने मध्यम वर्गले आफ्नो पेशा व्यवसाय गर्दै फैलिने अवसर पाए ।
तर राजनीतिकको मुल प्रवाहमा भने आउन सकेनन् । विपन्न वर्गहरुका लागि आरक्षणको व्यवस्था भयो, सम्पन्न वर्गका मानिसहरु, पैसाको बलमा राजनीतिमा आए । मध्यम वर्ग भोटरमा सिमित भए । कांग्रेस, एमाले, माओवादी जस्ता परम्परागत दलहरुमा उनीहरुले स्पेश पाएनन् ।
२०७९ को चुनाव अगाडि रवि लामिछानले जब जब रास्वपा गठन गठन गरे, मध्यमवर्ग उत्साहित भयो । मध्यम वर्गको बलियो उपस्थिति रहेको चितवनबाट रवि आफैं चुनाव जिते भने संसदमा २१ सिट भयो । ०८२ मा आइपुग्दा त रास्वपा झण्डै दुई तिहाई बहुमत पाउन सफल भयो ।
मूल रुपमा मध्यमवर्गको बाहुल्यता रहेको क्षेत्रहरुबाट रास्वपाले अभूतपूर्व मतका सात जित निकालेको देखिन्छ । खास भन्ने हो भने रास्वपाको उदयको मूल कारण नै मध्यमवर्गको उकुसमुकुस हो ।
मिडिल क्लास जहिले पनि सामाजिक मनोविज्ञानको ड्राइभिङ सिटमा हुन्छ । यदि मध्यम वर्ग खुसी भयो भने सकारात्मक मनोविज्ञान बनाउन भूमिका खेल्छ । रिसायो भने त्यही मनोविज्ञान सञ्चार गर्छ ।
रवि लामिछाने र स्वर्णिम वाग्लेहरु पक्कै बुझेका छन् कि मिडिल क्लासलाई खुशी बनाउन नसक्ने हो भने राजनीतिमा टिक्न सकिन्नँ । त्यसैले यो वर्गलाई खुशी राख्नु रास्वपाको राजनीतिक उद्देश्य पनि देखिन्छ ।
अहिले काठमाडौंका नदी किनारमा बस्ने सुकुम्बासीहरुको घरमा सरकारले डोजर चलाएको छ । देशभरका भूमिहीनहरु त्रासमा छन् ।
तर मध्यम वर्ग खुसी छ । किनभने यो वर्ग आफूले संघर्ष गरिरहँदा कसैले खोला र नदी किनार मिचेर बसेकोमा खुसी थिएन ।
बालेन सरकारले ठूला व्यापारीहरुलाई पक्राउ परेका छन् । यसमा पनि मध्यम वर्ग खुशी नै छ । किनभने आफूले पाउने अवसर केही ठूला व्यापारीर विचौलियाहरुका कारण गुमेको यो वर्गको बुझाइ छ ।
यसले के देखाउँछ भने बालेन सरकार नजनिँदो तवरले मध्यमवर्गप्रति झुकाव राख्छ । सायद प्रधामनन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने लगायतको ठूलो पंक्ति स्वयम् यही मध्यमवर्गको प्रतिनिधित्व गर्छन् ।
अनि प्रमाणित कुरा पनि हो मध्यमवर्ग एउटा ठूलो शक्ति छ । अर्थतन्त्रलाई चलायमान बनाउने पावर हो । यो वर्गसँग पैसा पनि छ, केही गर्ने सपना पनि छ, खर्च गर्ने तत्परता पनि छ र कतिपय बाध्यता पनि छन् ।
गरिबीको रेखाभन्दा माथि उठेको यो वर्ग उच्च वर्गमा पुग्न संघर्षरत हुन्छ । भए पनि, नभए पनि आफ्नो लाइफस्टाइल मेन्टन गर्न चाहन्छ । त्यसैले यो वर्गसँग खर्च गर्ने तागत हुन्छ । मध्यमवर्गले जति धेरै खर्च गर्छ, देश भित्रका उद्योग, व्यापार, रेस्टुरेन्ट, र सेवा क्षेत्र उति नै फस्टाउँछन् । यसले बजारमा आर्थिक गतिविधि मात्रै बढ्दैन, आर्थिक वृद्धिमा पनि सहयोग पुग्छ ।
जुन देशमा मध्यमवर्ग बलियो र ठुलो हुन्छ, त्यहाँ राजनीतिक अस्थिरताको सम्भावना कम हुन्छ । किनकी मध्यमवर्ग सधैं कानुनी शासन, सुशासन र स्थिरताको माग गर्छ, जुन लोकतन्त्रका लागि आवश्यक पनि हुन्छ । त्यसैले मध्यम वर्गलाई खुशी राख्ने हो भने शासन सत्ता पनि बलियो भएर बस्छ ।
यिनै कारणहरुले पनि होला, अर्थमन्त्री स्वर्णिम बाग्लेले भनिरहेका छन्, मध्यम वर्गलाई खुसी पार्छु ।
०००
अब कुरा गरौं । सरकारले मध्यम वर्गका लागि के गर्न सक्छ भन्नेबारे ।
नेपालको मध्यमवर्ग चतनशील छ । त्यसैले उसले अहिलेको अव्यवस्था र भ्रष्टाचार रोकियोस् भन्ने चाहेको छ । हुन त यो आम आवाज हो, तर मध्यमवर्ग यस विषयमा बढी चनाखो देखिन्छ ।
रास्वपाले सुशासनलाई मूल मुद्दा बनाएकै छ ।
यसबाहेक पनि सरकारले गर्नुपर्ने धेरै काम छन् । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण काम हो, करको बोझ घटाउने ।
हामीले भनिहाल्यौं, मध्यम वर्ग करको भारीले थिचिएको छ । आय कर मात्रै हेर्ने हो भने पनि यो वर्गले कमाइको तुलनामा धेरै कर तिर्छ । सरकारले करको भार मात्रै कम गर्यो भने ठूलो राहत हुनेछ ।
अर्थमन्त्री स्वर्णिम वाग्ले यसका लागि तयार देखिन्छन् । अबको बजेटबाटै उनी मध्यमवर्गमाथि करको भारी घटाउने पक्षमा छन् । त्यसैले अब व्यक्तिगत आयकरको सीमामा सरकारले यो वर्ष ठूलो चेन्ज गर्नसक्छ ।
यसबाहेक सरकारले मध्यम वर्गका लागि गर्नुपर्ने अर्को काम हो, यो वर्गले देशभित्रै रोजगारी र उद्यमशीलताको ग्यारेन्टी ।
मध्यम वर्गका युवासँग अहिले विदेश जानुको विकल्प छैन । उनीहरुलाई स्वदेशमै टिकाइराख्न रोजगारी र स्टार्टअप थाल्नेलाई सस्तो ब्याजमा ऋण, कर छुट र व्यवसायमैत्री वातावरण बनाउन आवश्यक छ । सरकारले बजेटमार्फत साना तथा मझौला स्टार्टअप सुरु गर्न पुँजी दिनसक्छ ।
अनि मूल्य वृद्धि नियन्त्रण पनि उनीहरुको अर्को अपेक्षा हो । कृत्रिम मूल्यवृद्धि र कालोबजारी रोकेर बजारलाई सन्तुलित बनाइराख्न सके मध्यमवर्ग पक्कै खुशी हुनेछ ।
यस्तै सार्वजनिक शिक्षा र स्वास्थ्यमा सुधार पनि मध्यम वर्गको चाहना हो । जबसम्म सरकारले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क वा सस्तो बनाउँदैन, तबसम्म मध्यमवर्गले राहत महसुस गर्न सक्दैन ।
अनि मध्यमवर्गले खोजिरहेको सबैभन्दा ठूलो कुरा सामाजिक सुरक्षा हो । यो वर्गका नागरिकहरु आफ्नो आर्थिक सुरक्षा मात्रै नभएर, पेन्सन, स्वास्थ्य बिमा लगायतका सामाजिक सुरक्षा योजनाको आशमा हुन्छन् ।
यस्तो काम भयो भने मध्यम वर्गको दबाव कम हुन्छ ।
जब उनीहरुले थोरै भएपनि बचत गर्न सक्छन्, बजारमा खपत बढ्छ । कसैले घर किन्लान्, कसले जग्गा जोड्लान । कसैले नयाँ विजनेश सुरु गर्छ । यसले रोजगारी बढ्छ र सरकारको खातामा पनि कर आउँछ ।
अन्ततः यसले अर्थतन्त्र चलायमान हुन्छ, देश बलियो हुन्छ । उद्योगधन्दा, रोजगारी र शिक्षामार्फत मध्यम वर्गको विस्तार हुन्छ । जुन देशमा मध्यम वर्गको विस्तार हुन्छ, त्यो देशको अर्थतन्त्र पनि बलियो भएर जान्छ ।
रास्वपा सरकारले मध्यमवर्गको लागि के–के लिएर आउँछ, त्यो अहिले सूची बनाएर भन्न गाह्रो छ । तर एउटा कुरा पक्का छ, अहिलेसम्म राज्यका तर्फबाट सम्बोधनमा नपरेको मध्यमवर्गले यसपटक विशेष सम्बोधन हुनेछ ।
किनभने स्वर्णिम वाग्लेलाई थाहा छ, कुनै पनि देश समृद्ध बन्नका लागि त्यहाँको मध्यमवर्ग बलियो हुनु अनिवार्य छ । मध्यमवर्ग सुरक्षित भए मात्र देशको अर्थतन्त्र सुरक्षित हुन्छ ।
सम्पत्ति छानबिनमा क–कसलाई उन्मुक्ति ? ज्ञानेन्द्रको के हुन्छ ?
बूढीगण्डकीमा नयाँ मोडल खोज्दै स्वर्णिम, बजेटमा के ल्याउलान् ?
अभिभावकको कमाइ अनुसारका निजी स्कुल, बालेन सरकारले गर्ला ?
आफ्नै निर्माण कम्पनी चलाएर के गर्दैछ बालेन सरकार ?


-1779014786.png)


-1778771592.png)
