नेभिगेशन
राजनीति

एमालेमा विद्याको सदस्यता नवीकरणको अर्थ

२०७२ सालमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी देशकै सर्वोच्च पद राष्ट्रपति बन्न सफल भइन् । 

७ वर्ष लामो कार्यकाल पूरा गरेर शीतल निवास छाड्नु अगाडि नै फेरि एमालेको राजनीतिमा फर्किने निश्चितजस्तै थियो । त्यसका पछाडि नेकपाको झगडा, नेताहरुको स्वार्थपूर्ण उक्साहट, भण्डारी स्वयंको महत्वकांक्षा थुप्रै कारण छन् । 

यद्यपि एमालेमा फर्किएको घोषणा गर्न भने उनले शीतल निवास छाडेको झण्डै २ वर्ष लगाइन् । 

उनी केपी शर्मा ओलीको सहमतिमै पार्टीमा फर्किन चाहन्थिन् । तर ओलीले रोकेपछि आफैंले घोषणा गर्ने निर्णयमा पुग्नि । त्यसका लागि रोजिन्, २०८१ साल असार १४ । 

असार १४ भण्डारीका लागि मात्र होइन, सिंगो एमालेका लागि यो दिनको छुट्टै महत्व छ । यो जनताको बहुदलीय जनवादको प्रतिपादक जननेता मदन भण्डरीको जन्मदिन हो । जसलाई मदन स्मृति दिवसका रुपमा मनाउने गरिन्छ । अनि, विद्या, मदन पत्नी हुन् । 

त्यो दिन राष्ट्रिय सभामा कार्यक्रम राखिएको थियो । त्यो कार्यक्रममा भण्डारी प्रमुख अतिथि थिइन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने विशेष अथितिका रुपमा निम्त्याइएको थियो । ओली र भण्डरीको टकराब कार्यक्रममै छाताछुल्ल भयो । 

जब भण्डारीले पार्टी अध्यक्ष हुने र प्रधानमन्त्री समेत बन्नसक्छु भनेर अन्र्तवार्ताहरु दिन थालिन्, ओलीले निकै असुरक्षित महसुस गरे । अनि पार्टी कमिटीमा भएको बहुमत प्रयोग गरेर पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नै नविकरण नगर्ने निर्णय गराए । 

००००

केपी ओलीले पार्टीमा आउनसक्ने सम्भावित चुनौतीलाई त रोके, राष्ट्रिय राजनीतिमा आएको चुनौती रोक्न सकेनन् । भदौ २३ र २४ को जेनजी आन्दोलनबाट सत्ता च्युत भए । अनि २१ फागुनको चुनावमा अझ नराम्रो धक्का खान पुगे । 

ओली आफैं झापा ५ मा बालेन शाहसँग भारी मतान्तरले हार्न पुगे । देशभर एमाले पनि नराम्रोसँग पराजित भयो । २७५ सदस्यीय संसदमा एमाले जम्मा २५ सिटमा खुम्चिन पुग्यो । 

यो परिणामले एमालेलाई यसरी हल्लायो कि हिजो ओलीको विकल्प छैन भन्नेहरु समेत पुस्तान्तरणको नारा लगाउन थाले । पार्टी संगठनमा बलियो पडक राख्ने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलहरु समेत त्यही कित्तामा उभिए ।

यसले सिंगो एमालेमा नेतृत्व परिर्वतनको लहर ल्यायो । ओली भेटघाट नै रोकेर बस्ने ठाउँमा पुगे । उनीसामू शंकर पोखरेल विष्णु पौडेलहरुसँग सुलह गर्ने वा नेतृत्व छाड्ने विकल्प थियो । तर केपी शर्मा ओली दुबै विकल्पका लागि तयार थिएनन् । 

बरु विद्या कार्ड खेले । 

फागुन २१ को चुनाव यता पूर्व राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच निरन्तर भेट भइरहेको थियो । वैशाख २८ गते भेट चाहिँ निर्णायक रह्यो ।

त्यसको पहिलो संकेत जेठ ३ गते मदननगर बल्खुमा देखियो । मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजित त्यो कार्यक्रममा ओली उपस्थित भएनन् । बरु भण्डारीलाई प्रमुख अतिथि बनाइयो । 

ओलीको यो कदमले एमालेमा ठूलै हलचल भयो । नहोस् पनि किन ? १० महिना अगाडि सदस्यता समेत नविकरण गर्न नदिएका भण्डारीलाई प्रमुख अतिथि बनाउन दिनु चानचुने थिएन । 

ओलीको यो कदमबारे एमालेवृत्तमा अनेक विश्लेषण भइरहेको थियो । ४ गते ओलीले थप प्रष्ट पारे । 

आफ्नै निवास गुण्डुमा सचिवालय बैठक बोलाइएको थियो । त्यहाँ ओलीले करिव एक घन्टा लामो सम्बोधन गरे । एक पदाधिकारीका अनुसार उनको अरु भाषामा हुनै फरकपन थिएन । हिजो जे भन्दै आएका थिए, त्यही दोहोर्‍याए । मैले किन नेतृत्व छाड्नुपर्‍यो ? के गरेको छु ? मेराविरुद्ध षड्यन्त्र भयो । अहिले पनि गरिरहेका छन् । यस्तो बेलामा त सिंगो पार्टीपंक्ति नेतृत्वको पक्षमा उभिनुपर्छ आदि आदि भने । 

अनि, सबैलाई समेटेर जानुपर्छ भन्दै पूर्व राष्ट्रपति भण्डारीको सदस्यता खुला गर्ने प्रस्ताव राखे । एमालेमा सचिवालयमा केही यस्ता नेता छन्, जो ओलीले जे प्रस्ताव ल्याएपनि समर्थन गर्छन् । अरु नेता, जसले हिजो पनि भण्डारीको सदस्यता नवीकरण गर्नुपर्छ भन्ने मत राख्थे । उनीहरु पनि समर्थन गरेपछि सहजै निर्णय भयो । 

तर ओली एकाएक भण्डारीको सदस्यता नविकरण गराए भन्ने चाहिँ सबैको मनमा प्रश्न छ । 

००० 

ओलीको यो कदमबारे हामीले एमाले पदाधिकारी र अरु नेताहरुसँग पनि अनौपचारिक सम्वाद गरेका छौं । त्यसका आधारमा दुई वटा कारण हुनसक्ने देखिन्छ । 

पहिलो : भण्डारीलाई नजिक राखेर नेतृत्व परिर्वतनको माग गर्नेहरुलाई डण्डा चलाउने । 

यसै पनि ओली र भण्डारी एउटै समूहका हुन् । राष्ट्रपति भएको बेला समेत भण्डारीले ओलीलाई साथ दिएकै हुन् । आफैंलाई चुनौती दिएपछि मात्र ओलीले उनलाई रोकेका हुन् । 

अहिले ओली तेस्रो पटक अध्यक्ष भइसके । भण्डारीले पनि ओलीको सहमति विना एमालेको नेतृत्वमा पुग्न सक्दिन भनेर बुझिसकिन् । त्यसैले उनीहरुबीच सहजै सुलह भयो । 

यसक्रममा ओलीले केही समयपछि नेतृत्व सुम्पिउँला भनेर आश्वासन दिएको पनि हुनसक्छ । यो सौदा दुबैका लागि फाइदाजनक नै छ । किनकी ओलीले तत्काल छाड्नु परेन । आफूलाई हटाउन खोज्नेहरुलाई दण्डित गर्न पनि पाउने भए । 

विद्या भण्डारीले पनि गुमिसकेको अवसर, एमालेको नेतृत्व गर्ने अवसर पाउने छिन् ।

दोस्रो चाहिँ, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच एकताको ढोका खोल्ने हो । 

फागुन २१ को चुनावमा एमाले मात्र होइन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि नराम्रोसँग पराजित भएको छ । रुकुम पूर्वमा पुगेका कारण प्रचण्ड आफू त जितेका छन्, तर पार्टी नराम्रोसँग हारेको छ ।

प्रचण्डले साना १२/१५ वटा दललाई मिलाएर माओवादी त्यागेका थिए । हसिया हथौडा छोडेर तारा चुनाव चिन्ह रोजेका थिए । त्यसका बाबजुद चुनावी नजिता प्रतिकुल आएपछि प्रचण्ड अब कम्युनिस्टहरुको एउटै पार्टी बनाउनुपर्छ भन्ने निकर्षमा पुगेका छन् । 

तर ओलीसँग विश्वासको वातावरण बनिसकेको पनि छैन । त्यसैले पूर्व राष्ट्रपति भण्डारीलाई अगाडि सारेर एमालेसँग पार्टी एकता गर्न सकिने बुझाइ नेकपाका नेताहरुमा छ । 

त्यही बुझेर एमाले अध्यक्ष केपी ओलीले भण्डारीको सदस्यता नविकरण गरेको पनि हुनसक्छ ।

तर, एमालेको संकट सहजै टर्ने देखिन्न । 

नेतृत्व परिर्वतनका लागि एकठाउँमा उभिएका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलहरुमा पनि भर पर्छ । ओलीसँग प्यानल नै बनाएर चुनाव लडेका ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईहरुले के गर्छन् भन्ने पनि हेर्नुपर्ने हुन्छ । 

ओलीले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराएपछि नेताहरु निरन्तर छलफलमा जुटेका छन् । शुक्रबार सचिवालयको बैठक बस्नु अगाडिसम्म उनीहरु एउटा निष्कर्षमा पुग्नेछन् । 

एउटा कुरा प्रष्ट छ, उनीहरु ओलीलाई नेतृत्वमा राखेर पार्टी अगाडि जान सक्दैन भन्नेमा प्रष्ट छन् । ओलीको सम्मानजनक बहिर्गमनका लागि छिट्टै नियमित महाधिवेशन गर्नुपर्ने उनीहरुको जोड थियो । अब विद्या भण्डारीको इन्ट्रीपछि के गर्ने भन्ने प्रश्न आयो । 

नेताहरुका अनुसार भण्डारीलाई स्थायी कमिटीमा लगेर तत्काल कार्यबाहक दिने एउटा बाटो हुनसक्छ । 

यसले एमालेलाई ओलीको नेतृत्वबाट बाहिर ल्याउने छ, पार्टी नेतृत्वमा पुग्ने विष्णु पौडेल, शंकर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डेहरुले थप समय कुर्नुपर्ने हुन्छ । जबकी अहिले नै ढिला भइसक्यो । देश नयाँ पुस्ताको हातमा पुगिसक्यो, ३५ वर्षका बालेन प्रधानमन्त्री भइसके ।

शंकर पोखरेल, विष्णु पौडेल र योगेश भट्टराईहरुले विद्या भण्डारीलाई पनि नेतृत्व स्वीकार नगर्ने निर्णय गरेमा भने एमालेमा नयाँ ध्रुवीकरण हुनेछ ।

ओली र विद्या भण्डारी एउटा कित्तामा, नेतृत्व परिर्वतनको पक्षमा रहेकाहरु अर्को कित्तामा उभिने अवस्था बन्नेछ ।

समग्रमा भन्नुपर्दा एमालेमा अहिले नेतृत्व, उत्तराधिकार र कम्युनिस्ट राजनीतिका सम्भावित समिकरणका सबै सम्भावना छ । कुन बाटो लिन्छ, त्यो भने समयले बताउने छ । 

त्यसले यो केपी ओली र विद्या भण्डारीहरुको मात्र होइन, शंकर पोखरेल र योगेश भट्टराईहरुको पनि परीक्षा हो । ओलीलाई विदा गरेर विद्या भण्डारीलाई नेता बनाउने कि नेतृत्वमा देखिने गरी पुस्तान्तरण गरेर एमालेलाई जोगाउने ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति