नेभिगेशन
एक्सप्लेनर भिडियो

नेपालकै पहिलो ‘ग्रीन हाइड्रोजन’ प्लान्ट, बन्ला पेट्रोलको विकल्प ?

सरकारले आगामी वर्षको बजेटबाट घोषणा गरेको छ कि, ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भ गर्न हेटौंडामा २.५ मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रुपमा कार्यान्वयन गर्नेछौं ।

सरकारको यो घोषणाअनुसार काम भए केही वर्षमै कुलेखानी जलाशयबाट बिजुली उत्पादन गरेर निस्किएको पानीबाट ग्रीन हाइड्रोजन पनि उत्पादन हुनेछ । सरकारको यो योजना अनुसार वर्षमा ३३५ देखि ४४० टन हाइड्रोजन फ्युल उत्पादन हुनसक्छ । 

सबैभन्दा पहिला, हाइड्रोजन के हो भन्ने बुझौं ।  

पृथ्वीमा सबैभन्दा बढी पाइने तत्व भनेकै हाइड्रोजन हो । किनकी पृथ्वीको ७१ प्रतिशत भाग पानीले ढाकिएको छ । 

अनि, पानीमा दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन हुन्छ । त्यसैले पानीको केमिकल फर्मुला ‘एचटूओ’ हो । 

हाइड्रोजन आफैंमा शक्तिशाली इन्धन हो । तर यो प्रकृतिमा छुट्याएर बसेको हुँदैन । यो कुनै न कुनै अरु तत्वसँग जोडिएर बस्छ । यसैले इन्धनको रुपमा प्रयोग गर्न यसलाई पानी वा हाइड्रोजन भएका अरु स्रोतबाट छुट्याउनुपर्छ ।

याद गर्नुस् है । नेपालले हाइड्रोजन उत्पादन गर्छु भनेको छैन । ग्रीन हाइड्रोजन उत्पादन गर्छु भनेको छ । 

त्यसो भए के हो त ग्रीन हाइड्रोजन ? 

जुन प्रक्रियाबाट हाइड्रोजनलाई पानी वा अन्य स्रोतबाट छुट्याइन्छ । त्यो प्रक्रियामा ग्रीन इनर्जी भनिन्छ । यो भनेको वातावरणलाई हानी नपुर्‍याई उत्पादन गरिएको ऊर्जा हो । त्यसैले ‘ग्रीन हाइड्रोजन’ हुन्छ ।  

विश्वमा अहिले सबैभन्दा धेरै ग्रे हाइड्रोजन उत्पादन भइरहेको छ । ग्रेमा कोइला वा प्राकृतिक ग्याँस अर्थात् मिथेनको प्रयोग गरेर हाइड्रोजन छुट्याइन्छ । यो प्रक्रियामा ठूलो मात्रामा कार्बन डाइअक्साइड ग्याँस निस्किन्छ, जसले वातावरण प्रदूषण गर्छ । जुन, ग्लोबल वार्मिङको कारक बन्छ । 

अर्को ब्लु हाइड्रोजन हुन्छ । प्राकृतिक ग्याँस वा कोइलाबाटै बनाइने भएपनि ब्लु हाइड्रोजनबाट निस्कने कार्बन डाइअक्साइडलाई वायुमण्डलमा छाडिदैन । प्रविधिको प्रयोग गरेर जमिनमुनि दबाइन्छ । यसलाई कार्बन क्याप्चर भनिन्छ । यो प्रक्रिया ग्रेभन्दा अलि सफा त हुन्छ, तर शतप्रतिशत पर्यावरणमैत्री हुँदैन ।

ग्रीन हाइड्रोजन चाहिँ सबैभन्दा कम हानिकारक हो । किनकी पानी वा अन्य स्रोतबाट हाइड्रोजन छुट्याउन कोइला वा पेट्रोल उत्पादनको प्रयोग हुँदैन ।

यसमा सफा पानी लिइन्छ र त्यसबाट हाइड्रोजन निकाल्न सौर्य वा वायु उर्जा वा जलविद्युतको उपयोग गरिन्छ । 

यसरी पानीलाई हाइड्रोजन र अक्सिजन गरी दुई भागमा छुट्याउने प्रक्रियालाई ‘इलेक्ट्रोलिसिस’ भनिन्छ । त्यसैले पानीलाई खण्डित गर्न प्रयोग गरिने बिजुली पूर्णरुपमा वातावरणमैत्री भए मात्रै त्यो ग्रीन हाइड्रोजन हुन्छ । 

खासमा अहिले विश्वभर नै ग्रीन इनर्जीको प्रयोग बढेको छ । विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनको असर कम गर्न विभिन्न देशहरुले ग्रीन इनर्जीलाई नै जोड दिइरहेका छन् । 

नेपालले पनि ग्रीन हाइड्रोजनतर्फ पाइला चाल्न लागेको हो । 

किनकी नेपालमा पर्याप्त पानी पनि छ, र त्यसलाई इलेक्ट्रोसिस गर्ने बिजुली पनि पानीबाटै उत्पादन हुन्छ । 

नेपालले डिजेल वा कोइलाबाट बिजुली निकाल्दैन । त्यसैले भनिन्छ, नेपालसँग प्रचुर मात्रामा ग्रीन हाइड्रोजन उत्पादनको सम्भावना छ । हामी वरपरको खोला र नदीको पानीबाट निस्कने बिजुली प्रयोग गरेर पानीबाटै हाइड्रोजन निकालिने भएकाले यो हाम्रो वातावरणका लागि पनि कुनै हानिकारक छैन । 

‘ग्रीन हाइड्रोजन’ उत्पादनको प्रक्रियामा प्रदूषण शून्य हुन्छ । यसको बाइ–प्रोडक्ट भनेको केवल शुद्ध अक्सिजन मात्र हो । त्यो अक्सिजनलाई हावामा छाड्न पनि सकिन्छ । त्यस्तो अक्सिजनको बोटलिङ गरियो भने अस्पताल वा हिमाल आरोहणमा व्यवसायिक प्रयोग समेत गर्न पनि सकिन्छ । 

००००

अब तपाईंको मनका प्रश्न हुनसक्छ, हाइड्रोजन कहाँ र कसरी ऊर्जाका रुपमा उपयोग हुन्छ त ? 

अहिलेसम्म हाइड्रोजनलाई ऊर्जाको रुपमा प्रयोग गर्ने मुख्य दुईवटा प्रविधि छन् ।  

पहिलो हो, फ्युल सेल प्रविधि । यो हाइड्रोजनबाट चल्ने गाडीमा प्रयोग हुन्छ । यो एक प्रकारले ब्याट्री जस्तै हो । यसले हाइड्रोजन ग्याँस र हावामा भएको अक्सिजनलाई आपसमा मिसाउँछ । यसरी मिसाउँदा हुने रासायनिक प्रतिक्रियाले ठूलो मात्रामा बिजुली पैदा हुन्छ । त्यही बिजुलीले गाडीको मोटर घुमाउँछ ।

यस्तो गाडीले कालो धुवाँ निस्कँदैन । भ्यापरबाट पानीका थोपाहरु वा बाफ मात्र बाहिर निस्किन्छ ।  

हाइड्रोजन प्रयोगको दोस्रो तरिका हो, सिधै बाल्ने । हो, हामीले घरमा एलपीजी ग्याँस जलाए जस्तै वा गाडीको इन्जिनभित्र पेट्रोल जलाए जस्तै हाइड्रोजनलाई पनि सिधै जलाएर ऊर्जा निकाल्न सकिन्छ । 

ठूला–ठूला पानीजहाज, रकेट वा हवाईजहाजमा हाइड्रोजनलाई सिधै इन्जिनमा जलाएर असाध्यै धेरै शक्ति पैदा गर्न सकिन्छ ।

अब प्रश्न हुनसक्छ, बिजुली गाडी हुँदा हुँदै किन चाहियो त हाइड्रोजन ? 

यसका केही कारणहरु छन्, अहिले अहिले संसारभर लोकप्रिय भइरहेका इलेक्ट्रिक कार र स्कुटरमा लिथियम ब्याट्री प्रयोग हुन्छ । साना कार, बाइक वा सिटी बसका लागि लिथियम ब्याट्री उत्कृष्ट छ । तर ठूला र लामो दूरीमा चल्ने ठूला यातायातका साधनहरुमा अहिले ब्याट्री राख्न सकिँदैन । 

किनभने त्यसलाई चाहिने ब्याट्री किनै ठूलो र गह्रुंगो हुन्छ । त्यसैले ठूला मालबहाक ट्रक, लामो दूरीका बस, विशाल पानीजहाजमा अहिलेकै अवस्थामा ब्याट्रीको प्रयोग गर्न सकिन्न । यहाँ हाइड्रोजन विकल्प बन्न सक्छ । हाइड्रोजन निकै हल्का ग्यास हो, यसले थोरै वजनमा धेरै ऊर्जा दिन्छ । 

हाइड्रोजन गाडीमा इन्धन भर्न पनि पेट्रोल पम्पमा पेट्रोल भरे जस्तै २–४ मिनेट मात्र लाग्छ । यसले ब्याट्री गाडीको तुलनामा धेरै लामो दूरीसम्म जानसक्ने माइलेज पनि दिन्छ । त्यसैले विश्वभर नै अहिले हाइड्रोजनबाट चल्ने सवारीका लागि रिसर्च एन्ड डेभलपमेन्टमा काम भइरहेको छ । 

जलवायु परिवर्तनको संकटबाट पृथ्वीलाई जोगाउन र ‘नेट जिरो’ अर्थात् कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य पूरा गर्न ग्रीन हाइड्रोजन उत्तम विकल्पमा रुपमा देखिएको छ । त्यसैले यसको प्रयोग पनि विश्वव्यापी रुपमै हुन थालिसकेको छ । 

युरोपेली देशहरुले सन् २०३० सम्ममा १ करोड टन ग्रीन हाइड्रोजन उत्पादन गर्ने र थप १ करोड टन आयात गर्ने लक्ष्य राखेका छन् । युरोप अब ऊर्जाका लागि अरु देशको ग्याँस र तेलमा भर पर्न चाहँदैन । 

युरोपेली युनियनले सन् २०३० सम्म आफ्नो नवीकरणीय ऊर्जाको ४२ प्रतिशत हिस्सा ग्रीन हाइड्रोजनलाई नै बनाउने लक्ष्य लिएको छ । युरोपका देशहरु ग्रीन हाइड्रोजनमा आत्मनिर्भर हुन खोज्दैछन् । 

जर्मनीले त विश्वकै पहिलो हाइड्रोजनबाट चल्ने व्यावसायिक यात्रुबाहक रेल सञ्चालनमा ल्याइसकेको छ ।

चीनको उदहारण पनि उत्कृष्ट छ । चीनले संसारकै सबैभन्दा ठूला इलेक्ट्रोलाइजर अर्थात् हाइड्रोजन बनाउने मेसिन बनाएर विभिन्न ठाउँमा प्लान्ट जडान गर्ने काम तीव्र पारेको छ । 

चीनमा अहिले वर्षमा एक मिलियन टन हाइड्रोजन उत्पादनको लक्ष्य सहित काम भइरहेको छ । चीनका सडकमा पनि हजारौंको संख्यामा हाइड्रोजनबाट चल्ने ट्रक र बसहरु गुड्न थालिसकेका छन् ।  

छिमेकी भारतले ‘नेसनल ग्रीन हाइड्रोजन मिसन’ थालेको छ । सन् २०३० सम्ममा वार्षिक ५० लाख टन ग्रीन हाइड्रोजन उत्पादन गर्ने भारतको लक्ष्य छ । भारत आफूलाई ग्रीन हाइड्रोजनको ग्लोबल हब बनाउन चाहन्छ । यसमा अम्बानी र अडानी समूहले खर्बौं लगानी गरिरहेका छन् ।

जापानले पनि हाइड्रोजनलाई आफ्नो मुख्य ऊर्जा स्रोत बनाउने रणनीति लिएको छ । जापानी अटोमोबाइल कम्पनी टोयोटाले ‘टोयोटा मिराई’ नामको हाइड्रोजन कार बनाइसकेको छ, जुन बजारमा पनि किन्न पाइन्छ । 

हुण्डाईले पनि हाइड्रोजन ट्रकहरु युरोपमा बिक्री गरिरहेको छ ।

यसरी हेर्दा आउँदो २० देखि ३० वर्षमा संसारको ऊर्जा बजार पेट्रोल–डिजेलबाट सिफ्ट भएर ग्रीन हाइड्रोजनमा जाने निश्चित छ । यो दौडमा जुन देश पहिले अगाडि बढ्छ, उसैले भविष्यको बजार कब्जा गर्नेछ ।

०००

अब कुरा गरौं, नेपालको । ग्रीन हाइड्रोजनका लागि नेपाल विश्वकै सबैभन्दा उपयुक्त देशहरुको सूचीमा पर्छ । 

यसका पछाडि केही कारणहरु छन् । 

पहिलो कारण हो, जलविद्युत्को सम्भावना । ग्रीन हाइड्रोजन बनाउन सबैभन्दा महत्वपूर्ण कुरा सफा र नवीकरणीय बिजुल हो । नेपालसँग सयौं नदीनाला छन्, ४२ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना छ । नेपालले पानीबाटै निस्किने ‘हरित ऊर्जा’ प्रयोग गरे हाइड्रोजन उत्पादन गर्न सक्छ । 

नेपालले ऊर्जा क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । अहिले ४ हजार मेगावाट बिजुली उत्पादन गर्ने प्लान्टहरु सञ्चालनमा छन् । 

भारत र बंगलादेशमा बिजुली बेच्दैछ । बर्खायाममा बिजुलीले बजार नपाएर खेर जाने अर्थात् इनर्जी स्पिल हुने समस्या छ । यो सस्तो बिजुलीलाई प्रयोग गर्ने हो भने नेपालले धेरै हाइड्रोजन उत्पाद गर्न सक्छ । 

दोस्रो कारण हो, पानीको उपलब्धता ।

हाइड्रोजन बनाउने कच्चा पदार्थ नै पानी हो । १ केजी हाइड्रोजन बनाउन झण्डै ९ देखि १० लिटर शुद्ध पानी चाहिन्छ ।

नेपाल जलस्रोतमा धनी छ । हाम्रा हिमालबाट बगेर आउने पानी सफा छन् । जुन हाइड्रोजन उत्पादनका लागि निकै राम्रो मानिन्छ । हामीसँग बिजुली छ, हामीसँग पानी पनि छ । अर्थात् कच्चा पदार्थका लागि हामी कसैको भर पर्नु पर्दैन । बस, प्लान्ट र उपयोग तथा विक्री योजना बनाए पुग्छ । 

तेस्रो कारण हो, नेपालको भौगोलिक अवस्थिति र बजार । हाम्रो वरपर दुईवटा ठूला छिमेकी देश भारत र चीन छन् । दुवै देश संसारकै सबैभन्दा ठूला बिजुलीको उपभोक्ता हुन् । अनि बिजुली निकाल्न कोइला प्रयोग गर्नेहरु पनि दुबै देश हुन् ।

उनीहरु आफ्नो देशमा कार्बन उत्सर्जन घटाउन प्रयासरत छन् । त्यसैले यदि नेपालले ग्रीन हाइड्रोजनको उत्पादन  गर्न सक्यो भने भारत र चीन बजार हुनसक्छ । नेपालले सस्तोमा हाइड्रोजन उत्पादन गरेर निर्यात गर्नसक्ने सम्भावना छ । 

हाइड्रोजन उत्पादन किन पनि महत्वपूर्ण छ भने नेपालले जलविद्युत् बेचेर मात्र धनी हुन सक्दैन । 

बिजुलीको मूल्य अन्तर्राष्ट्रिय बजारमा सधैं एउटै रहँदैन । यसलाई धेरै टाढासम्म लैजान ठूला प्रसारण लाइनहरु चाहिन्छ । भारत र चीनको प्रणरणलाइन र सहमतिविना अरु क्षेत्रीय बजारमा बिजुली बेच्न नै सकिँदैन ।

तर नेपालले यही बिजुली प्रयोग गरेर हाइड्रोजन बनायो भने त्यसको निर्यात सहज हुनसक्छ । अनि हाइड्रोजन फ्युलबाट रासायनिक मल वा एमोनिया बनायौं भने त्यसको मूल्य कैयौँ गुणा बढी हुन्छ ।

त्यसैले बिजुली मात्र बेच्ने होइन, बिजुलीलाई ‘भ्यालु एड’ गरेर इन्धन र उत्पादनमा बदल्ने सोचलाई हाइड्रोजनले सहयोग गर्छ । ग्रीन हाइड्रोजन नै नेपालको त्यो भ्यालु एड गर्ने बलियो हतियार हो । 

ग्रीन हाइड्रोजनबाट नेपालले लिनसक्ने लाभ धेरै छन् । नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो रोग भनेको व्यापार घाटा हो । हामी १० रुपैयाँको सामान निर्यात गर्छौं, ९० रुपैयाँको सामान आयात गर्छौं । 

हाम्रो आयातको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, हवाई इन्धन र ग्याँसले ओगटेको छ । हरेक वर्ष नेपालबाट साढे २ खबभन्दा बर्ढीको यस्तो इन्धन किन्नकै लागि खर्च गर्नुपर्छ । 

देशभित्रै ग्रीन हाइड्रोजन उत्पादन गरेर लामो दूरीका ट्रक, बस र भान्साका ग्याँसलाई हाइड्रोजन र बिजुलीले विस्थापित गर्न सक्यौं भने अर्बौं रुपैयाँ देशभित्रै रोकिन्छ । देशको पैसा देशमै रहनु भनेको अर्थतन्त्र बलियो हुनु हो । 

अनि नेपाल एउटा कृषिप्रधान देश हो । तर हरेक वर्ष खेतीको समयमा हाम्रा किसानहरुले युरिया मल नपाएर सास्ती खेप्नुपर्छ । मल खरिदका लागि सरकारले अर्बौंको अनुदान दिन्छ, तैपनि समयमा मल आउँदैन । युरिया मल बनाउन जुन ‘एमोनिया’ चाहिन्छ, त्यो बनाउन हाइड्रोजन आवश्यक पर्छ । 

अहिले संसारभर रासायनिक मल कारखानाहरुले प्राकृतिक ग्याँस वा कोइलाबाट हाइड्रोजन बनाएर मल उत्पादन गर्छन् । यदि नेपालले ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गर्‍यो भने देशभित्रै आफ्नै रासायनिक मल कारखाना खोल्न सक्छौं । 

हाम्रै पानी र बिजुलीबाट बन्ने  ग्रीन युरिया मल किसानहरुलाई समयमै र सस्तोमा उपलब्ध गराउन सक्छौ । अहिले युरिया मल किन्न मात्र सरकारले बार्षिक करिब ३२ अर्ब रुपैयाँ खर्चिनुपर्छ । यदि ग्रीन युरिया मल उत्पादन गर्न सके त्यो जोगिन्छ । 

अनि सिमेन्ट उद्योग, डण्डी/स्टिल उद्योग जेनेरेटर चलाउन डिजेल प्रयोग गर्नुपर्ने अवस्था पनि रहँदैन । 

कोइला प्रयोग हुने ठाउँमा हाइड्रोजन इन्धनको रुपमा प्रयोग हुनसक्छ ।  

सबैभन्दा महत्वपूर्ण कुरा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असर पनि कम गर्न सकिन्छ । नेपालको हिमाल पग्लिँदै छन्, बाढी पहिरो बढिरहेको छ ।

यदि नेपालले ग्रीन हाइड्रोजन उत्पादन गरेर आफ्नै देशमा कार्बन उत्सर्जन घटाउने र छिमेकी देशलाई पनि सफा इन्धन बेच्ने हो भने नेपालले कार्बन क्रेडिटको सुविधा पनि पाउनसक्छ । ग्रीन इनर्जीको प्रोमोसन गरेर कार्बन उत्सर्जन गरेबापत अन्तर्राष्ट्रिय समुदायबाट नेपालले अर्बौं रुपैयाँ आर्थिक सहयोग पाउन सक्छ  । 

०००

सबै कुुरा सुन्दा निकै सुन्दर लाग्छ । तर यो पक्कै छैन । यसका खास कारणहरु छन् । 

पहिलो कारण हो, नेपालमा अनुसन्धान, प्रविधि विकासर लगानीको अभाव । नेपालमा अहिलेसम्म ग्रीन हाइड्रोजनाबारे धेरै अध्ययन अनुसन्धान भएका छैनन् । 

काठमाडौं विश्वविद्यालयले ‘ग्रीन हाइड्रोजन ल्याब’ मार्फत यसको प्राविधिक सम्भाव्यतामाथि अनुसन्धान गरिरहेको छ । केयूले हाइड्रोजन कार र हाइड्रोजन ब्याट्रीबाट चल्ने रिफ्युलिङ सेन्टरको सफल परीक्षण समेत गरिसकेका छन् । तर, हाइड्रोजनको व्यवसायिक उत्पादनमा अहिलेसम्म नेपाल गएको छैन । 

ग्रीन हाइड्रोजन उत्पादन गर्ने प्रविधि ‘इलेक्ट्रोलाइजर र फ्युल सेल निकै महँगो छ । ग्रीन हाइड्रोजन प्लान्टका लागि ठूलो लगानी चाहिन्छ ।

व्यवसायिक रुपमा लाखौं टन हाइड्रोजन बनाउन करोडौं डलरको पूँजी आवश्यक पर्छ । जुन नेपाल सरकार एक्लैले लगानी गर्न गाह्रो छ । यसका लागि विदेशी लगानी भित्र्याउन र निजी क्षेत्रलाई आकर्षित गर्नु अनिवार्य छ ।

अनि अर्को चुनौती भनेको भण्डारण र ओसारपसारको हो । हाइड्रोजन यति हलुका र पातलो हुन्छ कि यसलाई सामान्य ट्यांकीमा राख्दा चुहिएर जान्छ ।

यसलाई भण्डारण गर्न कि त माइनस २५३ डिग्री सेल्सियसमा चिसो बनाएर लिक्विड बनाउनुपर्छ, कि त अत्यधिक उच्च चापमा कम्प्रेस गरेर राख्नुपर्छ । यसका लागि विशेष र महँगा ट्यांकहरु चाहिन्छन् । नेपालको पहाडी भूगोलमा यसलाई ओसारपसार गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ ।

अनि अर्को समस्या भनेको नीतिगत र कानुनी अस्पष्टता पनि हो । नेपालमा जलविद्युतका लागि ऐन–कानुनहरु छन्, तर ग्रीन हाइड्रोजनका लागि अहिलेसम्म बलियो र स्पष्ट कानुन बनिसकेको छैन । 

सरकारले २०८० ग्रीन हाइड्रोजन नीति ल्याएको थियो । तर अहिलेसम्म लगानीकर्तालाई आकर्षित गर्ने गरी सरकारले केही पनि कानुनी र नीतिगत व्यवस्थाहरु गरेको छैन ।

सरकारले यसको उत्पादन, भण्डारण र सुरक्षासम्बद्धको मापदण्ड पनि बनाएको छैन । उत्पादन नै नभएकाले यसको व्यवसायिक सम्भावनाको खोजी गर्न भएको छैन । गोष्ठी, सेमिनार र छलफल धेरै भए, काम भएको छैन ।

समग्रमा भन्दा जनि चुनौतीहरु धेरै छन्, त्यो भन्दा बढी सम्भावना र फाइदाहरु छन् । संसारभर प्रविधिको विकासले विस्तारै ग्रीन हाइड्रोजन उत्पादनको लागत घट्दै गइरहेको छ । त्यसैकारण सन् २०३० सम्ममा ग्रीन हाइड्रोजनको मूल्य पेट्रोल–डिजेल सरह वा त्योभन्दा सस्तो हुने सम्भावना छ । 

त्यही बुझेर होला, सरकारले हेटौंडामा २.५ मेगावाटको हाइड्रोजन प्लान्ट बनाउने निर्णय गरेको छ ।

यो हाइड्रोजन उत्पादनमा सरकारको पहिलो कदम हो । यो सफल भयो भने नेपालको जलस्रोतको सम्भावना विद्युत र सिँचाइमा मात्रै सीमित रहने छैन । सरकारले सही नीति बनाएर, निजी क्षेत्र र विदेशी लगानीलाई प्रोत्साहन गर्‍यो भने नेपाल बिजुली मात्रै हैन, ग्रीन हाइड्रोजन बेच्ने देश पनि बन्नसक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो