विदेशिएका २० लाख नेपालीले नचिनेको 'सुनौलो योजना
नेपालको पराम्परागत श्रम गन्तव्य भारत थियो । सन् १८६२ मा विर्ता प्रथामा आएको हलचलले नेपालीहरु उत्तरपूर्वी भारतमा कृषि मजदुरीमा जान थालेको पाइन्छ ।
तर, १९८० को मध्यबाट खाडी मुलुक र मलेसियातर्फ जाने क्रम सुरु भयो । आजको दिनमा संसारभर फैलिएको छ । सरकारले नै ११० देशमा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान खुला गरेको छ ।
ती बाहेकका व्यक्तिगत श्रम स्वीकृति लिएर नेपालीहरु कामका लागि पुग्छन् । सरकारले स्वीकृति नदिने युद्धग्रस्त कतिपय देशमा समेत नेपालीहरु अवैध बाटोबाट पुगेका छन् ।
हरेक वर्ष साढे ८ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जान्छन् । यसरी हेर्दा हरेक दिन २२ सय युवाले देश छाड्छन् ।
उनीहरुले विदेशी भूमिमा पसिना बगाउँछन् । अनि, उनीहरुले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानेको छ । तर उनीहरु भने आफैं सुरक्षित छैनन् ।
काम गर्दा गर्दा दुर्घटना भएर भंगभंग भयो !
कसैको ज्यान नै गयो !
अहिले पनि हरेक दिन जसो त्रिभुवन विमानस्थलमा नेपालीहरुको शव आउँछ । अङ्गभङ्ग भएर, दुःख पाएर आउनेको संख्या त कति छ कति ! यस्तो अवस्थामा पनि उनीहरु दीर्घकालीन सामाजिक सुरक्षा प्रणालीमा आवद्ध थिएनन् ।
उनीहरुको मृत्यु भयो भने विदेश जानुअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको शुल्कका आधारमा सरकारले परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था छ । घाइते, बिरामी र अंगभंग भएकाले पनि दाबी गरेमा शुल्क पाउँथे ।
तर, यो सुविधा लिन झन्झटिलो छ । झन् विदेश गएका नागरिकका परिवारका सदस्यलाई के भयो भने त खाली हात !
त्यसैले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षामा वैदेशिक रोजगारीमा जानेहरुलाई पनि समेट्न थाल्यो ।
यसो गर्नुको उद्देश्य वैदेशिक रोजगारीमा जाने मात्र होइन, उसको परिवारको वर्तमान र भविश्य सुरक्षित गर्नु हो ।
कोष व्यवस्थापन महाशाखाका निर्देशक उत्तमराज नेपालका अनुसार यसले मुख्य त चारवटा समस्या सम्बोधन गर्छ ।
पहिलो, कमाउन गएको मान्छे कामको सिलसिलामा दुर्घटनामा परेर मृत्यु भयो । अब उसको परिवार चल्छ कसरी ? यदि सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरेको छ भने उसको परिवारले मासिक पेन्सन पाउँछ ।
दोस्रो, काम गर्ने सिलसिलामा दुर्घटनामा परेर अंगभंग भयो । काम गर्न नसक्ने भएर नेपाल फर्कियो । फेरि उही प्रश्न, परिवार चल्छ कसरी ? सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरेको छ भने मासिक पेन्सन आउँछ ।
तेस्रो, कमाउन गएको मान्छे विदेशमा छ । नेपालमा भएको परिवारको सदस्य श्रीमान वा श्रीमती वा छोराछोरी बिरामी भए । उपचार खर्च कसरी जुटाउने ?
सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरेको छ भने टेन्सन लिनु परेन । देशभरका १८० अस्पतालमा सरकारी दररेटको शुल्क लाग्छ र त्यसमा पनि ८० प्रतिशत रकम छुट हुन्छ । २० प्रतिशत रकम तिरेर उपचार हुन्छ ।
र, चौथो, वैदेशिक रोजगारीमा गएको व्यक्ति जब देश फर्किन्छ । उमेर ढल्किसकेको हुन्छ । नियमित आम्दानी पनि हुन्न । सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ भने ६० वर्ष उमेर पुगेपछि नियमित रुपमा मासिक पेन्सन आउँछ ।
यसरी हेर्दा वैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नु भनेको बचत मात्र होइन । उनीहरुका लागि सुरक्षा कबच समेत बन्ने भयो ।
किनकी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च दिइन्छ । ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, मृत्यु भएमा आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाइनेछ ।
वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुष्ट रकम वा पेन्सन सुविधा पाइनेछ ।
०००
सरकारले अहिले वैदेशिक रोजगारीमा जाने जो कोहीलाई सामाजिक सुरक्षा कोषमा आवद्धता अनिवार्य गरिएको छ । श्रम स्वीकृति लिएर जाने होस् वा नविकरण गरेर वैदेशिक रोजगारीमा जाने होस्, सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्छ ।
श्रम स्वीकृति लिँदा नै कोषमा आवद्ध भएर पहिलो किस्ता रकम २५ सय ९५ रुपैयाँ बुझाउनुपर्छ । र, वैदेशिक रोजगारीमा गएका २२ लाखभन्दा बढी आवद्ध भइसके ।
तर उनीहरुमध्ये कतिले चाहिँ नियमित योगदान गरिरहेका होलान् ? यो संख्याले चाहिँ आश्चर्यजनक रुपमा कम छ । सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम नेपालका अनुसार हालसम्म २ लाखले मात्र नियमित रुपमा योगदान गरेका छन् ।
हो, करिव २० लाखले विदेश जाने बेला एक किस्ता रकम त बुझाए त्यसपछि योगदान गरेका छैनन् ।
एउटा कक्षामा १०० जना विद्यार्थी त भर्ना भए, तर वर्षको अन्त्यमा केबल १० जना बाँकी रहे भने के हुन्छ ?
हो, यहाँ पनि त्यही भयो । श्रम स्वीकृति नै नपाइने भएकाले रोजगारीका लागि विदेश जाने सबैले पहिलो किस्ता त तिरे, जब विदेश पुगे, उनीहरुमध्ये ९० प्रतिशतभन्दा बढीले सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरेनन् ।
००००
किन यस्तो भयो त ? यसका थुप्रै कारण छन् । वैदेशिक रोजगारीमा जानेहरुमा लेखपढ् गर्न नजान्नेहरु समेत छन् । सबथोकमा एजेन्टको भर परेका हुन्छन् ।
गाउँमा ऋण लिएर एजेन्टलाई पैसा दिन्छन् । त्यही एजेन्टले म्यानपावरसम्म ल्याउँछ । मेडिकल गराउँछ । भिसा आएपछि फेरि बोलाउँछ ।
ओरेन्टेसन तालिममा सहभागी गराउँछ । त्यही सामाजिक सुरक्षा कोषको फारम पनि भराउँछ ।
किन भरेको ? भोलि त्यसले के फाइदा हुन्छ ? केही थाहा हुन्न । उनलाई विदेश जानु छ, एजेण्टलाई पनि जतिसक्दो चाँडो विदेश उठाएर आफ्नो काम सक्नू छ ।
त्यसैले सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छु, विदेश गएपछि नियमित किस्ता गर्नुपर्छ भन्ने नै थाहा हुन्न ।
आफूले तिरेको पहिलो किस्ताको २३०० रुपैयाँ या त सरकारलाई राजश्व तिरेको ठान्छ, या त म्यानपावरको फि मान्छ ।
एजेन्टले पनि सामाजिक सुरक्षा कोषको फराम भर्ने बेला उसको नम्बर राखिदिएको हुन्न । धेरैको हकमा म्यानवापर कम्पनी वा एजेन्टको नम्बर राख्ने गरिएको छ । त्यसैले सामाजिक सुरक्षा कोषले पठाउने म्यासेज उनीहरुसम्म पुग्दै पुग्दैन ।
वैदेशिक रोजगारीमा गएकाहरुको ठूलो संख्या यसरी नै सामाजिक सुरक्षा कोषबाट अलग भएका छन् ।
जसलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छु भन्ने थाहा छ, उसलाई पनि हरेक महिना योगदान गर्न गाह्रो छ । अरुको देशमा न भनेको जस्तो काम पाइन्छ, न भनेको जस्तो कमाइ ।
विदेश जाने बेला लिएको ऋणको बोझले पनि उत्तिकै थिचेको हुन्छ । त्यसैले सबभन्दा पहिलो प्राथमिकता घरमा पैसा पठाउने हुन्छ । ताकि साहु महाजनसँग लिएको ऋण तिर्न सकियोस् ।
यसबाहेक बालबच्चाको स्कुल फि, परिवारको घरखर्च सबै उसकै कमाईमा भर परेको हुन्छ । त्यसैले उसले भोलिका दिनमा पाउने पेन्सनबारे सोच्ने फर्सदै पाउँदैन ।
यसबाहेक सार्वजनिक निकायहरुप्रति नागरिकको घट्दो विश्वास पनि एउटा कारण हो ।
सामाजिक सुरक्षा कोष पनि यसबाट अछुतो छैन । २०७७ मा जतिबेला यो कोष सुरु भयो, त्यसबेलादेखि नै थुप्रै प्रश्न उठेको छ । सुरुवाती व्यवस्था कारण श्रमिकले जति योगदान गर्छ, त्यति बराबर समेत प्रतिफल नपाउने देखिएको थियो । त्यही कारण नेपालका निजी क्षेत्र समेत यसमा जोडिन हिचकिचायो ।
अहिले त्यसमा पुनरावलोकन भएको छ र, निजी क्षेत्रको सहभागिता क्रमशः बढ्दै गएको छ ।
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएकाहरुलाई आकर्षित गर्न कार्यस्थलमा हुने दुर्घटनादेखि परिवारका सदस्यहरुको उपचार सबैलाई समेटेको छ ।
तर झञ्झटिलो कागजी प्रक्रियाका कारण अझै पनि धेरै जनाले नियमित योगदान गरिरहेका छैनन् ।
सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम नेपाल पनि कोषप्रति नागरिकको विश्वास जित्न संघर्ष गर्नु परेको स्वीकार गर्छन् ।
तर अहिले विदेशबाटै पनि सहजै किस्ता तिर्न सकिने गरी पेमेन्ट गेट–वे सुविधाहरु ल्याएको छ । नेपालमा भएको परिवारका सदस्यहरुले पनि पैसा हालिदिनसक्ने व्यवस्था गरिएको छ ।
६ महिनाभन्दा बढी अवधिको रकम अग्रिम रुपमा कोषमा जम्मा गरे १० प्रतिशतसम्म छुट लगायतका सहुलियत दिने व्यवस्था पनि कोषले गरेको छ ।
यसबाहेक सामाजिक सुरक्षा कोषले अहिले डेडिकेटड ह्वाट्स एप नम्बर प्रयोगमा ल्याएको छ ।
९८५१३५१७५४ नम्बरमा कुराकानी गरेर कसरी सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने भनेर जानकारी पाउन सकिन्छ । यसले पछिल्ला दिनहरुमा वैदेशिक रोजगारीमा रहेका नागरिकले नियमित योगदान गर्नेहरुको संख्या बढ्दो छ ।
यदि तपाईं वा तपाईको परिवारको कोही सदस्य वैदेशिक रोजगारीमा हुनुहुन्छ भने सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरिरहनु भएको छ कि छैन आजै बुझ्नुस् । त्यसका लागि पैसा नलाग्ने फोन नम्बार १११६ कल गर्न सकिन्छ ।
यदि छैन भने तत्काल सुरु गर्नुहोस् । लामो समय योगदान गरेको छैन भने पनि फरक पर्दैन ।
तपाईंले नियमित तीन किस्ता योगदान गरेपछि कोषबाट पाउने उपचार खर्च पाइन्छ ।
योगदानकर्ता दुर्घटनामा परेमा वार्षिक १ लाखसम्म उपचार खर्च सोधभर्ना पाइन्छ । दुर्घटनाका कारण अक्षम बनेर नफर्केसम्म सरकारले तोकेको न्यनमत आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबर रकम कामदारले पाउँछन्, स्थानीय रुपमा अशक्त भएमा त्यति नै असक्षम पेन्सन आजीवन पाइन्छ । यो भनेको मासिक ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन हो ।
योगदानकर्ताको जुनसुकै कारण मृत्यु भएमा बृद्धवस्था सुरक्षा योजनामा जम्मा भएको रकम प्रतिफलसहित फिर्ता हुन्छ ।
मृतकको परिवारलाई सरकारले तोकेको न्यनमत आधारभूत पारिश्रमिकको ४० प्रतिशत मासिक पेन्सन आउँछ ।
त्यो भनेको आश्रित परिवारलाई महिनामा ३ हजार ७५४ रुपैयाँसम्म आजीवन पेन्सन आउने हो । अनि योगदान गर्नेको २१ वर्षसम्म सन्ततिलाई मासिक ३ हजार ७५४ रुपैयाँसम्मको शैक्षिक वृत्ति समेत दिन्छ ।
१८ महिनाको योगदान रकम राखेपछि तपाईंले १ करोड ५० लाखसम्मको घरजग्गा किन्न सापटी रकम पाउनुहुन्छ ।
यस्तै ३६ महिनासम्म योगदान गरेपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी पाइन्छ । आफ्नो वा छोराछोरीको पढाइका लागि पनि सापटी लिन सकिन्छ । निवृत्तिभरण योजना अन्तरगत भने ६० वर्ष उमेर पुरा भएपछि आफ्नो योगदानका आधारमा आजीवन निवृत्तिभरण अर्थात पेन्सन आउँछ ।
००००
तर वैदेशिक रोजगारीमा जाने धेरैलाई सामाजिक सुरक्षा कोषबाट हुने फाइदा नै थाहा छैन ।
थाहा भएकाहरु पनि खासै चासो दिँदैनन् ।
विदेश गएर गर्ने कमाइ आजको मात्र होइन, यो भोलिको सुरक्षित भविष्यको लागि पनि हो । सक्ने हुँदा त विदेशमा पसिना बगाइएला । तर, भोलि आइपर्न सक्ने संकटमा कसको भर पर्ने ?
धेरैलाई लाग्न सक्छ, यो त कर जस्तै हो, बुझाएपछि फिर्ता नै पाइन्न । तर, त्यस्तो होइन ।
आज तपाईंले बचाउने त्यो सानो रकमले भोलि तपाईं र तपाईंको परिवारलाई ठूलो संकटबाट बचाउन सक्छ ।
कार्यस्थलमा हुने दुर्घटना, बिरामी पर्दाको उपचार, अशक्तता र तपाईंमा आश्रित परिवारको सुरक्षा मात्र होइन, उमेर ढल्केपछि सम्मानजनक रुपमा पेन्सन पाउने अधिकार यसैले सुनिश्चित गर्छ । तपाईं जवान भइन्जेल विदेशमा काम गरेपनि बुढेशकालमा पेन्सन लिने सुविधा यसले दिन्छ ।
यसको प्रक्रिया कत्ति पनि झन्झटिलो छैन । तपाईं संसारको जुनसुकै कुनामा भए पनि न्यूनतम २ हजार ५९५ रुपैयाँ योगदान रकम सजिलै जम्मा गर्न सक्नुहुन्छ । यो तपाईंको आफ्नै बैंक खाता जस्तै हो, जहाँ जम्मा भएको रकम
ब्याजसहित तपाईंले नै फिर्ता पाउनुहुन्छ ।
त्यसैले श्रम स्वीकृत लिँदा मात्र होइन, नियमित रुपमा कोषमा रकम जम्मा गर्ने बानी बसाल्नु भयो भने सानो बचत भविष्यको लागि ठूलो सहयोगी बन्नसक्छ ।
१० हजार कर्मचारी हटाएर सरकारले गर्न लागेको ‘सर्जिकल स्ट्राइक’
लालपूर्जा बाँड्न सीडीओको नेतृत्वमा समिति, काम गर्न सक्ला ?
काठमाडौंमा मेट्रो रेल चलाउन अघि सर्यो सरकार, के छ योजना ?
नेपालकै पहिलो ‘ग्रीन हाइड्रोजन’ प्लान्ट, बन्ला पेट्रोलको विकल्प ?






