रास्वपा चाहन्छ क्रिप्टो कारोबार खोल्न, के छ चुनौती ?
२०८२ चैत १ गते काठमाडौं नागार्जुन नगरपालिका– ५ को एउटा घरमा एक्कासी प्रहरी पुग्यो । कोठा–चोटा पुरै खानतलासी गर्यो । मोवाइल, ल्यापटप, बैंकका एटीएम कार्डलगायतका सामानहरु बरामद गर्यो ।
अनि, ती सामानहरुसँगै पक्राउ परे २९ वर्षका युवक । उनले क्रिप्टोकरेन्सी कारोबार गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । उनको मोबाइलमा बाइनान्स, मेक्सी र ट्रस्ट वालेट जस्ता क्रिप्टोकरेन्सी कारोबार गर्ने डिजिटल प्लाटफार्मको एप भेटिनु स्वाभाविक थियो ।
तर प्रहरी अधिकृतहरु त्यो बेला छक्क परे, जब उनले १ अर्ब ९७ करोड ९५ लाख रुपैयाँको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्यो ।
उनले ३ वर्षदेखि क्रिप्टोकरेन्सी कारोबार गर्दै आएका थिए । आफ्नो मात्र नभई साथीको मोवाइलमा पनि एकाउन्ट खोलेर क्रिप्टोकरेन्सी कारोबार गर्थे ।
आम्दानीले ४० लाखमा गाडी समेत किनेका थिए । अहिले ती युवकको गाडीसहित कमाएको सबै सम्पत्ति जफत गर्न र ५ वर्षसम्म कैद सजाय गर्न माग गर्दै जिल्ला अदालतमा मुद्दा परेको छ ।
०००
यो त एउटा केस मात्र हो, पछिल्लो समय थुप्रै नेपालीहरु क्रिप्टो कारोबारमा संलग्न भएका छन् ।
ग्लोबल मार्केटमा क्रिप्टोकरेन्सी आम्दानीको प्रमुख स्र्रोत हो । क्रिप्टोकरेन्सी कारोबारबाटै मान्छेहरु मिलेनियर र बिलेनियर बनेका पनि छन् । त्यसैले नेपाली युवाहरु पनि जानेर वा नजानेर क्रिप्टो कारोबारमा जोडिएका छन् । कतिपयले राम्रै कमाइ गरेका पनि होलान् ।
तर जुन दिन प्रहरीले सुराक पाउँछ, जेल जाने पक्का छ । किनकी नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्नु अपराध हो ।
००००
क्रिप्टोकरेन्सी विश्व अर्थतन्त्रमा चलनचल्तीमा रहेको मुद्राको एउटा रुप हो । तर यसको भौतिक उपस्थिति हुँदैन, भर्चुअल मात्र हो ।
क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार निश्चित सफ्टवेयर, मोवाइल तथा कम्प्युटर एप्लिकेसनको प्रयोगबाट मात्र गर्न सकिन्छ ।
हामीले प्रयोग गर्ने नोट, सिक्का, बैंक खाता वा डिजिटल वालेटको पैसामा सरकारको नियन्त्रण हुन्छ ।
भौतिक मुद्रा देशको राष्ट्र बैंक अर्थात् केन्द्रीय बैंकहरुले जारी गर्छन् । झुत्रा भए भने राष्ट्र बैंक त्यो नोट नष्ट गर्न सक्छ, नयाँ नोट पनि छाप्न सक्छ । डिजिटल वालेट वा बैंक खाताको पैसा पनि बैंकमा रहेका नोटको डिजिटल रिप्रिजेन्टेसन मात्रै हुन् ।
देश अनुसार मुद्राहरु फरक फरक हुन्छ, तिनीहरुको भ्यालिडिटी पनि आफ्नो देशभित्र वा निश्चित देशमा मात्र हुन्छ ।
तर क्रिप्टोकरेन्सी परम्परागत मुद्रा भन्दा धेरै फरक छ । यो स्वतःस्फुर्त जारी हुन्छ, यसमा सरकार वा वित्तीय मध्यस्थता गर्ने कुनै बैंकहरुको नियन्त्रण हुँदैन ।
यो प्रयोगकर्ताहरुको विश्वासमा आधारित हुन्छ । यसलाई कुनै देशको सीमाले छुँदैन, विश्वभर यसको भ्यालिडिटी हुन्छ ।
यसको अर्को विशेषता भनेको बजारमा माग बढ्यो भने यसको मूल्य पनि बढ्छ, माग घट्यो भने मूल्य घट्छ । अहिले तपाईंको खल्ती वा बैंकमा रहेको १००० को रुपैयाँ मागका आधारमा ९०० वा १११ सय रुपैयाँको हुँदैन । तर, तपाइसँग रहेको क्रिप्टोको भाउ तलमाथि भइरहन्छ ।
क्रिप्टोकरेन्सीको कारोबार विभिन्न भर्चुअल प्लाटफार्महरुमा हुन्छ । सर्वसाधारण ती प्लाटफार्ममा एकाउन्ट खोलेर नेटवर्कमा आवद्ध हुन सक्छन् । नेटवर्कमा आवद्ध प्रयोगकर्तालाई एक अर्कासँग जोड्न ब्लकचेन वा डिस्ट्रिब्यूटेड लेजर प्रविधि अपनाइएको हुन्छ ।
क्रिप्टोकरेन्सी मुख्यतः किनेर र माइनिङ गरेर प्राप्त गर्न सकिन्छ । माइनिङ भनेको क्रिप्टोकरेन्सीको कारोबारलाई भ्यालिडिटी दिने काम हो । यस्तो काम नेटवर्कमै आवद्ध भ्यालिडेटर्स र माइनर्सहरुले गर्छन् । माइनिङ गर्नेहरुले पारिश्रमिकवापत क्रिप्टोकरेन्सी नै पाउँछन् ।
विश्वमा हाल करिब २० हजार भन्दा धेरै क्रिप्टोकरेन्सी प्रचलनमा छन् । तीमध्ये सबैभन्दा पहिलो र धेरै मूल्य भएको क्रिप्टोकरेन्सी चाहिँ बिटक्वाइन हो ।
बिटक्वाइनको सुरुवात २००९ मा भएको हो । २०८३ असार ६ गते एउटा बिटक्वाइनको भ्यालु ६५ हजार ५३५ डलर रहेको छ । यस बाहेक इथेरम, सोलाना, तेथर आदि विश्व बजारमा प्रचलित प्रमुख क्रिप्टोकरेन्सीहरु हुन् ।
क्रिप्टोकरेन्सीमा बेनामी कारोबार गर्न सकिने भएकाले गोप्यता कायम हुन्छ, कुन व्यक्ति वा संस्थाको स्वामित्वमा कति क्रिप्टोकरेन्सी छ भन्ने कुरा आधिकारिक रुपमा कसैलाई पनि जानकारी हुँदैन ।
त्यसैले क्रिप्टोकरेन्सीलाई नियमन र अनुगमन गर्ने काम हरेक सरकारका लागि चुनौती बनिरहेको छ ।
००००
क्रिप्टोकरेन्सीबारे देशैपिच्छे फरक फरक व्यवस्था छ । कुनै सरकारले खुलेआम कारोबार गर्न दिएका छन् र त्यसको आम्दानीमा उच्च कर लगाएर देशको ढुकुटी बलियो बनाएका पनि छन् ।
अमेरिका, क्यानडा, अष्ट्रेलिया, युएई, स्वीटजरल्याण्ड, सिंगापुर, हङकङ आदि देश भने क्रिप्टोकरेन्सी मैत्री देश मानिन्छन् ।
यी देशहरुले क्रिप्टोकरेन्सीलाई विद्युतीय सम्पत्तिका रुपमा लिएका छन् । कारोबार गर्न दिने तर प्रशस्त कर लिने गरेका छन् ।
त्यसैले ती देशमा क्रिप्टोकरेन्सीलाई भौतिक नोटहरु जस्तै प्रचलनमा ल्याइएका छन् । वस्तु वा सेवा किनेको बिल तिर्न समेत क्रिप्टोकरेन्सी प्रयोग हुन थालिसक्यो । शेयर वा सुनमा जस्तै क्रिप्टोकरेन्सीमा पनि लगानी गर्ने क्रम बढेको छ ।
भारतले कमाइमा ३० प्रतिशतसम्म पूँजीगत लाभ कर लिएर क्रिप्टोकरेन्सी कारोबार गर्न छुट दिएको छ ।
नेपाल, चीन, अल्जेरिया, बोलिभिया, इजिप्ट, मोरक्को, पाकिस्तान, इराक, युएईलगायतका देशमा क्रिप्टोकरेन्सी पूर्ण रुपमा प्रतिबन्ध छ ।
नेपालले २०७४ सालदेखि क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएको हो ।
नेपाल राष्ट्र बैंकले पहिलो पटक २०७४ सालमा सूचना जारी गरेर क्रिप्टोकरेन्सीमा रोक लगाएको थियो ।
सुरुमा बिटक्वाइनको कारोबारमा मात्र रोक लगाएको थियो । पछि चाहिँ क्रिप्टोकरेन्सीसँग सम्बन्धित सबै कारोबारमा रोक लगायो ।
२०८० चैतमा त सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर क्रिप्टोकरेन्सी कारोबार गर्नेको रकम जफत गर्ने र ५ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिताको दफा २६२क मा भनिएको छ : ‘नेपाल राष्ट्र बैंकले जारी गर्ने बाहेक कसैले पनि नेपालमा प्रयोग गर्ने गराउने वा नेपालभित्र वा बाहिरको व्यवसायिक कारोबारको भुक्तानी लिने दिने वा हिसाब मिलान गर्ने वा अन्य कुनै प्रयोजनका लागि मुद्राको नाम लिई वा नलिई अभौतिक (भर्चुअल) मुद्राको उत्पादन, बिक्री, कारोबार, सटही वा स्थानान्तरण गर्न, राख्न, होल्ड गर्न वा त्यस्तो मुद्रा जारी वा हस्तान्तरण गर्न वा गराउनु हुँदैन ।’
अनि क्रिप्टोकरेन्सी कारोबारबाट आर्जन गरेको पैसाले कुनै सम्पत्ति जोडेमा सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्छ । सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो बराबरको रकम जफत हुनुका साथै २ देखि १५ वर्षसम्मको जेल सजाय हुन्छ ।
नेपालले किन लगायो क्रिप्टोकरेन्सीमा प्रतिबन्ध ?
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाउनुको मुख्य ४ वटा कारण दिएको छ ।
पहिलो हो, डिजिटल साक्षरता नभएको हाम्रो जस्तो देशमा क्रिप्टोकरेन्सीमा ठगिने सम्भावना धेरै हुन्छ । क्रिप्टो एजेन्ट र माइनिङ गर्नेहरुले फाइदा हुने प्रलोभन देखाएर सर्वसाधारणलाई लगानी गराउँछन् । धेरै सर्वसाधारणले क्रिप्टो कारोबारमा हुने नाफा घाटाको प्रकृति नै बुझेका हुँदैनन्, त्यसैले ठगिने सम्भावना हुन्छ, ठगिएमा उजुरी गर्न पनि मिल्दैन ।
दोस्रो हो, पुँजी पलायन हुने डर । हाल नेपालमा कमाएको सम्पत्ति विदेश लैजान पाइँदैन । विदेशमा कुनै व्यापार व्यवसाय गर्न पनि पाइँदैन । नेपालको पूँजी नेपालमै राख्ने सरकारी उद्देश्य छ ।
यदि नेपालीहरुलाई क्रिप्टोकरेन्सीमा लगानी खुला गर्ने हो भने नेपालको वैदेशिक मुद्रा क्रिप्टोकरेन्सीकै माध्यमबाट विदेश पुग्न सक्छ । त्यसैले सरकारले क्रिप्टो कारोबारमा प्रतिबन्ध लगाएको हो ।
तेस्रो कारण हो, विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स घट्छ । क्रिप्टोकरेन्सी खुला गर्ने हो भने रेमिट्यान्स पठाइरहेका नेपालीलाई प्रलोभन र प्रभावमा पारेर क्रिप्टोकरेन्सीमा लगानी गराउने सम्भावना हुन्छ । यस्तो लगानीले नेपाल भित्रिने पैसा क्रिप्टोकरेन्सीमा जान्छ र देशको विदेशी सञ्चितीमै असर पर्छ ।
चौथो कारण हो, सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा लगानीको जोखिम क्रिप्टोकरेन्सी कारोबार गर्ने व्यक्तिको पहिचान गोप्य हुने भएकाले कारोबारीलाई चिन्न सकिँदैन । अनि क्रिप्टोकरेन्सीबाट कालो धनको शुद्धीकरण गर्ने र आतंकवादी क्रियाकलापमा लगानी गर्ने जोखिम हुन्छ ।
००००
यसका बाबजुद क्रिप्टोकरेन्सी कारोबारमा नेपालीहरु संलग्न छन् । नेपालभित्रै पनि क्रिप्टोकरेन्सी कारोबार गरेको घटना बारम्बार भेटिइरहन्छ ।
प्रहरीका अनुसार नेपालमा क्रिप्टोकरेन्सी कारोबार गराउने एजेन्टदेखि थोरै पैसा लगानी गर्नेहरुसम्म छन् । प्रहरीले चाहिँ क्रिप्टोकरेन्सी कारोबारलाई पेशा बनाउनेहरुलाई नै खोज्छ । काठमाडौं र उपत्यका बाहिरका ठूला शहरमा पनि क्रिप्टो एजेन्टहरु पक्राय परिरहेका छन् । साना लगानीकर्ताहरु भने क्रिप्टो कारोबारमा आफैं पनि ठगिएका हुनाले प्रहरीले उनीहरुलाई पक्राउ गर्दैन ।
नेपालमै क्रिप्टो करेन्सीको अर्बौंको करोबार गरेका थुप्रै घटना छन् । गत चैतमा नागार्जुनबाट पक्राउ परेका युवकले १ अर्ब ९७ करोडको कारोबार गरेका थिए । उनीसँगै क्रिप्टो कारोबार गर्ने १४ जनाको टिम थियो, उनीहरु सबैको कारोबार रकम ४ अर्ब भन्दा माथि छ ।
२०८१ साउनमा पक्राउ परेका धादिङका २६ वर्षका आईटीका विद्यार्थीले १ अर्ब ८७ करोड ७ लाख रुपैयाँको क्रिप्टोकरेन्सी कारोबार गरेको भेटिएको थियो ।
उनले क्रिप्टोकरेन्सी कारोबार गर्ने गरेको उनकै परिवारका सदस्यलाई पनि थाहा थिएन । जब प्रहरीले पक्राउ गर्यो, परिवारका सदस्यहरु नै अचम्ममा परेका थिए ।
कतिसम्म भने गत वर्ष ठेक्काको सिष्टम ह्याक गरेर ठेक्का नपरेकाहरुलाई पनि पारिदिएको घटना त सुन्नभएकै होला । त्यो प्रकरणमा पनि सिष्टम ह्याक गर्ने मान्छेले ठेक्का पारिदिएवापत ठेकेदारसँग आफ्नो कमिसनवापत नगद नभई भर्चुअल मुद्रा बिटक्वाइन मागेका थिए ।
ठेकेदारले आफूसँग बिटक्वाइन नभएपछि अमेरिका रहेका आफन्तलाई हुण्डीबाट पैसा पठाएर बिटक्वाइन दिलाएका थिए ।
अझ विदेशमा रहेका नेपालीले क्रिप्टोकरेन्सी कारोबार गरेको त यहाँ थाहा नै हुँदैन ।
प्रहरीका अनुसार क्रिप्टोकरेन्सी कारोबारमा एजेन्टहरुले भाउ बढेको भनेर कप्युटरको फेक ग्राफ देखाएर फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सोसल मिडियामा विज्ञापन गरेका हुन्छन् ।
त्यस्तो विज्ञापनकै भरमा लगानी गरेका धेरै नेपाली फसिरहेका छन् ।
अनि विदेशमा रहेका धेरै नेपालीले कमाएको पैसा पनि क्रिप्टोकरेन्सी कारोबारमा लगाएका छन् । उनीहरुले हुण्डी कारोबारीहरुलाई विटक्वाइन दिने र ती कारोबारीहरुले त्यस बराबरको पैसा नेपालमा भुक्तानी दिने गरेका छन् ।
यसले गर्दा रेमिट्यान्सका रुपमा नेपाल आउने पैसा विदेशमै रोकिने र नेपालमा चाहिँ यहीँको पैसा मात्र घुमिरहने पनि देखिएको छ ।
००००
नेपालमा क्रिप्टोकरेन्सीलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्दै आएको छ । क्रिप्टोकरेन्सी अहिलेको विश्व अर्थतन्त्रको नयाँ सम्भावना हो, यसको प्रयोगबाट नेपालीलाई पनि ग्लोबल मार्केटमा जाने अवसर दिनुपर्ने क्रिप्टोकरेन्सी खोल्नुपर्छ भन्नेहरुको तर्क छ ।
अधिवक्ता बाबुराम अर्याल नेपालले नियमन गर्न नसक्ने डरले क्रिप्टोकरेन्सीको नकारात्मक पक्ष मात्र देखाएर प्रतिबन्ध लगाएको बताउँछन् ।
कडा नियमनको प्रावधान राखेर यसलाई खुला गरेमा नेपालले पनि ग्लोबल बिजनेसबाट फाइदा लिनसक्ने उनी बताउँछन् । तर विगतका कुनै पनि सरकारले यसको सुनुवाइ गरेनन् ।
अहिलेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी क्रिप्टोकरेन्सीप्रति विगतका दलहरु भन्दा उदार देखिन्छ । उसले आफ्नो चुनावी वाचापत्रमा एकवर्षभित्रै क्रिप्टोकरेन्सी नियमनको राष्ट्रिय नीति बनाउने भनेको छ । अनि राष्ट्रिय नीति, मौसम र ऊर्जाको अनुकुलताका आधारमा क्रिप्टो माइनिङको सम्भावनालाई पहिलो वर्षमै पाइलटका रुपमा कार्यान्वयन गर्ने पनि भनेको छ ।
यदि रास्वपाले आफ्नो वाचाअनुसार काम गर्ने हो भने क्रिप्टो कारोबार नेपालमा पनि वैधानिक हुनसक्छ ।
हो, क्रिप्टोकरेन्सी कारोबारमा सरकारको नियन्त्रण नहुने र सर्वसाधारण ठगिन सक्ने जोखिम उत्तिकै भएकाले यो निर्णय लिन सरकारलाई सहज छैन ।
नेपालले जे कारण देखाएर प्रतिबन्ध लगाएको छ, ती कुराहरु साँच्चै मननीय छन् । नेपालको सर्वसाधारण ठगिन सक्ने सम्भावना, विदेशी मुद्रा सञ्चिती घट्ने, पुँजी पलायन हुने र आतंकवादी क्रियाकलापमा लगानी जस्ता विषयमा सचेत हुनैपर्छ ।
तर विश्व अर्थव्यवस्थामा अब क्रिप्टोकरेन्सी अनदेखा गर्न सकिने विषय होइन ।
विश्व बजारले स्वीकारिसकेको आम्दानीको स्रोतबाट हामी कहिलेसम्म वञ्चित रहने ? अनि विश्वबजारमा देखिएको सम्भावनालाई उपयोग गर्ने प्रविधिमा दक्ष हाम्रा युवाहरुलाई कहिलेसम्म अपराधी करार गरिरहने ?
भारतले पटक–पटक किन रोक्छ नेपाली चिया ?
पासपोर्ट घोटालामा आरजु राणा र बिचौलिया कनेक्सन
सन्तोष साहमाथि कसरी लाग्यो ठगीको आरोप, रेष्टुरेन्ट किन्दा कहाँ भयो गडबडी ?
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा जस्तै बन्ने जोखिम कति ?






