एकान्तकुना र सातदोबाटोमा बन्नेछ अन्डरपास र फ्लाइओभर
ग्वार्कोमा ओभरपास बनेपछि धेरैको गुनासो छ, जाम सातदोबाटोमा बढ्यो ।
सरकारले सातदोबाटोसँगै एकान्तकुना चोकको जाम हटाउन नयाँ योजना ल्याएको छ, फ्लाइओभर र अन्डरपास ।
पूर्वाधार विकास मन्त्रालयले यो वर्ष ठेक्का गरेर काम सुरु गर्न भनेर १२ करोड बजेट छुट्याएको छ ।
यसअघिको डिजाइन अनुसार काम भयो भने सातदोबाटो र एकान्तकुना अनि नजिकका चोकमा फ्लाइओभर र अन्डरपास बन्नेछ ।
रिंगरोडको कलंकी–सातदोबाटो–कोटेश्वर १०.२ किलोमिटर सडक चीनले २०७३ सालमै ८ लेनमा विस्तार गरिदियो ।
यो खण्ड चम्किलो र फराकिलो त बन्यो । तर कलंकीबाहेकका प्रमुख चोकहरुमा आधुनिक ‘क्रसिङ’ इन्फ्रास्टक्चर नै राखिएन ।
कलंकी चोकको जामको झन्झट त त आधुनिक अन्डरपासले निमिट्यान्न पार्यो । तर, कलंकीबाट अघि बढेका गाडीहरु बल्खु, एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा लामो जाममा बस्नुपर्ने भयो ।
ट्राफिक व्यवस्थापनको उचित विकल्प नहुँदा चोकहरु जामका हटस्पट बने ।
यही समस्या समाधान गर्न भनेर सरकारले ग्वार्कोमा ओभरपास बनायो । २०८१ देखि सञ्चालनमा आएको ओभरपासले ग्वार्को चोकको जामको समस्या हटाएको छ ।
तर एकान्तकुना र सातदोबाटो र बल्खुमा अझै पनि जामको समस्या भयंकर छ । यसको मुख्य कारण हो, ग्रेड सेपरेटेड इन्टरसेक्सनको अभाव ।
अर्थात्, सिधा गएका गाडीहरु चोक क्रस गर्दा एउटै चोक वा भनौं सतहमा भेटिनु ।
परिणाम स्वरुप चक्रपथको यो खण्ड जामको नयाँ केन्द्र बनेकै छ । समस्या समाधान गर्न सरकारले कोटेश्वरमा त सुरुङसहित फ्लाइओभर नै बनाउन जापान सरकारसँग ३२ अर्ब ऋण लिइसक्यो ।
ग्वार्कोको समस्या समाधान भइसकेको छ । अब सरकारको नजर, सातदोबाटो र एकान्तकुनामा छ ।
सरकारले यी दुई चोकमा पनि फ्लाइओभर र अन्डरपास बनाउन विस्तृत अध्ययन गरिसकेको छ । यो वर्षको बजेटमा ठेक्का लगाएर निर्माण थाल्न १२ करोड ६६ लाख बजेट राखिएको छ ।
धेरैलाई लाग्न सक्छ, चक्रपथमा चोकहरु त अरु पनि छन्, तर सरकारले सातदोबाटो र एकान्तकुनालाई नै किन प्राथमिकतामा राख्यो ? सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार यसको पछाडि यी चोकहरुको रणनीतिक अवस्थिति र सवारी साधनको ‘ओभरलोडिङ’ मुख्य कारण हो ।
सातदोबाटो चक्रपथको हिस्सा मात्र होइन । यो दक्षिण ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथको प्रस्थानविन्दु पनि हो । यो चोकमा चक्रपथ गुड्ने सवारी साधन मात्र हुँदैनन् । लगनखेलबाट सुनाकोठी, चापागाउँ, लेले जाने र त्यताबाट भित्रिने गाडीहरुको चाप उत्तिकै हुन्छ ।
सातदोबाटोमा अन्तर्राष्ट्रिय खेलकुद परिसर छ । जहाँ एन्फाको एकेडेमीदेखि पौडी पोखरी, मार्सल आट्र्स हल समेत छ । यहाँ खेलकुद गतिविधि हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने समस्या पनि छ ।
पछिल्लो सयमा यो किनमेलको केन्द्र पनि बन्दैछ । ठूला सपिङ सेन्टर र नजिकै रहेका अस्पताल, कलेन र विद्यालयहरुका कारण यहाँ पैदलयात्री र स्थानीय सवारीको चाप उच्च छ ।
अहिले कोटेश्वरबाट आउने गाडी र कलंकीतर्फ जाने गाडीलाई सातदोबाटो चोकमा चापागाउँ र लगनखेलतर्फ जाने गाडीले अवरोध पुर्याउँछन् ।
ट्राफिक प्रहरीले गाडी रोक्दै छाड्नुपर्छ । बिहान ९ देखि ११ बजेसम्म बेलुका ४ बजेदेखि ७ बजेसम्म यहाँ लामो जाम हुन्छ ।
अब कुरा गरौं, एकान्तकुना चोकको । एकान्तकुना चोकमा चक्रपथ र घना बस्ती क्षेत्रको ट्राफिक एकसाथ ओइरिन्छ । यो चोक नजिकै नेपालकै सबैभन्दा बढी भीड हुने यातायात व्यवस्था कार्यालय छ ।
यहाँ दैनिक सयौं सेवाग्राही आफ्ना सवारी साधनसहित पुग्छन् । रिंगरोड पारी भैंसेपाटी, बुंगमती र खोकनासँग जोड्ने मुख्य सडक यही चोकमा आएर जोडिन्छ । विशेषगरी भैंसेपाटी क्षेत्रमा द्रुत गतिमा भइरहेको सहरीकरण र भीआईपी आवास क्षेत्रका कारण एकान्तकुनामा सवारी साधनको संख्या गुणात्मक रुपमा बढेको छ ।
आगामी दिनमा काठमाडौं–तराई द्रुत मार्ग सञ्चालनमा आएपछि खोकना हुँदै जोडिने गाडीहरु एकान्तकुना चोक भएरै चक्रपथमा प्रवेश गर्ने सम्भावना छ । त्यसैले यी दुई चोकमा अहिले नै दीर्घकालीन समाधान खोज्नुपर्ने भइसकेको छ ।
सडक विभागका अनुसार यही गम्भीरतालाई बुझेर अण्डरपास र ओभरपासको योजना अघि सारेको हो ।
००००
ग्वार्कोमा फ्लाइओभर बनाएको सरकार सातदोबाटो र एकान्तकुनामा चाहिँ किन अन्डरपासको पनि प्रयोग गर्दैछ त ?
सरकारले अहिले नै कुन चोकमा के बनाउने भन्ने तय गरेको छैन । तर आवश्यक पर्दा अन्डरपास पनि बनाउने तयारी छ ।
यसका केही कारणहरु छन् । त्यसमध्ये मुख्य हो, भौगोलिक अवस्था र जग्गाको उपलब्धता । कलंकी जस्तै सातदोबाटो र एकान्तकुना नजिकको नख्खु दोबाटो भौगोलिक बनावट अन्डरपासका लागि अनुकुल छ ।
सातदोबाटो र एकान्तकुनामा पनि जमिनमुनिको माटोको अवस्था लगायतका कारण अन्डरपास बनाउन कठिन छैन । कतिपय अवस्थामा फ्लाइओभर भन्दा अन्डरपास दीर्घकालीन रुपमा टिकाउ हुन्छ ।
ढल र पानी निकासको सही व्यवस्थापन गरियो भने फ्लाइओभरमा भूकम्पीय वा अन्य विपद जोखिम कम हुन्छ । ठूला गाडी गुड्दा हुने भाइब्रेसनको व्यवस्थापन पनि सहज हुन्छ । अन्डरपासभित्र गुड्ने गाडीहरुको आवाजको प्रभाव आसपासका आवासीय क्षेत्रमा कम पर्छ ।
अनि सातदोबाटो र एकान्तकुना दुई चोकसँग जोडिएको ललितपुर ऐतिहासिक र सांस्कृतिक सहर हो । चोकहरुमा अग्ला र विशाल कङ्क्रिटका फ्लाइओभर बनाउँदा सहरको परम्परागत लुक्स र ‘स्काइलाइन’ बिग्रने अवस्था पनि छ ।
अन्डरपास जमिनमुनि बन्ने भएकाले यसले सहरको दृश्यलाई अवरोध गर्दैन । ग्वार्कोमा सहरका बीचमा भव्य संरचना खडा गर्दा आलोचना भएको थियो । सरकारले सहरका बीचमा यस्तो भद्दा संरचना बनाउन नहुने मत सुनिएको थियो ।
त्यसैले पनि सरकार कलंकीमा जस्तै भित्रबाट गाडी चल्ने अन्डरपास बनाउने योजनामा पुगेको हो ।
तर विगतमा भएका अध्ययनले यी दुबै चोकमा निश्चित भागमा ओभरपास वा फ्लाइओभर अनि निश्चित भागमा अन्डरपास बनाउनुपर्ने पनि देखाएको छ ।
जस्तो कि, एकान्तकुना चोकमा फ्लाइओभर बनाउन सकिन्छ । तर एकान्तकुना नजिकको नख्खु दोबाटोबाट रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रामा अग्लो रथ तानिन्छ । त्यसैले नख्खु दोबाटो क्षेत्रमा अन्डरपास नै बनाउनुपर्छ ।
सातोदोबाटोमा भने फ्लाइआभेर वा अन्डरपास दुबै बनाउन सकिने अध्ययनमा देखिएको थियो ।
सडक विभागका महानिर्देशक विजय जैसी पुरानो अध्ययन रिपोर्टलाई रिभ्यु गरेर निर्माण अघि बढाउने बताउँछन् । उनका अनुसार अहिले सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले यसका लागि काम गरिरहेको छ ।
००००
सरकारले यो आयोजना ईपीसी अर्थात् अर्थात् इन्जिनियरिङ, प्रोक्योरमेन्ट एण्ड कन्सट्रक्सन मोडलमा बनाउने योजना बनाएको छ ।
ईपीसीअनुसार सरकारले प्रारम्भिक अध्ययनका आधारमा ठेक्का आह्वान गर्छ । ठेक्कामा छानिएको ठेकेदारले नै कुन ठाउँमा कस्तो अन्डरपास, ओभरपास वा फ्लाइआोभर बनाउने भनेर विस्तृत इन्जिनियरिङ डिजाइन बनाउँछ । सडक विभागले त्यो डिजाइ एप्रुभ गरेपछि निर्माण पनि त्यही कम्पनीले गर्छ ।
यसमा डिजाइन, खरिद र निर्माणको सम्पूर्ण जोखिम ठेकेदारको हुन्छ । यसमा ‘फिक्स्ड प्राइस’ हुने भएकाले लागत बढ्ने सम्भावना न्यून हुन्छ । समयमै नसके ठेकेदारलाई ठूलो जरिवाना हुने भएकाले काम छिटो हुन्छ ।
ग्वार्कोमा यही मोडलमा फ्लाइओभर बनेको थियो । समयमै काम नभएपछि ठेकेदारले दैनिक ८८ हजार जरिवाना तिरेको थियो । निर्माणमा कमजोरी भयो भने ठेकेदार सरकारले दिएको डिजाइन नै यस्तै थियो भनेर उम्किन पाउँदैन ।
खन्नेदेखि ढलान गर्नेसम्म र उपकरण खरिददेखि हस्तान्तरणसम्मको सम्पूर्ण जबाफदेहीता ठेकेदारकै हुन्छ । त्यसैले निर्माण कम्पनीले आफ्नो नाफा बचाउन र जरिवानाबाट जोगिन द्रुत गतिमा पनि गुणस्तर कायम गरेर काम गर्छ ।
यति कुरा गरिसकेपछि अब थोरै बजेटबारे पनि चर्चा गरौं । अहिले सातदोबाटो र एकान्तकुना चोक सुधारका लागि १२ करोड ६६ लाख रुपैयाँ मात्रै बजेट छ ।
यो अन्डरपास वा ओभरपास निर्माण सम्पन्न गर्नका लागि दिइएको बजेट होइन । यो ईपीसी मोडलको टेन्डर आह्वान गर्न र प्रारम्भिक रुपमा खानेपानीका पाइप, बिजुलीका पोल र ढल सार्ने काम र ठेकेदार मोबिलाइज गर्न विनियोजन गरिएको हो ।
यो आयोजनालाई बहुवर्षीय ठेक्का स्वीकृतिको प्रक्रियामा लैजाने सरकारी तयारी छ । यसको अर्थ एकपटक ठेक्का लागेपछि आगामी वर्षहरुमा कामको प्रगतिअनुसार बजेट थप्दै लगिनेछ ।
बाँकी बजेट आगामी वर्षमा सरकारले विनियोजन गर्दै लैजानेछ ।
सातदोबाटो र एकान्तकुना चोकहरुमा अन्डरपास र ओभरपास बनाउन डेढ अर्बभन्दा बढी खर्च हुने अनुमान छ ।
समग्रमा भन्दा सातदोबाटो र एकान्तकुनामा अन्डरपास र फ्लाइओभर आवश्यक नै छ । तर, यी पूर्वाधार बन्दा केही समय चक्रपथमा सबैले सास्ती भोग्नुपर्छ । ग्वार्कोमा फ्लाइओभर बन्दा कोटेश्वरदेखि सातदोबाटोसम्मका नागरिकले दुई–तीन वर्षदेखि जाम र धुलोको ससया भोगेकै हुन् ।
आगामी वर्षदेखि सातदोबाटो र एकान्तकुना दुवै चोकमा एकैसाथ अन्डरपास र ओभरपास बनाउन सुरु गरिनेछ । त्यसपछि फेरि चक्रपथको यो खण्डमा ट्राफिकको ठूलो समस्या देखिनेछ ।
तर सातदोबाटो र एकान्तकुनामा बन्ने अन्डरपासर ओभरपासले कलंकीदेखि कोटेश्वरसम्मको विस्तारित खण्डलाई आधुनिक बनाउने छ । यसले यात्रा अवधि मात्रै छोट्याउने छैन, इन्धनको बचत हुनेछ, प्रदूषण घट्नेछ र नागरिकको प्रोडक्टिभ टाइम सडकमा बर्बाद हुनबाट जोगाउँछ पनि ।
सरकारले बजेट विनियोजन गरेर आशा देखाएको छ । तर नेपालका पूर्वाधार आयोजना घोषणा हुने, तर कार्यान्वयनमा नहुने रोगबाट ग्रसित छ । काम सुरु भएपछि सुस्त गतिमा काम हुने अर्को महमारी छ ।
त्यसैले अहिलेकै योजना अनुसार ईपीसी मोडलमा सकेसम्म छिटो काम सक्ने गर्न जरुरी छ । यी चोकहरुमा आधुनिक पूर्वाधार बन्यो भने शहरभित्रको बढ्दो जनघनत्व र सवारी ट्राफिक पनि कम हुनेछ । रिंगरोड बाहिर पनि अझै द्रुतगतिमा आधुनिक बजार र व्यवसाय फैलिँदै जानेछ ।
वौद्ध भाटभटेनीले पायो नयाँ जुनी, पहिला भन्दा व्यवस्थित
रास्वपा चाहन्छ क्रिप्टो कारोबार खोल्न, के छ चुनौती ?
हिमालका पर्यटकीय क्षेत्र जोड्न नयाँ पूर्व-पश्चिम राजमार्ग
भारतले पटक–पटक किन रोक्छ नेपाली चिया ?


-1781681783.png)
-1781759377.png)



