नेभिगेशन
एक्सप्लेनर भिडियो

‘सिभिक सेन्स’ भन्दै भारतीय पर्यटकमाथिको व्यवहार कति ठीक, कति बेठीक ?

हामीमध्ये धेरैलाई लाग्छ टुरिस्ट भनेको, गोरो छाला भएको, अग्लो र इंगलिस बोल्ने मान्छे हो । त्यही कारण भारतबाट नेपाल घुम्न आएकाहरुलाई धेरै नेपालीले पर्यटकको रुपमा व्यवहार नै गर्दैनन् । 

तर तपाईं हिजोआज पोखरा, मुक्तिनाथ, धनकुटा, इलाम वा नेपालका कुनै हिल स्टेसनमा पुग्नु भयो छ भने एउटा साझा दृश्य छ, भारतीय पर्यटकको भीड ।

अहिले नेपालका पर्यटकीय गन्तब्यमा भारतीय नम्बर प्लेटका जीप, कार र ठूला पर्यटकीय बसहरुको लर्को छ । पोखराकै लेकसाइडका होटल, डान्स बार, रात्रीकालीन क्लब र प्याराग्लाइडिङमा भारतीय पर्यटकहरुको उपस्थिति नेपाली र अन्य विदेशी पर्यटकको भन्दा बढी छ । 

अहिले दिनमा २५ सयभन्दा बढी भारतीय गाडी नेपाल आउँछन् । मे महिनामा ४१ हजार भारतीय पर्यटक हवाईमार्गबाट नेपाल आए । बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल र उत्तराखण्डका नाकाहरुबाट दैनिक कति भारतीय गाडी र कति पर्यटक नेपाल भित्रिन्छन्, त्यसको यकिन तथ्यांक कसैसँग छैन । 

यो दृश्यले के बताउँछ भने हेपिएका भारतीय पर्यटकहरुले नै नेपालको अर्थतन्त्र र पर्यटन उद्योगको प्राण धानेका छन् । भारतीय पर्यटक नआउने हो भने नेपालका अर्बौं लगानी भएका होटल र रेस्टुरेन्ट उद्योगहरु समस्यामा पर्नसक्छ ।

तर तिनै पर्यटकहरु नेपालका सीमा नाकादेखि राजमार्ग र गन्तव्यसम्म आइपुग्दा पाइला–पाइलामा हेपिन्छन्, ठगिन्छन् र सास्ती भोग्न बाध्य पारिन्छन् । 

युरोपेली वा अमेरिकी पर्यटक ‘अतिथि देवो भवः मान्न तयार हाम्रो समाज र राज्य संयन्त्र, भारतीय पर्यटक देख्नेबित्तिकै किन नाक खुम्च्याउँछ ? किन उनीहरुलाई उपेक्षा गरिन्छ ? यो कति उचित हो ?   

अनि, अनेक समस्याका बाबजुद पनि भारतीय पर्यटकहरुको ‘नेपाल मोह’ पछाडिको रहस्य के हो ? उनीहरुले नेपाल आउँदा भोग्नुपर्ने सास्ती कस्तो छ ? उनीहरुलाई हेर्ने हाम्रो नजरियामा कहाँनिर खोट छ ? 

०००००

नेपाल पर्यटन बोर्डका तथ्यांक अनुसार नेपालमा वर्षमा करिब १२ लाख पर्यटक आउँछन् । त्यसमध्ये भारतबाट वर्षमा २ लाख ९२ हजार पर्यटक मात्रै आउँछन् । 

पत्याउनुहुन्छ ? किनकी यो वास्तविक तथ्यांक नै होइन । यसमा नेपाल सरकारले स्थलमार्ग अर्थात् सडक बाटो भएर नेपाल भित्रिने लाखौं भारतीय पर्यटकहरुको गणना गरेकै छैन । अझ भनौं, उनीहरुलाई पर्यटकको दर्जा नै दिएको छैन नेपाल सरकारले । 

तर पनि भारतीय पर्यटकहरु नेपालका मुख्य पर्यटक हुन् । स्थलमार्गबाट आउने पर्यटक त अहिले नेपालको पर्यटनको सदाबहार पाहुना हुन् । 

भारत आफैंमा कश्मीरदेखि कन्याकुमारीसम्म, गोवादेखि सिमलासम्म फैलिएको विशाल र भूगोल भएको देश हो । भारत नेपाल भन्दा २२ गुणा ठूलो छ र उसको जनसंख्या त हाम्रो भन्दा कति को कति धेरै छ, आजको दिनमा भारतको जनसंख्या १ अर्ब ४५ करोड हाराहारी छ । 

भारतमा चुनाव चलिरहेको होस् वा उनीहरुले अत्यधिक रुचाउने इन्डियन प्रिमियर लिग आईपीएलको सिजन । तर भारतीय पर्यटकहरुको नेपाल आउने क्रम कहिल्यै रोकिँदैन । यसको पछाडि केही बलिया मनोवैज्ञानिक, भौगोलिक र सांस्कृतिक कारणहरु छन् ।

पहिलो हो, प्रचण्ड गर्मीबाट मुक्ति र भौगोलिक निकटता । 

भारतका उत्तरी र केन्द्रीय राज्यहरु जस्तै उत्तर प्रदेशका लखनउ, कानपुर, बनारस, गोरखपुर अनि बिहारका पटना, मुजफ्फरपुर र दिल्ली एनसीआर क्षेत्रमा वैशाख, जेठ र असार महिनामा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुग्छ । यो समयमा त्यहाँका विद्यालय र कलेजहरुमा ‘समर भ्याकेसन’ अर्थात् गर्मी बिदा हुन्छ ।

अनि, भारतीय मध्यमवर्ग र उच्च–मध्यमवर्गका परिवारहरु गर्मी छल्नका लागि चिसो ठाउँको खोजीमा निस्कन्छन् । भारतकै सिमला, मनाली वा सिक्किम–दार्जिलिङ उनीहरुका लागि पहिलो रोजाइको गन्तब्य हो । 

तर त्यहाँ पुग्न जति टाढा र खर्चिलो हुन्छ, त्योभन्दा धेरै नजिक, सुलभ र सुन्दर विकल्पका रुपमा नेपालका हिलस्टेसन छन् । 

भारतीयका लागि पहाडमा जानु एउटा सपना जस्तै हो । झन् गर्मी मौसममा पहाडको चिसोले यति आनन्द दिन्छ कि उनीहरुलाई यो फरक अनुभव हुन्छ । नेपालको हरियो जंगल, हिमालबाट बगेर आएका नदी र तालहरु हेर्नु उत्तर भारतीयहरुको लागि एउटा ड्रिम नै हो । त्यसैले पहाडमा पुग्ने उनीहरुको सपनाको नजिक नेपाल छ । 

अर्को कारण, भिसा विना नै झञ्झटमुक्त यात्रा हो । 

विदेश घुम्न चाहने जो केहीका लागि राहदानी बनाउनु, भिसाका लागि आवेदन दिनु र डलर एक्सचेन्ज गर्नु अनिवार्य र झञ्झटिलो प्रक्रिया हो । 

तर नेपाल र भारतबीचको खुला सिमाना छ । सन् १९५० को सन्धिपछि दुबै देशका नागरिकलाई खुला आउजाउ गर्न छुट छ ।

भारतीयहरुले केवल आफ्नो मतदाता परिचयपत्र वा आधार कार्डका भरमा नेपाल सहजै प्रवेश गर्न सक्छन् । विदेशी भूमिमा पुग्दा पनि प्रक्रियागत झञ्झटमा फस्नु नपर्ने भएकाले भारतीय पर्यटकमा नेपाल मोह बढेको छ । 

अर्को कारण,  धार्मिक पर्यटनको नयाँ लहर पनि हो । 

नेपाल र भारतलाई जोड्ने सबैभन्दा बलियो कडी भनेको सांस्कृतिक र धार्मिक सामिप्यता हो । पशुपतिनाथ, जनकपुरधाम र लुम्बिनी त पहिलेदेखि नै भारतीयहरुको आस्थाको केन्द्र थिए, तर पछिल्लो समय ‘मुक्तिनाथ’ भारतीय पर्यटकका लागि सबैभन्दा ठूलो आकर्षण बनेको छ ।

यसको एउटा ऐतिहासिक पृष्ठभूमि पनि छ । करिब २०० वर्ष अगाडि भारतका प्रसिद्ध सन्त स्वामीनारायणले मुक्तिनाथको भ्रमण गरेका थिए । उनले कालीगण्डकीको तिरैतिर पैदल यात्रा गरेर मुक्तिनाथमा कठोर तपस्या गरी ज्ञान प्राप्त गरेका थिए र काठमाडौं हुँदै भारत फर्केका थिए । 

यो कुरा उनको आत्मकथामा विस्तृत रुपमा उल्लेख छ । यही विरासतलाई पछ्याउँदै २०७५ वैशाख २८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरे र त्यहाँ ध्यान बसे । मोदीको त्यो एउटै भ्रमणले भारतीय मिडिया र जनमानसमा मुक्तिनाथ र पोखराको यति ठूलो प्रचार गरिदियो कि, त्यसपछि नेपाल आउने धार्मिक पर्यटकहरुको संख्यामा बाढी नै आयो । 

अझ मुक्तिनाथसम्म पुग्ने सडक कालोपत्रे भएपछि भारतीय पर्यटकहरु अहिले आफ्नै सवारी लिएर पुग्न थालेका छन् । पछिल्लो समयमा त गोरखाको मनकामना र अन्य धार्मिक क्षेत्रमा पनि भारतीय तीर्थयात्रीको संख्या असाध्यै बढेको  छ । 

भारतीयहरु नेपाल घुम्न आउनुको अर्को कारण हो, साहसिक मनोरञ्जन र नाइटलाइफ । 

भारतका धेरै राज्यहरुमा नाइटलाइफमा कडा कानुनी नियम छन् । विहार, उत्तर प्रदेश, गुजरात लगायतका राज्यमा मदिरा प्रतिबन्धित छ । तर नेपाल विशेष गरी पोखराको लेकसाइड र काठमाडौंको ठमेल, भारतीयलाई खुला र सुरक्षित महसुस गराउने ठाउँ हुन् ।

नयाँ पुस्ताका भारतीय युवाहरु प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिपलाइन र राफ्टिङ जस्ता रोमाञ्चक खेलहरुका लागि नेपाल आउँछन् । 

साँझ परेपछि फेवातालको किनारमा रहेका डान्स बार, रात्रीकालीन क्लब र क्यासिनोहरुमा झुम्न पाउनु उनीहरुका लागि एउटा अभूतपूर्व स्वतन्त्रताको अनुभव हो । सपरिवार आउँदा धार्मिक र प्राकृतिक आनन्द पनि मिल्ने, अनि युवाहरुका लागि मनोरञ्जन पनि हुने देश नेपाल मात्रै हो । 

सजिलो छैन यात्रा

यस्तै कारणहरुले पर्यटक आगमन त बढिरहेको छ । तर भारतीय पर्यटकका लागि अझै पनि नेपाल उदार बनिसकेको भने छैन । 

भारतीय पर्यटकहरुले नेपाल आउँदा भोग्नुपर्ने सास्ती कहालीलाग्दो छ । जब एउटा भारतीय पर्यटक आफ्नो निजी गाडी लिएर नेपालको सीमामा आइपुग्छ, भन्सारमै झन्झट व्यहोर्नुपर्छ ।

भारतीय सवारीले नेपाल घुम्न लिनुपर्ने भन्सार चलानको लागि कागजपत्र लिएर लाइनमा बस्नुपर्छ । अहिलेसम्म यसका लागि अनलाइन प्रणाली सुरु भएको छैन । 

नाका पार गरेपछि सुरु हुन्छ वास्तविक सास्ती । भत्किएका र बनाउँदा बनाउँदै त्यसै अलपत्र छाडिएका राजमार्गहरुले पर्यटकको सातो लिन्छ । अहिले सुनौली नाकाबाट भित्रिने पर्यटकहरुले बुटवल–नारायणगढ सडक खण्ड बनेपछि सहज अनुभव गरेका छन् । तर, नेपालका यस्ता धेरै सीमा नाका जोड्ने सडकहरु छन्, जुन वर्षौंदेखि विस्तारका नाममा अलपत्र पारिएको छ । 

अहिले मुग्लिन–पोखरा सडक खण्डको अवस्था राम्रो छ । तर काठमाडौं आउँदा मुग्लिन–नागढुंगा सडकको बेहाल छ । राजधानी आउने मुख्य बाटो नै अहिले धुलोको साम्राज्य बनेको छ । 

घुमाउरो, साँघुरो सडकमा यात्रा गर्नु उनीहरुका लागि यसै चुनौतीपूर्ण हुन्छ । त्यसमाथि सडकमा खाल्डाखुल्डी मात्रै छैन, दुर्घटनाको जोखिम पनि उत्तिकै छ । समथर चौडा सडकमा गाडी कुदाउने बानी परेका भारतीय चालकहरुका लागि नेपालका पहाडी सडकहरु डरलाग्दा र कतिपय अवस्थामा ज्यानमारा साबित भइरहेका छन् ।

राजमार्गमा रिफ्रेसमेन्ट सेन्टर र शौचालय छैन । राम्रो र सफा खाना खाने ठाउँ एकदमै न्युन छन् । त्यसैले नेपाल आएर गन्तब्यमा नपुग्दै राजमार्गका होटलहरुको महँगो र गुणस्तरहीन खानाले पर्यटकको एक्सपिरियन्स बिगारिसकेका हुन्छन् । 

नेपाल छिरेपछि भारतीय पर्यटकका गाडीहरु ट्राफिक र जनपद प्रहरीको मुख्य निशाना बन्छन् । भारतीय नम्बर प्लेट देख्नेबित्तिकै प्रहरीको व्यवहार परिवर्तन हुन्छ । कागजात दुरुस्त हुँदाहुँदै पनि अनेकौं बहानामा चेकिङ गर्ने, कागजपत्र खोस्ने र जरिवानाको डर देखाएर अवैध रकम असुल्ने प्रवृत्ति राजमार्गहरुमा व्यापक छ । 

पोखराका होटल व्यवसायी नरेश भट्टराईका अनुसार एक ठाउँबाट भन्सारको वैध प्रक्रिया पूरा गरेर आएका पर्यटकलाई हरेक ८–१० किलोमिटरमा चेकिङका नाममा रोकेर दुःख दिने काम भइरहेको छ । यसले देशको छवि र पर्यटकको अनुभव खराब बनाइरहेको छ । 

सबैभन्दा ठूलो समास्या त, नेपालमा भारतीय पर्यटकलाई हेर्ने नजरमा छ । नेपालको पर्यटन बजारको मानसिकता नै छ— त्यो हो, गोरो छाला भएका टुरिस्ट प्रतिको आशक्ति अनि छिमेकी भारतीय पर्यटकप्रतिको उपेक्षा । 

भारतीय पर्यटकलाई नेपालीहरु अक्सर ‘सस्तो पर्यटक’ वा ‘बजेट टुरिस्ट’ को रुपमा मात्र हेर्छन् । भारतीय पर्यटकहरु भीडमा आउँछन्, अनेकौं कचकच गर्छन्, बार्गेनिङ धेरै गर्छन् र पैसा खर्च गर्न डराउँछन् भन्ने मानसिकता होटल तथा रेस्टुरेन्ट व्यवसायीमै छन् । 

हो, कतिपय भारतीय पर्यटकहरु ठूला बस रिजर्भ गरेर आउँछन् । चामल, दाल, ग्यास सिलिन्डर र मसला समेत भारतबाट आफैं लिएर आउँछन् । बाटोको छेउमा, खुला ठाउँमा वा होटलको आँगनमा आफैं खाना पकाएर खान्छन् । 

तर प्रायः यस्तो गर्नेहरु धार्मिक पर्यटकहरु हुन् । उनीहरु होटलमा खान भन्दा शुद्ध भोजन गर्न पनि यस्तो गर्छन् । कतिपय पर्यटकहरु सरसफाइप्रति सचेत पनि नहोलान्, तर यो आम समस्या हैन । यो सानो पाटो मात्र हो, उनीहरुलाई हेरेर धारणा बनाउनु भारतीय पर्यटकहरुप्रतिको अपमान हो । 

हामीले बिर्सिनु हुँदैन कि भारतीयहरुको पनि आर्थिक जीवनस्तर उकालो लागिरहेको छ । त्यहाँ पछिल्लो दशकमा एउटा यस्तो उच्च वर्गको उदय भएको छ, जसको खर्च गर्ने क्षमता युरोपेली पर्यटकको भन्दा गुणा बढी छ । मन खोलेर महँगा होटल र लक्जरी रिसोर्टमा खर्च गर्ने भारतीयहरुको संख्या युरोपेलीको भन्दा बढी छ ।  अहिले भारतीय पर्यटक भनेर नाक खुम्च्याउने अवस्था नै छैन । 

तर नेपालमा भारतीय पर्यटकप्रति न्यायपूर्ण व्यवहार भइरहेको छैन । पछिल्लो समयमा त भारतीय पर्यटकको सिभिक सेन्स हुँदैन भनेर सामाजिक सञ्जालमा भिडियो हालेर भाइरल गराउने काम भइरहेको छ । पार्किङ जथाभावी गरेको, फोहोर फालेको, बाटोमा खाना पकाएर खाएको, जथाभावी लुगा सुकाएको जस्ता कारण देखाएर उनीहरुमाथि अपमानपूर्ण व्यवहार हुँदैछ ।  

यसले उनीहरुको प्रतिष्ठा र आत्मसम्मानमा आँच पुग्छ भन्ने हेक्का राखिएको छैन । सरकारले पनि ध्यान दिएको छैन ।

यस्तो भिडियो बनाउनेहरुले बुझनुपर्छ कि नेपालले पर्यटकका लागि व्यवस्थित ढंगले पार्किङको व्यवस्था गर्न सकेको छैन । पार्किङ क्षेत्रहरु छुट्याए पनि व्यवस्थापन छैन । सडकमा व्यवस्थित ढंगले रोड मार्किङ भएको छैन ।

पर्यटक लक्षित व्यवस्थित सार्वजनिक शौचालयहरु बनाएको छैन । उनीहरुलाई खाना पकाएर खान दिने ठाउँहरु तोकेर त्यसको व्यवस्थापन गर्न सकेको छैन । 

अनि पोखरा वा काठमाडौं छिर्ने मुख्य नाकाहरुमा बिचौलियाहरु सक्रिय छन् । उनीहरु भारतीय पर्यटकका गाडी देख्नेबित्तिकै बीच बाटोमै मोटरसाइकलले पिछा गर्छन्, गाडीको अगाडि उभिएर झोला तान्छन् र आफूले भनेको होटलमा जान जबर्जस्ती गर्छन् । जान राजी नभए धम्क्याउनेसम्मका हर्कत गर्छन् । पर्यटकलाई आकर्षित गर्न कानुनले निषेध गरेका वा गलत आश्वासनहरु दिन्छन् । 

पछि होटलमा पुर्‍याएर महँगो कमिसन असुल्छन् । कास्की प्रहरीले पटक–पटक यसरी पर्यटकलाई दुःख दिएको आरोपमा होटल सञ्चालक र बिचौलियालाई पक्राउ गर्दै आएको छ । तर यो समस्या अझै पनि छ । अनि भारतीय पर्यटकको सिभिक सेन्सलाई मात्रै दोष दिएर हामी उम्किन मिल्छ होला त ? 

सरकारले के गर्ने ? 

नेपालको पर्यटन विकासका लागि भारत सबैभन्दा बढी सम्भाव्य बजार हो । चीन वा युरोपका पर्यटक ल्याउन हामीले लाखौं डलर खर्च गरेर अन्तर्राष्ट्रिय मार्केटिङ गर्नुपर्छ, तर भारतमा ठूलो प्रचार प्रसार नै चाहिँदैन ।

केवल दुई देशको दूरी र डिजिटल प्रचार नै पर्याप्त छ । अहिले त भारतीय कन्टेन्ट क्रियटर र भ्लगरहरु नेपाल आएर भिडियो बनाउँछन् । नेपालमा घुम्दा गरेको अनुभव जस्ताको तस्तै भिडियो बनाएर राखिदिन्छन् । टिकटक र फेसबुकमा राखिएको रिल्स हेरेरै नयाँ टोली काठमाडौं र पोखरा आइपुग्छ । 

तर यो अवसरलाई अर्थतन्त्रको बलियो खम्बा बनाउन नेपालले आफ्नो पर्यटन रणनीतिमा परिमार्जन गर्नुपर्ने अवस्था छ । अहिले भारतीय पर्यटकको नेपालमा बसाइ निकै छोटो छ । उनीहरु आउँछन्, घुम्छन् र फर्किहाल्छन् ।

त्यो भनेको बढीमा २–३ दिन हो । यदि हामीले उनीहरुको बसाइ लम्ब्याउन सक्यौं भने नेपालले पर्यटनबाट गर्ने कमाइ झन् बढ्ने छ । यसका लागि नेपालले केही काम गर्नैपर्छ । 

पहिलो हो, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग 

पोखरा र भैरहवामा अर्बौंको लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल त बन्यो, तर यसको व्यावसायिक उपयोग शून्य जस्तै छ । पोखराबाट भारतका प्रमुख शहरहरु जस्तै नयाँ दिल्ली, मुम्बई, कोलकाता, लखनउ र पटनामा सिधा उडान सुरु गर्न सकिन्छ । भैरहवाबाट पनि लुम्बिनी आउने पर्यटकका लागि पनि क्षेत्रीय शहरहरुमा उडान गर्नुपर्ने आवश्यकता छ । 

यदि पोखरा र भैरहवाबाट भारतका शहरहरुमा सिधा उडान हुने हो भने स्थलमार्गको सास्ती भोग्न नचाहने भारतका धनाढ्य र उच्च–मध्यम वर्गका पर्यटकहरु मात्र केही घण्टामै गन्तब्यमा ओर्लन सक्नेछन् । यसले गर्दा नेपाल आउने खर्चालु पर्यटकहरुको संख्यामा वृद्धि हुनेछ ।

अर्को गर्नैपर्ने काम हो, सीमावर्ती विमानस्थलहरुबाट क्षेत्रीय कनेक्टिभिटी । 

अहिले पोखराका लागि केवल भैरहवा र नेपालगञ्जबाट मात्र सीमित क्षेत्रीय उडानहरु भइरहेका छन् । सरकारले भारतसँग जोडिएका नेपालका अन्य विमानस्थलहरु जस्तै विराटनगर, जनकपुर, भद्रपुर र सिमराबाट सिधा पोखराका लागि उडान भर्ने वातावरण मिलाउनु आवश्यक छ । यसले गर्दा बिहार र पश्चिम बंगालका पर्यटकहरु सीमा पार गर्नेबित्तिकै नेपाली विमान चढेर सिधै पोखरा वा अन्य हिलस्टेसन पुग्न सक्नेछन् ।

अनि नयाँ गन्तव्य र पर्यटकीय उत्पादनहरुको विकास पनि जरुरी छ । भारतीय पर्यटकहरुलाई एउटै ठाउँमा कति दिन राख्ने ? यसका लागि नयाँ गन्तव्यहरुसम्म सहज सडक सुविधा र प्रचार आवश्यक छ ।

अहिले बनिरहेका उत्तरदक्षिण करिडोर सडकहरु छिटो सम्पन्न गरेर कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रका पर्यटकीय गन्तब्यहरु प्रर्वद्धन गर्न आवश्यक छ । 

सरकारले जनकपुरलाई ‘वेडिङ डेस्टिनेसन’ बनाउने भनेको छ । अहिले भारतमा डेस्टिनेसन वेडिङको ठूलो फेसन छ । सीता र रामको विवाह भएको शहरमा व्यवस्थित ढंगले विवाह गर्ने गरी पूर्वाधारहरु खडा गर्ने हो भने पनि नेपालमा विवाह गर्न आउने भारतीयहरु बढ्न सक्छन् । 

समस्या हटाउनु अनिवार्य 

अवसर जति ठूलो छ, नेपालको नीतिगत सुस्तता र अकर्मन्यता पनि त्यति नै निराशाजनक छ । दशकौं बितिसक्दा पनि नेपालले भारतीय पर्यटकलाई लक्षित गरेर प्रभावकारी नीतिगत व्यवस्था समेत गर्न सकेको छैन । 

नेपाल सरकारसँग आजसम्म ‘बजेट टुरिस्ट’ र ‘लक्जरी टुरिस्ट’ लाई कसरी व्यवस्थापन गर्ने र कसरी सेवा दिने भन्ने कुनै ठोस नीति छैन । 

सडकको कुनामा ग्यास बालेर खाना पकाउने र सार्वजनिक ठाउँमा फोहोर गर्ने पर्यटकहरुका कारण स्थानीय वातावरण र व्यवसाय दुवै प्रभावित भएका छन् । यसको समाधान उनीहरुलाई गाली गर्ने होइन, बरु खाना पकाउने ठाउँको विकल्प दिने हो, व्यवस्थित गर्न नियम कानुन बनाउने हो । 

भुटानले जस्तै वा विश्वका अन्य पर्यटकीय देशहरुले जस्तै नेपालले पनि ‘सेल्फ–कुकिङ’ पर्यटकहरुका लागि निश्चित स्थान तोक्नुपर्छ । जथाभावी खाना पकाउन वा बसमा सुत्न प्रतिबन्ध लगाउनुपर्छ । तर, धार्मिक तीर्थाटनमा आउने पर्यटकलाई भने कुनै सास्ती दिनु हुँदैन । 

पोखराका स्थानीय व्यवसायीहरुले सन् २००६ देखि निजी क्षेत्रको पहलमा भारतका सीमावर्ती सहरहरु जस्तै पटना, लखनउ, गोरखपुर, बनारस र इलाहावादसम्म पुगेर ‘चलिये पोखरा’ अभियान चलाउँदै आएका छन् । यसले धेरै राम्रो नतिजा पनि दिएको छ ।

तर, यस्तो अभियानमा नेपाल सरकार र नेपाल पर्यटन बोर्डको संस्थागत र ठूलो आर्थिक सहयोग कहिल्यै हुन सकेन । व्यवसायीहरु आफैँ पैसा उठाएर भारत पुग्छन् र प्रचार गर्छन् । 

राज्य स्तरबाट भारतका मुख्य मिडिया वा डिजिटल प्लेटफर्महरुमा नेपालको प्रवद्र्धन गर्ने कुनै ठूलो योजना आजसम्म बन्न सकेको छैन । अब यो अवस्थालाई सुधार्नुपर्छ । भारतीय पर्यटकलाई नेपाल घुम्न प्रोत्साहित गर्ने गरी सरकारले पनि केही न केही गर्नैपर्छ । 

नेपालमा अझै पनि भारतीय रुपैयाँको कारोबारमा कानुनी जटिलता छ । भारतीय पर्यटकहरु नेपाल आउँदा ठूलो मात्रामा नगद बोकेर आउन असुरक्षित महसुस गर्छन् । 

यद्यपि पछिल्लो समय डिजिटल भुक्तानीका केही सुविधाहरु सुरु त भएका छन्, तर ती सीमानाका र साना होटलहरुमा अझै पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । नेपाल आउने पाहुनाले प्रविधि र कानुनको झन्झटका कारण चाहेर पनि पैसा खर्च गर्न नपाउने अवस्था बन्द गर्नुपर्छ । 

००००

समग्रमा भन्दा भारतीय पर्यटकहरुमा विविधता छ, उनीहरुको व्यवहारमा समानता नहोला, तर पोखरा र नेपालको समग्र पर्यटनमा उनीहरुको योगदान अमूल्य छ । 

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीको एउटा भनाइमा भारतीयले हाम्रो पर्यटन उद्योग जोगाउन र फैलाउन सबैभन्दा ठूलो गुन लगाएका छन् । 

उनका अनुसार जब कोभिड–१९ को महामारीले विश्व ठप्प थियो, जब युरोप र अमेरिकाबाट एउटै पर्यटक नेपाल आउने अवस्था थिएन, त्यतिबेला नेपालका सुनसान होटलहरुमा बत्ती बाल्ने र व्यवसायीको चुल्हो चलाउने काम तिनै भारतीय र आन्तरिक पर्यटकहरुले गरेका थिए । 

अब भारतीयहरु लो सिजन वा संकटमा मात्र सम्झिने पर्यटक रहेनन् । उनीहरु वर्षैभरि आउने सबैभन्दा भरपर्दा पाहुना बनिसकेका छन् । 

यदि नेपालले साँच्चै नै नेपालको पर्यटन उद्योगलाई अर्को उचाइमा पुर्‍याउने हो भने सबैभन्दा पहिले भारतीय पर्यटकप्रतिको हाम्रो ‘नजरिया’ बदल्नुपर्छ । उनीहरुलाई हेप्ने, ठग्ने, गाली वा गर्ने गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

अनि राज्यले पनि सीमानाकाका झञ्झटहरु हटाउन भन्सार प्रक्रियालाई डिजिटल र पेपरलेस बनाउनुपर्छ, राजमार्गहरुको निर्माण कार्यलाई युद्धस्तरमा सम्पन्न गर्नुपर्छ । ट्राफिक तथा प्रहरीको अनावश्यक चेकिङ र सास्तीलाई पूर्ण रुपमा रोक्नुपर्छ ।

भारतीय पाहुनाहरु जब नेपालको सुन्दरता, उत्कृष्ट आतिथ्यता, चिसो हावापानी र आध्यात्मिक शान्ति, धार्मिक भावना अनूभूत गरेर आफ्नो देश फर्कन्छन्, तब उनीहरुको मनमा नेपालप्रति एउटा अमिट सम्मान र प्रेम हुन्छ । 

अतिथि देवो भवःलाई नारामा मात्र होइन, हाम्रो व्यवहार र कानुनमा पनि झल्काउनुपर्ने छ । तब मात्र नेपालको पर्यटनको प्राण सधैंका लागि जोगिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो