नेभिगेशन
एक्सप्लेनर भिडियो

बर्ड फ्लु झेल्दै आत्मनिर्भर बनेको पोल्ट्री व्यवसाय

नेपाल कुनै चिजमा आत्मनिर्भर छ भने त्यो, कुखुराको मासु र अण्डामा नै हो । हाम्रो भान्सामा पाक्ने मासु र अण्डा कुनै विदेशी बजारबाट आएका होइनन्, सबै नेपालकै उत्पादन हुन् । 

अर्बौंको निजी लगानी, हजारौंलाई रोजगारी दिँदै कुखुरापालन अर्थात् पोल्ट्री सेक्टरले देशको अर्थतन्त्रलाई बलियो टेको दिएको छ । तर, पोल्ट्रीमा आत्मनिर्भरताको कथामा सबैभन्दा ठूलो शत्रु बनेको छ, बर्ड फ्लु ।

अहिले पनि देशका विभिन्न भागमा रहेका कुखुरा फार्महरु बर्ड फ्लुको चपेटामा परेका छन् । बेच्ने बेलाका कुखुराहरु मारिँदै छन्, अण्डाहरु नष्ट गरिँदै छन् र हजारौं किसानहरु फेरि एकपटक ऋणको ठूलो खाडलमा भासिँदै छन् ।

००००

नेपालमा कुखुरा पालनको सुरुवात व्यवसायको रुपमा भन्दा पनि घरायसी प्रयोजनका लागि भएको थियो । घरमै कुखुरा पाल्ने र बेला बेलामा त्यसकै मासु र अण्डा खाने चलन थियो । यस्ता कुखुराहरु सबै लोकल जातका हुन्थे ।

व्यवसायिक रुपमा कुखुरा पालनको सुरुवात २०१४ सालबाट भएको हो । त्यतिबेला नेपालले पहिलो पटक ब्ल्याक मिनोर्का, रोड आइल्याण्ड रेड र ह्वाइट लेगहर्न जातका कुखुरा आयात गरेको थियो । 

त्यसपछि २०१७ सालमा बाराको परवानीपुरमा अमेरिकाको सहयोगमा सेन्ट्रल ह्याचरी स्थापना गरेर १६ हजार ओटा न्यू हेम्पसायर जातका चल्लाहरु उत्पादन गरिएको थियो । ती चल्लाहरु काठमाडौं उपत्यकामा बिक्री वितरण गरिएको थियो । 

त्यसपछि २०१९ सालमा निजी क्षेत्रको रत्न फिड इन्ड्रस्ट्री, कान्तिपुर पोल्ट्री फार्म, जोशी पोल्ट्री फाम आदिले भारतबाट बोइलर र लेयर्सका चल्लाहरु आयात गरेर बिक्री गरेका थिए । २०२८ सालमा दाना उत्पादनका लागि हेटौंडामा क्याटल फिड प्लान्ट स्थापना भएको थियो । 

२०४६ सालबाट आर्थिक क्षेत्र केही खुला भएपछि कुखुरा पालन व्यवसायमा निजी लगानी आउन थाल्यो । चितवन कुखुरा पालनको हबको रुपमा विकास हुन थाल्यो । त्यहाँ ठूलो लगानीकर्तादेखि साना किसानसम्मले कुखुरा पाले । 

ठूलो लगानी नहुने र सानो स्केलमा गर्न चाहनेहरुले पनि सजिलै गर्न सक्ने भएकाले कुखुरा पालन व्यवसाय छिटो फैलियो । गाउँघरका साना साना बजारलाई लक्षित गरेर पनि कुखुरा पालन गर्ने चलन चल्यो । 

२०८० सालमा आउँदा त नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर नै भयो । अहिले नेपालमा ब्रोइलर कुखुरा, अण्डा, चल्ला र दाना विदेशबाट आयात हुँदैन । नेपालमै भएको उत्पादनले नेपालीलाई खान पुग्छ । कुखुराको दाना बनाउन चाहिने कच्चा पदार्थ जस्तै मकै–भटमासहरु चाहिँ भारतबाट आयात गर्नुपर्छ । अनि औषधिहरु पनि आयात गर्नुपर्छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको नेपाल व्यवसायिक कुखुरा पालन सर्वेक्षण २०८१/८२ अनुसार देशभरि करिब २३ हजार कुखुरा पालन फार्म छन् । जसमा ३५ वर्ष कटेका फार्महरु ८४ वटा छन् । 

धेरैजसो फार्महरु ५ देखि १४ वर्ष अवधिका छन्, र यस्ता फार्महरुको संख्या झण्डै १२ हजार छ । खुलेको ५ वर्ष पनि नपुगेका फार्महरु साढे नौ हजार छन् । 

नेपालमा कुखुरा पालन बढे पनि मानिसहरु यसमा लामो समय टिकेको देखिँदैन । कुखुरा पालन गरिरहेकाहरुले छाड्ने र नयाँ मान्छेहरु व्यवसायमा आउने गरेको देखिन्छ । 

कास्कीका कुखुरापालक व्यवसायी अशेष भट्टराईका अनुसार बोइलर कुखुरा पाल्नेमध्ये ५ हजार भन्दा थोरै कुखुरा पाल्नेहरु ८० प्रतिशत छन् । ५ हजार भन्दा धेरै कुखुरा पाल्ने २० प्रतिशत छन् । 

व्यवसायिक कुखुरा पालन सर्वेक्षण अनुसार कुखुरापालन गर्नेमध्ये ६६ प्रतिशतले मात्र यसलाई नै मुख्य पेशा बनाएका छन् । 

बोइलर कुखुरापालन साइड बिजनेसका रुपमा गर्ने चलन बढी छ । खेती पाती गर्ने किसान वा गाउँमै बसेर जागिर खानेहरुले पनि कुखुरा पालन गर्ने गरेका छन् । 

यस्ता किसानहरुले सप्लायर्सबाटै चल्ला ल्याउने, दाना ल्याउने र कुखुरा तयार भएपछि पनि तिनै सप्लायर्सलाई बिक्री गर्छन्, आफैं बजारसम्म पुग्ने झञ्झट गर्दैनन् । त्यसैले उनीहरुको नाफाको मार्जिन कम छ । कुखुरालाई कुनै रोग लागेमा उनीहरुले राम्ररी उपचार गर्न पनि जान्दैनन्, त्यसैले कहिलेकाहीँ घाटा ब्यहोर्नुपर्छ, एक पटक घाटा भएपछि पलायन भइहाल्छन् । 

अण्डाका लागि गरिने कुखुरा पालन अर्थात् लेयर कुखुरा पालनमा भने १० हजार भन्दा कम कुखुरा पाल्ने किसान ६० प्रतिशत छन् । अनि १० हजार भन्दा बढी कुखुरा पालन गर्ने किसान ४० प्रतिशत छन् । 

अण्डा उत्पादक किसान अर्थात लेयर्स कुखुरा पालकहरु भने बोइलरमा जस्तो नाफा नहुने बताउँछन् । 

बोइलर कुखुरा ३५ दिनदेखि नै मासुका लागि तयार हुन्छ । तर लेयर्स कुखुराले ६ महिनापछि मात्र अण्डा दिन थाल्छ । अनि एक वर्ष भएपछि बुढो हुन्छ, त्यसबाट धेरै आम्दानी लिन सकिँदैन, नयाँ कुखुरा हुर्काउनुपर्छ । 

अण्डा बिक्री गर्न उत्पादक र उपभोक्ताबीचमा ४ तहसम्मको विचौलिया छ । उत्पादक वा किसानबाट साना सप्लायर्सले उठाउँछ, त्यसपछि मझौला सप्लायर्सलाई दिन्छ । त्यसपछि उसले सेल्सम्यानलाई बिक्री गर्छ र त्यसपछि मात्र पसलहरुमा अण्डा पुग्छ । 

अहिले बजारमा ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ पर्छ, त्यसले आफूहरुको लागत नै नउठ्ने चितवनका लेयर्स कुखुरा पालक किसान विनोद पोखरेल बताउँछन् । 

सरकारले दानाका लागि चाहिने कच्चा पदार्थको भन्सार, औषधि र बिजुलीमा सहुलियत दिए मात्र अण्डा उत्पादक किसानहरु टिक्न सक्ने उनको भनाइ छ । 

०००० 

जहाँ बजार ठूलो छ, कुखुरापालन पनि त्यहीँ बढी हुने हो । यस हिसबले नेपालमा सबैभन्दा धेरै कुखुरा पालन बागमती प्रदेशमै छ । चितवन र काठमाडौं उपत्यका सबैभन्दा धेरै कुखुरा पालन हुने क्षेत्र हो ।

देशभरिका २३ हजार कुखुरा फार्ममध्ये बागमतीमा झण्डै ८ हजार छन्, कोशीमा ४ हजार, लुम्बिनी र गण्डकीमा ३ हजार, मधेशमा २ हजार, सुदूरपश्चिममा १८ सय र कर्णालीमा साढे ८ सय वटा कुखुरापालन फार्म छन् । 

कुखुरा पालन फार्महरु ९८ प्रतिशत व्यक्तिगत स्वामित्वमा छन् । झण्डै २३ हजार फार्ममध्ये साझेदारी फार्म २३७ वटा र पब्लिक र प्राइभेट फार्म जम्मा २१६ वटा छन् । 

यो तथ्यांकले कुखुरा पालन व्यवसायमा अझै ठूलो लगानी, संगठित र व्यवस्थित ढाँचा बन्न नसकेको देखाउँछ । कुखुरापालन व्यवसाय व्यक्तिगत वा पारिवारिक स्तरको उद्यमको रुपमा सञ्चालन गरेको देखिन्छ । 

०००

व्यवसाय नै राम्ररी फस्टाउन नसकेका कारण यस क्षेत्रमा रोजगारीको अवस्था पनि राम्रो छैन । व्यवसायिक कुखुरापालन सर्वेक्षण अनुसार कुखुरा पालन व्यवसायमा करिब ६४ हजार जनाले रोजगारी पाएका छन् । रोजगारी पाएकामध्ये जम्मा १२ हजार जना मात्र तलबी छन्, अरु चाहिँ सबै स्वरोजगार वा पारिवारिक श्रममा रहेको देखिन्छ । 

कुखुरापालन व्यवसायीको दाबी भने यो भन्दा फरक छ । उनीहरु करिब ५ लाख जनाले यो क्षेत्रमा रोजगारी पाएको दाबी गर्छन् । 

यो क्षेत्र धेरै व्यवसायिक भइसकेको छैन भन्ने उदाहरण ऋण लिने व्यवसायीको संख्याबाट पनि थाहा हुन्छ । सर्वेक्षण अनुसार एक वर्षमा करिब ८ हजार ५५९ फार्मले मात्र ऋण लिएको देखिएको छ । ऋण लिएकामध्ये पनि ७० प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट र २४ प्रतिशतले सहकारीबाट ऋण लिएका छन् । बैंकबाट ऋण लिने कुखुरा पालकको संख्या २७ सय १० मात्र छ । 

अनि कुखुरापालन व्यवसायको बीमा गर्ने चलन पनि छैन । जम्मा ९ प्रतिशले मात्र कुखुराको बीमा गरेका छन् । २०८० पुसदेखि २०८१ पुससम्म १८१ फार्मले बीमा दाबी गरेकामा १०१ फार्मले मात्र दाबी भुक्तानी पाएका छन् । 

कति उत्पादन हुन्छ नेपालमा कुखुरा ?

कुखुरा पालन सर्वेक्षण अनुसार नेपालमा एक वर्ष अवधिमा १२ करोड ७६ लाख ९८ हजार कुखुरा उत्पादन हुन्छ । जसमा मासुका लागि पालिएको ११ करोड ७० लाख छन् भने अण्डाका लागि पालिएको कुखुरा करिब १ लाख छन् । 

ती कुखुराबाट एक वर्षमा २५ करोड ८६ लाख २६ हजार किलो मासु उत्पादन हुन्छ । त्यो मासुको बजार मूल्य ५७ अर्ब ८६ करोड रुपैयाँको हुने सर्वेक्षणले देखाएको छ । 

कोइलर, गिरिराजलगायतका कुखुराको मासुको मूल्य १ अर्ब ५६ करोड, लेयर्स, प्यारेन्ट कुखुराको मूल्य १ अर्ब ३ करोड रुपैयाँ हुन्छ । यसरी समग्रमा एक वर्षमा कुखुराको मासुको कारोबार झण्डै ६१ अर्ब रुपैयाँको हुन्छ । 

यो त भयो मासुको कुरा । अण्डाको कुरा गर्दा एक वर्षमा ३ करोड ९४ लाख ४५ हजार क्यारेट अण्डा उत्पादन हुन्छ । जसको बजार मूल्य करिब १५ अर्ब रुपैयाँ छ । 

कोइलर, गिरिराज लगायतका कुखुराबाट २ लाख ४८ हजार २८९ क्यारेट अण्डा उत्पादन हुन्छ । प्यारेन्ट जातको कुखुराबाट १६ हजार र अन्य जातका कुखुराबाट ८३ हजार ३८२ क्यारेट अन्डा उत्पादन हुन्छ ।

बर्ड फ्लुको असर 
 

कुखुरापालन गर्दा कुखुरालाई धेरै किसिमका रोगहरु लाग्छन्, तर धेरै चर्चा चाहिँ बर्ड फ्लु संक्रमणका बेला हुन्छ । किनकी बर्ड फ्लु संक्रमणले एकै पटक ठूलो संख्यामा कुखुराहरु मर्छन् । 

गत असार १९ गते नेपाल टेलिकमको मोवाइलमा फोन गर्दा एउटा कलर रिङ ब्याक टोन बज्यो, काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा बर्ड फ्लु फैलिएको छ, त्यसैले कुखुराको मासु र अण्डा राम्ररी पकाएर मात्र खानुहोला । 

पोखराका कुखुरा व्यवसायी अशेष भट्टराईका अनुसार यो रिङ ब्याक टोन नबज्दासम्म कुखुराको मासु बिक्रीमा कुनै समस्या थिएन । तर त्यो रिङब्याक टोनपछि बजारमा कुखुरा बिक्री हुनै छाड्यो । हुनत सरकारले जनचेतनामूलक सन्देश बजाएको थियो, तर त्यसले ठूलो जनमानसमा बर्ड फ्लुको खबर पुर्‍यो । व्यवसायी भट्टराई भन्छन्, ‘मान्छेले बर्ड फ्लु फैलिएको मात्र सुनेर आफ्नो धारणा बनाए, पकाएर खाएमा बर्ड फ्लु सर्दैन भन्ने सन्देश छायाँमा पर्‍यो ।’ 

अनि बजारमा कुखुराको मासुको बिक्री ह्वात्तै घट्यो, भोज भतेरहरुमा कुखुराको मासुको सट्टा अरु परिकारहरु राख्न थालियो । पछि कुखुरा पालक किसानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई भेटेर गुनासो नै गरे । 

कुखुरा व्यवसायीहरुका अनुसार नेपालमा बर्ड फ्लु लागेको कुखुरा मासु पसलसम्म पुग्दै पुग्दैन । 

नेपालमा बर्ड फ्लु लागेर कुखुरा मार्नुपरेमा सरकारले किसानलाई क्षतिपूर्ति दिन्छ । त्यसैले किसानहरुले आफ्नो फार्ममा कुखुरा मर्न थालेपछि पशुसेवा विभागमा खबर गरिहाल्छन् र बर्ड फ्लु पुष्टि हुनेवित्तिकै सरकारले ती कुखुरा मारिहाल्छ । 

बर्ड फ्लु पुष्टि भएपछि मारिएका कुखुराको उमेर र अरु विभिन्न मापदण्डको आधारमा परल मूल्यको ७५ प्रतिशतसम्म सरकारले क्षतिपूर्ति दिन्छ । त्यसैले किसानहरु बर्ड फ्लु लागेको कुखुरा बजारमा पठाउँदैनन्, बरु सरकारी प्रतिनिधि बोलाएर नष्ट गर्न लगाउँछन् । 

नेपालमा सन् २००९ देखि कुखुरामा बर्ड फ्लु देखिन थालेको हो । चरा जातिमा देखिने बर्ड फ्लुलाई एच ५ एन १ संक्रमण भनेर चिनिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नेपालमा सन् २०१८ मा एक जना मान्छेमा एच ५ एन १ को संक्रमण देखिएको छ र मृत्यु भएको छ । त्योबाहेक नेपालमा मान्छेमा बर्ड फ्लु संक्रमण भएको छैन । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा एक हजार जना जतिमा बर्ड फ्लुको संक्रमण भएको छ र ४७० जनाको मृत्यु भएको छ । 

बर्ड फ्लुको जोखिममा पाकेको मासु खानेहरु भन्दा पनि कुखुरालाई दाना पानी खुवाउने र खोर सरसफाइ गर्नेहरु बढी हुन्छन् । कुखुराको मासु मज्जाले पकाएर खानेहरुलाई बर्ड फ्लुको जोखिम हुँदैन । 

००००० 

बर्ड फ्लु कुखुरा तथा अरु पन्छीमा लाग्ने ठूलो महामारी हो । यसको अहिलेसम्म कुनै औषधि बनेको छैन, न कुनै खोप बनेको छ । त्यसैले कुखुरामा संक्रमण हुनेवित्तिकै मर्न थालिहाल्छन् । अरु कुखुरामा फैलिन नदिन, संक्रमित फार्मका कुखुरा नष्ट गरेर निर्मलीकरण नै गर्ने हो । 

तर खोर सरसफाइ गरेपछि पुनः व्यवसाय सञ्चालन गर्न सकिन्छ । 

व्यवसायीहरु बर्ड फ्लु भन्दा पनि बर्ड फ्लुको हल्लाका कारण धेरै समस्या भएको बताउँछन् । बर्ड फ्लुको हल्ला चल्नेवित्तिकै बजारमा कुखुरा र अण्डाको भाउ घटिहाल्छ । जसले गर्दा साना व्यवसायीहरु समस्यामा पर्छन् । 

बर्ड फ्लु जस्ता रोगका कारण नेपालमा कुखुरा पालन व्यवसाय पटक पटक समस्यामा परेको छ । २०७० सालतिर काठमाडौं उपत्यकामा यसैगरी बर्ड फ्लु फैलिएको थियो । सरकारले  भक्तपुरका धेरै फार्मका कुखुराहरु नष्ट पारेको थियो । कुखुरा मारेपछि धेरै व्यवसायी यो व्यवसायबाट विस्थापित पनि भएका थिए । 

अहिले १३ वर्षपछि फेरि बर्ड फ्लुको ठूलो प्रकोप देखिएको छ । 

२०८२ चैत ४ गते मोरङबाट सुरु भएको बर्ड फ्लु फैलिएको थियो । त्यसपछि झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे गरी ११ जिल्लामा बर्ड फ्लु फैलियो । 

बर्ड फ्लु फैलिएका कारण सरकारले ५ लाख ६९ हजार ८५८ कुखुरा र अरु पन्छी नष्ट गर्‍यो । त्यस्तै ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ९८५ केजी दाना नष्ट गर्‍यो । 

राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षण अनुसार नेपालमा औसतमा ५१ प्रतिशत फार्मका कुखुराहरुमा कुनै न कुनै प्रकारले क्षति भएको देखिन्छ । जसले कुखुरा पालन व्यवसायमा रोग नियन्त्रण, पूर्वाधारमा सुधार गर्नुपर्ने आवश्यकता देखाएको छ । 

००००

नेपालमा ठूला व्यवसायीदेखि साना किसानसम्मले लाभ लिन सक्ने व्यवसाय हो कुखुरापालन । बोइलर कुखुरा पालनको विस्तारकै कारण हिजोआज नेपालमा मासु सर्वसुलभ पनि भएको छ । 

नेपालीको आम्दानी बढ्दै गएकाले वर्षेनी कुखुरा पालन क्षेत्र फैलदै पनि गएको छ । नेपाल अहिले पनि मासु र अण्डा खपतमा धेरै कमजोर छ ।  

एक जना नेपालीले एक वर्षमा सरदरमा ६० वटासम्म अण्डा खाने गरेका छन् । जबकी अण्डा प्रोटिनको प्रमुख स्रोत हो । आहारसम्बन्धी एक मापदण्ड अनुसार एक जना वयस्क मान्छेले वर्षमा २०० वटासम्म अण्डा खानुपर्छ । 

अमेरिकन हार्ट एसोसिएसनले त दिनमा एउटा अण्डा खान सल्लाह दिएको छ । अण्डाको सर्वसुलभता र नेपालीको आम्दानी वृद्धि हुँदै जाँदा यसको खपत अवश्य नै बढ्दै जानेछ । 

त्यस्तै एक जना नेपालीले सरदरमा एक वर्षमा २१ किलो मात्र मासु खान्छन् । जसमा कुखुराको मासु त जम्मा ११ किलो मात्र खान्छन् । त्यसैले कुखुराको मासु खपत पनि अझै बढ्न सक्छ । कुखुरा पालन गर्नेहरु यो व्यवसायमा अथाह सम्भावना रहेको बताउँछन् । 

अहिलेसम्म कुखुरा पालन व्यवसायमा धेरै विविधता पनि छैन । यसको व्यवस्थित स्लटर हाउस र मासुका बहु उपयोगका विषयमा धेरै काम भएको छैन । अहिले फ्रोजन मिट, ससेज जस्ता उत्पादनहरु बढ्न सकेको छैन । 

तर अहिलेसम्म हेर्दा कुखुरापालन व्यवसायमा व्यवसायीहरु सर्भाइभ मात्र गर्न सकेको देखिन्छ । बेला बेलामा बर्ड फ्लुजस्ता महामारी नआउने हो भने यो क्षेत्रको अझै विस्तार हुन सक्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो