कांग्रेसमा कसले लेख्दैछ फुटको स्क्रिप्ट ?
कोठे बैठकहरुको छलफल र नेताहरुको मुड हेर्दा यस्तो लाग्छ, कांग्रेस फुटेको औपचारिक घोषणा मात्र बाँकी छ ।
निर्वाचन आयोगको रेकर्डदेखि संसदसम्म कांग्रेस एउटै छ । तर बाहिर हेर्ने हो भने कांग्रेस दुईवटा भइसक्यो ।
एउटा कार्यालय सानेपामा छ, अर्को कार्यालय चुनदेवीमा ।
अलग अलग बैठकहरु भइरहेका छन् । संस्थापक नेता वीपी कोइरालाको स्मृतिमा समेत अलग अलग कार्यक्रम भए ।
त्यसैले कांग्रेसजनमा एउटै प्रश्न छः अब कांग्रेस कसरी एउटै रहला ?
०००
कांग्रेस देशकै पुरानो लोकतान्त्रिक पार्टी ।
जतिबेला पार्टी जन्मियो, त्यतिबेलादेखि शासन सत्तासँग जति लड्यो, आफैभित्र पनि त्यति नै लड्दै आएको छ ।
२००३ सालमा भारतको बनारसमा अध्ययनरत नेपाली विद्यार्थीहरुले अखिल भारतीय नेपाली कांग्रेस स्थापना गरेदेखि नै विवाद थियो । अखिल भारतीय नेपाली कांग्रेस त्यही संस्था हो, जुन नेपाली राष्ट्रिय कांग्रेसमा रुपान्तरण भयो । त्यो बेला बीपी कोइराला र डिल्लीरमण रेग्मीबीच नेतृत्वको टकराब थियो ।
दुई नेताको झगडाले राष्ट्रिय कांग्रेसमा अटाउन नसकेका नेताहरु मिलेर नेपाल प्रजातन्त्र कांग्रेस स्थापना गरे । जसमा बिग फोर भनेर चिनिने सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर र महेन्द्र बिक्रम शाह थिए ।
२००६ सालमा एउटाले राष्ट्रिय अर्कोले प्रजातन्त्र शब्द छाड्ने सहमतिमा नेपाली कांग्रेसको औपचारिक स्थापना भयो । त्यही कांग्रेसले राणा शासनविरुद्धको आन्दोलनलाई सशक्त बनायो । १०४ वर्षे शासन अन्त्य भयो, देशमा प्रजातन्त्र स्थापना भयो ।
तर कांग्रेसको आन्तरिक कलह उस्तै रह्यो । २००९ सालमा बीपीले आफ्नै दाजु मातृका प्रसाद कोइरालालाई पार्टीबाट निष्कासन गरे । जवाफमा उनले भेला बोलाएर राष्ट्रिय प्रजा पार्टी बनाए । जब २०१२ सालमा सुवर्ण शम्शेर कांग्रेसको सभापति भए, तब मातृकाको दल कांग्रेसमा विलय भयो ।
२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेर दलविहीन पञ्चायती शासन सुरु गरेपछि कांग्रेस आन्दोलनमा त होमियो, तर बीपी र सुवर्ण शमशेरबीच शान्तिपूर्ण आन्दोलन कि सशस्त्र आन्दोलन भन्ने मतभेद देखियो ।
बीपीको निधनपछि कांग्रेसको नेतृत्वमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला आए ।
त्रिमूर्ति भनिने उनीहरुबीच पनि उत्तिकै विवाद रह्यो । दुई खेमाको शक्ति संघर्षका कारण २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले आफ्नो बहुमत भएको सरकार ढालेर मध्यावधि चुनाव घोषणा गरे । त्यो बेला पनि झण्डै पार्टी फुटेको थियो । कृष्णप्रसाद भट्टराईले व्यक्तिगत अपमान सहेर भएपनि फुट टारे ।
०५९ मा गिरिजाप्रसाद र शेरबहादुर देउवाको विवादले कांग्रेस फुट्यो । देउवाले आफ्नै नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन गरे । ५ वर्षपछि देउवाले त्यो दललाई कांग्रेसमा विलय गराए । तर कोइराला र देउवा समूहको नाममा घर झगडा भइरह्यो ।
अहिले गगन थापा र पूर्णबहादुर खड्का समूहको नाममा भइरहेको विवाद त्यसकै अर्को रुप हो ।
०००
अब अहिलेको झगडालाई अझ नजिकबाट बुझौं ।
कांग्रेसमा शेरबहादुर देउवा जसरी संस्थापनलाई च्यालेन्ज गरेर नेता भए, गगन थापा पनि त्यही बाटोबाट आएका हुन् । १४औं महाधिवेशनमा जब देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिए, गगन थापा अर्को समूहबाट महामन्त्री निर्वाचित भए ।
देउवासँग केन्द्रीय कमिटीको बहुमत थियो, गगनसँग कमिटी बाहिरको समर्थन । त्यसमाथि अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत साथ दिएपछि गगनले कहिले देउवासँग टकराए, कहिले सहमति खोज्न पुगे । एमालेसँग भएको आलोपालोको सहमति अनुसार देउवा प्रधानमन्त्री भएपछि कांग्रेसको १५औं महाधिवेशन हुन्छ भन्ने नेताहरुको अनुमान थियो ।
देउवा उत्तराधिकारीको खोजीमा थिए भने गगन–विश्वहरु नेतृत्वमा पुग्ने तयारीमा थिए । तर २०८२ भदौमा भएको जेनजी विद्रोहले नेपाली राजनीतिको नक्सा नै बदलिदियो । कांग्रेस र एमालेको गठबन्धन सरकार ढल्यो, सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अनि, ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव हुने भयो ।
त्यसपछि गगन थापा–विश्वप्रकाश शर्माहरुले पार्टी नेतृत्वमाथि हस्तक्षेप गर्ने रणनीति बनाए । देउवालाई नेतृत्व छाड्न दबाव दिए, र तत्काल महाधिवेशन माग गर्दै देशभर हस्ताक्षर अभियान चलाए । सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मा पनि दिएका हुन्, तर २०७८ मंसिरभित्र महाधिवेशन भएन ।
त्यसपछि गगन थापा र विश्वप्रकाशहरुले कांग्रेसको विधानले दिएको अधिकार प्रयोग गरेर ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको माग अनुसार विशेष महाधिवेशन बोलाए ।
२०८२ पुस अन्तिममा विशेष महाधिवेशन चलिरहँदा कांग्रेसले दुबै महामन्त्रीलाई पार्टीबाट निष्कासनको निर्णय समेत गर्यो, तर गगन विश्वहरु रोकिएनन् । विशेष महाधिवेशनले गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति रहेको नयाँ केन्द्रीय कार्यसमिति घोषणा गर्यो ।
एकातिर पार्टीबाट निष्कासन गर्ने निर्णय, अर्कोतिर विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको कार्यसमिति कुन आधिकारिक भन्ने विवाद निर्वाचन आयोग पुग्यो । आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दियो, विवाद सर्वोच्च अदालत पुग्यो ।
अदालतले पनि अन्तरिम आदेश नदिएपछि कांग्रेस सभापतिका रुपमा गगन थापाले सांसदको टिकट बाड्ने भए । थापाले शेरबहादुर देउवा, प्रकाशमान सिंह लगायतका केही नेतालाई गगनले टिकट दिएनन्, पूर्णबहादुर खड्का लगायतका केहीले गगनको टिकटमा चुनाव लड्न चाहेनन् ।
तर डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत लगायतका थुप्रै नेता गगन थापाले सभापतिका हैसियतमा हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवार बने ।
त्यसबेला लागेको थियो, कांग्रेस फुटबाट जोगियो । अहिले त सर्वोच्च अदालतले समेत गगन थापा नेतृत्वको कार्यसमितिलाई बैधानिकता दिइसक्यो । तर कांग्रेसमा एकता होइन, फुट निकै नजिक आएको देखिन्छ ।
नेताहरुका अनुसार यदि फागुन २१ को चुनावको नजिता यति प्रतिकुल नआएको भए शायद परिस्थिति अर्कै हुन्थ्यो होला ।
तर कांग्रेस ३८ सिटमा खुम्चियो भने सभापति गगन थापा आफैं चुनाव हार्न पुगे । त्यसपछि हिजो गगनकै हस्ताक्षरमा चुनाव लडेकाहरुले समेत उनलाई सभापति मान्दिन भन्न थाले । पूर्णबहादुर खड्काको नेतृत्वमा बैठकहरु हुन थाल्यो । त्यस्ता बैठकमा नेताहरुले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मिलाएर नयाँ कार्यसमिति बनाउनुपर्छ भन्ने थाले ।
सभापति गगन थापाले भने पार्टीको बैठक राखेर असोजमा १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका पास गराए । क्रियाशील सदस्यताको डिजिटल अभिलेखलाई अनिर्वाय बनाए । अनि, त्यसका लागि हरेक क्रियाशील सदस्य आफ्नो वार्डमा उपस्थित भएर सदस्यता अद्यावधिक गर्नुपर्ने भयो ।
यसले थप विवाद ल्यायो । पूर्णबहादुर खड्का कार्यबाहक सभापति भएकै बेला केही लाख क्रियाशील सदस्यता नवीकरण भइसकेको थियो, उनीहरु पनि डिजिटल अभिलेखीकरणमा जानुपर्ने व्यवस्थाको नेताहरुले विरोध गरे । कांग्रेसले वडामा उपस्थित हुनुपर्ने शर्त हटायो, मोबाइलबाट फोन गरेर आफ्नो अभिलेख राखिदिन अनुरोध गर्दा पनि हुने बनायो ।
तर सहमति जुटेन । किनकी विवाद जुगाँको लडाइ जस्तो भइसकेको थियो । पूर्ण बहादुर खड्काको नेतृत्वमा भेला बैठक गर्दै हिँडेका नेताहरु सभापति गगन थापालाई झुक्न बाध्य पारेको सन्देश दिन चाहन्थे । गगन पनि अरु सबथोक मान्न तयार देखिए, तर आत्मसमर्पण गरेको सन्देश जाने गरी कुनै पनि सहमति नगर्ने अडानमा रहे ।
यो बीचमा नेताहरुबीच अनेक प्रस्ताव आदान प्रदान पनि नभएका होइनन्, तर सहमति जुटेको छैन । बरु साउन ६ गते वीपी स्मृति दिवसका दिन अलग अलग कार्यक्रम भएको छ, यसले कांग्रेसमा फुटका लागि तयार भएको प्लटलाई संस्थागत गर्नेछ ।
०००
राजनीति हो, ठूलठूला निर्णयहरु पनि बदलिन सक्छ । त्यसमाथि पार्टी फुट्छ कि एक रहन्छ भन्ने प्रश्न अहम भएको बेला कुनै पनि निर्णय बदलिन सक्छ । कांग्रेसमा फुट टर्न पनि सक्छ ।
तर अहिलेसम्मका गतिविधि हेर्दा दुबै पक्षले एकता–एकता भने पनि तयारी चाहिँ फुटकै गरेका छन् ।
सुरुमा पूर्णबहादुर खड्का पक्षको कुरा गरौं ।
यो मुख्य त हिजोको देउवा समूह नै हो । लामो समय देउवा समूहमा रहेका पुष्षा भुसाल, उदयशम्शेर राणा, फरमुल्लाह मन्सुर लगायतका नेताहरु विशेष महाधिवेशनकै बेलामा गगन थापातिर लागेका छन् । पछिल्लो समय महेन्द्र यादव लगायतका केही नेता पनि गगन थापातिरै आएका छन् ।
तर विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, विजयकुमार गच्छदार, डिना उपाध्याय, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद, उमाकान्त चौधरी, मोहन बस्नेत, वीरबहादुर बलायर, मीन विश्वकर्मा लगायतका नेताहरुको ठूलो पंक्ति अहिले पनि एकै ठाउँमा छ ।
अनि शशांक कोइराला पनि यहीँ थपिएका छन् । डा. शेखर कोइराला आफैं खड्का समूहतिर नजिक छन्, तर उनको समूहका धेरै नेताहरु गगन थापाको पक्षमा खुलेका छन् ।
यसरी हेर्दा हिजोको देउवा समूह, जसको नेतृत्व आजका दिनमा पूर्णबहादुर खड्काले गरिरहेका छन्, यो समूह बलियो नै छ ।
यो समूहमा भएका नेताहरुमध्ये पूर्णबहादुर खड्कासँगै डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला कांग्रेसको सभापति बन्ने आकांक्षा राख्छन् । सिटौलाले १३ औं तथा कोइराला, निधि र सिंहले १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा पनि गरेका हुन् ।
आजको दिनमा उनीहरुको दुःख के हो भने कांग्रेसभित्र आफ्नै समूह बनाएर गगन थापासँग प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसैले उनीहरु एकठाउँमा उभिएका छन् । ताकि कांग्रेसको मूल नेतृत्वसँग सामूहिक सौदाबाजी गर्न सकियोस् । अनि, १५औं महाधिवेशनमा त्यही समूहबाट उम्मेदवार हुन पाइयो भने सभापति हुन सकिन्छ कि भन्ने आश छ ।
आजको दिनमा पूर्णबहादुर खड्काको पनि लोभ त्यही हो । डा. शेखर कोइरालाको लोभ पनि त्यही हो ।
अब कांग्रेस सभापति गगन थापाको कुरा गरौं ।
विशेष महाधिवेशनको बलमा पार्टीको नेतृत्वमा त पुगे, तर पार्टी संगठन आफ्नो भइसकेको छैन । प्रदेश र जिल्लाको नेतृत्व मात्र होइन, वडा तहसम्मै गुटगत प्रभाव छ ।
यदि पूर्णबहादुर खड्का समूहले माग गरेको जस्तो ६०/४० वा कुनै प्रकारको सामूहिक सौदाबाजी गर्ने हो भने नैतिक मात्र होइन, गणितीय रुपमा पनि समस्या हुनसक्छ ।
गगनका लागि नैतिक संकट यो हुनेछ कि यदि फेरि पनि भागवण्डाकै राजनीति गर्ने हो भने कांग्रेस कसरी फेरियो ? कसरी नयाँ भयो ? भनेर पार्टीभित्र र बाहिर प्रश्न उठ्नसक्छ ।
गणितको समस्या त यो भन्दा अझ चर्को पर्नसक्छ । बाहिरबाट हेर्दा आजको दिनमा कांग्रेसमा गगन थापाको विकल्प छैन । तर नेता छान्ने त महाधिवेशन प्रतिनिधिहरुले हो, जो क्रियाशील सदस्यहरुबाट चुनिन्छन् । यदि पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइरालाहरु सबै एक ठाउँ आउने हो भने तलैबाट बलियो गुट बन्छ । जसले १५ औं महाधिवेशनबाट सभापति दोहोरिन चाहेका गगनलाई राम्रै चुनौती हुनेछ ।
उनी सभापति भइहाल्दा पनि पार्टीको संरचना प्रतिकुल बन्नसक्छ । फेरि पार्टी पुरानै अवस्थामा फर्किनसक्छ । त्यसैले सभापति गगन थापा प्रष्ट छन्, दाग नलागेका नेतारुका लागि ढोका खुला राख्छु, तर सामूहिक सौदाबाजी चाँहि कुनै हालतमा गर्ने छैन ।
अब तपाईले भन्नुहोला, दुबै पक्षको ध्यान कांग्रेसको सभापति कसरी बन्ने भन्ने रहेछ, कसरी कांग्रेस फुट्छ त ?
यसको उत्तर खोज्न नजिकिँदो महाधिवेशन तालिकालाई हेरे पुग्छ । कांग्रेसले निर्णय गरिसकेको छ कि पार्टीको १५औं महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म गर्ने । वडा अधिवेशन त भदौ २ गते नै छ । त्यसपछि नगर, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन हुन्छ ।
र, यो अधिवेशनमा उनीहरुले मात्र भाग लिन पाउँछन्, जसले क्रियाशील सदस्यता डिटिजल रुपमा अध्यावधिक गरेका छन् ।
क्रियाशील सदस्य छानबिन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार क्रियाशील सदस्य वितरण तथा अध्यावधिकको अन्तिम म्याद साउन ६ गते राति १२ बजेसम्म छ । त्यसपछि कति अध्यावधिक भयो ? कति छुट्यो भनेर यकिन संख्या नै भन्न सकिन्छ ।
प्रतिशतमा भन्दा ८७ प्रतिशत अध्यावधिक भएको छ । कतिले पार्टी छाडेका छन्, त्यसैले अध्यावधिक हुने कुरै भएन । कतिपयको मृत्यु भयो, त्यसैले शतप्रतिशत अध्यावधिक हुने कुरै भएन ।
सबभन्दा महत्वपूर्ण कुरा, पूर्णबहादुर खड्का नेतृत्वमा बैठक भेला गरिरहेका नेताहरुले पनि क्रियाशील सदस्यता अध्यावधिक गरेका छैनन् ।
वडा अधिवेशन सुरु हुनु अगाडि नै नेतृत्व तहमा नयाँ सहमति भएन भने नेताहरुको यो पंक्ति महाधिवेशन प्रक्रियाबाटै बाहिर हुन्छन् । यस्तो अवस्था आउनु अगाडि नै नयाँ पार्टी बनाउने नेताहरुको तयारी छ ।
नेताहरुको बुझाइमा यसरी अलग पार्टी बनाउँदा अरु केही नभएपनि कांग्रेसको मूल नेतृत्वलाई अठ्यारो पार्नेछ । पार्टी फुटेको अवस्थामा आसन्न स्थानीय तह र प्रदेशको निर्वाचनमा प्रतिस्पर्धा गर्न गाह्रो हुनेछ ।
त्यो सम्भावित संकट टार्न पनि गगन थापाहरुले पार्टी एकताको प्रयास गर्नेछन् । त्यो बेलामा जसरी ०६४ सालमा देउवाले ४० प्रतिशत हिस्सा लिएर गिरिजाप्रसाद कोइरालासँग एकता गरेका थिए, त्यसरी सम्मानजनक हिस्सा लिन सकिन्छ भन्ने नेताहरुको बुझाइ छ । त्यसैले खड्का समूहका नेताहरुले सहमति र अलग पार्टी बनाउने गृहकार्य सँगसँगै गरेका छन् ।
सभापति गगन थापाले पनि पार्टी फुट्नसक्छ भन्ने राम्ररी बुझेका छन् । तर पछिल्लो दिनमा उनलाई के लाग्न थालेको छ भने सबैथोक त्यागेर एकता गर्नुभन्दा फुुट स्वीकार गर्न सहज ।
किनकी पछिल्लो ८/९ वर्षमा देउवा नेतृत्वको कांग्रेसले सरकार र सत्ताका लागि जस्तो राजनीति गर्यो, त्यसले कांग्रेसप्रति नागरिकमा नराम्रो इमेज बनेको छ । गगन त्यो इमेज इरेज गर्न चाहन्छन् । त्यसका लागि उनीसँग एउटै विकल्प थियो, देउवाको पालामा हालीमुहाली गरेका नेताहरुको एउटा पंक्तिलाई विधिसम्मत रुपमा पार्टीको भूमिकाबाट अलग गर्ने ।
खड्का समूह कांग्रेसबाट आफैं अलग भए कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडायो भने झै हुनेछ । पार्टी फुट्दा क्षति हुन्छ नै, तर पार्टीलाई नयाँ कांग्रेसका रुपमा ब्राण्डिङ गर्न सक्छु र नयाँ पुस्तालाई समेत आकर्षित गर्नसक्छु भन्ने आत्मविश्वासले काम गरेको हुन सक्छ ।
उनको एउटै चासो छ, असन्तुष्ट समूहले खोल्ने पार्टीको नेतृत्व कोइराला परिवारका कुनै पनि सदस्यले नगरुन् । किनकी कांग्रेसका पुराना कार्यकर्ता मात्र होइन, समर्थक शुभेच्छुकहरुमा पनि कोइराला परिवारप्रति सन्देह छ । यदि शशांक वा शेखर कोइरालाले नै नयाँ पार्टीको नेतृत्व गरे भने त्यसले कांग्रेसलाई क्षति हुनसक्छ ।
०००
कांग्रेसको इतिहास हेर्ने हो भने फुटेर पनि जोडिएको छ । अझ धेरै पटक फुट्यो, फुट्यो भन्ने अवस्था आएर पनि रोकिएको छ । कांग्रेस फेरि एक पटक फुटको संघारमा छ । एउटा बाटो सम्झौता हो, अर्को विभाजन । कांग्रेस जुन बाटोमा हिँडेपनि त्यसले कांग्रेसको मात्र होइन, नेपालकै राजनीतिलाई समेत प्रत्यक्ष प्रभाव पार्न छ ।
अबको केही साताले यसको उत्तर दिनेछ ।
लोकसेवा पढिरहेका ५ लाख विद्यार्थीको सातो उडाउने सरकारी निर्णय
बालेन र स्वर्णिमबीच किन बढ्यो टकराब ?
स्वर्णिमले मानेका थिएनन्, बालेनले हटाइदिए शिक्षा र स्वास्थ्यको कर
जनकपुर चुरोट र याक ब्राण्ड हडप्ने प्रपञ्च




-1784381446.png)


