नेभिगेशन
एक्सप्लेनर भिडियो
काठमाडौंको मास्टरप्लान

गौशालामा सुरुङ, महाराजगञ्जमा अन्डरपास, विष्णुमतीमा फ्लाइओभर

चाबहिल–गौशाला दुईतले सुरुङमार्ग । 

महाराजगञ्ज चोकमा अन्डरपास । 

चाबहिल–जोरपाटीमा एलिभेटेड हाइवे । 

विष्णुमती नदी किनारमा फ्लाइओभर । 

त्रिपुरेश्वर–थापाथली–माइतीघर फ्लाइओभर । 

थापाथली–त्रिपुरेश्वर नयाँ नदी करिडोर । 

काठमाडौं उपत्यकाको यातायात प्रणाली सुधार गर्न प्रस्ताव गरिएका आयोजना हुन् यी । यो प्रस्ताव नेपाल सरकारले गरेको होइन, जापानी सहयोग नियोग जाइकाले गरेको हो ।

जाइकाले बनाएको काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टरप्लानको प्रारम्भिक मस्यौदामा यीसहित अरु पनि आयोजनाहरु प्रस्ताव गरिएका छन् । यो मास्टर प्लान जाइकाले छिट्टै फाइनल गरेर सरकारलाई दिनेछ ।

जाइकाले प्रारम्भिक रिपोर्टमै १३ वटा ठूला र महत्वपूर्ण सडक पूर्वाधार आयोजनाहरु किटेरै सडक पूर्वाधारतर्फ गर्नुपर्ने काम प्रस्ताव गरेको छ ।  यी आयोजनाहरु बनाउन सरकारले करिब २ खर्ब खर्च गनुपर्ने हुन्छ । 

यी गेम चेन्जर भनिएका आयोजना बनाउन जाइकाले भविष्यमा सरकारलाई सहुलियतपूर्ण ऋण पनि दिनसक्छ । 

बितेको तीन दशकमा जसरी काठमाडौं उपत्यकामा मान्छे र उनीहरुले चढ्ने सवारीको चाप बढ्यो, त्यस अनुपातमा सडक पूर्वाधारहरु बनेनन् । ठूला र समयबद्ध सार्वजनिक यातायातको अभावले सवारी व्यवस्थापनमा झन् चुनौती थप्यो । यही कारण अहिले जताततै जामको समस्या छ । 

कतिपय सडकहरु विस्तार भएपनि ठाउँ–ठाउँमा बोटल नेक छ, जहाँ सवारीहरु रोकिनै पर्छ । अधिक सवारी गुड्ने चोकहरुमा आधुनिक ग्रेड–सेपरेटेड स्ट्रक्चरहरु अन्डरपास वा फ्लाइओभर छैनन् ।

काठमाडौंको यही बढ्दो सवारी व्यवस्थापनको समस्यालाई  काम गर्न जाइकाले एउटा मास्टर प्लान बनाउँदैछ, काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टरप्लान । 

यो मास्टर प्लानको प्रारम्भिक मस्यौदामा उपत्यकाभित्र सुरुङमार्गसहित फ्लाइओभर अन्डरपास, नयाँ पुल र करिडोर सुधार जस्ता १३ वटा गेमचेन्जर प्रोजेक्टहरु प्रस्ताव गरिएका छन् । 

दुई तले सुरुङमार्ग

प्रस्तावितमध्ये सबैभन्दा महत्वपूर्ण पूर्वाधार हो, चाबहिल–गौशाला दुई तले सुरुङमार्ग । 

गौशाला–चाबहिल खण्ड काठमाडौं उपत्यकाको सबैभन्दा व्यस्त मध्ये एक संवेदनशील सडक क्षेत्र मानिन्छ । 

यो सडकले चक्रपथलाई जोड्ने मात्र नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ मन्दिर, बौद्ध, जोरपाटी, सिन्धुपाल्चोक क्षेत्रसहित अरनिको र बिपी राजमार्गबाट आउजाउ यात्रीहरुलाई समेत सेवा दिन्छ ।

यहाँ दिनभरि नै गाडीहरुको लामो लाइन हुन्छ । पशुपतिनाथमा महाशिवरात्री, तीज, वा अन्य पर्वहरु हुँदा यो सडक पूर्ण रूपमा ठप्प हुन्छ । सडक चौडा गरौं भने एकातिर युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्र  छ भने अर्कोतिर पुराना ऐतिहासिक बस्तीहरु छन् ।

जाइकाले यसको सोलुसन दिएको छ, दुई तले सुरुङमार्ग । यसअनुसार जमिनमा हालको सडक जस्ताको तस्तै रहनेछ । त्यसको मुनि टनेल बोरिङ मेसिन प्रविधि प्रयोग गरी दुई तलाको भूमिगत सुरुङ खनिनेछ ।

माथिल्लो तह दक्षिण अर्थात् गौशालाबाट उत्तर अर्थात् चाबहिल/बौद्धतर्फ जाने सवारीका लागि बन्ने छ । तल्लो तह उत्तर अर्थात चाबहिलबाट दक्षिण गौशाला, विमानस्थल, रिंगरोडतर्फ जाने सवारीका लागि हुनेछ । 

प्रस्तावअनुसार दुवै तहमा ६.५ मिटरका दुई–दुई लेनका मार्ग हुनेछ । यो निमर्ण गर्न करिब करिब ६५ अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान छ । प्रस्ताव अनुसार १ हजार ५६३ मिटर लामो र १५.५ मिटर चौडा सुरुङमार्ग बन्नेछ । 

यसको निर्माण सुरु गर्नुअघि पशुपतिनाथको पूरातात्विक संरचनालाई कुनै असर नपरोस् भन्नका लागि सम्पदा प्रभाव मूल्यांकन गरिनेछ । किनकी यो युनेस्कको वर्ल्ड हेरिटेज साइट हो । 

यो सुरुङमार्ग भनेपछि पशुपतिनाथ क्षेत्रमा सडकले कुनै असर पर्ने छैन । यहाँको पुरातात्विक स्वरुप र सम्पदामा अलिकति पनि क्षति नपुर्‍याई चक्रपथको यो खण्ड बोटल नेक खुल्नेछ । रिङरोडमा कुद्ने लामा दूरीका गाडी र स्थानीय गाडीहरु छुट्टिनेछन् । स्थानीय यातायात माथिल्लो सडकबाट र सिधै पार हुने गाडीहरु मुनिको सुरुङमार्गबाट तीव्र गतिमा गुड्नेछन् ।

महाराजगञ्ज चोकमा अन्डरपास 

महाराजगन्ज चोक उपत्यकाको उत्तरी नाका टोखा, बुढानीलकण्ठ, नुवाकोट र चक्रपथको संगमस्थल हो । यो चोक नजिकै त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं मोडेल हस्पिटल, गंगालाल अस्पताल, न्युरो अस्पताल, कान्ति बाल अस्पताल जस्ता देशकै मुख्य स्वास्थ्य संस्थाहरु छन् ।  

सरकारले अहिले चीनको सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरण कलंकी–बालाजु–बसुन्धरा खण्डसम्म मात्रै चक्रपथ ८ लेनमा विस्तार गर्दैछ । 

तर, महाराजगञ्ज चोकमा जग्गा अधिग्रहण र मुआब्जा वितरणमा विवाद भएपछि महाराजगञ्ज चोक सुधारको काम नै हुन पाएन । 

अब यहाँ सडकमै ‘ग्रेड सेपरेसन’ गरिनेछ । चक्रपको बालाजुबाट आएर सोझै चक्रपथ भएर चाबहिलतर्फ जाने सवारी साधनहरु ३०९ मिटर लामो अन्डरपासभित्र छिरेर सोझै पार हुनेछन् । यहाँ चार लेनको अन्डरपास बन्नेछ । 

जसरी अहिले कलंकीमा चक्रपथमा चल्ने सवारी चोकमा रोकिनु पर्दैन, ठ्याक्कै त्यस्तै । महाराजगन्ज चोकबाट बाँसबारी/लाजिम्पाटतर्फ जाने र आउने सवारी साधनहरु अन्डरपासको माथिल्लो सतहको चोक प्रयोग गरेर विना अवरोध गुड्नेछन् ।

यसो गर्दा मुआब्जाको दीर्घकालीन विवादलाई बाइपास गर्दै सीमित भूभागभित्रै महाराजगन्ज चोकको जाम शून्यमा झार्नेछ । अनि शिक्षण अस्पताल र कान्ति बाल अस्पताल आउने–जानेहरु जाममा अड्किनुपर्ने बाध्यताको अन्त्य हुनेछ । करिब ४ अर्ब ८० करोड रुपैयाँमा यो परियोजना तयार हुनेछ । 

एलिभेटेड हाइवे

प्रस्तावित तेस्रो पूर्वाधार हो, चाबहिल–नाराणटार एलिभेटेड हाइवे अर्थात् फ्लाइओभर । 

चाबहिलदेखि जोरपाटी, साँखु र सुन्दरीजल जाने सडकखण्ड अत्यन्तै साँघुरो र घनावस्तीले घेरिएको छ । यो सडकमा अर्को विश्व सम्पदा स्थल ‘बौद्ध स्तुप’ छ । 

चाबहिल चोकबाट अघि बढेपछि बौद्ध, चुच्चेपाटी र जोरपाटी क्षेत्रमा दैनिक हजारौं गाडी र पैदलयात्रीको भीड हुन्छ । यहाँ करिब २४ अर्ब ५० करोड रुपैयाँ खर्चिएर चाबहिल चोकदेखि नारायाण्टारको बाग्मती पुलसम्म ३.४ किलोमिटरको एलिभेटेड हाइवे बनाउन प्रस्ताव गरिएको छ । 

यस्तो हाइवे कसरी बन्छ ? हालको सडककोमा बलिया पिलरहरु ठड्याएर त्यसमाथि ४ लेनको भायडक्ट अर्थात् फ्लाइओभर सडक बनाइनेछ । बौद्ध स्तुपाको धार्मिक र सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै निर्माणअघि नै सम्पदा प्रभाव मूल्यांकन गरिनेछ र कम भाइब्रेसन हुने आधुनिक प्रविधि प्रयोग गर्न प्रस्ताव गरिएको छ । 

यसले जोरपाटी, साँखु, र गोकर्णेश्वर क्षेत्रबाट काठमाडौँ सहरतर्फ आउने–जाने यात्रुहरुले तलको लोकल जाममा नबसी माथिल्लो आकाशे सडकबाट केही मिनेटमै चाबहिल पार गर्न सक्नेछन् । बौद्ध क्षेत्रको धार्मिक पर्यटनलाई सडकको धुवाँ–धुलो र जामबाट मुक्त बनाउन मद्दत पुग्नेछ ।

माइतीघरमा फ्लाइओभर

जाइकाले प्रस्ताव गरेको चौंथो ठूलो पूर्वाधार हो, त्रिपुरेश्वर–थापाथली–माइतीघर फ्लाइओभर । 

माइतीघर मण्डल, थापाथली र त्रिपुरेश्वर यी तीनवटा चोकहरुलाई काठमाडौं उपत्यकाको यातायातको मुटु नै मानिन्छ । 

यहाँको जामले पुरै शहर नै प्रभावित बनाउँछ । माइतीघर सिंहदरबार, सर्वोच्च अदालत, बानेश्वर र ललितपुर जोड्ने मुख्य विन्दु हो । थापाथली काठमाडौं र ललितपुर जोड्ने त्रिपुरेश्वर भएर आउने सवारी व्यवस्थापन गर्ने चोक हो । त्रिपुरेश्वर चाहिँ कलंकी, बल्खु, र न्युरोनसहित भित्री शहर जोड्ने संगमस्थल हो । 

विहान बेलुका कार्यालय लाग्ने र छुट्ने समयमा तीनवटै चोकमा गाडीहरुको लामो लाइन हुन्छ । अब यो समस्या हल गर्न करिब १३.१ अर्ब नेपाली रुपैयाँ खर्चिएर १ हजार ४२२ मिटर लामो फ्लाइओभर बनाउन जाइकाको प्रस्ताव छ । प्रस्ताव अनुसार ललितपुरबाट आउने बानेश्वर र कलंकीतर्फ जाने गाडीहरु त्रिपुरेश्वर–माइतीघरको मुख्य चोकमा नरोकिई माथिबाटै गन्तव्यतर्फ लाग्नेछन् ।  

यसका लागि वरपर घरजग्गा समेत अधिग्रहण गर्नुपर्ने जाइकाको निष्कर्ष छ । यसअनुसार त्रिपुरेश्वरदेखि थापाथली हुँदै माइतीघरसम्म हालको सडकमाथि ठूला पिलर हालेर फ्लाइओभर निर्माण गरिनेछ । 

भविष्यमा काठमाडौंमा बन्ने मेट्रो वा मोनोरेलका पूर्वाधारलाई पनि असर नपर्ने गरी डिजाइन गर्नुपर्ने जाइकाको सुझाव छ । 

विष्णुमती किनारमा फ्लाइओभर 

काठमाडौंको पश्चिम–दक्षिण खण्ड बालाजु, शोभाभगवती, डल्लु, कालिमाटी, टेकू भएर विष्णुमती नदी बग्छ । यी क्षेत्र काठमाडौंको सबैभन्दा पुराना र बाक्लो बस्ती भएको क्षेत्रमध्ये पर्छ । यहाँका भित्री सडकहरु अत्यन्तै साँघुरा छन् र सोह्रखुट्टे, कालिमाटी र कुलेश्वरमा सधैँ गाडीहरुको चाप हुन्छ ।

यो समस्या कम गर्न विष्णुमती नदीको माथि वा किनारै–किनार एलिभेटेड हाइवे बनाउन जाइकाले तीनवटा विकल्प प्रस्ताव गरेको छ । फ्लाइओभरको ३ प्रकारका स्ट्रकचरअनुसार कम्तीमा ४२ देखि ७० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । 

यो फ्लाइओभर बन्यो भने नयाँ बसपार्क र बालाजुबाट निस्किएर काठमाडौंको दक्षिणी भाग कुलेश्वर, बल्खु, दक्षिणकाली वा हेटौंडातर्फ जाने लामो दूरीका सवारी साधनहरु सहरका भित्री सडकमा नछिरी विष्णुमती नदीमाथिको हाइ–वेबाटै सीधै बाहिरिन सक्नेछन् ।

गौशाला–तीनकुने आठ लेन सडक

गौशालादेखि एयरपोर्ट हुँदै तीनकुनेसम्मको सडक हाल २ लेनको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यही खण्डमा पर्छ । 

विमानस्थल छिर्ने र निस्कने क्रममा विदेशी कूटनीतिज्ञ, पर्यटक र सर्वसाधारणले जाको सामस्ती झेल्नुपर्छ । विमानस्थलको गेट अगाडि दायाँ मोडिन खोज्दा पछाडिका सयौं गाडीहरु रोकिनुपर्छ, जसले सिंगो चक्रपथको यो खण्डलाई अस्तव्यस्त बनाउँछ । यही समस्या समाधान गर्न करिब ५ अर्ब ७ करोड नेपाली रुपैयाँ खर्चिएर गौशाला तीनकुने खण्ड ८ लेनमा विस्तार गर्न प्रस्ताव गरिएको छ । 

मुख्य चार लेनसहित बन्ने यो सडक फराकिलो भएमा नेपाल प्रवेश गर्ने बित्तिकै विदेशी पर्यटकले एयरपोर्ट अगाडि भव्य सडक देख्नेछन् । एयरपोर्ट जानेहरु जाममा बस्नुपर्ने बाध्यता पनि कम हुनेछ । 

त्रिपुरेश्वरमा नदी करिडोर

थापाथलीबाट त्रिपुरेश्वर जाने मुख्य सडकमा काठमाडौं र ललितपुर जोड्ने मुख्य पुल छ । यहाँ थापाथली अस्पताल अर्थात् प्रसूति गृह पनि छ । यो मुख्य सडकमा सधैँ सवारी साधनको अत्यधिक दबाब रहन्छ ।

अब करिब २ अर्ब लागतमा जग्गा अधिग्रहणमा समेत गरेर थापाथली–त्रिपुरेश्वर नदी करिडोर खोल्न प्रस्ताव गरिएको छ । एसियाली विकास बैंक एडीबीको सहयोगमा पश्चिमतर्फ बन्दै गरेको पानी प्रशोधन केन्द्र र बाग्मती नदीको पूर्वतर्फ रहेको सरकारी जग्गा समेत प्रयोग गरेर यो पूर्वाधार बन्ने छ । 

हाल ३.५ मिटर चौडा निर्माणाधीन सडकलाई थप विस्तार गरी पैदल मार्गसहित करिडोर बनाउन प्रस्ताव गरिएको छ । यो करिडोरलाई जोड्न बिचमा एउटा नयाँ पुल निर्माण गरिनेछ । थापाथली पुलमुनिको भाग भौगोलिक रुपमा साँघुरो भएकाले यो वैकल्पिक मार्गमा ठूला बस वा ट्रक चल्न पाउने छैनन् । कार, मोटरसाइकल र साना गाडी मात्र चल्न दिने गरी यो करिडोर प्रस्ताव गरिएको हो । 

यसले त्रिपुरेश्वर थापाथली–माइतीघर सडक प्रयोग नगरी साना गाडीहरु नदी किनारै–कनार बाइपास भएर आवतजावत गर्न सक्नेछन् ।

बागमती करिडोर स्तरीकरण

अहिले बाग्मती नदीका दुवै किनारमा करिडोर सडकहरु प्रयोगमा छन् । तर, कतिपय ठाउँमा सडक कच्ची छ, जहाँ हिउँदमा धुलो र वर्षामा हिलो हुन्छ । खाल्डो र धुलोका कारण सवारीहरु मुख्य सडकमै जान बाध्य हुन्छन् ।

करिब ६ करोड ५० लाख लागतमा यी सडकहरु कालोपत्रेसहित स्तरीकरण गर्न जाइकाको प्रस्ताव छ । यसले कम लागतमै ठूलो प्रतिफल दिनेछ । 

करिडोर सडकहरु पूर्ण क्षमतामा सञ्चालनमा आउँदा मुख्य सडकको १० देखि १५ प्रतिशत ट्राफिक स्वतः नदी किनारतर्फ डाइभर्ट हुनसक्ने अनुमान छ । 

यूएनपार्कमा पुल 

ललितपुरको यूएनपार्क र काठमाडौंको बुद्धनगर जोड्ने पुल क्षेत्रमा कार्यालय समयमा निकै जाम हुन्छ । हाल त्यहाँ २ लेनको एउटा मात्र पुल छ । ललितपुरबाट काठमाडौं आउने र काठमाडौंबाट ललितपुर जाने गाडीहरु एउटै पुलमा गुड्नुपर्दा दुवैतर्फ गाडीको लाइन लाग्छ । अब करिब १४ करोड नेपाली रुपैयाँ  लागतमा अर्को नयाँ  ७५.५ मिटरको एक लेनको पुल बनाउन प्रस्ताव गरिएको छ । 

हालको २ लेनको पुरानो पुललाई केवल काठमाडौंबाट ललितपुरतर्फ जाने गाडीका लागि मात्र प्रयोग गर्न सुझाव दिइएको छ । यसले पुलको मुखमा गाडीहरु रोकिनुपर्ने अवस्था अन्त्य हुनेछ । 

दुवैतर्फका गाडीहरु आ–आफ्नो पुलबाट नरोकिई निरन्तर गुड्न पाउनेछन् ।

विष्णुमती, धोबीखोला, कर्मनशा र ग्वार्को पुल

प्रस्तावित अरु ४ परियोजना हुन्, विष्णुमती, धोबीखोला, कर्मनशा र ग्वार्को पुल । 

काठमाडौं उपत्यकामा सडकहरु ४ लेन वा ६ लेनका बनाइएका छन्, तर ती सडकमा पर्ने पुराना पुलहरु भने २ लेनका मात्रै छाडिएका छन् । यसले गर्दा फराकिलो सडकबाट एक्कासी साँघुरो सडमा पुग्दा जाम लाग्ने समस्या भइरहेको छ । जाइकाले त्यस्ता ४ मुख्य स्थानमा नयाँ आधुनिक पुल बनाउने प्रस्ताव गरेको छ । 

प्रस्तावित पहिलो पुल हो, गोंगबु बसपार्क नजिकै विष्णुमती पुल । 

हाल चक्रपथमा नयाँबजार र बालाजुचोक जोड्ने गरी विष्णुमती नदीमाथिको पुल बोटल नेक भएकाले अर्को पुल प्रस्ताव गरिएको हो । 

करिब २० करोड लागतको यो पुलले चक्रपथतर्फ आउजाउ गर्ने सडक र बालाजु चोकको जाम घट्नेछ । यो पुल ८८ मिटर लामा हुनेछ । 

प्रस्तावित अर्को पुल हो, चाबहिल धोबीखोला पुल । 

चाबहिलबाट कपन र धुम्बाराहीतर्फ जाने बाटोमा धोबीखोलाको पुल साँघुरो भएकाले पिक आवरमा ठूलो जाम हुन्छ । प्रस्तावअनुसार धोबीखोलामा हालको पुलको क्षमता विस्तार गर्दै नयाँ आधुनिक पुल थपिनेछ करिब ४२ करोडमा बन्ने यो पुलले चाबहिल–धुम्बाराहरी र कपन जाने यात्रुहरुले पुलको मुखमा जाम झेल्नुपर्ने छैन ।

अर्को पुल हो, सातदोबाटो–गोदावरी खण्डमा कर्मनासा खोला पुल । 

सातदोबाटोदेखि ढोलाहिटी–गोदावरी जाने सडक ४ लेनको छ । तर कर्मनासा खोलाको पुल २ लेनको मात्र छ । पैदलयात्रीका लागि फुटपाथ नै छैन । 

अब ५४.६ मिटर लामो नयाँ पुल बनाउन जाइकाको प्रस्ताव छ । फुटपाथसहितको यो पुलका लागि करिब १० करोड खर्च हुनेछ । यसले कर्मनासाको बोटलनेक हट्नेछ । हरिसिद्धि, ढोलाहिटि र गोदावरीका बासिन्दालाई राहत मिल्नेछ ।

अर्को प्रस्तावित पुल हो, ग्वार्को ओभरपासनजिक खोलाको पुल । 

ग्वार्कोमा भर्खरै फ्लाइओभर बनेको छ । तर नजिकैको खोलामा सडक ४ लेन भए पनि पुल २ लेनको मात्र छ ।    यहाँ २५.२ मिटर लामो नयाँ आधुनिक पुल निर्माण गर्न प्रस्ताव गरिएको छ । करिब ५ करोड लागतमा यो पुल बनेपछि फ्लाइओभर क्रस गरेर गएका सवारी पुलको जाममा बस्नुपर्ने छैन । 

यो रिपोर्टमा जाइकले निर्माण अघि बढाउने अध्ययन वा निर्णय भइसकेका सातदोबाटो, एकान्तकुना र कोटेश्वर र माछापोखरी चोकको ओभरपास र अण्डरपासको परियोजना समेटेको छैन । ती बाहेक अब प्राथमिकता दिएर निर्माण गर्नुपर्ने सडक पूर्वाधारहरु समेटेको छ । 

जाइकाले यसपटक यो मास्टरप्लानलाई मन्त्रिपरिषदबाट स्वीकृत गरेर कार्यान्वयनमा लैजाने सुनिश्चितता मागिरहेको छ । जाइकाले काठमाडौंको यातायात प्रणालीबारे पटक–पटक मास्टर प्लान दिएपनि सरकारले एकीृत रुपमा त्यसको कार्यान्वयन गरेको थिएन । यसपटक जाइका सरकारलाई मास्टर प्लानअनुसार यी परियोजनाहरु बनाउने ग्यारेन्टी मागेको छ । 

कति सम्भव ? 

तर, यी परियोजनाहरु सम्पन्न गर्न कम्ता चुनौती छैनन् । सबैभन्दा ठूलो च्यालेन्ज त जग्गा अधिग्रहणमै हो । उपत्यकामा जग्गाको मूल्य उच्च छ ।  स्थानीयले कम मूल्यको मुआब्जा चित्त बुझाउँदैनन् । स्थानीय घरधनीहरुसँग मुआब्जाको दररेट नमिल्दा आयोजनाहरु अल्झिने खतरा रहन्छ ।

अनि अर्को च्यालेन्ज सम्पदा सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड फलो गर्नु पनि हो । यी आयोजनाहरु प्रस्ताव गरिएका पशुपतिनाथ र बौद्ध स्तुप जस्ता क्षेत्र विश्व सम्पदा हुन् । 

चाबहिल–गौशाला सुरुङमार्ग खन्दा वा चाबहिल–जोरपाटी एलिभेटेड हाइवे बनाउँदा युनेस्कोको पूर्वस्वीकृति र कडा अर्तसहित सम्पदा प्रभाव मूल्यांकन चाहिन्छ । यदि निर्माणका क्रममा प्राचीन वस्तुहरु भेटिए वा वातावरणीय असर देखियो भने युनेस्कोले काम नै रोक्न समेत सक्छ ।

अर्को चुनौती भनेको वित्तीय व्यवस्थापनको हो । जाइकाले अहिले १ खर्ब ८८ अर्ब रुपैयाँका यी परियोजनाहरु नेपाल सरकारको आफ्नै बजेटबाट खर्च गर्न असम्भव छ । यसका लागि जाइकावा अरु अन्तर्राष्ट्रिय निकायबाट ऋण लिनुपर्छ । 

यसै पनि ऋण बढेर चिन्तित भएको जनमानसनलाई सरकारले थप्ने यस्ता ऋणले अझै चिन्तामा पार्नेछ । अहिन यस्ता आयोजनाहरु बनाउन अन्तर–निकाय समन्वयको अभावले समेत उत्तिकै समस्या र्पान सक्छ । 

नेपालमा अहिले पनि एउटा निकायले सडक बनाउँछ, लगत्तै खानेपानी, ढल, विद्युत् प्राधिकरण वा टेलिकमले सडक खन्छन् ।

सुरुङमार्ग र एलिभेटेड हाइवे जस्ता जटिल इन्जिनियरिङ आयोजनामा खानेपानीका ठूला पाइप, विद्युत्का अन्डरग्राउन्ड केबल तथा पोल र ढलका लाइनहरु व्यवस्थापन गर्नु ठूलो टाउको दुखाइ हुनेछ ।

समग्रमा भन्दा जापानी सहयोग नियोग (जाइका) र पूर्वाधार विकास मन्त्रालयले अघि सारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टरप्लान’सडक फराकिलो बनाउने परम्परागत सोचभन्दा धेरै माथि छ ।

यसले काठमाडौंको भौगोलिक, सामाजिक र सांस्कृतिक सीमाहरुलाई स्वीकार गर्दै आधुनिक इन्जिनियरिङ प्रविधिको व्यावहारिक प्रयोगको प्रस्ताव गरेको छ । यदि यो मास्टरप्लान कागजमा मात्र सीमित नभएर द्रुत गतिमा कार्यान्वयन भयो भने काठमाडौमा जामको समस्या धेरै हदसम्म कम हुनेछ । 

यसले काठमाडौंको प्रदूषण घट्ने छ । यहाँको वातावरण र जनस्वास्थ्यमा सुधार आउनेछ । काठमाडौँलाई बस्नयोग्य, आधुनिक र जीवन्त सहर बनाउने दिशामा यी परियोजनाहरु माइलस्टोन साबित हुन सक्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो