नेभिगेशन
एक्सप्लेनर भिडियो

हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?

कल्पना गर्नुस् त, चितवन घुम्न जाँदा एउटा पनि हात्ती देखिएन, हात्ती सफारी बन्द भयो, हात्ती महोत्सव हुन छाड्यो भने के हुन्छ ? 

सौराहाको पर्यटन यस्तै रहला ? 

हामीले यो प्रश्न यत्तिकै उठाएको होइन । सर्वोच्च अदालतको एउटा फैसलाले यतिबेला यस्तै प्रश्न जन्माएको छ । 

हिजोआज तपाई सौराहा बजारमै हात्ती हिँडिरहेको देख्नुहुन्छ । हात्ती चढेर जंगल सफारीमा जान पाइन्छ । अनि हात्ती प्रजनन केन्द्रमा हात्ती हेर्ने, हात्तीलाई पैसा चढाउने र पूजा गर्नेहरुको उत्तिकै भीड लाग्छ । 

तर हात्तीको संरक्षणको मुद्दामा अदालतले गरेको फैसलाले पर्यटन व्यवसायी अन्योलमा देखिन्छन् । उनीहरुको मनमा प्रश्नैप्रश्न छ, के अब निजी हात्ती पाल्न पाइँदैन ? अनि जंगलमा हात्ती सफारी गर्न पाइँदैन ? त्यसो भए व्यवसाय कसरी टिकाउने ? 

हात्ती सबैभन्दा ठूलो जंगली जनावर हो । तर मानिसले तालिम दिएर यसलाई आफ्नो नियन्त्रणमा पनि राख्न सक्छ । आफूले भनेको काम लगाउन सक्छ र हात्तीलाई प्रयोग गरेर पैसा पनि कमाउन सक्नुहुन्छ । 

यसको राम्रो उदाहरण चितवनमा देख्न सक्नुहुन्छ । 

जहाँ हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्ज घुम्न पाइन्छ । 

हात्ती हेर्नका लागि हजारौं स्वदेशी र विदेशी पर्यटकहरु पुग्छन् । 

हात्ती महोत्सव नै गरेर हात्तीलाई विभिन्न खेल खेलाइन्छ । 

नेपालमा हात्तीहरु दुई अवस्थामा छन् । जंगली हात्ती र घरपालुवा हात्ती । चितवन, बर्दिया, पर्सा, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु आसपासका वन क्षेत्रमा जंगली हात्ती छन् । 

हात्ती प्राकृतिक वासस्थानमा स्वतन्त्र रुपले विचरण गर्ने जनावर हो । तर लामो समयदेखि वन व्यवस्थापन, निकुञ्ज संरक्षण, धार्मिक तथा पर्यटन प्रयोजनका लागि घरमा पनि घरपालुवा जनावरका रुपमा पनि हात्ती राख्ने गरिएको थियो । 

नेपालमा जंगली हात्ती २३० वटा छ । सरकारी स्वामित्वमा १०० वटा हाराहारी छ भने व्यक्तिको स्वामित्वमा ६९ वटा हात्ती रहेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जले २०४२ सालदेखि हात्ती पालिरहेको छ भने सर्वसाधारणले त त्यो भन्दा अगाडिदेखि नै पाल्दै आएका थिए । 

सरकारी स्वामित्वमा रहेका हात्तीहरु प्रजनन तथा वंश संरक्षण, उद्धार तथा दैवी प्रकोप व्यवस्थापन, गैडा, बाघ जस्ता जंगली जनावरहरुको अनुसन्धान तथा अनुगमन, गणना आदि काममा प्रयोग गरिन्छ । 

निजी हात्ती चाहिँ पर्यटकीय सफारी, स्थानीय आयआर्जन, हात्ती महोत्सव, हात्तीमैत्री पदयात्रा, आदि गतिविधिमा प्रयोग गरिएको छ । 

चितवनमा ठूला ठूला होटल चलाउनेहरुले नै हात्ती पालेका छन् । 

किनकी चितवन राष्ट्रिय निकुञ्ज घुम्ने दुईवटा उपाय छन् । एउटा, जीप सफारी, अर्को हात्ती सफारी । किनकी पैदल हिँडेर निकुञ्ज घुम्दा जंगली जनावरले आक्रमण गर्ने डर हुन्छ ।

अनि वर्षायाममा निकुञ्जभित्र जीप सफारी पनि गर्न सकिँदैन । त्यसैले वर्षायाममा निकुञ्ज घुम्ने पर्यटकका लागि एकमात्र विकल्प भनेको हात्ती सफारी हो । 

हात्तीमा जाँदा बाघ, गैंडा जस्ता अरु जनावरले आक्रमण गर्ने डर पनि हुन्न । 

चितवनका धेरै होटलहरुले हात्ती सफारीबाट राम्रो आम्दानी गरिरहेका छन् । तर सर्वोच्च अदालतको फैसलाले यसमा प्रश्न उठेको छ ।

संकटापन्न एसियाली हात्ती

विश्वमा दुर्लभ, लोपोन्मुख र संकटमा रहेका जनावरहरुको संरक्षणका लागि एउटा संयुक्त राष्ट्रसंघीय महासन्धि छ । 

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धी १९७३ जसलाई छोटकरीमा साइटिस महासन्धि पनि भनिन्छ । 

यही महासन्धिको उच्च संरक्षणको सूचीमा रहेको अति संकटापन्न एवं संरक्षित वन्यजन्तुको सूचीमा नेपालमा पाइने हात्तीको प्रजाति अर्थात् एसियाली हात्ती पनि पर्छ । 

यो महासन्धि नेपालमा आफ्नै कानुन सरह लागू हुन्छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा एसियाली हात्तीलाई संरक्षित वन्जयन्तुका रुपमा राखिएको छ । 

त्यसैले नेपालमा हात्तीको किनबेचमा पूर्ण प्रतिबन्ध लगाइएको छ । 

अनि हात्ती मार्ने, घाइते बनाउने वा आखेटोपहार ओसारपसार गर्ने कार्य गर्ने कसुरदारलाई ५ लाखदेखि १ लाखसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने कठोर कानुनी व्यवस्था छ । 

यही कानुनी व्यवस्थामा टेकेर २०७८ सालमा सर्वोच्च अदालतमा एउटा मुद्दा पर्‍यो । 

नेपालमा पाइने एसियाली हात्ती, जुन संकटापन्न जनावर हो । यसलाई बाँधेर राख्ने, अंकुश लगाउने, पिट्ने, पर्यटक चढाउनेजस्ता काम गर्न पाइँदैन । तर त्यस्ता गतिविधि भइरहेको छ, यसलाई तत्कालै रोक्न आदेश दिनू भन्दै अदालतमा मुद्दा पर्‍यो । जनहित संरक्षण मञ्च, डिफेन्डर्स अफ नेचर्स लगायतका विभिन्न संस्थामा रहेका कानुन व्यवसायीले यो मुद्दा दायर गरेका थिए । 

यो मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरु हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले २०८२ पुस २ गते एउटा फैसला सुनायो, जसको पूर्ण पाठ केही हप्ता अगाडि मात्र सार्वजनिक भएको छ । 

यसको पूर्णपाठ आएपछि पर्यटन व्यवसायी र अन्योलमा परेका छन् । के अब हात्ती सफारी गर्न पाइँदैन ? अनि हात्तीलाई बाँधेर पाल्न पाइँदैन ? त्यसो भए हात्ती किन पाल्ने त ? भन्ने उनीहरुको प्रश्न छ । 

हात्तीका विषयमा सर्वोच्च अदालतले मुख्य चार कुरा भनेको छ । 

पहिलो, हात्तीलाई यातना दिन मिल्दैन ।

घरपालुवा हात्तीलाई सानै उमेरदेखि नियन्त्रणमा राख्न र मान्छेको आदेश पालना गर्न बाध्य बनाउन कठोर अभ्यासहरु गराइन्छ । यस्ता गतिविधिले हात्तीको शारीरिक तथा मानसिक कल्याणमा प्रतिकुल असर पर्छ । 

प्रशिक्षण दिने क्रममा सानो उमेरका हात्तीलाई आमाबाट अलग गर्ने, लामो समयसम्म चेन वा साङ्लोमा बाँधेर राख्ने, स्वतन्त्र हिँडडुल गर्न नदिने, प्राकृतिक व्यवहार गर्न नदिने गरिन्छ । माउतेहरुले आफ्नो आदेश पालना गराउन अंकुश, फलामे रड वा अन्य उपकरणले हात्तीलाई घोच्ने, हिर्काउने, पीडा दिने गर्छन् । 

दोस्रो, हात्ती मान्छे बोक्न बनेको जनावर होइन । 

सर्वोच्चले हात्तीमाथि चढ्नु पनि हात्ती कल्याणको दृष्टिले उपयुक्त छैन भनेको छ । हात्तीको मेरुदण्ड, खुट्टा र शरीरको बनावट मान्छे बोक्नका लागि बनेको हुँदैन । हात्तीहरुलाई लामो समयसम्म भारी बोकाउने, निरन्तर घुमाइरहने, उसको विश्राम, आहार–पानी जस्ता कुरालाई बेवास्ता गर्दा हात्तीलाई तनाव हुने, जोर्नी सम्बन्धी समस्या, छाला तथा खुट्टासम्बन्धी रोग देखिन सक्छ । 

त्यसैले हात्तीलाई लामो समय चेनमा बाँध्ने, तिखो अंकुश प्रयोग गर्ने वा शारीरिक दण्ड दिने अभ्यास हटाउनुपर्छ । 

तेस्रो, हात्तीलाई शारीरिक काम नलगाउने अन्तर्राष्ट्रिय अभ्यास सुरु भइसक्यो ।

सर्वोच्चले आफ्नौ फैसलामा थाइल्याण्ड लगायतका देशको उदाहरण दिएको छ । थाइल्याण्डले विगतमा हात्तीलाई व्यवसायिक मनोरञ्जन, सर्कस, हात्ती सफारी वा भारी बोकाउने जस्ता काममा लगाउँथ्यो । 

तर अहिले हात्तीलाई साङ्लोमा बाँध्ने, मान्छेको भौतिक स्पर्श जस्तै हात्ती चढ्ने, हात्तीलाई नुहाइदिने जस्ता कामलाई निषेध गरेको छ । बरु हात्ती अवलोकन मात्र गर्ने, हात्तीसँगै हिँड्ने जस्ता मोडल अपनाउन थालेको छ । 

त्यस्तै म्यानमारमा लामो समयसम्म हात्तीहरु काठ उद्योगमा प्रयोग गरिए । हिजोआज भने वृद्ध, घाइते वा काम गर्न नसक्ने हात्तीलाई संरक्षण गर्ने र प्राकृतिक वातावरणमा छाड्ने गरिएको छ ।

यस्ता उदाहरण दिएर सर्वोच्चले भनेको छ, ‘नेपालमा पनि हात्ती सफारी र क्रुर बन्धन प्रणालीलाई विस्थापित गरी नैतिक र पर्यावरणमैत्री मोडलतर्फ रुपान्तरण गर्न अपरिहार्य छ ।’ 

हात्तीलाई चेनमा बाँधेर राख्ने, यातना दिएर तालिम गराउने, शारीरिक काम लगाउने जस्ता काम विस्तारै घट्दै गएको छ । बरु हात्तीमैत्री पदयात्रा अर्थात् एलिफन्ट वाकिङ, बुस वाकिङ सकारात्मक प्रशिक्षण अर्थात् पोजिटिभ रेनफोर्समेन्ट, पशु चिकित्सकीय हेरचाह, पर्याप्त आहारा, स्वतन्त्र हिँडडुल तथा समूहमा बस्न दिने अभ्यास अन्तर्राष्ट्रिय रुपमा विकास हुँदै  गएको छ । 

सर्वोच्चले नेपालमा पनि हात्तीमाथि भइरहेको व्यवहार परिवर्तन आवश्यक रहेको उल्लेख गरेको छ । 

फैसलामा भनिएको छ, ‘हात्ती केवल मानवीय मनोरञ्जन, श्रम वा व्यवसायिक उपयोगको साधन मात्र नभई उच्च वौद्धिक चेतना भएको एक संवेदनशील जीवित प्राणी भएकाले पर्यटन वा अन्य जुनसुकै प्रयोजनमा प्रयोग गर्दा समेत उसको प्राकृतिक व्यवहार, सामाजिक आवश्यकता र सम्मानजनक अस्तित्वलाई केन्द्रमा राख्नुपर्छ ।’ 

चौथो, हात्तीलाई प्राकृतिक बासस्थानमा फर्काऊ ।

सर्वोच्चले हात्तीलाई चेनमा बाँधेर नराख्न र प्राकृतिक वातावरणमा फर्काउन समेत आदेश दिएको छ । तर यो काम तत्कालै सम्भव नहुन सक्छ, भन्दै क्रमशः गर्दै जान सरकारलाई आदेश दिएको छ । 

वैज्ञानिक अध्ययन, अन्तर्राष्ट्रिय असल अभ्यास तथा नेपालको भौगोलिक एवं व्यवस्थापकीय यथार्थ समेत विचार गरेर क्रमिक रुपमा सुधार्दै लैजान भनेको छ । 

सर्वोच्चको फैसलामा भनिएको छ, ‘घरपालुवा तथा जंगली हात्तीको समग्र व्यवस्थापन प्रणालीलाई पूर्ण रुपमा चेन फ्री बनाउने वा परम्परागत अभ्यासहरुमा सुधार गर्ने विषय पूर्वाधार जनशक्ति आर्थिक स्रोत र सुरक्षाजस्ता प्राविधिक एवं नीतिगत जटिलतासँग जोडिने हुँदा विशेषज्ञ निकायले वैज्ञानिक अध्ययन र राष्ट्रिय यथार्थलाई दृष्टिगत गरी क्रमिक रुपमा सुधारका कार्यक्रमहरु लागू गर्नु न्यायसँगत र व्यवहारिक हुने देखिन्छ ।’ 

सर्वोच्चले माहुतेहरुलाई हात्तीमैत्री व्यवहार सिकाउन र बिरामी तथा वृद्ध हात्तीको उचित उपचार र संरक्षण सुनिश्चित गर्न हात्ती अवकाश तथा पुनर्स्थापना केन्द्र स्थापना गर्न सरकारलाई आदेश दिएको छ । 

घरपालुवा तथा निजी हात्तीलाई चेन फ्रि गर्दा जंगली र घरपालुवा हात्तीबीच द्वन्द्व हुन सक्ने भन्दै त्यस्ता हात्ती राख्ने खुला तथा प्राकृतिक वातावरण उपलब्ध गराउन आदेश दिएको छ । पर्यटकलाई हात्ती अवलोकन गर्न मात्र दिने अर्थात् अब्जर्भेसन ओन्ली नीति लागू गर्न र निश्चित दूरीबाट सुरक्षित रुपमा हात्ती हेर्न पाउने व्यवस्था गर्न पनि आदेश दिएको छ । 

कति सम्भव छ कार्यान्वयन ? 

सर्वोच्च अदालतको फैसलामा चित्त नबुझे पुनरावेदनमा जानुपर्छ, नभए कार्यान्वयन गर्नुपर्छ । अहिलेसम्म सरकार पुनरावेदनमा गएको छैन, तर कार्यान्वयन गर्न पनि सहज देखिएको छ ।

चितवनमा निजी हात्ती पालिरहेका व्यवसायी ऋषि तिवारी हात्तीविना चितवनको पर्यटन कल्पना पनि गर्न नसकिने बताउँछन् । अहिले पनि चितवन आउने धेरै पर्यटक हात्ती चढेर निकुञ्ज सफारी गर्न चाहन्छ । विशेष गरी चिनियाँ पर्यटकको औधी रुची हात्ती चढ्नमा हुन्छ ।

कोरोना महामारी अगाडिसम्म चितवनमा होटल व्यवसायीले मात्र ७० वटा हात्ती पाल्थे । कोरोना महामारीका बेला पाल्न गाह्रो भएको र त्यसपछि सर्वोच्चमा मुद्दा परेका कारण धेरैले हात्ती पाल्न छाडे । हात्ती नेपालमा बेच्न पाउने कानुन नभएकाले भारत लगेर समेत बेचे ।

अहिले पनि अहिले चितवनका होटल व्यवसायीले ३० वटा हात्ती पालेका छन् । होटल व्यवसायीबाहेक अन्य संस्थासँग २० वटा हात्ती छ ।

एउटा हात्ती पाल्न महिनामा एक लाख रुपैयाँ भन्दा धेरै खर्च हुन्छ । यदि पर्यटकीय गतिविधि गर्न नपाउने हो भने हात्ती पाल्दैनन् । हात्ती नहुने हो भने सौराहाको पर्यटन व्यवसायमा ठूलो धक्का लाग्छ ।

व्यवसायी तिवारी प्रश्न गर्छन् ‘हात्ती राइड गर्न नपाउने, बाँध्न पनि नहुने हो भने दर्ता गरेर कर तिरेर किन बस्ने ?’ 

चितवनमा हरेक वर्ष डिसेम्बर २६ मा हात्ती महोत्सवको कार्यक्रम आयोजना हुन्छ । अंग्रेजी नयाँ वर्षका बेला गरिने हात्ती महोत्सवले धेरै विदेशी पर्यटकलाई आकर्षित गर्छ । पहिले पहिले हात्ती महोत्सवमा हात्ती फुटबल, हात्ती पोलो, हात्ती रेस लगायतका प्रतियोगिताहरु पनि हुन्थ्यो । 

प्रतियोगिताहरु हात्तीमैत्री नभएको भनेर विरोध भएपछि अहिले हात्ती सुन्दरी प्रतियोगिता अर्थात् हात्ती ब्यूटी कन्टेस्ट र हात्तीको पिकनिक मात्र हुन्छ ।

हात्तीको पिकनिकमा हात्तीलाई भेली–सख्खर, स्याउ सुन्तला र उसिनेको चामल खुवाउने गरिन्छ । 

हात्ती पाल्नेहरुले चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका सामुदायिक वनहरुलाई कर पनि बुझाउने गरेका छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार सर्वोच्चको फैसला अनुसार तत्कालै हात्तीलाई चेन फ्रि गर्न र पर्यटकीय गतिविधिबाट मुक्त गर्न सहज छैन । उनका अनुसार व्यवसायीहरुले हात्ती नपाल्ने मात्र होइन, चितवन राष्ट्रिय निकुञ्जले हात्तीमार्फत निकुञ्जभित्र गर्दै आइरहेको खोज तथा उद्दारका काम पनि प्रभावित हुन्छ ।

हात्ती सफारीविनाको पर्यटन

कल्पना गर्नुस्, तपाईं सौराहा घुम्न जानुभयो । त्यहाँ हात्ती सफारी गर्न पाइँदैन । अहिले हात्ती प्रजनन केन्द्रमा झैं हात्तीलाई छुन पाउनुहुन्न । परबाट हेर्नुपर्छ, तपाईंलाई कस्तो लाग्छ ? 

एकातिर हात्ती संरक्षण गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुन छ, अर्कोतिर हात्तीको प्रयोगमा परम्परादेखि चल्दै आएको हाम्रो आफ्नै अभ्यास छ । अब कानुन र परम्परा बाझिदा कानुन लागू हुने अवस्था छ । सर्वोच्चले तत्कालै हात्तीलाई चेन फ्रि गर्नु र पर्यटकीय गतिविधिमा नलगाउनू भनेको छैन, तर त्यसको तयारी गरिहाल्नू भनेको छ । यसको मतलब अबका केही वर्षमा नेपालमा हात्तीलाई चेन लगाउन र हात्ती सफारी जस्ता शारीरिक काममा प्रयोग गर्न पाइने छैन । 

हात्ती बचाउने कि पर्यटन ? यसको जवाफ सरल छैन । 

वास्तविक चुनौती भनेकै दुबैलाई सँगसँगै जोगाउनुमा छ । सर्वोच्च अदालतले एउटा दिशा देखाएको छ । अब त्यो दिशामा सरकार, व्यवसायी र संरक्षणकर्मी कसरी अगाडि बढ्छन् भन्ने कुराले चितवनको पर्यटनको भविष्य तय गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो