नेभिगेशन
एक्सप्लेनर भिडियो

निम्स दाइ : एक अदभूत र साहसी आरोही

सन् १९८३ मा म्याग्दी जिल्लाको दाना गाउँको एउटा सामान्य परिवारमा जन्मिएका थिए, निर्मल पुर्जा । 

उनका बुबा भारतीय सेनाको गोर्खा रेजिमेन्ट थिए । परिवार चितवन आयो, निर्मल पनि चितवनमै हुर्किए । 

निर्मलको पहिलो सपना हिमाल थिएन, उनको पहिलो सपना थियो, सैनिक । 

उनी बेलायत पुगे । ब्रिटिस सेनामा भर्ना भए । 

उनी यतिमै रोकिएनन् । स्पेशल बोट सर्भिस, जसलाई छोटकरीमा एसबीएस भनिन्छ । उनलाई आफ्नै कमाण्डरले स्पेशल फोर्समा जान सक्दैन भनेका थिए । तर जिद्दी स्वभावका उनले त्यसलाई पोजेटिभ इगोमा बदले र एसबीएसमा आवद्ध हुने पहिलो नेपाली बन्न सफल भए ।

स्पेसल फोर्समा आवद्ध भएकै बेला डिसेम्बर २०१२ मा एभरेष्ट बेस क्याम्पको ट्रेकमा गए । तर एक्कासी लोबुचे हिमाल आरोहण गरे । ६ हजार ११९ मिटर अग्लो हिमाल आरोहणसँगै उनलाई पर्वतारोहणको हुटहुटी बढ्यो ।

निर्मल पुर्जाले सन् २०१४ मा पहिलो पटक ८ हजार मिटर भन्दा अग्लो पहिलो हिमाल आरोहण गरे । त्यो ८ हजार १६७ मिटर अग्लो धौलागिरी हिमाल थियो । त्यसको दुई वर्षपछि सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने निर्णय गरे, पहिलो प्रयासमै शिखरमा पुगे । 

८ हजार ८४८ मिटर अग्लो चुचुरोमा उभिँदा उनले आफ्नो वास्तविक उद्देश्य भेटेको महसुस गरे । आफ्नो गन्तव्य अर्कै भएको देख्न थाले । उनलाई लाग्न थाल्यो, मैले सैनिकभन्दा हिमालमा ठूलो योगदान गर्न सक्छु । 

त्यही बेला २०१७ मा उनले गोर्खा भर्तीको २०० वर्ष पुगेको अवसरमा १३ सैनिक आवद्ध गोर्खा एक्सिपिडिसनको नेतृत्व गर्ने अवसर पाए । त्यसक्रममा डेथ जोनमा ज्यान जोखिममा राख्दै भारतीय महिलाको उद्दार गरे । महारानी एलिजाबेथ द्धितीयबाट बेलायतको प्रतिष्ठित अवार्ड मेम्बर अफ द अर्डर अफ दि ब्रिटिस इम्पायर पाए । त्यसपछि उनको नाम थपियो, निर्मल पुर्जा एमबीआई । 

निर्मल पुर्जालाई हिमालले यति तानिसकेको थियो कि ‘नेपालीहरु केबल अरुको सपना पुरा गरिदने मानिस होइन, आफैं इतिहास बनाउन सक्छौं’ भन्ने सन्देश विश्वलाई दिन चाहन्थे । जागिरमा बसेर त्यो सम्भव थिएन । 

त्यसैले २०१८ मा एसबीएसबाटै राजीनामा दिए । धेरैले उनको यो निर्णयलाई पागलपनको संज्ञा दिए । मासिक तलब नै ६ लाखभन्दा बढी थियो । सेवा अवधि १० वर्ष बाँकी थियो । धेरैले स्पेशल फोर्समा जाने विकल्प समेत छाडेर किन हिमालतिर लाग्न लागेको होला भन्ने ठाने । 

तर निर्मल पुर्जाले यो हतारमा गरेको निर्णय थिएन । सोची सम्झि निर्णय लिएका थिए । 

त्यही निर्णयबाट जन्मियो, प्रोजेक्ट पोसिबल । 

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण, त्यो पनि केबल ७ महिनामा । 

८ हजार मिटर अग्ला सबै हिमाल चढ्ने पहिलो व्यक्ति इटलीका रेनाल्ड मेसनर हुन् । अक्सिजन विना आरोहणमा निस्किएका उनले १६ वर्ष लगाएर १९८६ मा यो अभियान पुरा गरेका थिए । अर्को वर्ष पोल्याण्डका जर्जी

कुकुज्काले ७ वर्ष ११ महिना १४ दिनमा पुरा गरेर नयाँ रेकर्ड बनाए । 

२०१३ मा दक्षिण कोरियाका किम चाङ हो ले ७ वर्ष १० महिना ६ दिनमै ८ हजार मिटर अग्ला सबै हिमाल चढेको रेकर्ड बनाएका थिए । 

अरुले झण्डै ८ वर्षमा चढेको हिमाल ७ महिनामा चढ्न आफैंमा सहज थिएन । आर्थिक रुपमा समेत निकै खर्चिलो थियो । करिव १० करोड लाग्ने अनुमान थियो । तर निर्मल पुर्जाले त्यही जोखिम उठाउने साहस गरे । 

अन्नपूर्णबाट सुरु 

२०१९ अप्रिल । 

करिव एक वर्षको तयारीपछि प्रोजेक्ट पोशिबल  सुरु भयो । पहिलो गन्तव्य–अन्नपूर्ण । 

यो त्यही हिमाल हो, जसलाई विश्वको ८ हजार मिटरका हिमालमध्ये सबैभन्दा खतरनाक मानिन्छ । 

हिमपहिरो । बरफ भासिने जोखिम । मौसमको अनिश्चिता । एउटा गल्ती भयो भने जीवन नै सकिन सक्छ । 

२३ अप्रिल २०१९ मा निर्मल पुर्जा र उनको टिम अन्नपूर्णको चुचुरोमा उभिए । प्रोजेक्ट पोसिबलको सफलतापूर्वक सुरुवात भयो । 

तर यो त केबल पहिलो पाइला थियो ।  १३ वटा हिमाल बाँकी नै थिए । 

तर, निर्मल पुर्जा सामान्य गतिमा थिएनन् । अझ भनौं, अकल्पनीय गतिमा थिए । त्यसैले विश्वलाई नै चकित बनाउने एकपछि अर्को खबरहरु दिइरहे । 

अन्नपूर्णपछि धौलागिरी, त्यसपछि कञ्चनजंगा अनि, सर्वोच्च शिखर सगरमाथा । 

मे २०१९ मा जतिबेला निर्मल पुर्जा सगरमाथाको शिखर नजिक पुगेका थिए । आरोहीहरुको लाइन थियो । निर्मल पुर्जाले एउटा तस्वीर खिचे । साथरमाथामा ट्राफिक जामको त्यो तस्वीरले संसारको ध्यान तान्यो । 

सांसरभर सगरमाथामा लागेको भीडबारे बहस भयो । निर्मल पुर्जा भने सगरमाथाको सफल आरोहण गरेर लोत्से पुगे । त्यसपछि मकालुको शिखर चढे । 

जम्मा ३२ दिनमा ८ हजार मिटर अग्ला ६ वटा हिमालको सफल आरोहण गरे । अझ अचम्मको कुरा त के भने २२ मेमा उनले एकै दिन सगरमाथा र ल्होत्से दुबै हिमालको चुचुरोमा पाइला टेके । त्यसको दुई दिनपछि मकालु पनि आरोहण गरे । विश्व पर्वतारोहण इतिहासमा यस्तो गति यसअघि कसैले देखेको थिएन । 

नेपालका हिमालहरुलाई त जिते, तर ८ हजार मिटर अग्ला १४ मध्ये पाँच वटा पाकिस्तनमा छन् । 

नाङ्गा पर्वत, ग्यासरब्रुम १, ग्यासरब्रुम २, ब्रड पिक र के टू । 

यसमध्ये पनि के टू लाई त सबभन्दा खतरनाक र आरोहणका लागि सबभन्दा कठिन हिमाल मानिन्छ । करिव ८ हजार २०० मिटर उचाईमा रहेको बोटलनेक । जहाँ माथिबाट झुण्डिएको विशाल बरफ कुनै पनि बेला खस्न सक्छ । र, त्यही बाटो भएर मात्र शिखरमा पुग्न सकिन्छ ।

निर्मल पुर्जाको टिमले ३ जुलाईमा नाङ्गा पर्वतको सफल आरोहण गर्‍यो । त्यसपछि ग्यासरब्रुम १ र ग्यासरब्रुम २ । त्यसपछि पालो आयो, के टू । 

खराब मौसमका कारण बाटो बनाउने काम नै रोकिएको थियो । बेस क्याम्पमा निराशा थियो । धेरै टोली के टूको आरोहण छाड्ने तयारीमा थिए । तर निर्मल पुर्जाले फरक निर्णय लिए । आफ्नै डोरी फिक्स गर्दै अगाडि बढे । २४ जुलाईमा के टूको चुचुरोमा पाइला टेक्न सफल भए । 

यो एउटा हिमालको आरोहण थिएन । यो त प्रोजेक्ट पोसिबलकै ठूलो सफलता थियो । त्यसको दुई दिनपछि ब्रड पिकको शिखरमा पुगेपछि ८ हजार मिटरभन्दा अग्ला ११ वटा हिमालको आरोहण पुरा भयो । 

अब बाँकी थिए त केबल ३ हिमाल,  

चो ओयू, मनास्लु र सीसापाङ्‍मा । 

यदि सबथोक योजनाअनुसार भयो भने विश्व कीर्तिमान केही सातामा बन्ने वाला थियो । किनकी उनले चो यू र मनास्लु पनि चढिसकेका थिए । अनि, शीशापाङ्मा ८ हजार मिटरको सबभन्दा होचो हिमाल थियो ।

तर त्यही बेला एउटा समस्या आयो । शीशापाङ्मा हिमाल तिब्बत क्षेत्रमा पर्छ । चीन सरकारले २०१९ को सिजनका लागि विदेशी पर्वतारोहण टोलीका लागि शीशापाङ्मा बन्द गरिदियो । अब निर्मल पुर्जासामू दुई विकल्प थिए, अभियान रोक्ने वा प्रतिक्षा गर्ने ।

जुन विकल्प रोजेपनि मिसन पोसिबल फेल हुने बेला थियो । त्यसैले निर्मल पुर्जा र उनको टोलीले आरोहण अनुमति लिन पहल गर्‍यो । अरुले पनि आवाज उठाए । त्यही बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आएका थिए । नेपाल सरकारले पहल गरेपछि चीनले स्पेशल परमिट दियो । 

अनि २९ अक्टोबरको विहान निर्मल पुर्जाले शीशापाङ्माको शिखरमा पाइला टेक्दा विश्व पर्वतारोहणमा नयाँ रेकर्ड बन्यो । केबल ६ महिना ६ दिनमा संसारका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण ।

प्रोजेक्ट पोसिबलपछि निर्मल पुर्जा नेपालका मात्र होइन, विश्वकै चर्चित पर्वतारोही बने । उनको यात्रामाथि नेटफिक्सले फोर्टिन पिक्सः नथिङ इज इम्पसिबल नामको डकुमेन्ट्री बनायो । आजको दिनमा यो डकुमेन्ट्री नेटफिक्सकै इतिहासमा धेरै हेरिएका सामाग्रीमध्ये एक बनेको छ। फोटिन पिक्स, नथिङ इम्पोसिबल । 

पर्वतारोहण उद्यमी 

पछिल्ला वर्षहरुमा निर्मल पुर्जा विश्व कीर्तिमानी पर्वतारोही मात्र रहेनन्, पर्वतारोहण उद्योगका प्रभावशाली उद्यमी पनि हुन् । उनले मिङ्मा डेभिड शेर्पा र तेजन गुरुङसँग मिलेर एलिट एक्सपेड सञ्चालनमा ल्याएका छन्, जसले महँगा हिमाली अभियानहरु चलाउँछ । 

यसले उनलाई विवादमा समेत तान्यो । भयो के भने एलिट एक्सपेडले कपनमा घर भाडामा लिएर अफिस राखेको थियो । त्यहाँ आरोहणका लागि चाहिने सामानहरुसँगै अक्सिजन समेत भण्डारण गरिएको थियो । २०२२ मा अक्सिजन सिलिण्डर विस्फोट भएर ठूलो अगजनी भयो । तीन जनाको ज्यान गयो । क्षतिपूर्तिको विषय अदालतसम्म पुग्यो । अदालतले १ करोड २३ लाख क्षतिपूर्ति तिर्न आदेश दियो । 

२०२४ मा उनी अर्को विवादमा परे । न्यूयोर्क टाइम्सले एउटा रिपोर्ट प्रकाशित गर्‍यो, जसमा दुई महिलाले आफ्नो नाम सहित पुर्जामाथि यौन दुव्यर्वहार र अनिच्छित यौन व्यवहारको आरोप लगाए । यद्यपि पुर्जाका वकिलले अरोपहरु झुटा भएको र संगठित रुपमा बद्नाम गर्ने प्रयास भएको बताए ।

त्यही बेला बेलायतको नागरिकता लिइसकेको अवस्थामा नेपाली पासपोर्ट प्रयोग गरेको विषय पनि उठ्यो । पुर्जाले २०१२ मै बेलायतको नागरिकता लिएका थिए । तर २०१६ मा नेपाली पासपोर्ट प्रयोग गरेको भनेर समाचारहरु आए । तर यो विषय पनि यतिकै हरायो ।  

निम्सदाइले बदलेको आरोहीको परिचय 

हिमालमा धेरै रेकर्डहरु बन्छन् । एक दिन भत्किछ पनि । 

भोलि कसैले निर्मल पुर्जाको ६ महिना ६ दिनको रेकर्ड पनि तोड्ला । तर एउटा कुरा शायदै मेटिने छ । त्यो हो, निर्मल पुर्जाले बदलिदिएको नेपाली पर्वतारोहीहरुलाई हेर्ने संसारको दृष्टिकोण । 

हो, सागरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेक्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शर्पा हुन् । सबभन्दा धेरै पटक आरोहण गर्ने कामिरिता शेर्पा हुन् । 

तर दशकौंसम्म नेपालीहरुलाई हिमाल चढाउने सहयोगीका रुपमा मात्र हेरियो । निर्मल पुर्जापछि नेपालीहरु विश्व कीर्तिमान बनाउने, अभियानको नेतृत्व गर्ने र विश्वलाई चुनौती दिनेहरुका रुपमा चिनिन थालेका छन् । 

हो, केही विवादले निर्मल पुर्जामाथि प्रश्न पनि उठेको छ । तर म्याग्दीको एउटा सामान्य परिवारमा जन्मिएको युवकले पर्वतारोहण क्षेत्रमा जे गरे, त्यसलाई कसैले प्रश्न गर्न सक्दैन । इतिहासले सदा सम्झिरहने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो