डिम्बको दान होइन कारोबार, आईभीएफ सेन्टरको अर्को पाटो
जब एउटा बच्चाको जन्म हुन्छ, सिंगो परिवार खुसी हुन्छ ।
तर, कतिपय दम्पतीका लागि यो खुसी सहजै आउँदैन ।
विवाह भएको वर्षौंसम्म सन्तान सुख प्राप्त हुन्न । अस्पताल धाउँछन्, देवी देउता भाक्छन्, तर हुन्न । यही अवस्थामा धेरै परिवारको अन्तिम आशा बन्छ– आईभीएफ ।
यही प्रविधिले नेपालमा धेरैलाई आमा–बुबा बन्ने अवसर दिएको छ ।
२००५ मा नेपालमा पहिलो टेस्ट ट्युब बेबी जन्मिएपछि सुरु भएको यात्रा आज देशभर फैलिएको छ । काठमाडौंदेखि पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढीसम्म आईभीएफ सेन्टर खुलेका छन् ।
धेरै परिवारका लागि यो सेवा जीवनको सबैभन्दा ठूलो आशा हो ।
३ मार्च २००५ ...। नेपालकै पहिलो टेष्ट टुयुब शिशुको जन्म भयो ।
ओम हस्टिपल एण्ड रिसर्च सेन्टरको आईभीएफमा जन्मिएकाले उनको नाम राखियो, ओममणि तामाङ ।
ओममणिको आगमन परिवारका लागि त खुसीको क्षण थियो नै । सयौं निःसन्तान दम्पतीहरुका लागि पनि आशाको किरण थियो ।
किनकी अनेक कारणले विवाहित दम्पतीहरुमध्ये करिव १५ प्रतिशतले सन्तान जन्माउन सकेका थिएनन् । तर सुरुवाती दिनहरुमा यो प्रविधिलाई लिएर मानिसहरुमा अनेक भ्रम थिए ।
गाइनोकोलोजिस्ट डा. भेला रिजालका अनुसार मानिसहरु बच्चा नै टेष्ट ट्युबबाट जन्मिने हो भन्ने ठान्थे । जबकी बच्चा आमाकै पेटमा हुर्किने हो । यो प्रविधिमा त त पुरुषको शुक्रकिट र महिलाको डिम्बलाई निकालेर मानव शरीर भन्दा बाहिर आपसमा मिलन गराइन्छ र पछि आमाकै पाठेघरमा ट्रासफर गरिन्छ ।
यसमा सफलताको दर कम थियो, खर्च पनि निकै लाग्यो । त्यसैले आईभीएफ सेवा लिनेहरुको संख्या निकै कम थियो । क्लिनिकहरु पनि थिएनन् । त्यो बेला ओम अस्पतालपछि डा. उमा श्रीवास्तव पोखरेलको निःसन्तान क्लिनिक थियो । अर्को अस्पतालमा यो सेवा सुरु हुन ५ वर्ष लाग्यो ।
२०१० मा विराटनगरमा विराट नर्सिङ होमले आईभीएफ सेवा थाल्यो । त्यसको ५ वर्षपछि वात्सल्य र हार्दिक आईभीएफ खुले । तर पछिल्लो १० वर्षमा काठमाडौंमा मात्र होइन, उपत्यका बाहिर समेत आईभीएफ सेन्टरहरु खुलेका छन् ।
भारतको सबभन्दा ठूलो आईभीएफ चेन इन्द्रा आईभीएफ पनि नेपाल आएको छ । आजको दिनमा काठमाडौं मात्र होइन, पोखरा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी लगायतका ठूला शहरमा आईभीएफ सेन्टर छन् ।
थाहा छैन कतिले सेवा लिए
आईभीएफ सेन्टर दर्ता त हुनुपर्छ, तर उपचारको राष्ट्रिय रजिस्ट्री छैन । त्यसैले हरेक वर्ष कति आईभीएफ हुन्छ ? कति बच्चा जन्मिन्छन् ? यसको आधिकारिक तथ्यांक छैन । क्लिनिकहरुको क्षमता, उद्योगको आकार उपचारको लागत हेरेर एउटा आंकडा अनुमान गर्न सकिन्छ ।
हालसम्म आईभीएफबाट ५ देखि ७ हजार बच्चा जन्मिएको अनुमान छ । ठूला आईभीएफ सेन्टरहरुको क्षमता, विशेषज्ञ चिकित्सकहरुको अनुमान हेर्दा वर्षमा हजारौं आईभीएफ साइकल हुन्छ ।
एउटा दम्पतीले एक पटक आईभीएफ गराउँदा ३ देखि ५ लाख रुपैयाँ खर्च गर्नुपर्छ । कतिपय अवस्थामा यो खर्च ८–१० लाख रुपैयासँसम्म पुग्छ । अब आफैं हिसाब गर्नुस्, देशभर वर्षमा हजारौं आईभीएफ साइकल भइरहेका छन् भने कतिको आर्थिक कारोबार होला ।
जब कुनै पनि दम्पती आईभीएफ सेन्टरमा पुग्छन् । सुरुमा काउन्सिलिङ हुन्छ । त्यसपछि महिलाको रगत, हार्मोन परीक्षण हुन्छ । अल्ट्रासाउण्ड गरिन्छ । डिम्बाशयको अवस्थाबारे जाँच हुन्छ ।
पुरुषको पनि विर्य परीक्षण हुन्छ ।
कतिपय अवस्थामा थप आनुवंशिक वा अन्य विशेष परीक्षण पनि आवश्यक हुन्छ ।
यो रिपोर्टका आधारमा डाक्टरहरुले आईयूआई गर्ने कि आईभीएफ भनेर रिकमेण्ड गर्छन् ।
आईयूआई अर्थात इन्ट्रयुटराइन इन्सेमिनेसन भनेको आईभीएफ भन्दा सरल र कम खर्चिलो प्रजनन उपचार हो । यसमा महिलाको शरीरबाट डिम्ब निकालिँदैन । प्रयोगशालामा भु्रण पनि बनाइने छैन ।
पुरुषबाट स्पर्म निकालिन्छ ।
प्रयोगशालामा राम्रो गुणस्तरका शुक्रकिट छनोट गरिन्छ । महिलाको डिम्ब निस्कने समय मिलाएर क्याथेटरमार्फत शुक्रकिटलाई सिधै गर्भाशय भित्र पठाइन्छ । फर्टिलाइजेसन महिलाको शरीर भित्र प्राकृतिक रुपमै हुन्छ ।
आईभीएफ सेन्टर पुग्ने करिव ५० प्रतिशतलाई आईयूआई सेवा दिइन्छ ।
करिव ४० प्रतिशतलाई भने आईभीएफ सेवा आवश्यक पर्छ । इनभिट्रो फर्टिलाइजेसन अर्थात आईभीएफलाई सरल भाषामा भन्दा महिलाको डिम्ब र पुरुषको स्पर्मलाई महिलाको शरीर बाहिर प्रयोगशालामा फर्टिलाइजेसन गराएर भ्रुण बनाइन्छ । अनि, त्यो भ्रुणलाई महिलाको गर्भाशयमा राख्ने प्रविधि हो ।
यो प्रक्रियामा सबभन्दा पहिला महिलाको डिम्ब परिपक्व बनाउन १०/१२ दिन अगाडि हर्मेन इन्जेक्सन दिइन्छ । जब डिम्ब परिपक्व भयो भन्ने हुन्छ, अट्रासाउण्डको सहायताले डिम्बाशयबाट निकालिन्छ ।
पुरुषबाट पनि स्पर्म लिइन्छ र प्रयोगशालाबाट गुणस्तरीय शुक्रकिट छानिन्छ । अनि डिम्ब र शुक्रकिटलाई प्रयोगशालामा मिलाएर भ्रुण बनाइन्छ । ३ देखि ५ दिनमा स्वस्थ भ्रुणलाई महिलाको गर्भासयमा राखिन्छ । करिव दुई सातापछि रगत परीक्षण गरेर गर्भ बसेको छ कि छैन भनेर पुष्टि गरिन्छ ।
आईभीएफमा यदि दम्पतीकै डिम्ब र स्पर्म प्रयोग हुन्छ भने डिम्बको कारोबार किन भइरहेको छ त ?
हो, आईभीएफमा पहिलो रोजाई सधैं आफ्नै डिम्बको हुन्छ । तर सबैको हकमा त्यो सम्भव हुन्न । महिलाको उमेर बढ्दै जाँदा डिम्बको संख्या र गुणस्तर दुबै घट्दै जान्छ । विशेष गरी ४० वर्षपछि स्वस्थ डिम्बको सम्भावना उल्लेखनीय रुपमा कम हुन्छ । कतिपय महिलामा त ३०/३५ वर्षमै डिम्ब उत्पादन लगभग बन्द हुन्छ । यसलाई प्रिमच्योर ओभराइन इनसफिसियन्सी भनिन्छ ।
यस्तो अवस्थामा महिलालाई आफ्नै डिम्ब उपलब्ध हुन्न ।
कतिपयको हकमा क्यान्सर, सिस्ट वा अन्य गम्भीर रोगका कारण डिम्बाशय नै हटाउनु परेको पनि हुन्छ । यदि महिलामा सन्तानमा सर्नसक्ने गम्भीर आनुवांशिक रोग छ भने पनि उसको डिम्ब प्रयोग गरिँदैन, अरुको डिम्बको खोजी हुन्छ ।
यहाँ याद गर्नुपर्ने कुरा के पनि छ भने आफ्नो डिम्बबाट आईभीएफ गर्दा राम्रो भ्रुण बन्छ भन्ने ग्यारेन्टी पनि छैन । आईभीएफको सक्सेस रेट ६०/६५ प्रतिशत हो । जब २–३ पटकसम्म आईभीएफ गर्दा पनि राम्रो भ्रुण बन्दैन, त्यो बेला डाक्टरले अरुको डिम्ब प्रयोग गर्न सल्लाह दिन्छन् ।
चिकित्सकहरुका अनुसार आईभीएफ गराउनेमध्ये करिव ३० देखि ४० प्रतिशत दम्पतीलाई डिम्ब वा स्पर्म डोनर चाहिन्छ ।
स्वास्थ्य मन्त्रालयले २०८२ सालमा निसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड ल्याएको थियो, जसमा २० देखि ३५ वर्ष उमेरको महिलाले जीवनभर बढीमा ६ पटकसम्म मात्र डिम्बदान गर्न पाइन्छ भनेको छ ।
आईभीएफ सेन्टर सञ्चालकहरुका अनुसार निःसन्तान दम्पतीले दिदी, बहिनी, साथी वा आफन्तलाई डिम्ब डोनरका रुपमा ल्याउन सक्छन् । तर आफैं डोनर ल्याउनेको संख्या नगन्य नै हुन्छ ।
त्यसैले डिम्बको मुख्य स्रोत भनेको एनोनिमस डोनर अर्थात् नचिनेका डिम्बदाता नै हो ।
एक पटक कल्पना गर्नुस् त, निः सन्तान दम्पतीहरुलाई चाहिएको होला, म आफ्नो डिम्ब दान गर्छु भनेर कति महिला आईभीएफ सेन्टरहरुमा पुग्लान् ?
शायदै कोही पुग्लान् । किनकी तोकिएका टेष्टहरु गर्नुपर्छ, डिम्बलाई परिपक्व बनाउन हर्मोन इन्जेक्सन लगाउनुपर्छ । अनि, निकाल्ने बेला बाइचान्स केही कमजोरी भए स्वास्थ्य समस्या पनि आउनसक्छ । त्यसैले आजको दिनमा म डिम्ब दान गर्नु भनेर शायदै कोही आईभीएफ सेन्टरमा जान्छन् ।
अर्थशास्त्रको एउटा सरल नियम छ– माग धेरै छ, आपूर्ति सीमित छ भने त्यसको मूल्य बढ्छ । यदि बजार पारदर्शी छैन, नियमन कमजोर छ र आधिकारिक आपूर्ति प्रणाली छैन भने कालोबजारी फस्टाउँछ ।
कतै आईभीएफमा पनि यही भइरहेको त छैन ?
दुइटा घटना हेरौं,
पहिलो, २०८२ असारमा होप फर्टिलिटी सेन्टरमा अवैध तरिकाले डिम्ब निकाल्ने काम भएको खुल्यो ।
दोस्रो, २०८३ असारमा बी एण्ड बी अस्पतालको आईभीएफ सेन्टरमा अवैध रुपमा डिम्ब निकाल्ने काम भएको खुल्यो ।
दुबै केसमा केही समानता छन् । दुबै केसमा डिम्ब निकालिएकाहरु १८ वर्षभन्दा कम उमेरका किशोरी हुन् ।
कानुन त २० देखि ३० वर्षका महिलाहरुले मात्र डिम्ब दान गर्न सक्छन् । तर यो उमेरमा डिम्ब दिने महिलाहरु कमै पाइन्छ । किनकी यो उमेरका महिलाहरु या त विवाह गरेर नयाँ जीवन सुरु गर्ने क्रममा हुन्छन् या त अध्ययन वा करियरको एउटा तहमा पुगिसकेका हुन्छन् ।
त्यसैले २० वर्षभन्दा कम उमेरका किशोरीहरु, जसको परिवार आर्थिक रुपमा विपन्न छ । आर्थिक कारणले नै उनीहरुको आकांक्षाहरु पूरा हुन सकेका हुन्नन् । उनीहरुलाई छिटो पैसा पाउने लोभमा पार्न सकिन्छ ।
अनि यस्ता घटना मात्र बाहिर आएका छन्, जसको डिम्ब निकालेपछि गम्भीर स्वास्थ्य समस्या आएको छ ।
होप फर्टिलिटीको केसमा अनुसन्धान गरेका प्रहरी अधिकृतहरुका अनुसार किशोरीलाई १० हजार रुपैयाँ दिएर खरिद गरिएको डिम्ब १८ लाख रुपैयाँसम्ममा बिक्री गरेको खुलेको थियो । बी एण्ड बीको अनुसन्धानमा पनि डाक्टर नुतन शर्माले विचौलियालाई ५० हजार दिएको प्रष्ट देखिन्छ ।
यसले आईभीएफ सेन्टरहरुमा डिम्बको अवैध कारोबार भइरहेको छ भन्ने संकेत गर्छ ।
यो कुन स्केलमा छ, अहिले भन्न गाह्रो छ ।
आईभीएफ सेवालाई नजिकबाट हेरिरहेकाहरु त भारतीय आईभीएफ सेन्टरहरु आक्रामक रुपमा नेपालमा आउनुलाई समेत शंकाको नजर हेर्छन् । उनीहरुका अनुसार भारतीय आईभीएफ सेन्टरका लागि नेपालको बजार एकदमै सानो हो ।
तैपनि आक्रामक लगानी गरिरहेका छन् । कतै नेपाली किशोरीहरुको डिम्ब भारतसम्म पुर्याउने खेल त होइन भन्ने उनीहरुको आशंका छ ।
हुन पनि केही वर्षअघि सेरोगेसीमा यस्तै ट्रेण्ड देखिएको थियो । भारतीयदेखि इजरायली दम्पतीले नेपालमा अवैध रुपमा कोख भाडामा लिने काम गरेका थिए । अहिले आईभीएफका नाममा नेपाली महिलाहरुको डिम्ब संकलन गरेर भारतसम्म पुर्याउने काम भएको त छैन भन्ने आशंका गरिन्छ ।
यसबारे सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।
नियमनको अभाव
सबै आईभीएफ सेन्टरहरुले गलत गरेका छन्, डिम्बको अवैध कारोबार मात्र भइरहेको छ, यो हाम्रो निष्कर्ष होइन । आईभीएफले हजारौं निःसन्तान दम्पतीलाई आमा बुबा बन्ने अवसर दिएको छ । धेरै परिवारका लागि आज पनि आईभीएफ एउटा उपचार मात्र होइन, जीवनको आशा पनि हो ।
तर आईभीएफ सेवालाई नियमन गर्ने कानुनको अभाव छ । अहिलेसम्म एउटा ऐन बन्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले २०८२ सालमा बल्लतल्ल एउटा कार्यविधि त बनायो, तर त्यसमा आईभीएफ सेन्टरको संरचना कस्तो हुनुपर्छ ? कति डाक्टर हुनुपर्छ भन्ने जस्ता प्राविधिक विषयहरु मात्र छन् ।
शुल्क कतिसम्म लिन पाइने ? डोनर कसरी छनोट गर्ने ? डोनरको स्वास्थ्यको दीर्घकालीन सुरक्षा कसरी गर्ने ? डिम्बको अवैध कारोबार कसरी हुन नदिने ? कसैले गरिहाले के कस्तो कारबाही गर्ने भन्ने कुनै कानुन छैन ।
कानुनकै अभावका कारण होप फिर्टिलिटीका सञ्चालकहरुले उन्मुक्ति पाए । प्रहरीले बालबालिका सम्बन्धी ऐन विपरीतको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । तर तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीकै होप फर्टिलिटीमा लगानी थियो भने सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको डा. स्वस्ति शर्मा उनकै आफन्त थिइन् । त्यसैले कानुनी छिद्र खोजेर मुद्दा नचलाउने निर्णय गरिन् ।
त्यसपछि एउटा मुद्दामा सर्वोच्चले डिम्ब निस्काशन तथा भण्डारणको कार्य रोकेर नियमन र निगरानी प्रभावकारी बनाउन आदेश दियो ।
तर सरकारले त्यसतर्फ काम नगर्दा बी एण्ड बीको केसमा अनुसन्धान गर्न गाह्रो भइरहेको छ । पक्राउ परेर बिचौलिया हाजिरी जमानीमा छुटे भने अरुलाई पक्राउ समेत गर्न अनुमति पाएन ।
जिल्ला प्रहरी परिसर ललितपुरले अहिले बीएण्डबी अस्पतालको केसलाई मानव तस्करीको कानुन अनुसार अनुसन्धान गरिरहेको छ । तर जिला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार डिम्बलाई मानव अंग मान्ने कि नमान्ने भन्ने प्रष्ट कानुनी व्यवस्था छैन । त्यसैले अनुसन्धानमा जटिलता छ ।
आजको दिनमा समस्या आईभीएफ प्रविधि होइन । यसको नियमनका लागि ऐन कानुन र सरकारको सक्रियताको हो । ताकि एउटा परिवारले बच्चाको सपना पूरा गर्दा अर्को परिवार उजाडिनु नपरोस् ।
निम्स दाइ : एक अदभूत र साहसी आरोही
हात्ती सफारी रोकिँदा सौराहाको पर्यटन के होला ?
किन डुबिरहन्छ माइतीघर ? थापाथली क्याम्पसभित्र छ रहस्य
गौशालामा सुरुङ, महाराजगञ्जमा अन्डरपास, विष्णुमतीमा फ्लाइओभर







