कति खतरनाक छ भोटेकोशीको शिरमा बनेका दुई ताल ?
अहिलेसम्म प्राप्त जानकारी अनुसार लाङटाङको लिरुङ हिमालको उत्तरी भिरालो पाखामा रहेको विशाद हिमनदी र त्यसमुनिको चट्टानी पहाड खस्यो । स्याटलाइट तस्वीरहरु हेर्दा त्यहाँ हिमनदीको एउटा भाग मात्र होइन, हिमनदी मुनी रहेको ठूलो चट्टानी पहाड नै गायब भएको देखिन्छ ।
विज्ञहरुका अनुसार हिमपहिरो आफैंमा ठूलो थियो, त्यसमाथि गतिका कारण तल आइपुग्दा सुनामीको रुप लियो ।
किनकी विपद्को सुरुवात यो करिव ५ हजार २०० मिटरको उचाईको हिमाली भीरबाट भएको थियो । त्यहाबाट करिव २२ किलोमिटरको दुरीमा रहेको नेपाल र चीनको नाका केरुङ आइपुग्न मात्र ७ मिनेट लाग्यो ।
अर्थात लेदो र ग्रेग्रान भएको बाढीको गति प्रतिसेकेण्ड ५० मिटरभन्दा बढी थियो । त्यसैले क्षणभरमै टिमुरे, स्याप्रुबेसी, बेत्रावती, ढुंगेबजार लगायतका भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बस्तीहरुमा धनजनको ठूलो क्षति भएको छ ।
सरकारी तथ्यांकअनुसार आइतबार विहानसम्म बाढीमा परेर ज्यान गुमाएकामध्ये ७३४ जनाको शव भेटिएको छ ।
अहिलेसम्म २ हजार ४९८ जना सम्पर्कविहीन छन् । उनीहरुमध्ये जलविद्युत आयोजनामा कार्यरत मात्र ९३३ जना छन् । सम्पर्क विहीन हुनेहरुमा विदेशी नागरिकको संख्या पनि ५८९ जना छन् ।
बाढीमा हराइरहेकाहरुको उद्दार तथा खोजीका लागि करिव २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । तर बेलाबेला खोजी तथा उद्दार कार्य नै प्रभावित हुने गरी बाढीको खबर आउने गरेको छ ।
यसको कारण हो, हिम पहिरो गएपछि बनेको ताल । यो क्षेत्रमा चिनियाँ टोली स्थलगत रुपमै पुगेको छ । उनीहरुले ड्रोनमार्फत लिएको तस्वीर तथा भिडियो फुटेज अनुसार दुई वटा ताल बनेको छ ।
पहिलो हो, ब्यारियर लेक १ ।
उपलब्ध रिपोर्टहरुका अनुसार यो ताल छोचेन र पुरेन त्साङपोको दोभान नजिकै बनेको ताल हो । यी नदीहरु तिब्बतबाट बगेर नेपालतर्फको भोटेकोशी र त्रिशुली नदी प्रणालीमा जोडिन्छन् ।
पहिला यहाँ कुनै ताल थिएन । जब हिमपहिरो गयो, ल्हेन्दे खोला थुनियो । र ताल बन्यो । तस्वीरमा हेर्दा यो त्यति ठूलो देखिँदैन । तर वास्तवमा यो जलायश शनिबार करिव १ लाख वर्गमिटरसम्म फैलिएको थियो ।
यो भनेको करिव १४ वटा फुटबल मैदान बराबर छ ।
चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार यो तलमा करिव २० लाख घनमिटर पानी जम्मा भएको थियो । तर तालबाट प्राकृतिक प्रक्रियामार्फत पानी बगिरहेको छ । त्यहाँ जम्मा भएको पानी लगभग बाहिरिसकेको छ । स्याटेलाइट मोनिटरमा पनि तालको सतह घट्दै गएको देखिन्छ ।
तल्लो ताल भन्दा करिव ५ किलोमिटरमाथि अर्को पनि ताल बनेको छ । यसलाई ब्यारियर लेक–२ भनिएको छ । तो तलका विषय कति गहिरो छ ? कति फैलिएको छ ? जस्ता विवरणहरु आएको छैन ।
पछिल्लो समय यो तालको पानी पनि कम भएको रिपोर्टहरु आएको छ । तर नेपाली अधिकारीहरुसँग दुबै तालबारे धेरै जानकारी छैन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखा छ ।
महाशाखाकी हाइड्रोलोजिस्ट सरस्वती विष्टका अनुसार हिम पहिरो जानुभन्दा अगाडि दुबै ताल देखिएका थिएनन् । त्यसले दुबै ताल हिम पहिरोपछि नै बनेको हो । एउटा ताल फुटेको भन्ने सूचनाहरु आएको छ । तर महाशाखासँग यकिन विवरण छैन । चिनियाँ सूचनाहरुमा निर्भर पर्नुपर्ने बाध्यता छ ।
जोखिम कति ?
यस्ता ब्यारियर लेक खतरनाक मानिन्छ । यहाँ कति पानी छ भन्ने आधारमा मात्र यसको खतरा अनुमान गर्न सकिन्न । किनकी यस्ता ताल डेब्रिन, चट्टान, माटो र हिउँको मिश्रणबाट बनेको हुनसक्छ ।
यो त्यति बलियो हुन्न । यदि अचाकन फुट्यो भने पानी मात्र होइन, ढुंगा, माटो समेत तलतिर आउँछ । यसलाई ग्लेसियर लेक आउटब्रस्ट फ्लोड (ग्लोफ)सँग तुलना गर्न सकिन्छ ।
यी २ तालहरुले अहिले पनि नेपाललाई तर्सारहेका छन् । यिनलाई नेपालको टाउकोमाथि झण्डिरहेको तलवार नै भन्दा पनि हुन्छ ।
किनकी यी तालहरु कुनै पक्की बाँध बाँधेर बनेका होइनन् । एकदमै कच्चा हिउँ, चट्टान, माटो र गेग्रान जम्मा भएर नदी थुनिएर बनेका अस्थायी र कमजोर प्राकृतिक बाँध हुन् ।
तालमा पानीको निकास सहज रुपमा नभएमा निरन्तर पानी थपिँदै गएर बाँधमा चाप अत्यधिक बढ्छ । अझ माथिल्लो भेगमा हिमपहिरो वर्षा भएर सानो बाढी आयो भने पनि यो कमजोर माटोको बाँधले पानीको दबाब धान्न सक्दैन ।
बाँध अचानक फुटेमा करोडौं घनमिटर पानी, लेदो र ठूलठूला चट्टानहरु एकैपटक तीव्र गतिमा तलतिर बग्नेछन्, जसले तल्लो तटमा विनाशकारी बाढी ल्याउँछ, ठ्याक्कै भदौ १०को जस्तै ।
यी तालहरु नेपाल–चीन सीमाभन्दा माथि दुर्गम हिमाली क्षेत्रमा अवस्थित छन् । माथिल्लो क्षेत्रमा ताल फुटिहालेमा बाढी नेपालको सीमासम्म आइपुग्न केही मिनेट मात्र लाग्छ ।
भौगोलिक जटिलता र अन्तरदेशीय सीमाका कारण तालमा पानीको स्तर कति बढिरहेको छ भन्ने कुराको प्रत्यक्ष र निरन्तर डेटा पाउन गाह्रो हुन्छ । यसले गर्दा यर्स पनि बाढीबाट प्रभावित भएका नदी किनारका मानिसहरुलाई सुरक्षित स्थानमा सार्न समय नै हुँदैन ।
यी तालहरु पूर्ण रूपमा खाली नभएसम्म वा सुरक्षित रुपमा पानीको निकास नभएसम्म रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका भोटेकोशी, त्रिशूली तथा नारायणी नदी तटीय क्षेत्रमा बाढीको जोखिम कायमै रहन्छ ।
यसैले अहिले नेपाल सरकार, विपद् व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायहरूले स्याटेलाइट निगरानी बढाउन जरुरी छ । चीनको सहयोगमा तालहरुको अवस्थाबारे निगरानी गरेर पूर्वसूचना लिने प्रयत्न गरिरहनुपर्छ ।
त्रिशुली थ्री ए को जटिल रेस्क्यू अपरेशन
थ्रीडी फोटो सार्वजनिक गर्दै चीनले भन्यो : बाढीको स्रोत नेपाली भूमि
चीनबाट आयो ताल फुटेको सूचना, पुनः बाढीको सम्भावना
भोटेकोशीमा किन आयो बाढी ? चिनियाँ विज्ञले दिए ४ कारण



-1787582411.jpg)


