२५ वर्षपछि कृष्णभीरमा फर्कियो पहिरो, दशैंमा के होला ?
रसुवा बाढीले काठमाडौंको लाइफलाइन नै ध्वस्त बनाइदियो ।
देशका धेरै ठाउँबाट काठमाडौंसम्म मानिसहरु आउजाउ गर्ने र सामान ओसार पसार गर्ने सडक नै बन्द गरिदियो ।
रसुवा र नुवाकोटमा नदी किनारको क्षेत्र क्षतविक्षत पार्दै झरेको त्रिशुलीले काठमाडौंदेखि करिब ८५ किलोमिटर परको कृष्णभीरमा सडकमुनि कटान गर्यो ।
पहिले राजमार्गको दायाँ साइडबाट बगेको त्रिशुलीले धार परिवर्तन गरेर राजमार्गमुनिको भित्तालाई क्षति पुर्यायो ।
२०५७ देखि २०६२ सालसम्म पहिरोले निकै दुःख दिएको र पछि मर्मत सम्भार गरेर स्टेबल बनाइएको कृष्णभीरको समस्या रसुवा बाढीपछि पुनः बल्झिएको छ ।
कृष्णभीरमा २५ वर्षअघि पहिरो गएकै ठाउँमा करिब १०० मिटर जति सडक नै भासिएको छ । त्यहाँ गाडी त के मान्छे हिँड्ने बाटो पनि बाँकी छैन ।
फर्कियो २५ वर्षअघिको सास्ती
आज भन्दा २६ वर्षअघि २०५७ साल साउन २७ गते । कृष्णभीरमा ठूलो पहिरो गएको थियो, पृथ्वी राजमार्ग लगातार ११ दिनसम्म बन्द भएको थियो ।
सडक माथिबाट लगातार माटो र मसिना ढुंगा खसिरहन्थ्यो, सडकको भाग पनि भासिइरहन्थ्यो । बल्ल बल्ल माटो ढुंगा पन्छाएर जसोतसो सडक खोल्यो, दुई चार दिनमा पुनः भासिइहाल्थ्यो । नेपालमा धेरै दुःख दिने सडकमा कृष्णभीर मुख्य थियो ।
काठमाडौं आउने अहिले जस्ता अरु सडकहरु पनि बनिसकेका थिएनन् । त्यसैले राजमार्गमा दुई चार दिन नै जाममा बस्नु सामान्य थियो । बर्खामा धेरै पहिरो गइरहन्थ्यो, हिउँदमा अलि कम हुन्थ्यो । तर फेरि अर्को बर्खामा उस्तै ।
यो क्रम २०६२ सालसम्म चलिरह्यो ।
त्यसैले त्यतिबेला कृष्णभीरको पहिरोको नाम लिँदै धेरै गीतहरु समेत लेखिए । त्यतिबेला देशब्यापी चासो विषय थियो कृष्णभीर ।
कृष्णभीरको पहिरो कसरी रोक्ने सरकारको निकै ठूलो टाउको दुखाइ थियो ।
अन्ततः २०६० सालतिर यहाँ बायो इन्जिनियरिङ र जियो टेक प्रविधिबाट पहिरो रोकथाम गर्ने निश्कर्षमा सरकार पुग्यो । कृष्णभीरमा ठूलो चट्टानको पहिरो थिएन । कमलो माटो खसिरहने पहिरो थियो ।
धेरै ठूलो पहिरो थिएन, पहिरो सानै थियो, तर निरन्तर खसिरहने कारणले हैरान बनाएको थियो ।
बायो इन्जिनियरिङ भनेको खुकुलो माटो मात्र झर्ने पहिरोमा रुख विरुवा रोपेर पहिरो रोकथाम गर्ने विधि हो ।
सडक विभागका इन्जिनियरहरुले बडो मिहिनेत गरेर यो काम गरेका थिए । बाँस अम्रिसो र अरु साना बुट्यानवाला विरुवाहरु रोपिएको थियो ।
ठाउँ–ठाउँमा पाइप राखेर जमिनको सतहमा परेको पानी सडक भन्दा मुनि झार्ने व्यवस्था गरिएको हुन्छ ।
यो प्रविधिले काम पनि गर्यो । २०६२ सालदेखि कृष्णभीरमा पहिरोको कुनै समस्या भएन ।
नयाँ पुस्ताका धेरैले कृष्णभीरमा विगतमा पहिरो जान्थ्यो भन्ने समेत थाहा पाएका छैनन् । किनकी त्यहाँ सडकमाथि सिँढीजस्तो गरेर ग्याविन भरिएको छ र घाँसपातहरु प्रशस्तै उम्रिएका छन् ।
विज्ञहरुका अनुसार बायो इन्जिनियरिङ भनेको निरन्तर हेरचाह गर्नुपर्ने प्रविधि हो । त्यहाँ बढेको घाँसपात काटिरहनुपर्छ । खोल्सोको मुखहरु थुनिएको छ भने मर्मत सम्भार गरिरहनुपर्छ ।
कृष्णभीरमा रेखदेख नपुगेकै कारण भत्किने अवस्थामा पुगेको हो ।
००००
अहिले रसुवा बाढीका कारण सडक भासिए पनि कृष्णभीरमा समस्या पहिले नै सुरु भइसकेको थियो । २०८१ असोज १०, ११ र १२ गते काठमाडौं उपत्यका वरपर आएको भीषण बाढीले त्रिशुलीको बहाव पनि निकै बढेको थियो ।
त्यही त्रिशुलीले कृष्णभीरमुनिको सडक कटान गरेपछि सडकमा पनि धाँजा देखिएको थियो । करिब ८० मिटर लामो क्षेत्र केही दबेको थियो । र सडकको छेउमा बनाइएको चेक ड्याम केही ढल्केको थियो ।
त्यतिबेला सडक विभागले कृष्णभीरको समस्यालाई राम्ररी समाधान नै गरेन । धाँजा फाटेको र धसिएको ठाउँमा माटो भरेर मर्मत गरिएको थियो ।
विज्ञहरुका अनुसार त्यतिबेलै त्रिशुलीले कटान गरेको ठाउँदेखि नै मर्मत सम्भार गरेको भए, अहिले ठूलो पहिरो नजान सक्थ्यो ।
वायो इन्जिनियरिङ प्रविधिमा मर्मत सम्भार निकै महत्वपूर्ण मानिन्छ । झाडी भएको रुख विरुवा काट्ने र त्यहाँ बनाइएको साना साना खोल्साहरु बन्द भएको छ भने खोल्ने गरिरहनुपर्छ । कृष्णभीरमा पहिरो नगएपछि मर्मत सम्भारलाई बेवास्ता गरिएको थियो ।
कृष्णभीरमा के उपाय छ ?
सडक भत्किएपछि अहिले सरकार कसरी कृष्णभीरको सडक खुलाउन सकिन्छ भनेर लागेको छ । भौतिक पूर्वाधार मन्त्रालयका विज्ञ प्राविधिक र भुगर्भविद्हरु स्थलगत अध्ययनमा गइरहेका छन् । चरण चरणमा छलफल भइरहेको छ ।
यो सडक एकातिर तत्कालै खुलाउनुपर्ने बाध्यता छ । भने अर्को कृष्णभीरको समस्यालाई सधैंका लागि समाधान पनि गर्नुपर्नेछ ।
सडक विभागका प्राविधिकहरुको टोलीले कृष्णभीरको निरीक्षण गरिसकेको छ । तर तत्काल के गर्ने भन्ने निश्कर्षमा पुग्न सकेको छैन । विभागका सहसचिव चुडाराज ढकालका अनुसार कृष्णभीर खुलाउन १५ दिनसम्म लाग्न सक्छ ।
अब मुख्य चिन्ता भनेको १५ दिनसम्म के गर्ने भन्ने हो ? १५ दिनसम्म काठमाडौं जोड्ने लाइफलाइन बन्द गर्न सम्भव हुँदैन ।
०००००
कृष्णभीरको छेउको सडकको महत्व तपाईं हामी सबैलाई थाहा छ । मुग्लिनबाट काठमाडौं जोड्ने सडकमा पर्छ कृष्णभीर । काठमाडौं जोड्ने फराकिलो र सजिलो बाटो नै यही हो ।
पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र ग्यास बुलेटहरु यही बाटो भएर काठमाडौं आउँथे ।
तरकारी, खाद्यान्न र अरु सामानहरु ढुवानी गर्ने ट्रक पनि लगभग सबै जसो यही बाटोबाट काठमाडौं आउँथे ।
गण्डकी प्रदेश र चितवनदेखि पश्चिमका सबै जिल्लाबाट काठमाडौं आउने यात्रुबाहक गाडी पनि कुष्णभीरकै बाटो काठमाडौं आउने हो । यो बाटोबाट दिनमा हजारौं गाडीहरु ओहोर दोहोर गर्थे । अब तत्काललाई त्यो सम्भावना सकिएको छ ।
यो मुग्लिन–नारायणगढ सडक वा अरु सडकमा पहिरो खसेर सडक अवरुद्ध भएको जस्तो होइन । माथिबाट पहिरो खसेको भए त त्यसलाई पन्छाएपछि १–२ दिनमा रोड खुलिहाल्थ्यो । यहाँ त सडक तलतिर भासिएको छ ।
अब यहाँ सडक बनाउने विकल्प भनेको भासिएको सडकलाई तल त्रिशुलीकै लेभलदेखि उठाएर ल्याउने हो ।
अथवा अहिलेको सडक भन्दा माथिबाट अर्को ट्रयाक खन्ने ।
यो दुबै विकल्प २–४ दिन वा हप्ता १० दिनमा सम्भव हुने विकल्प होइन, यो महिनौं लाग्ने काम हो ।
विज्ञहरुले काठमाडौंसँगको आवतजावत सहज बनाउन वैकल्पिक सडक प्रयोग नै मुख्य विकल्प भएको बताएका छन् । त्यो काम कति छिटो गर्न सकिन्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न ।
००००
२०६० को दशकको सुरुमा कृष्णभीरमा पहिरो जाँदा नेपालीले जति सास्ती खेपेका थिए । त्यसको आज २३ वर्ष भयो । अहिले पनि हामीले विकासमा धेरै प्रगति गर्न सकेका छैनौं । काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गको अर्को विकल्प हामीसँग छैन ।
सडक विभागले पृथ्वी राजमार्गको विकल्पको रुपमा ४ वटा रुट देखाएको छ ।
पहिलो हो, त्रिभुवन राजपथ । काठमाडौं आउनुपर्ने गाडीहरु चितवन हुँदै हेटौंडा जाने । हेटौंडाबाट भैंसे, पालुङ हुँदै नौबिसेमा निस्कने ।
गण्डकी प्रदेश र चितवन पश्चिमबाट आउने गाडीका लागि पृथ्वी राजमार्ग भन्दा यो केही लामो पर्छ । यो सडक साँघुरो हुनुका साथै धेरै घुम्ती पनि छ । मकवानपुरको भैंसेदेखि नौबिसेसम्म आउन नै ८० किलोमिटर दूरी पर्छ ।
ठूला ट्रकहरुका लागि यो सडक उपयुक्त विकल्प नहुन सक्छ ।
दोस्रो विकल्प हो, हेटौंडाबाट नै आउने कान्तिराजपथ । हेटौंडाबाट भैंसे हुँदै ललितपुरको टीकाभैरव, भैंसेपाटी हुँदै एकान्तकुना निस्कने । यो सडकबाट काठमाडौं–हेटौंडा गाडी चलिरहेको छ । तर ठूलो ट्रकहरु चल्ने बाटो होइन ।
तर हिजोआज यही बाटोबाट ट्रकहरु काठमाडौं आइरहेका छन् । यो सडक पनि पहिरो ग्रस्ता छ । ठाउँमा कच्ची सडक र अधिक उकालो भएकाले यो बाटो भएर मालबाहक सवारी आउन कठिन छ ।
अहिले सरकारले बालबहाक र यात्रुबाहक सवारीलाई त्रिभुवन राजपथबाट आउने र कान्तिराजपथबाट हेटौंडा फर्किने गरी वान वे बनाएको छ । यसले गर्दा सडकमा लाग्ने जाम कम हुने अपेक्षा छ ।
तेस्रो विकल्प हो, हेटौंडा, कुलेखानी फर्पिङ सडक । यो पनि काठमाडौंबाट हेटौंडा आउजाउ गर्ने मुख्य बाटो हो ।
यो बाटोबाट टाटा सुमो जीप र इभी माइक्रोहरु धेरै चल्छन् । यो सडक पनि सामान ढुवानीका लागि होइन मान्छे बोक्ने साना गाडीका लागि मात्र उपयुक्त हो ।
चौथो विकल्प हो, वीपी राजमार्ग । मधेश र पूर्वी पहाड र तराईका मानिसहरुलाई काठमाडौं आउन यो बाटो छोटो पर्छ । तर यात्रुबाहक गाडीलाई मात्र । किनकी वीपी राजमार्ग साँघु्रो छ ।
यो बाटो ट्रक र ठूला बस गुडाउन मिल्दैन । नाइट बस पनि चल्न सक्दैन । २०८१ साल असोज १२ गते आएको बाढीका कारण वीपी राजमार्गको काभ्रे खण्डमा क्षति पुगेको छ । यद्यपि यात्रुबाहक साना गाडीका लागि यो सडक उपयुक्त विकल्प हो ।
गण्डकी प्रदेशबाट काठमाडौं आउने गाडीहरु आँबुखैरेनीबाट गोरखातर्फ गएर सिधै बेनिघाटमा निस्कन पनि सक्छन् । तर यो सडक साँघुरो र कच्ची पनि छ । त्यसैले सबैथरि गाडीहरुका लागि यो सडक उपयुक्त नहुन पनि सक्छ ।
कृष्णभीरमा सरकारले के गर्छ अहिले नै टुंगो लागिसकेको छैन । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं आउन अब डेढ महिना बाँकी छ । त्यतिबेला काठमाडौंबाट १०–१५ लाख मानिस दशैं मनाउन आफ्नो घरतिर जान्छन् ।
त्यतिबेलासम्म कृष्णभीर सडक मर्मत भएन भने आवतजावतमा लाखौं नागरिकले सास्ती खेप्नुपर्नेछ ।
त्यो भन्दा अगाडि नै कृष्णभीरको पहिरोको असर तपाईं हाम्रो भान्सामा देखिन सक्छ । काठमाडौंमा अहिले नै खाना पकाउने ग्यास सहज भइसकेको छैन ।
अब तरकारी र खाद्यान्नको ढुवानी समेत प्रभावित हुन सक्छ । त्यसैले सरकारले छिटो भन्दा छिटो कृष्णभीरमा सडक खुलाउनुको विकल्प छैन ।
पुरिएको सुरुङमा एउटा प्वालले जगाएको आशा
चीनले रेल समेत ल्याउन रोजेको केरुङ नाकाको दुःखान्त
लिलामीमा ज्योति ग्रुपका सम्पत्ति, के हो अर्वपति रुप ज्योतिको संकट ?
रविले जुनसुकै बेला बालेनलाई प्रधानमन्त्रीबाट हटाउन सक्छन् ?







