नेभिगेशन
एक्सप्लेनर भिडियो

बग्यो बेत्रावतीको सन्धि ढुंगा

रसुवा बाढी कति शक्तिशाली थियो भन्ने प्रमाण हो, बगिरहेको यो विशाल ढुंगा । 

फेरि स्थानीयको दाबीलाई मान्ने हो भने यो कुनै सामान्य ढुंगा थिएन, यो नेपालको इतिहाससँग जोडिएको बेत्रावतीको सन्धि ढुंगा हो ।  

यसलाई त्यसै सन्धि ढुंगा भनिएको होइन । इतिहास पल्टाएर हेर्ने हो भने यो आजभन्दा २३४ वर्षअघि अर्थात् बिक्रम संवत् १८४९ मा नेपाल र तिब्बतबीच भएको ऐतिहासिक ‘बेत्रावती सन्धि’को प्रत्यक्ष साक्षी थियो ।

भनिन्छ, दुवै देशका कमाण्डर र प्रतिनिधिहरुले यही ढुंगामा बसेर यही नदीको किनारमा युद्ध बिरामका शर्तहरु तय गरेका थिए । तर आज, त्यो ढुंगाले आफ्नो ठाउा छोडेको छ । बाढीले् त्यसलाई कता पुर्‍यायो पत्तो छैन । 

चीन–नेपाल युद्ध रोक्ने सन्धि ढुंगा

बेत्रावती सन्धिको कथा बुझ्नका लागि हामीले पृथ्वीनारायण शाहको एकीकरण अभियान र त्यसपछिको नेपालको आर्थिक–राजनीतिक अवस्थालाई हेर्नुपर्छ । 

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जित्नुअघि, काठमाडौँ र पाटनका मल्ल राजाहरुको सम्बन्ध तिब्बतसँग सुमधुर थियो । त्यतिबेला तिब्बत छुट्टै देश थियो, चीन छु्ट्टै देश थियउो । नेपालीहरु तिब्बतलाई भोट भन्थे । 

तिब्बतका लागि नेपालमा चाँदीका सिक्का अर्थात् मोहर बनाइन्थ्यो । तिब्बतसँग आफ्नो सिक्का आफैं बनाउने प्रविधि र कालिगढहरु थिएनन् । मल्ल राजाहरुले तिब्बतबाट काँचो चाँदी ल्याएर त्यसको बदलामा शुद्ध चाँदीका मोहर बनाएर पठाउँथे र त्यसबापत नेपालले राम्रो कमिसन पाउँथ्यो ।

तर, मल्लकालको उत्तरार्धतिर आर्थिक संकट बढेपछि मल्ल राजाहरुले चाँदीमा तामा र अन्य धातु मिसाएर कम गुणस्तरको खोटा वा अशुद्ध मोहर तिब्बत पठाउन थाले ।

जब पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरे, उनले फेरि शुद्ध चाँदीका नयाँ मोहर बनाउन सुरु गरे । अब समस्या यहाँबाट सुरु भयो । तिब्बतीहरुले थाहा पाए मल्ल राजाहरुले आफूहरुलाई छक्याइरहेका रहेछन् । 

त्यसपछि उनीहरुले भने– हामीकहाँ पहिलेका मल्लकालीन खोटा मोहरहरु प्रशस्त छन् । तिमीहरु ती पुराना अशुद्ध चाँदीमा मोहरहरु फिर्ता लेऊ र त्यसको सट्टामा हामीलाई नयाँ शुद्ध चाँदीका मोहरहरु देऊ । 

तर, नेपालले खोटा मोहरहरु मल्ल राजाहरुको कालमा भएकाले शाह वंशीय राजाले नमान्ने जवाफ दियो । नेपालले स्पष्ट रुपमै खोटा सिक्काको बदलामा शुद्ध चाँदीवाला सिक्का दिन नसक्ने जवाफ दियो । 

यही सिक्काको विवादबाट सुरु भएको मनमुटावले भोटसँगको व्यापारिक बाटोको विषयमा समेत मतभेद बढ्यो । यसपछि नेपाल र तिब्बतबीच सम्बन्ध बिग्रँदै गयो ।

विवाद यतिमा मात्र रोकिएन । तिब्बतमा त्यसबेला ‘स्यामार्पा लामा’ नामका एक उच्चकोटीका धार्मिक गुरु थिए । तिब्बतको आन्तरिक राजनीतिमा विवाद भएपछि उनी आफ्ना अनुयायी र धेरै धनसम्पत्ति लिएर नेपालमा शरण लिन आए । तिब्बतले नेपालसँग ती लामालाई फिर्ता माग्यो, तर नेपालले शरणार्थीलाई फिर्ता दिन अस्वीकार गर्‍यो ।

अन्ततः, बिक्रम संवत् १८४५ अर्थात् सन् १७८८ मा बहादुर शाहको पालामा नेपालले तिब्बतमाथि आक्रमण गर्‍यो । काजी दामोदर पाँडे र बम शाहको नेतृत्वमा गएको नेपाली सेनाले तिब्बती फौजलाई हराउँदै दिगर्चासम्म कब्जा गर्‍यो ।

डराएको तिब्बतले नेपालसँग सम्झौता गर्‍यो, जसलाई ‘केरुङ सन्धि’ भनिन्छ । केरुङ सन्धि अनुसार तिब्बतले नेपाललाई युद्धको हर्जानास्वरुप प्रतिवर्ष ५० हजार रुपैयाँ बुझाउने सर्त स्वीकार गर्‍यो ।

पहिलो वर्ष त तिब्बतले ५० हजार रुपैयाँ बुझायो । तर दोस्रो वर्ष वि.सं. १८४८ मा उसले पैसा दिन अस्वीकार गर्‍यो । यसबाट क्रुद्ध बनेर नेपाली फौज फेरि तिब्बततर्फ लाग्यो । यसपटक नेपाली सेनाले तिब्बतको प्रसिद्ध र धनी तासीहुन्पो गुम्बामा ठूलो हमला गर्‍यो र त्यहाँका बहुमूल्य सुन, चाँदी र धनमाल लुटेर काठमाडौं फर्कियो ।

अब तिब्बत पनि प्रतिकारमा उत्रिने अवस्था भयो । आफ्नो गुम्बा लुटिएपछि र नेपाली सेनाको दबाब बढेपछि तिब्बतले आफूभन्दा शक्तिशाली संरक्षक—चीनका छिङ वंशका सम्राट ‘छियानलोङ’सँग गुहार माग्यो ।

त्यसबेला छिङ साम्राज्य विश्वकै शक्तिशाली साम्राज्यहरुमध्ये एक थियो । सम्राट छियानलोङले आफ्नो साम्राज्यको साख जोगाउन र नेपाललाई पाठ सिकाउन आफ्ना अत्यन्तै कुशल र क्रूर सेनापति ’फु काङआन’को नेतृत्वमा धेरै सेना पठाए ।

इतिहासकारहरुका अनुसार चिनियाँ र तिब्बती संयुक्त फौजको संख्या १० देखि १५ हजारको बीचमा थियो, जुन त्यो जमानाको हिसाबले अत्यन्तै ठूलो र आधुनिक हतियारले सुसज्जित सेना थियो ।

बिक्रम सम्मत १८४९ को मध्यतिर चिनियाँ सेना तिब्बत हुँदै हिमाली नाकाहरु काटेर नेपालतर्फ अघि बढ्यो । उनीहरुले नेपाली फौजलाई केरुङ, स्याफ्रुेसीबाट पछाडि धकेल्दै ल्याए । चिनियाँ सेना यति तीव्र गतिमा अघि बढ्यो कि काठमाडौं दरबारमा त्रासको वातावरण सिर्जना भयो ।

चिनियाँ सेना अघि बढ्दै रसुवा पार गरेर नुवाकोटको नजिकै रहेको बेत्रावती नदीको उत्तरतर्फको किनारमा आइपुग्यो ।

अब स्थिति कस्तो भयो भने, बेत्रावती नदीको पारि उत्तरतिर विशाल चिनियाँ फौज तैनाथ थियो भने वारि दक्षिणतिर काजी दामोदर पाँडेको नेतृत्वमा नेपाली फौज मर्न वा मार्न तयार भएर बसेको थियो । चिनियाँ सेनाको मुख्य लक्ष्य बेत्रावती नदी तरेर नुवाकोट कब्जा गर्दै काठमाडौंसम्म पुग्ने थियो ।

तर, नेपाली फौजले भौगोलिक बनावटको पूर्ण फाइदा उठायो । नेपालीहरुले बेत्रावतीको साँघु भत्काइदिए । जब चिनियाँ सेना नदी तर्न खोज्यो, माथि पहाडबाट नेपाली सेनाले ठूला–ठूला ढुंगा, ढिस्को र काठका मुढाहरु खसालेर आक्रमण गरे । त्यसैबेला बर्खाको समय भएकाले बेत्रावती नदीमा भीषण बाढी आएको थियो ।

भीषण लडाइँ भयो । चिनियाँ सेनाका धेरै सैनिकहरु बेत्रावतीको भेलमा बगे । युद्ध कति भयानक थियो भने चिनियाँ कमाण्डर फु काङआनले पछाडि हट्न खोज्ने आफ्नै सैनिकहरुलाई काट्ने आदेश दिएका थिए भन्ने किंबदन्ती छ । 

लगातारको युद्ध, नेपाली फौजको अदम्य साहस, रसदपानी अर्थात् खाना र हतियारको अभाव, र चिसो मौसमका कारण चिनियाँ सेना पनि गलेको थियो । यता नेपाली सेना पनि लगातारको रक्षात्मक युद्धबाट थाकेको थियो र काठमाडौं जोगाउनु मुख्य चुनौती थियो ।

दुवै पक्षलाई लाग्यो–अब यो युद्धलाई अझ अगाडि बढाउनु कसैको हितमा छैन । त्यसैले, दुवै देश कूटनीतिक सम्झौता गर्न तयार भए । दुवै पक्षका उच्च प्रतिनिधिहरु बेत्रावती नदीको किनारमा भेला भए ।

नेपालका तर्फबाट मुख्य सम्झौताकार काजी दामोदर पाँडे थिए भने चीन/तिब्बतका तर्फबाट सेनापति फु काङआन र तिब्बती प्रतिनिधिहरु थिए ।

स्थानीय जनश्रुति, र इतिहासविद्हरुका भनाइ अनुसार दुवै पक्षका कमाण्डरहरु त्रिशूली र बेत्रावतीको संगमस्थलमा रहेको एउटा विशाल, चेप्टो र सम्म परेको ढुंगामा बसेका थिए । उनीहरुले त्यही ढुंगालाई टेबुल र बैठक स्थलका रुपमा प्रयोग गरेर सन्धिको मस्यौदामा छलफल गरे र सहमतिमा हस्ताक्षर गरे । यसै सम्झौतालाई इतिहासमा ‘बेत्रावती सन्धि’ भनिन्छ ।

खसमा के थियो त यो सन्धिमा ? 

पहिलो बुँदामा थियो, दुवै देशले विगतका वैरभाव भुलेर आपसमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने ।

दोस्रो, नेपाली सेनाले दिगर्चा गुम्बाबाट ल्याएका धनमाल, सुन–चाँदी र मूर्तिहरु तिब्बतलाई फिर्ता गर्ने । यसको बदलामा चिनियाँ सेनाले कब्जा गरेका नेपाली भूभागहरु अर्थात् केरुङसम्मका भाग खाली गरिदिने र नेपाली युद्धबन्दीहरुलाई छाडिदिने ।

तेस्रो, नेपालले अबदेखि तिब्बतका लागि मोहर नबनाउने र सिक्कासम्बन्धी विवाद सधैँका लागि बन्द गर्ने ।

चौथो, नेपालले प्रत्येक पाँच वर्षमा कूटनीतिक शिष्टमण्डल अर्थात् डेलिगेसनमार्फत चिनियाँ सम्राटलाई सम्मानस्वरुप केही स्थानीय उत्पादनहरु उपहारमा पठाउने । 

यसको बदलामा चिनियाँ सम्राटले पनि नेपाली प्रतिनिधिमण्डललाई त्योभन्दा बहुमूल्य उपहार, पोसाक र मान–पदवी दिएर सम्मानपूर्वक फर्काउने ।

पाँचौं, यदि नेपालमाथि कुनै बाह्य शक्ति विशेष गरी भारतमा भित्रिँदै गरेको बेलायती/ब्रिटिस साम्राज्यले आक्रमण गरेमा तिब्ब्तले नेपाललाई सहयोग गर्ने । 

यो सन्धि नेपालका लागि अत्यन्तै चलाखीपूर्ण कूटनीतिक विजय थियो । यसले एकातिर चीनजस्तो महाशक्तिसँगको युद्ध समाप्त गर्‍यो भने अर्कोतिर नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई अक्षुण्ण राख्यो । चिनियाँ सेना काठमाडौं पस्न पाएन र नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रकै रुपमा रहिरह्यो ।

अब फर्कौं अहिलेको घटनामा ।

यत्रो ठूलो ऐतिहासिक महत्व बोकेको बेत्रावती सन्धि जुन स्थानमा भएको थियो, त्यहाँ रहेको त्यो विशाल ढुंगा नै बेत्रावती सन्धिको ‘प्रतीक’ वा ‘साक्षी’का रुपमा उभिएको थियो । हुन त यहाँ दुई वटा विशाल ढुंगा थिए । त्यसैले अर्को एउटा ढुंगा पुुरियो वा बगायो भन्ने थाहा छैन । 

उत्तरगया गाउँपालिका र आसपासका स्थानीय बासिन्दाहरुले वर्षौंदेखि त्यो विशाल ढुंगालाई एउटा पवित्र र ऐतिहासिक धरोहरका रुपमा जोगाउँदै र पुज्दै आएका थिए । 

त्यहाँ आउने पर्यटक, विद्यार्थी र इतिहासप्रेमीहरुलाई स्थानीय बासिन्दाले गर्वका साथ देखाउने गर्थे,  हेर्नुहोस्, यही हो त्यो ढुंगा जहाँ बसेर बहादुर शाहका पालामा चीनसँग बेत्रावती सन्धि गरिएको थियो । 

तर, गत भदौ १० गते आएको रसुवाको बाढीले बेत्रावती तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले सो ढुंगालाई बेत्रावतीबाट बगाएर लगेको छ । 

विगतमा कसैले पनि कल्पना गरेको थिएन कि यो विशाल ढुंगा समेत बगाउने गरी बाढी आउला । २३० वर्षसम्म आफ्नै ठाउँमा अडिग भएर बसेको ऐतिहासिक यो विशाल ढुंगाले पनि आफ्नो ठाउँ छाड्नुपर्ला । 

अहिले सन्धि ढुंगा कहाँ छ भन्ने यकिन छैन । नुवाकोट रातमाटेका स्थानीयले यस्तै एउटा विशाल नदीले ल्याएर छाडेको र त्यो सन्धि ढुंगा नै भएको दाबी गरेका छन् । यद्यपि अहिलेसम्म यसको स्वतन्त्र पुष्टि भएको छैन ।

रसुवाको बाढीले जुन हदको मानवीय क्षति गरेको छ । जसरी मान्छेका घर खेत र सम्पत्ति बगाएको छ, त्यसको क्षतिको आँकलन समेत छैन । त्यसैले मानवीय पक्षमै धेरैको ध्यान केन्द्रित छ । यो नाजायज हैन । 

तर, यो बाढीले सन्धि ढुंगाजस्तै धेरै धार्मिक, सांस्कृतिक र प्राृतिक सम्पदाहरुको पनि विनाश गरेको छ, जसको महत्व अमूल्य छ । अब पुरातत्व विभागसहित स्थानीय सरकारले बाढीले बगाएको सन्धि ढुंगाको पनि खोजखबर राख्न आवश्यक छ । यदि त्यो सम्भव भयो भने भविष्यमा त्यसलाई पुनर्स्थापित समेत गर्नुपर्छ । 

यदि ढुंगा बालुवाभित्र भासिएर गायब भएको रहेछ भने पनि पुरातत्व विभागले बेत्रावती सन्धि सम्झाउने ऐतिहासिक स्मारक बनाउन पहल लिनुपर्छ । जहाँ पुग्दा १८४९ को सन्धि, नेपाल–चीन युद्धको इतिहास र सो ढुंगाको कथा सजिलै बुझ्न सकियोस् । 

भौतिक वस्तुहरु त प्रकृतिले नष्ट गर्न सक्छ, तर इतिहासको ज्ञानलाई कसैले नष्ट गर्न सक्दैन । त्यसैले हाम्रा यस्ता पुराना सन्धि–सम्झौता र त्यसका धरोहर र कथाहरु नयाँ पुस्तासम्म पुर्‍याउनु अपरिहार्य छ । किनकी इतिहास भुलेर वा मेटाएर अघि बढेको समाजको सभ्यता सधैं अपुरो रहन्छ । 

सन्धि ढुंगा त बाढीले बेत्रावतीबाट बाढीले बगाएर लग्यो, तर नेपालको स्वाभिमान, हाम्रा पुर्खाको वीरता र कूटनीतिक चातुर्यको इतिहास बेत्रावतीको भेलसँगै बगेको छैन, बग्ने पनि छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो