नेभिगेशन
समाज

तेस्रो तलामा पुग्दा बाढीले एकै चिहान बनाएका २३ जना को थिए ?

विपदबाट १६ लाख प्रभावित, मृतक संख्या १००० नाघ्यो

नुवाकोट बेत्रावतीको एउटा घर, जहाँ एउटा घरभित्र मात्रै २३ जनाको शब भेटिएको छ । 

नजिकै भेटिएको अर्को शव जोड्ने हो भने यहाँ एकै ठाउँमा २४ जना मृत अवस्थामा भेटिए । 

भोटेकोशी बाढी कति निर्मम थियो भन्ने प्रश्नको जवाफ यही एउटा घरले दिएको छ । 

यो बेत्रावतीको घर बच्चुराम अवस्थीको हो । यो घर अहिले जहाँ देखिन्छ, त्यहाँ छँदै थिएन । 

भदौ १० गते आएको बाढीले यो तीन तले घरलाई जगैदेखि बगाएर यहाँ ल्याइपुर्‍यायो । यहाँभित्र पहिलो र दोस्रो दिन त मान्छेहरु फसेका छन् भन्ने सुइँको समेत कसैले पाएन । 

बाढी गएको तेस्रो दिन भदौ १२ गते यहाँ केही शबहरु देखिएको सूचना प्रहरीकोमा पुगेको थियो । तर, प्रहरी जीवित मान्छेहरुको उद्धारमै व्यस्त भयो । हिँडेर यहाँसम्म पुग्न गहिरो दलदल थियो । हेलिकप्टरविना त्यो घरसम्म पुग्न सक्ने अवस्था पनि थिएन । 

प्रहरीले बाढी गएको ५ औं दिनमा यो घरमा ड्रोन पठाएर केही फोटोहरु लियो । त्यहाँ एउटै तलामा धेरै शबहरु देखिए । त्यसपछि छैठौं दिन भदौ १५ गते बल्ल प्रहरी पुग्यो । 

प्रहरीले घरको तेस्रो तलामा जे दृश्य देख्यो, त्यो एकदमै हृदयविदारक थियो । एकै तलामा यत्रतत्र शबहरु । शबहरु कुहिन सुरु भएर दुर्गन्ध आउन थालिसकेको थियो । प्रहरीले शवहरु संकलन गरेर गन्यो । एक जना बच्चाको शवसमेत थियो । ११ जना पुरुष र १२ जना महिला घरको एकै तलामा मृत अवस्थामा भेटिए । 

प्रहरीका अनुसार यो घर आवासीय मात्रै थिएन । यो घरमा डिर्पाटमेन्टल स्टोर चलिरहेको थियो । विहानको समयमा भएकाले धेरै मानिस यहाँ किनमेल गर्न आएका थिए । 

एक्कासी बाढी आएर घर डुबनमा परेपछि उनीहरु बाँच्च्नका लागि माथिल्लो तलामा चढेको हुन सक्ने प्रहरीको अनुमान छ । तर दुर्भाग्य उनीहरु जति माथिको तलामा गए पनि बाढीको बेग र उचाइ यति भयानक थियो कि उनीहरुले बाँच्न गरेको प्रयास असफल भयो । झन् घर नै उखेलेर बाढीले तलसम्म लग्यो । 

घरको माथिल्लो तलामा पानीको बेग तिब्र नभएकाले शबहरु बगाएन, एकै ठाउँमा थुप्रिएर बस्यो । 

खासमा यो घटनाले देखाउँछ कि यो बाढी कति भयानक थियो । मान्छेहरुले बाँच्नका लागि कसरी संघर्ष गरे ? अनि यो बाढी कसरी मान्छेहरुका लागि  काल बनेर आएको थियो । 

यस्तो अप्रत्यासित बाढी जहाँ घर र पसल भित्र बसिरहेकाहरुले के हुँदैछ भन्ने समेत अड्कल काट्न सकेनन् । केही सेकेन्ड र मिनेटमै थुप्रै बस्तीहरु उजाडिए, कयौंका परिवारसँगै बगे । 

बाढीबाट १६ लाख प्रभावित

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले बाढीको भयानक रुप देखाउँछ । 

प्राधिकरणका अनुसार विपदबाट करिब १६ लाख जना प्रभावित भएका छन् । रसुवा र नुवाकोट अत्यधिक प्रभावित भएका छन् भने धादिङ, गोरखा र चितवन आंशिक रुपमा प्रभावित भएका छन् । 

भदौ १६ गते साँझ ६ बजेसम्म मृत्यु भएका एक हजार ५० जनाको शव फेला परेको छ । 

यी शवहरु रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, तनहुँ र चितवनमा भेटिएका हुन् । कतिपय शवहरु सग्ला छन् भने कतिपय मानव अंग मात्र पनि भेटिएका छन् । 

सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव भेटिएको छ ।  नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव भेटिएको छ । बाढीमा परी अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । 

जसमध्ये नुवाकोटका १५५८, विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना, विदेशी नागरिक ५८३ जना छन् । 

रसुवाका ८६५ जना, विदेशी पर्यटकसँगै रहेका १६४ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमनका ३ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन् । 

सम्पर्कविहीन  भएकाहरु देशका विभिन्न ६२ जिल्लाका छन् । जसमा ८३ जना सुरक्षाकर्मी, १६४ जना विदेशी पर्यटकसँग गएका नेपाली, ५८३ जना विदेशी नागरिक छन् । सरकारी कर्मचारी ६६३ जना र २ हजार ४२३ जना सर्वसाधारण रहेका छन् । 

सबैभन्दा धेरै नुवाकोटका १ हजार ५५८ जना हराएका छन् । रसुवाका ८६५ जना हराएका छन् । बाढीबाट रसुवा र नुवाकोट अत्यधिक प्रभावित भएका छन् भने धादिङ, गोरखा र चितवन आंशिक प्रभावित छन् ।

बाढीका कारण ३ हजार ७०२ घरपरिवारका १४ हजार ४६१ जना प्रभावित भएका छन् । जसमा ७ हजार ४५३ पुरुष र ७ हजार ८ महिला रहेका छन् । अनि ३ हजार ६५० जना बालबालिका र १ हजार २०४ जना ज्येष्ठ नागरिक रहेका छन् । 

नुवाकोटमा १ हजार २६७ घर पूर्ण रुपमा क्षति भएको छ भने १ हजार २५३ घर आंशिक रुपमा क्षति भएका छन् । 

सेटेलाइट म्यापका आधारमा हेर्दा ४ हजार ६८९ वटा घर भोटेकोशी त्रिशुली करिडोरमा प्रभावित देखिएका छन् । 

बाढीबाट रसुवाका दुई गाउँपालिका गोसाइकुण्ड र आमाछोदिङ्मो अति प्रभावित छन् । त्यहाँ ६ दिनदेखि सडक सम्पर्कविच्छेद छ, बिजुली र सञ्चार पनि अवरुद्ध छ । 

बाढीका कारण ४१ वटा मोटरेवल पुल र ४ वटा अरु पुल पनि काम नलाग्ने भएको छ । 

जसमा पृथ्वी राजमार्गबाट धादिङ जोड्ने मलेखुको पुल एउटा हो । त्रिशुली– मैलुङ स्याब्रुवेशी सडकको उत्तरगया गाउँपालिका– ५ खाल्टेको पुल पनि बगाएको छ । 

त्यस्तै नुवाकोट जिल्लामा टोखा छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ को घट्टेखोला पुल पनि बगाएको छ । पासाङल्हामु सडक खण्डमा पर्ने बेलकोटगढी नगरपालिका– १० सिमटारको पुल पनि बगाएको छ । 

रसुवा बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १९ वटा स्कुलका ६ हजार ९०१ जना विद्यार्थी प्रभावित भएका छन् । ८ वटा स्कुल पूर्ण रुपमा काम नलाग्ने भएका छन् भने ८ वटा स्कुल आंशिक क्षति अनि ३ वटा स्कुलका भौतिक संरचना बचेका छन् । 

बाढीका कारण निर्माण भइसकेका र निर्माणाधीन जलविद्युत आयोजना गरी ७८३ मेगावाट विजुलीका प्लान्ट नष्ट भएका छन् । 

बाढीका कारण ४ हजार ४४० रोपनी क्षेत्रको खेतीबाली नष्ट भएको छ । २ हजार ३५ पशुधन नष्ट भएको छ । १६ हजार कुखुरा लगायत चराजन्य पन्छी नष्ट भएका छन् । 

नेपाल टेलिकमको ११० वटा टावर, एनसेलको ७८ वटा टावर ड्यामेज भएका थिए ।

पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्ड, गल्छी देवीघाट र देवीघाट धुन्चे सडक पनि बाढीले प्रभावित छन् । 

४ हजार जना होल्डिङ सेन्टरमा

बाढी पीडितहरु अहिले ३० वटा होल्डिङ सेन्टरमा ३ हजार ९३० जना बसिरहेका छन् । 

नुवाकोटमा १९ वटा सेन्टरमा २६५३ जना छन् । जसमध्ये १३ वटा विदुर नगरपालिकामा ४ वटा बेलकोटगढी नगरपालिकामा र २ वटा किस्पाङ गाउँपालिकामा रहेका छन् ।

रसुवामा ११ वटा होल्डिङ सेन्टर छन् । जसमा १२७७ जना मानिस छन् । ती होल्डिङ सेृन्टरहरु उत्तरगया, कालिका, आमाछोदिङ्मो र गोसाइकुन्ड गाउँपालिकामा रहेका छन् । 

बाढीको कारण 

विपद व्यवस्थापन प्राधिकरणको प्रारम्भिक रिपोर्ट अनुसार नेपाल चीन बोर्डरदेखि २० किलोमिटर माथिबाट हिम चट्टान खसेका कारण बाढी गएको हो । 

हाइ रिजोलुसनको स्याटेलाइट तस्वीरका आधारमा प्रारम्भिक विश्लेषण गर्दा बाढीको उत्पत्ति लेन्दे खोलाको उत्तरतर्फबाट भएको छ । त्यहाँ १ वर्गकिलोमिटर क्षेत्रको हिम चट्टान खसेर तल्लो क्षेत्रमा बजारिएको थियो । यसरी खसेको हिउँ र चट्टानले ठूलो हिमपहिरो सिर्जना गर्‍यो । त्यसले बाटामा माटोसहितका अन्य बस्तुहरु पनि बढार्दै ल्याएको थियो । 

त्यो लेदो र गेग्रानसहितको बाढीले ठूलो भूकम्पले जस्तै जमिनसमेत थर्काएको थियो । लाङटाङ लिरुङ क्षेत्रमा त्यसको मापन करिब ५ मेगावाटको शक्ति बराबर थियो । 

हिमपहिरो झर्ने क्रममा ठाउँ ठाउँमा साना ठूला तालसमेत बनाएको थियो । तीमध्ये कतिपय तालहरु फुटिसकेका छन् भने केही बाँकी छन् ।  

यो भयानक बाढीले करिब ६ खर्ब बराबरको क्षति गरेको सरकारको आँकलन छ । तर, पोस्ट डिजास्टर एसिसमेन्ट पछि मात्रै यसको यकिन विवरण बाहिर आउनेछ । रसुवा र नुवाकोटमा त सरकारले मानवीय क्षतिको आँकलन समेत गर्न सकेको छैन । 

अझै पनि बाढीमा बगेर बेपत्ता भएकाहरुको परिवार आफ्नो मान्छे जीवितै भेटिने आशामा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज