नेभिगेशन
राजनीति

बालेनको भारत भ्रमण : सरप्राइज र ब्रेक थ्रु

प्रधामनन्त्री बालेनले भारतमा मुश्किलले २५ घण्टा बिताए । समयका हिसाबले यो साहै्र छोटो भ्रमण हो । तर, उपलसब्धका हिसाबले भने यो विगतका प्रधानमन्त्रीका ४–५ दिन लामो भ्रमणभन्दा महत्वपूर्ण रह्यो ।  

यो भ्रमणको पहिलो उपलब्धि हो, सीमा विवादमा सम्वादको ढोका खोल्नु । 

२०७७ जेठमा नेपालमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशको राजनीतिक सम्बन्ध तनावपूर्ण रह्यो । त्यसयता प्रधानमन्त्री भएकामध्ये शेरबहादुर देउवा र प्रचण्ड भारत भए । दुबैले सीमा विवादको विषय उठाए । परिणाम, भारतीय पक्ष संयुक्त वक्तव्य जारी गर्न तयार नै भएन । यही कारण केपी ओलीलाई भारतले भ्रमणमा समेत बोलाएन ।  

त्यसैले यो पटक प्रधानमन्त्री बालेनको भ्रमणमा सीमाको विषय उठ्ला कि नउठ्ला ? उठाए पनि भारतले कसरी प्रतिक्रिया देला भन्ने चासो थियो । अझ कतिपयले त बालेनमाथि शंका गरेका थिए । खासगरी रास्वपाको विदेश नीति र बालेनको विगतको अभिव्यक्तिलाई लिएर भारतसँग यो विषयमा संवाद नहुने हो कि भन्ने शंका थियो । 

किनकी पछिल्लो समय नेपाल भारत सम्बन्धलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले ‘हामी विगतको ब्यागेज बोक्दैनौं’ भन्ने गरेका थिए । त्यसको अर्थ सीमा विवाद, ईपीजी लगायतका मुद्दा उठाउँदैनौं भनेको त होइन भन्ने प्रश्न थियो । 

प्रधानमन्त्री बालेनले पनि संसदको रोष्ट्रममै उभिएर ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेका थिए । त्यसैले प्रधानमन्त्री बोलनले भारत भ्रमणमा सीमा विवाद लगायतका मुद्धा छाड्ने त होइन भन्ने आलोचकहरुको आशंका थियो ।

मंसिर ७ गते प्रधानमन्त्री मोदीले सुरुमा राष्ट्रपति भवनमा औपचारिक रुपमा स्वागत गरे । त्यहाँ मोदी र बालेनले अंकमाल गरे । 

त्यसको केही घन्टामा हैदराबाद हाउसमा प्रधानमन्त्री बोलन र मोदीबीच भेटवार्ता भयो । दुई देशको प्रतिनिधिमण्डल स्तरमा पनि सम्वाद भयो । 

पूर्वनिर्धारित तालिका अनुसार ११ बजे दैहराबाद हाउस पुगेका उनीहरुले १२ः४५ मा पत्रकार सम्मेलन गर्नुपर्ने थियो । तर सम्वाद तथा छलफल लम्बिएपछि पत्रकार सम्मेलन आधा घन्टा ढिला भयो । दुबै देशका प्रधानमन्त्रीले पालैपालो सम्बोधन गरे ।

हिन्दीमा सम्बोधन गरेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनको प्रशंसा गरे । विश्वकै युवा प्रधानमन्त्रीका रुपमा राष्ट्रसंघको महासभामा गरेको सम्बोधनबाटै आफूले बालेनको दुरदर्शीताको झलक देखेको सुनाए । हैदराबाद हाउसमा प्रत्यक्ष भेटेर सम्बाद गर्दा क्लियर भिजन र कमिटेमेन्ट महसुस गरेको भन्दै बोलनको प्रशंसा गरे ।

त्यसपछि प्रधानमन्त्री बालेनले नेपालीमा सम्बोेधन गरे । ५ मिनेट लामो सम्बोधनमा प्रधानमन्त्री बालेनले मोदी र आफ्नो बीचमा शताब्दीऔं पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युग सापेक्ष बनाउने उद्देश्यले बहुआयामिक पक्षमा गहन, सार्थक र दुरगामी छलफल गरेको उल्लेख गरे । दुबै देशको समृद्ध भविष्यका लागि मिलेर काम गर्न ज्वाइन्ट भिजन डकुमेन्ट अगाडि सारेको बताए । 

पत्रकार सम्मेलनमा उनले सीमा लगायतका दुई देशका विवादित विषयमा केही बोलेनन् । तर नेपाल र भारतको संयुक्त वक्तव्यमा सीमा विवाद लगायतका नेपालले उठाउँदै आएको विषय सम्बोधन भएको छ ।

संयुक्त वक्तव्यको बुँदा नम्बर १६ मा सीमा विवादको विषयमा प्रष्ट बोलिएको छ । जहाँ भनिएको छ, दुई प्रधानमन्त्रीले सीमा स्तम्भ ममर्तसम्भारमा भइरहेको प्रगतिप्रति सन्तुष्टि जनाएका छन् । साथै सीमा सम्बन्धी मुद्दामा काम गर्न दुबै देशका विदेश सचिवलाई निर्देशन दिइएको छ । 

कूटनीतिक मामिलाका जानकारहरुका अनुसार दुई देशबीच वर्षौदेखि समाधान हुन नसकेका विवाद प्रधानमन्त्रीको एउटा भ्रमणबाट समाधान हुन्न । त्यसैले प्रधानमन्त्री बालेनले यही भ्रमणबाट सबै समाधान हुनुपर्थ्यो भनेर अपेक्षा राख्नु गलत हुन्छ । अहिले समाधान हुने विषय होइन भनेर उठाउन छाड्नु पनि गलत हुन्थ्यो । किनकी नेपालले आफ्नो मुद्दा छाडेको अर्थ लाग्थ्यो । 

यसबाट के प्रष्ट हुन्छ भने प्रधानमन्त्री बोलनले भारतीय समकक्षीसँग सीमाको विषय उठाएका छन् । अनि, दुई प्रधानमन्त्रीले विदेश सचिवलाई यसमा काम गर्न निर्देशन समेत दिएका छन् । यसले सीमा विवादमा नेपाल र भारतबीच सम्वादको ढोका खुलेको छ । 

अब दुई देशका संयन्त्रहरुले फेरि सीमा विवादमा टेबल टक सुरु गर्नेछन् । जुन, नेपालका लागि निकै महत्वपूर्ण उपलब्धी हो । किनकी सीमा विवाद भारतसँग सम्वादबाटै समाधान गर्नुको विकल्प छ । 

एयर रुटमा ब्रेक थ्रु 

अनि यो भ्रमणको सबैभन्दा ठूलो उपलब्धी नयाँ एयर रुटमा ब्रेक थ्रु पनि हो । भारतले पश्चिम नेपालबाट नयाँ एयर रुट दिन सहमति जनाएको छ ।

अहिले एकतर्फी रहेको काठमाडौं–भैरहवा–लखनऊ मार्गलाई अब दुइतर्फी बनाउने सहमति भएको छ । यो भनेको पश्चिमबाट नेपाल आउने अन्तर्राष्ट्रिय हवाई सेवका विमानले अब भैरहवाबट नेपाल प्रवेश गर्न पाउने छन् ।

अहिलेसम्म नेपालबाट जाने विमानले मात्रै यो रुट प्रयोग गर्न पाउँथे । नेपाल आउने विमानले बाराको सिमरा क्षेत्र भएरै नेपाल पस्नुपर्ने बाध्यता थियो । 

अब भने पश्चिमबाट आउने विमानलाई सिमरासम्म आउनुपर्ने बाध्यता हट्नसक्छ । तर, यो नयाँ एयर रुटको विषयलाई अन्तिम रूप दिन दुबै देशका उड्ययनसम्बद्ध प्राविधिक निकायले थप छलफल गर्नेछन् । 

विगतमा महेन्द्रनगरको एयर रुटबारे पनि यस्तै सहमति भएको थियो । तर, पछि भारतले सो रुटमा आफ्ना सैन्यबेसहरु रहेको भन्दै अनुमति दिन मानेको थिएन । 

अहिले भैरहवाबाट एयर रुट दिएर करिब एक दशकदखि नेपालले मागिरहेको पश्चिम नेपालको एयर रुट प्राप्त भएको छ । तर, अझै पनि यो रुट भैरहवा विमानस्थलका लागि उपयुक्त हुने गरी पाइन्छ कि पाइँदैन भन्ने हो । 

भारतले भैरहवाबाट नेपाल आउने विमानलाई आफ्नो आकाशबाटै उचाइ घटाएर आउन अनुमति दिएन भने यो रुट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयोगी नहुन पनि सक्छ । त्यसैले भविष्यमा भारतले यो रुट कसरी दिन्छ भन्नेमा यो ब्रेक थ्रुको खास सफलता जाँचिनेछ ।  

ऋणमाथिको आशंका

यो भ्रमणका क्रममा भारतले रसुवा भोटेकाशी बाढी प्रभावित र सो क्षेत्र पुननिर्माणका लागि २ खर्ब ४० अर्बको ‘डेभलपमेन्ट कोअपरेसन प्याकेज’ घोषणा गरेको छ । यो प्याकेजमा भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण दिनेछ । 

नेपाललाई हाल रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा पुननिर्माण र पुनर्स्थापनका लागि ठूलो सहयोगको आवश्यकता छ । नेपाल त यसका लागि सकेसम्म दाताहरुबाट अनुदानको आशामा छ । यस्तो अवस्थामा भारतले गरेको घोषणाले सरकारलाई केही राहत महसुस भएको छ । 

तर, विगतलाई हेर्ने हो भने आशंका गर्नुपर्ने अवस्था छ । २०७२ सालमा विनाशकारी महाभूकम्प जाँदा पनि भारतले एक खर्ब रुपैयाँको आर्थिक सहयता प्याकेज घोषणा गरेको थियो । पछि उसले यो रकम सबै ऋणका रुपमा लिन नेपाललाई प्रस्ताव गरेको थियो । 

तर, नेपालले ऋण नस्वीकार्ने बताएपछि २५ अर्ब अनुदान र बाँकी ७५ अर्ब ऋणका रुपमा दिने निर्णय भारत सरकारले गर्‍यो । त्यो २५ अर्ब अनुदान रकम पनि भारतीय दूतावासले नै आफैंले विभिन्न स्कुल, क्याम्पस र अस्पतालको पुनर्निर्माणका लागि भनेर खर्च गर्‍यो । 

बाँकी ७५ अर्ब ऋणमध्ये नेपालले १० अर्ब पनि ऋण भारतबाट लिन सकेको छैन । यसको मूल कारण हो, भारतीय शर्त । भारतले यो ऋण भारतीय आयात निर्यात (एक्जिम) बैंकबाट लिनुपर्ने शर्त राख्यो ।

एक्जिम बैंकबाट ऋण लिँदा कडा शर्तहरु मान्नुपर्छ । निर्मण आयोजनाको ठेकेदार भारतले नै छनोट गर्छ, निर्माण समाग्री पनि उसैको प्रयोग गर्नुपर्छ । 

त्यसैले भारतबाट आएको अधिकांश पैसा भारतमै फर्किन्छ । यस्ता अन्य कडा शर्तहरु पनि मानेर यहाँ पूर्वाधार निर्माण गर्नुपर्ने अवस्थाका कारण नेपालले भूकम्पका बेलामा घोषणा भएको भारतीय ऋण उपयोग गर्न सकेको छैन । 

अब फेरि सहयोताको अधिकतम हिस्सा एक्जिम बैंकको ऋण लिनुपर्ने लगभग निश्चित छ । तर, एक्जिम बैंकबाट ऋण लिएर पुनर्निर्माणका परियोजना बनाउनुभन्दा एडीबी र विश्व बैंककै ऋण लिनु धेरै औचित्यपूर्ण हुन्छ । 

त्यही कारण भारतले अंकमा ठूलो रकम घोषणा गरेपनि यो सहायता रकम विगतमा भूकम्पकै बेलामा दिएको ऋणजस्तै बन्ने खतरा छ । 

भारतले दिने प्याकेज ऋणका शर्तहरु खुकुलो र ब्याजदर सस्तो भएको अवस्थामा मात्रै नेपालले यसको उपयोग गर्नसक्छ । नत्र यो ऋण नेपालका लागि ललिपप मात्रै बन्ने जोखिम छ । 

त्यसैले भारतले दिएको २ खर्ब ४० अर्बको प्याकेजमा धेरै उत्साहित हुने ठाउँ नै छैन । अर्थमन्त्रालयका एक पूर्वसचिव त यो सहायता भारतको सहयोग भनेर देखाउने दाँत मात्रै भएको टिप्पणी गर्छन् । 

‘उतिबेलै पनि सहयोग भनेर ऋण थोपरियो, अहिले त्यो परिचालन नभएको ऋण समेत जोडेर यो घोषणा भएको हुनसक्छ, यसले हामीलाई खासै लाभ हुँदैन’, उनी भन्छन्,‘यो सहयोग भनेर देखाइएको दाँत हो, भारतको चपाउने दाँत अर्कै छ ।’   

शिलान्यास र उद्घाटन 

दुई देशका प्रधामनन्त्रीले भर्चुअल रुपमा तीन वटा परियोजनाको शिलान्यास गरेका छन् । 

यसमध्ये सबैभन्दा ठूलो प्रोजेक्ट हो, सिलिगुडी–झापा पेट्रोलियम अलस्टोरेज ग्रिनफिल्ड टर्मिनल  । यो सिलिगुडीबाट झापाको चारआलीसम्म बन्ने पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारण परियोजना हो । 

यो पाइलाइनको कुल लम्बाइ करिब ४९.६ किलोमिटर छ, जसमध्ये १४.६ किलोमिटर खण्ड नेपालको भूभागमा पर्छ । यो पाइपलाइन ८ इन्च व्यासको कार्बन स्टिलबाट निर्माण गरिनेछ । सुरक्षालाई मध्यनजर गर्दै यसलाई जमिनको सतहबाट कम्तीमा १.२ मिटरको गहिराइमा गाडिने छ ।

आयोजना अन्तर्गत झापाको मेचीनगर–१३ स्थित चारआलीमा अत्याधुनिक ‘ग्रिन फिल्ड टर्मिनल’ निर्माण हुनेछ । २३ बिघा ३ कट्ठा १३ धुर जग्गामा फैलिने यो टर्मिनलको कुल भण्डारण क्षमता १८ हजार ९ सय किलोलिटर रहनेछ । 

यो टर्मिनलमा १२ हजार ३ सय किलोलिटर डिजेल र ६ हजार ६ सय किलोलिटरको पेट्रोलको भण्डार रहनेछ । टर्मिनलमा अत्याधुनिक ट्रक लोडिङ सुविधासहित दुईवटा अग्नि नियन्त्रण पानी फोम ट्यांकी प्रणाली हुनेछ ।

यस्तै संखुवासभामा बन्ने तल्लो अरुण आयोजनाको पनि शिलान्यास भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको भारतीय सतलज विद्युत् निगम (एसजेभीएन) अन्तरगतको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले बनाउँदैछ । 

तल्लो अरुण जलविद्युत परियोजनामा भारतले ९२.६८ अर्ब रुपैयाँ बराबरको लगानी गर्दैछ ।  तल्लो अरुण सतलजले हाल निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रोको क्यासकेड प्रोजेक्ट हो । 

यसको मतलब अरुण तेस्रोबाट बिजुली उत्पादनपछि निस्किएको पानीलाई सोझै अर्को सुरुङमा हालेर १७ किलोमिटर तल नयाँ पावर हाउस निर्माण गरेर तल्लो अरुण निर्माण गरिंदैछ । यो आयोजनाबाट उत्पादित बिजुलीमध्ये २१ प्रतिशत बिजुली नेपालले निःशुल्क पाउने छ । तल्लोको प्रतिमेगावाट १३ करोड ७५ लाख रुपैयाँ मात्रै भएकाले यो निकै सस्तो परियोजना हो ।

अनि कञ्चरपुरको सीमा क्षेत्रमा बन्ने बसनासा सुख्खा बन्दरगहाको पनि शिलान्यास भएको छ । यो दोधारा चाँदनीमा भारतले बनाइरहेको परियोजना हो । करिब दुई अर्ब ३७ करोड भारतीयको लागतमा गत वर्षको पुसदेखि सो बन्दरगाह निर्माण भइरहेको छ । 

दोधरा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच साढे ३ वर्षअघि नै समझदारी पत्रमा हस्ताक्षर भएको थियो । ४२.३६ हेक्टर क्षेत्रफल बन्दरगाह निर्माण हुँदैछ । 

यहाँ ठूला गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार बन्दैछन् । नेपालतर्फ सुक्खा बन्दरगाह सम्मको ६ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ । भारततर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण भइरहेको छ । 

अनि दुई प्रधामनन्त्रीले तीन वटा परियोजनाको हस्तान्तरण र संयुक्त उद्घाटन पनि गरेका छन् । भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको पूर्वाधार निर्माणको काम सकेर नेपाललाई हस्तान्तरण गरेको छ । 

यो भनेको अमलेखञ्जमा पेट्रोलियम भण्डारणका लागि भारतले बनाइदिएको नयाँ भण्डारण केन्द्र र अन्य भौतिक पूर्वाधारहरु हो । भारतले अमलेखगञ्जमा ४१–४१ हजार लिटरको दुई वटा ट्यांकी बनाइदिएको छ । सँगै इन्धन लोड अनलोड गर्ने पूर्वाधार केही आवश्यक भवनहरु पनि बनाइदिएको छ । त्यही पूर्वाधार हस्तान्तरण भएको हो । 

अनि यो भ्रमणमा दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल उद्घाटन भएको छ । यो पुल निर्माण पूर्ण रुपमा पूरा भएर नेपालतर्फको १३० मिटर मुख्य सडक बनेको छ ।  ११० मिटर लम्बाइको दुई लेनको यो पुल दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको धार्चुला तहसिल अन्तर्गतको छारछुममा पर्छ ।  

अनि दुई प्रधामनन्त्रीले जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरुवात पनि गरेका छन् । यसलाई सरयू–कमला एक्स्प्रेस रेल सेवा भनिएको छ । 

करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवा सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । प्रत्येक शनिबार दिउँसो १ बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ बजे अयोध्या क्यान्ट पुग्नेछ । 

अनि हरेक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट जनकपुरधामका लागि यो रेल छुट्ने छ । यो रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेशनहरुमा रोकिनेछ । जनकपुरलाई रेलमार्गमार्फत रामायण सर्किटमा जोडेर पर्यटन प्रवद्र्धन गर्न यो रेल सेवा सुरु गरिएको हो । 

अरु पनि सहमति 

यति मात्रै हैन, भारतसँग अन्य विषयमा पनि केही महत्वपूर्ण सहमतिहरु भएका छन् । भारतले नेपाललाई तेस्रो मुलुकसँग आयात–निर्यातका लागि गुजरातको कान्डला बन्दरगाहको प्रयोग गर्न दिन पनि सहमति जनाएको छ । 

हुन त नेपालले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह मागेको धेरै वर्ष भयो । तर, भारतले प्राविधिक कारण देखाएर नेपालले मागेको भन्दा फरक सामुन्द्रिक पोर्टमा पहुँच दिएको छ । नेपालले अहिले भारतको कोलकाता, हल्दिया र विशाखापट्नम पोर्ट प्रयोग गर्छ । अब नयाँ पोर्टबाट नेपालले बाटो पाएको छ । 

भारतसँग ८ वटा विषयमा समझदारीहरु पनि भएका छन् । फरेन्सिक अनुसन्धान र प्रहरी तालिमका लागि सम्बद्ध निकायहरुह बीच एमओयू भएको छ ।

निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रर्वद्धन, संयुक्त स्याटेलाइट सञ्चार नेटवर्क स्थापना, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा क्षेत्र अनि पशुपालन तथा मत्स्यपालन विकासका लागि दुई देशका सम्बद्ध निकायहरु सहकार्य गर्ने समझदारी भएका छन् । यी नियमितजस्तो हुने सामान्य समझदारीहरु नै हुन् । 

यो भ्रमणमा महाकाली सन्धि अनुरुप बन्नुपर्ने पञ्चेश्वर आयोजनाको मुद्दा पनि उठेको छ । तर, यसमा कुनै ब्रेक–थ्रु भएन । दुबै प्रधानमन्त्रीले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोत सम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई द्रुत गतिमा अन्तिम रुप दिन र परियोजनाको कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिएका छन् । 

बालेन र मोदीबीच भारतले नेपालमा एक अफशोर आईआईटी क्याम्पस स्थापना गर्न सहमति पनि भएको छ । यो भ्रमणमा उठेको र भएका महत्वपूर्ण मुद्दा र समझदारी यिनै हुन् । 

०००

समग्रमा भन्नुपर्दा प्रधानमन्त्री बालेनको भारत भ्रमण उपलब्धीपूर्ण नै रह्यो । कतिपयले आशंका गरेको जस्तो बालेनले सीमाको मुद्दा छाडेनन् । बरु सम्वादको ढोका खोले । एयर रुटमा नेपालले खोजनेको जस्तो महेन्द्रनगर नै त पाएन, तर भैरहवामा ब्रेक थ्रु भयो । यसले नेपालको आकाशमा नयाँ ढोका खुला गरेको छ । 

अनि रसुवा बाढीले आहात भएको नेपालले खोजेजस्तै आर्थिक प्यकेज भारतले  दिने घोषणा गरेको छ । यद्यपी यो ऋणबाट नेपालले कति लाभ लिनसक्छ भन्ने प्रश्न छ । परियोजनाहरुको उद्घाटन र शिलान्यस नियमित कुरा नै हो, त्यो पनि यो भ्रमणमा कायमै रह्यो । 

यसरी हेर्दा प्रधानमन्त्रीको भारत भ्रमण सफल नै मान्नुपर्छ । तर, पनि यी सहमतिहरुलाई कसरी टुंगोमा पुर्‍याएर राष्ट्र हितमा प्रयोग हुन्छ भन्ने कुरा महत्वपूर्ण हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति