नेभिगेशन
राजनीति

पूर्वराजाले भने : मुलुकको समग्र संरचनामै परिवर्तन गर्नुपर्छ 

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधार गर्नुपर्ने बताएका छन् । 

आइतबार नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिँदै उनले शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमूल परिवर्तन र सुधार गर्नुपर्ने बताएका हुन् । 

'जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ', उनले आफ्नो शुभकामनामा भनेका छन्, 'शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धतिमा र प्रणालीहरुमा आमूल परिर्वतन र सुधार गरी यीनको आधुनिकरण अनिवार्य भइसकेको छ ।' 

तीनकुनेमा चैत १५ गते भएको हिंसा, आगजनी र तोडफोडबाट आफू अत्यन्तै दुःखी भएको पूर्वराजा शाहले बताएका छन् । उनले देश र भविष्यलाई लिएर नागरिकमा पैदा भएको जागरुकतालाई आफूले सकारात्मक रुपमा लिएको पनि बताएका छन् । 

पूर्वराजाको सम्बोधनको पूर्णपाठ पढ्नुहोस् : 

  • प्रिय आत्मीय दाजुभाइ दिदी बहिनीहरु । 
  • हामी नेपालीहरुको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरुको सुख र शान्तिको मंगलमय शुभकामना । 
  • हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाका बीच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ ।  
  • केही दिनअघिको जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो । त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्त दुःख लाग्यो । 
  • नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, त्यहाँ राम्रो नराम्रो, जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ । 
  • देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुसार परिणाम हासिल हुने विश्वास थपिएको छ ।
  • मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको विदितै छ ।
  • राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहीआएको छ ।
  • वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्य शक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव स्थापित हुनुपर्छ ।
  • राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्योपदेशलाई अबको राज्यसत्ताको मूलमन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो । यही नै राजनीतिको मूलधार हुनुपर्ने हो । 
  • विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपालजस्तो विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुन दृष्टि लगाउनुपर्ने समय आएको छ । स्वदेशी स्रोत र साधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनुपर्ने विश्वपरिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन् । 
  • विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र सीपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्छ । 
  • युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरी नेपालमै आयआर्जन गर्न सक्ने वातावरण तयार गर्न सक्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन मन र ध्यान त्यसैमा लगाउनुपरेको छ ।
  • विश्वभर छरिई रहेका नेपालीहरु एकताको सुत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन । आफ्ना ज्ञान, सीप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्छ भन्ने भावना सबैमा जागृत गराउनुपरेको छ । 
  • प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवत खण्ड नेपाल सिँगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने ? स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको छ । 
  • जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धतिमा र प्रणालीहरुमा आमूल परिर्वतन र सुधार गरी यीनको आधुनिकरण अनिवार्य भइसकेको छ । 
  • युग प्रविधिको हो सावधनीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ । हामी अस्थिरता, अशान्ति अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निमित्त नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यवद्धता रहनेछ ।  
  • शासन र भ्रष्टाचार मुक्त प्रशासन मूल नारा हुनुपर्दछ । हामी अस्थिरता, अशान्ति, अराजकता विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यवद्धता रहन्छ ।
  • मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म संस्कृति तथा जनस्तरमा बढेको निराशा र असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । 
  • नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्ट्राचार र बेथिती देशले थाम्नै नसक्ने स्तरमा झाँगिएको छ, यो परिस्थतिमा नयाँ वर्षलाई उपलब्धीमूलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकतावद्ध प्रयास अपरिहार्य भएको छ । 
  • नेपाली–नेपालीबीच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुखद मनस्थिति नबनोस् । देशबासीहरु कुनै पनि नाम र निहुँमा ध्रुवीकृत नबनुन् भन्नेतर्फ हामी सदैव सचेत र संवदेनशील छौं । नेपालीको एकतामा नै नेपालीको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसात गरेका छौं । सबैले यही वास्तविकतालाई आत्मवोध गर्नुपर्छ भन्ने ठान्दछौं । 
  • हाम्रा आह्वान कसैको निजी स्वार्थ पूर्तिका निमित्त होइन, कुनै खालको सैद्धान्तिक वाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । 
  • आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वत्व र अस्तित्व हामी आफैंले उठाउने हो । संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रब्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान सम्वाद सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ । 
  • आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । 
  • नयाँ वर्षले नयाँ आशा उमंग र उत्साह ल्याओस् अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । 
  • श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । 
  • जय नेपाल । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति