नेभिगेशन
राजनीति

पूर्वराजालाई एमालेको चेतावनी : राजतन्त्र फर्काउने कोशिस नगर्नू

नेकपा एमालेले गणतन्त्र उल्टाउने र राजतन्त्र फर्काउने कुनै पनि प्रयत्न नगर्न पूर्वराजालाई सचेत गराएको छ ।
 
एमाले सचिवालयको सोमबार बसेको बैठकमा पूर्वराजा शाहले नयाँ वर्षको अवसरमा दिएको सन्देशबारे छलफल भएको थियो । र, पूर्वराजा अझै पनि गणतन्त्रलाई उल्टाउन सक्रिय रहेको एमालेले  निष्कर्ष निकालेको छ । 
 
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार तीनकुने घटनापछि पूर्वराजाले ‘मैले हिँडेको बाटो पनि गलत रहेछ । मैले जिम्मा दिएको पात्र पनि लगत रहेछ’ भनेर पश्चाताप गर्नुपर्ने थियो र नागरिकका रुपमा मुलुकको प्रणालीलाई सघाउँछु भन्नुपर्ने थियो । तर अझै पनि राजतन्त्र फर्काउन सक्रिय रहेको प्रष्ट सन्देश सोमबारको वक्तव्यले दिएको उनले बताए ।
 
बैठकपछि एमाले उपमहासचिव ज्ञवालीले भने, ‘उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि ? अहिलेका उपलब्धीहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको पायौं । त्यो एकदमै गलत हो ।’
 
एमालेले तीनकुने घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने समेत दोहोर्‍याएको छ । ७ गते पूर्वराजाले आफूलाई साथ दिन आह्वान गरेको र चैत १४ गते कमाण्डर तोकेको स्मरण गर्दै उनले भने, उहाँले नैतिक रुपमा जवाफदेही लिनुपर्छ ।’
 
सोमबारको वत्तव्यमा पूर्वराजाले निकै गाह्रो मानेर दुःख व्यक्त गरेको, बरु यसलाई जनतामा आएको जागरण भनेकामा समेत एमालेको आपत्ति छ ।
 
एमाले उपमहासचिव ज्ञवालीले भने, ‘सर्वसाधारणको घरमा लुटपाट, सरकारी सम्पत्तिमा तोडफोड, दलको कार्यालयहरुमा विध्वंश, उहाँले खोजेको जागरण त्यस्तो हो भने यो आपत्तिजनक कुरा हो । यस्ताखालका कुनै क्रियाकलाप नगर्न भनेका छौं । यो कुनै अर्थमा स्वीकार्य हुदैन ।’  
 
तीनकुने घटनामा कारबाही पनि हुन्छ भन्ने प्रश्नमा उनले राज्यका निकायहरुले अनुसन्धान गरिरहेको बताए । कुनै पूर्वाग्रह राखेर कसैलाई नफसाउने, तर अनुसन्धानले दोषी देखाएकाहरुलाई कारबाही हुने उनले बताए । 
ज्ञवालीले भने, अनुसन्धानले प्रमाणित भएकाहरुको हदसम्म जोजो जिम्मेवार छन्, उनीहरुलाई सरकारले कानुनको दायरामा ल्याउँछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति