वीरगञ्जमा पनि अघि बढ्यो रविविरुद्धको मुद्दा
प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरी अनुसन्धान सकिएको छ ।
सानो पाइला सहकारी संस्थामा सर्वसाधारणले गरेको वचत अपचलनको घटनामा प्रहरीले अनुसन्धान सकेर गत शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार ठगी र संगठित अपराधमा मुद्दा चलाउन राय दिइएको छ ।
त्यस्तै सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्दै गर्ने गरी सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान सकेर प्रतिवेदन बुझाइएको उनले बताए ।
सानो पाइला सहकारीमा सर्वसाधारणको २ अर्ब ३० करोड १४ लाख २९ हजार ८०० रुपैयाँ अपचलन भएको प्रहरीको प्रतिवेदन छ । यो सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ गैरकानुनी रुपमा लगिएको थियो ।
रवि लामिछाने राजनीतिमा आउनुअघि गोर्खा मिडिया प्रालिको शेयरधनी र प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै समूहले सञ्चालन गरेको सानो पाइला सहकारीबाट गोर्खा मिडियामा रकम ल्याएर अपचलन भएको प्रहरीको निष्कर्ष छ ।
यो काममा शेयरधनी र प्रबन्ध निर्देशकका रुपमा रवि लामिछाने पनि दोषी भन्दै उनीमाथि ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले राय दिएको हो ।
अब प्रहरीको प्रतिवेदन अध्ययन गरेर कुन कुन मुद्दा चलाउने भनेर सरकारी वकिल कार्यालय पर्साले निर्णय गर्नेछ ।
जीबी राई समूहले सञ्चालन गरेको धेरै सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन भएको छ । जसमा कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन सहकारी, वीरगञ्जको सानो पाइला सहकारी आदि छन् ।
रविविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र चितवनमा मुद्दा चलिसकेको छ । कास्की, काठमाडौं, रुपन्देही र चितवनका जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर रुपन्देहीको मुद्दामा उच्च अदालतले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रवि गत चैत २२ गते पक्राउ परेका थिए । उनी चैत २५ गतेदेखि जिल्ला कारागार भैरहवामा छन् ।

राजावादी नेताहरु एउटै मञ्चमा

एमसीसी रोकिन सक्छ, सहनुको विकल्प छैन : ओली
-1745641423.jpg)
शिक्षकहरुले खोजे क्याबिनेटको निर्णय र विधेयक पास गर्ने टाइमलाइन

वार्ता गर्न गएको शिक्षक महासंघको टोली सिंहदरबार गेटबाटै फर्कियो
