नेभिगेशन
राजनीति

४९ दिनपछि रिहा भए रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रिहा भएका छन् । सर्वोच्च अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी जेठ २ गते साँझ रिहा भएका हुन् । 

२०८१ चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नताको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै पटक पटक म्याद थपको अनुमति माग्दै आएको थियो र जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिइरहेको थियो । 

तर मिश्रकी पत्नी सारिकाले आफ्ना पतिलाई गैरकानुनी हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् । उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । 

रिहा भएपछि सर्वोच्च अदालतबाहिर बोल्दै मिश्रले आफूले राज्यविरुद्धको कसुर नगरेको बताएका छन् । 

सर्वोच्च अदालतले काठमाडौं जिल्ला अदालतबाट वैशाख १० गते हिरासतमा राख्न अनुमति दिँदा नै उनीबाट संकलन गर्नुपर्ने प्रमाणहरु संकलन भइसकेका भन्दै हाजिर जमानीमा छाड्न ध्यानाकर्षण गराएको उल्लेख गरेको छ । 

हालसम्म अनुसन्धानको अवस्था हेर्दा उनीसँग सम्बन्धित अधिकांश प्रमाण संकलन भइसकेको देखिएको पनि सर्वोच्चले उल्लेख गरेको छ । 

थप प्रमाण संकलन गर्नुपर्ने भए प्रहरीले खोजेका बेला उपस्थित गराउन सक्ने भन्दै सर्वोच्चले हिरासतमा राख्नुपर्ने नदेखिएको ठहर गरेको छ । 

मिश्रविरुद्ध मुदु्दा चल्ने अवस्था आए तथा थप प्रमाण बुझ्नुपरेमा जिल्ला प्रहरी कार्यालयले खोजेका बखत उपस्थित गर्ने गरी कानुन व्यवसायीको जिम्मामा छाड्न सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिट जारी गरिदिएको छ । 

तीनकुनेमा २०८१ चैत १५ गते राजतन्त्र पक्षधरले विरोध कार्यक्रम राखेका थिए । त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणबाहिर गएको थियो । 

प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर एक जना पत्रकारको मृत्यु भएको थियो । व्यक्तिका निजी घर, सरकारी उद्योग, पार्टी कार्यालय र व्यापारिक भवनहरुमा तोडफोड र आगजनी भएको थियो । 

त्यसै घटना अनुसन्धानका लागि प्रहरीले चैत १५ गते राति नै राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई पक्राउ गरेको थियो । राणा भने यसअघि वैशाख ७ गते राति छुटेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति