दुर्गा प्रसाईंलाई ५ मुद्दा, नवराज सुवेदीसँग सोधपुछसम्म भएन
तीनकुने घटनामा पक्राउ परेकामध्ये हाइ प्रोफाइल हुन् राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईं ।
चैत १५ गते नै पक्राउ परेका धमलशम्शेर स्वास्थ्यको कारण देखाएर वैशाख ७ गते छुटे । त्यसै दिन पक्राउ परेका मिश्र सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिट जारी गरेपछि जेठ २ गते थुनामुक्त भए ।
चैत २८ गते भारतमा पक्राउ परेका प्रसाईं अझै प्रहरी हिरासतमै छन् ।
झण्डै दुई माहिना लामो अनुसन्धानपछि प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गर्यो ।
अदालतमा लगेको मुद्दा हेर्दा सरकार पक्षले तीनकुने घटनाको मुख्य व्यक्ति दुर्गा प्रसाईंलाई नै मानेको देखिन्छ । उनीविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको मुद्दा छ ।
प्रसाईंले आफैंले गाडी चलाएर प्रहरीलाई किचौंला झैं गरेर निषेधित क्षेत्रमा गाडी प्रवेश गराएका थिए । त्यसक्रममा आओ आओ भन्दै आन्दोलनकारीलाई संसद भवनतर्फ जान प्रेरित गरे ।
उनले भड्काउपूर्ण अभिव्यक्ति दिएकै कारण आन्दोलनकारी उत्तेजित भएर तोडफोड ढुंगामुढा र आगजनी गरेका हुन् ।
दुर्गा प्रसाईंपछि यो घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई गम्भीर अभियोग छ ।
मिश्र राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिका सदस्य सचिव हुन् भने राणा आन्दोलन परिचालन समितिका संयोजक थिए ।
उनीहरुले संवैधानिक संरचनालाई पल्टाउने नियतले आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी जनधनको क्षति पुर्याएकाले राज्यविरुद्धको कसूर लगाइएको अभियोगपत्रमा उल्लेख छ ।
मुद्दाको अभियोजनमा पुग्दा पूर्वराजा त धेरै भए । आन्दोलन समितिका संयोजक नवराज सुवेदीविरुद्ध समेत मुद्दा लगिएको छैन ।
तीनकुने घटना भएकै रातबाट उनलाई एक प्रकारले नजरबन्द जस्तो अवस्थामा राखेको थियो । उनको घरमा सुरक्षाकर्मी खटाइएको थियो, राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्न दिइएको थिएन । तर तीनकुने घटनाको अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीसँग बयान समेत लिएन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी अहिलेसम्मको अनुसन्धानबाट सुवेदीको संलग्नता नदेखिएको बताउँछन् । ‘अनुसन्धानबाट संलग्नता पुष्टि भएमा वा सवुत प्रमाणहरु फेला परेमा अझै पनि मुद्दा जान सक्छ’, उनले भनेका छन् ।
अभियोगपत्र अध्ययन गर्दा भेटिएको अर्को रोचक तथ्य के हो भने तीनकुने घटनाको अपनत्व लिन कोही तयार छैन ।
तथ्य के हो भने तीनकुनेको प्रदर्शनको आयोजक, दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान हो ।
चैत १५ अघि नै नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिले सार्वजनिक रुपमै त्यो कार्यक्रमको अपनत्व लिएको थियो । अनि राजावादी तथा हिन्दुवादी दल वा समूहले समर्थन गरेका थिए ।
यदि यो दिनको प्रदर्शन हिंसात्मक भएको थिएन भने फागुन २५ मा जस्तै जस लिने होड चल्ने थियो होला । तर प्रदर्शन हिंसात्मक भयो र सरकार पनि कठोर बन्यो ।
त्यसैले कोही पनि आन्दोलनको अपनत्व लिन तयार भएनन् ।
प्रहरीलाई दिएको बयानमा दुर्गा प्रसाईं स्वयंले तीनकुनेको राजावादी आन्दोलनको अपनत्व लिएका छैनन् ।
उनले मुख्य कमाण्डर संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा भएको बयान दिएका छन् । सुवेदी र राणाबीच छलफल भएपछि आफूले
तीनकुनेको आन्दोलनबारे प्रशासन कार्यालयमा जानकारी गराएको उनको दाबी छ ।
उनले बयानमा भनेका छन्, ‘संयुक्त जनआन्दोलन समितिमा धवलशमशेर राणा आन्दोलन परिचालन तथा व्यवस्थापन समितिका संयोजक हुन् । म निजको मातहतमा रही जनआन्दोलन परिचालन गर्ने भूमिकामा थिएँ । सो भूमिका मलाई नवराज सुवेदीले दिएका हुन् ।’
चैत ४ गतेको बैठकमै आन्दोलनको स्वामित्व र अपनत्व जनआन्दोलन समितिले लिने निर्णय भएको प्रसाईंले बताएका छन् ।
आफूले डा. धवलशमशेर राणा मातहतमा रहेर काम गरेको भन्दै उनले भनेका छन्, ‘आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाको मातहतमा रही मैले सो आन्दोलनको नेतृत्वलाई सहयोग गर्ने हो । मेरो भूमिका आन्दोलनलाई अघि बढाउने हो । अरु मिलाउने भूमिका डा. धवलशमशेर राणाको हो ।’
राप्रपा महामन्त्री धवलशमशेरले भने प्रसाईंतिर देखाएका छन् । तीनकुनेको कार्यक्रमको आयोजक प्रसाई भएको र आफू अतिथिको रुपमा गएको उनको दाबी छ ।
आफ्नो नेतृत्वको आन्दोलन परिचालन समितिको बैठक नै नबसेकाले चैत १५ गतेको कार्यक्रममा संलग्नता नभएको उनले बताएका छन् । राणाले बयानमा भनेका छन्, ‘यो कार्यक्रमको योजना, व्यवस्थापन, सञ्चालन र खर्च सबै दुर्गा प्रसाईले गरेका हुन् ।’
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि कार्यक्रम दुर्गा प्रसाईंले नै आयोजना गरेको उल्लेख गरेका छन् । तीनकुनेको प्रदर्शनका क्रममा रवीन्द्र मिश्रले आन्दोलनकारीलाई माइकबाट निर्देशन दिइरहेको भिडियो उनी आफैंले सामाजिक सञ्जालमा राखेका थिए । त्यतिबेला उनले आन्दोलनकारीलाई यता आऊ, यता आऊ भनेर संसद भवनतिर संकेत गरेको प्रहरीको आरोप थियो ।
तर मिश्रले भने आफूले आन्दोलन भड्काउने गतिविधि नगरेको दाबी गरेका छन् । ‘अश्रुग्यासले पोलेको सुरमा दुई तीन ठाउँमा छोटो छोटो अनियोजित र आवेगमा मन्तव्य दिएको हुँ । तर कुनै पनि मन्तव्य हिंसात्मक किसिमको छैन’, उनले भनेका छन् ।
उनले सामाजिक सञ्जालमा नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै हुने जस्ता कुराहरु पनि लेखेका थिए ।
तर प्रहरीलाई दिएको बयानमा उनले सामाजिक सञ्जालमा आफूले गरेको विश्लेषणको सम्बन्ध चैत १५ गतेको हिंसासँग नरहेको बताएका छन् । ‘म संसद भवनतर्फ गएको पनि छैन, मैले कोही कसैलाई संसद कब्जा गर्न जानु भनी प्रोत्साहन दिने अभिव्यक्ति दिएको पनि छैन’ उनले बयानमा भनेका छन् ।

संसदीय समितिमा रमिता, टेबल ठोकाठोक र बाझाबाझ

भौतिक पूर्वाधारको बजेटमा ओली र देउवाका लागि विशेष प्याकेज

माओवादी र सत्तापक्षबीच सहमति, रास्वपाको नाराबाजीकै बीच संसद सञ्चालन

संसदको अवरोध खुलाउन दलहरु सहमति नजिक, के छ रास्वपाको अडान ?

संवैधानिक आयोगको पदाधिकारीको मुद्दामा निर्णय सुनाउने दिन सर्यो
