नेभिगेशन
राजनीति

अफ्ताब आलमले पाए सफाइ 

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमले सफाइ पाएका छन् ।

बम विस्फोटमा घाइते भएकाहरुलाई ज्युँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसविरुद्ध आलमले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

त्यसमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्लाको फैसला उल्ट््याएको छ । यद्यपि आदेशको लिखित आइसकेको छैन । 

के थियो घटना ? 

२०६४ को चैत २८ गते संविधानसभा चुनाव थियो । त्यसको अघिल्लो दिन विस्फोटको खबर आएको थियो, तर घटना बाहिर आएन । 

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार त्यो बेला आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने काम चल्दै थियो । चुनावमा विपक्षी मतदातालाई तर्साउन बम राखेर तर्साउने आलमको पूर्वयोजना थियो । यसअनुसार बम बनाउन भारतबाट समेत कामदार झिकाइएको थियो ।

बम बनाउने क्रममा विष्फोट भएपछि कामदारहरु घाइते भए । घटना लुकाउन घाइतेहरुलाई इँटा भट्टामा हालिएको थियो । 

तर राजनीतिक पहुँचको भरमा तत्कालीन प्रहरी र महान्याधिकवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरेका थिए । 

पछि पीडितहरुको निवेदनका आधारमा सर्वोच्च अदालतले मुद्दा नचल्ने महान्यायधिवक्ता कार्यालयको निर्णयमा प्रश्न उठायो र अनुसन्धान गर्न आदेश दियो । २०७६ असोज १९ गते प्रहरीले रौतहट क्षेत्र नं. २ का तत्कालीन सांसदसमेत रहेका आलमलाई पक्राउ गरेको थियो । 

प्रहरीले अनुसन्धानमा प्रत्यक्षदर्शीहरुको वयान समेत लिएको थियो । साक्षीहरुलाई सुरक्षा दिएरै अनुसन्धान सकेर आलमविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाएको थियो ।

र, २०७६ कात्तिक २९गते आलमलाई जिल्ला अदालते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । आलमलाई १३ वैशाख २०८१मा जन्मकैदको फैसला सुनाएको थियो । 

तर उच्च अदालतका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन मर्हजनको इजलासले जिल्लाको फैसला उल्टाएको छ ।       
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति