जब प्रहरीले सडकमा घिसार्दै कमल थापालाई भ्यानमा राख्यो
राजसंस्था र हिन्दूराष्ट्र पक्षधरको आन्दोलनको चौथो दिन आज शीर्ष नेतामध्येका एक कमल थापा पक्राउ परे ।
उनलाई प्रदर्शन गरिरहेको ठाउँबाट पक्राउ गरेर घिसार्दै भ्यानमा लगेर राख्यो ।
जेठ १५ गते सुरु भएको आन्दोलन तीन दिनसम्म शान्तिपूर्ण थियो । तर चौथो दिनको आन्दोलनले भने सरकार र आन्दोलनकारी दुबै पक्षलाई उत्तेजित बनाउने देखिएको छ ।
आज चौथो दिन राजसंस्था पक्षधरले नक्सालको नारायणचौर क्षेत्रमा प्रदर्शन राखेका थिए ।
दिउँसो २ बजेपछि नेता– कार्यकर्ता भेला भएर नारायणचौरमा प्रदर्शन सुरु गरेका थिए । तर प्रदर्शनकारी नारायणचौरमा मात्र बसेनन् । उनीहरु जुलुस लिएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढे ।
तर प्रहरी भने उनीहरुलाई नारायणचौरबाट अघि बढ्न नदिने तयारीमा थियो । त्यसैले प्रहरी प्रधान कार्यालय नजिक पुगेपछि प्रहरी र आन्दोलनकारीबीच धक्कामुक्की भयो । केहीबेर धकेलाधकेल भएपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई नियन्त्रणमा लियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता अपिलराज बोहराका अनुसार आन्दोलनकारी बालुवाटारतिर जान खोजेपछि थापालाई पक्राउ गरिएको हो ।
‘हामीले नारायणचौरमा मात्र प्रदर्शन गर्न भनेका थियौं, तर उनीहरुले मुभमेन्ट गर्न खोजे, त्यसैले पक्राउ गरेका हौं’, उनले भने ।
यसअघि राजसंस्था पक्षधरले पहिलो दिन जेठ १५ गते रत्नपार्कमा प्रदर्शन गरेका थिए ।
भोलिपल्ट जेठ १६ गते माइतीघरदेखि बिजुलीबजारसम्मको सडकमा प्रदर्शन गरे ।
जेठ १७ गते भने दरबारमार्गमा प्रदर्शनीस्थल तोकेका थिए । तर अघिल्लो दिन नै सूचना निकालेर जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार बाहिर प्रदर्शन गर्न रोक लगाइदियो ।
त्यसैले जेठ १८ गते राजसंस्था पक्षधरले प्रधानमन्त्री कार्यालय जाने बाटो बालुवाटारमा प्रदर्शन गरे ।
आज पनि उनीहरु नारायणचौरबाट बालुवाटारतिर जान खोजेका थिए । त्यही बेला कमल थापा पक्राउ परेका हुन् ।
कमल थापा पक्राउ परेपछि राजसंस्था पक्षधरहरु उत्तेजित भएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई ससम्मान प्रदर्शनीस्थलमै ल्याइदिन माग गरे ।
नभए देशभरबाट मान्छे बोलाएर काठमाडौंमा ठूलो प्रदर्शन गर्ने चेतावनी दिए ।
उनले घर फर्किन लागेकाहरुलाई पनि फिर्ता हुन आग्रह गरे । सरकार नै परिस्थिति भड्काउन लागेको आरोप पनि लगाए ।
राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको माग गर्दै राजावादी र हिन्दूवादीका ५० वटा समूह र दलहरुले नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको नेतृत्वमा आन्दोलन गरिरहेका छन् ।
-1754133271.jpg)
रेशम चौधरीको महत्वाकांक्षाले पार्टी नै तहसनहस

शेखरको मुभ कत्तिको परिपक्व ?

बागमतीमा लामाले मुख्यमन्त्री नछाडे के हुन्छ ?

मुख्यमन्त्रीलाई हराउँदै दल नेता बने बानियाँ

बागमतीका मुख्यमन्त्रीले गुमाए पार्टीभित्रै बहुमत
