नेभिगेशन
राजनीति

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोड ८ लाखको भ्रष्टाचार मुद्दा

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । सोडारीले १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ भ्रष्टाचार गरेर कमाएको अख्तियारको दाबी छ ।

अख्तियारले सोडारी प्रदेशसभा सदस्य रहेको अवधि २०७४ माघ ७ देखि २०७९ फागुन २० गतेसम्मको सम्पत्ति जाँच गरेको थियो ।

त्यस क्रममा उनको बैंक वचत, पारिश्रमिक,  दैनिक भ्रमण भत्ता, गैरसरकारी संस्थाबाट आउने आय, श्रीमतीको पारिश्रमिक, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता, बुहारीको पारिश्रमिक आदि अध्ययन गरेको थियो ।

त्यस्तै कृषिबाट भएको आम्दानी, बुबा र आमाले पाउने सामाजिक सुरक्षा भत्ता समेत हिसाब गर्दा सोडारीको वैध आम्दानी ८५ लाख ५१ हजार ३३४ रुपैयाँ हुने अख्तियारको जिकिर छ ।

तर जग्गा खरिद, घर निर्माण, घरको आन्तरिक सजावट, छोरीको अध्ययन खर्च, श्रीमती संचालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम,  प्रदेश सभा चुनावमा भएको खर्च, छोराको विवाह खर्च, शेयर लगानी र बैकमा रहेको वचत हिसाब गर्दा सोडारीको खर्च १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

५ वर्ष अवधिमा उनको आम्दानी र खर्चमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँको हिसाब नमिलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

अख्तियारले सोडारीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ । सोडारी सुदूरपश्चिम प्रदेशसभाको अघिल्लो कार्यकालमा सामाजिक विकास मन्त्री र भौतिक पूर्वाधार मन्त्री भएका थिए । नेकपा एकीकृत समाजवादीका नेता उनी प्रदेशसभाको अहिलेको कार्यकालमा भने मुख्यमन्त्री नै भएका थिए ।

अख्तियारले प्रदेशसभा सदस्य सोडारीकी पत्नी र छोराको नाममा रहेको जग्गा, घर र बैंक वचत पनि जफत गर्न माग गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति