अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान गर्न सर्वोच्चले खोलिदियो बाटो

२१ जेठ, काठमाडौं । २० वर्षअघि माओवादी नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लागेको अपहरण र हत्या आरोपमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।
काभ्रेका अर्जुन लामाको अपहरणपछिको हत्या घटनामा प्रहरीले अनुसन्धान अगाडि नबढाएपछि पीडित परिवार २ पटकसम्म न्यायका लागि सर्वोच्च धाए ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि भने जिल्ला प्रहरी कार्यालय काभ्रेलाई यो मुद्दामा अनुसन्धानका लागि बाटो खुलेको छ ।
के हो मुद्दा ?
सशस्त्र द्वन्द्वका बेला २०६२ साल वैशाख १६ गते काभ्रेका अर्जुन लामा माओवादीको अपहरणमा परेका थिए । पछि उनको शव बुढाखानी गाउँको चारकिल्ला भन्ने ठाउँमा भेटिएको थियो ।
त्यसको एक वर्षमा माओवादी शान्ति प्रक्रियामा आयो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले माओवादी नेताहरु सापकोटा, सूर्यमान दोङसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिइन् ।
तर द्वन्द्वकालीन मुद्दा भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले यो जाहेरी दर्ता गर्न मानेनन् । किनकी सशस्त्र द्वन्द्वकालको घटनाको सत्यतथ्य पत्ता लगाउन सत्य निरुपण आयोगले बनाउने बृहत शान्ति सम्झौतामा उल्लेख थियो ।
त्यसपछि पूर्णिमायाले यो मुद्दामा अनुसन्धान गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिइन् । सर्वोच्चले उक्त घटनामा जाहेरी लिएर अनुसन्धान गर्न आदेश दियो ।
सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले जाहेरी दर्ता गर्दै अनुसन्धानका लागि सापकोटा र दोङविरुद्ध पक्राउ पूर्जी पनि जारी गर्यो ।
तर २०६९ साउन १६ गते बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले माओवादी नेताहरु सापकोटा र दोङसहित ६ जनाविरुद्धको मुद्दामा भइरहेको अनुसन्धानसहितका सबै कामकारबाही तामेलीमा राख्ने निर्णय गरेको थियो ।
त्यसपछि गृह मन्त्रालय र तत्कालीन क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएर मन्त्रिपरिषदले अनुसन्धान र कारबाही तामेलीमा राख्ने निर्णय गरेको जानकारी गरायो । अनि यो मुद्दामा फेरि अनुसन्धान रोकियो ।
अर्जुन लामाकी पत्नी पूर्णिमाया मन्त्रिपरिषदको उक्त निर्णय खारेजीको माग गर्दै २०६९ मंसिर ७ गते फेरि सर्वोच्च अदालतमा आइन् ।
यो रिट लामो समयसम्म सर्वोच्चमा विचाराधीन रह्यो । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा अग्नि सापकोटा पटक पटक सांसद, मन्त्री र सभामुख समेत बने । बुधबारको आदेशपछि अब सापकोटा र दोङसहित ६ जनाविरुद्ध हत्या र अपहरण आरोपमा अनुसन्धान गर्न बाटो खुलेको छ ।

संसदीय समितिमा रमिता, टेबल ठोकाठोक र बाझाबाझ

भौतिक पूर्वाधारको बजेटमा ओली र देउवाका लागि विशेष प्याकेज

माओवादी र सत्तापक्षबीच सहमति, रास्वपाको नाराबाजीकै बीच संसद सञ्चालन

संसदको अवरोध खुलाउन दलहरु सहमति नजिक, के छ रास्वपाको अडान ?

संवैधानिक आयोगको पदाधिकारीको मुद्दामा निर्णय सुनाउने दिन सर्यो
