नेभिगेशन
राजनीति

राजावादीको समीक्षा बैठकमा भाँडभैलो

राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको माग गर्दै आन्दोलनरत राजावादीहरुको सीमक्षा बैठकमा भाँडभैलो भएको छ । बैठक नै बिथोलिएपछि आन्दोलनको थप कार्यक्रमसमेत घोषणा भएन । 

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा जेठ १५ गतेदेखि प्रदर्शन भइरहेको छ । पहिलो दिन रत्नपार्कबाट भएको प्रदर्शनमा सहभागीहरुको संख्या राम्रै थियो । त्यसपछि माइतीघर र नक्साल क्षेत्रमा प्रदर्शन भयो । 

त्यसक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेता कार्यकर्ता पक्राउ गरे । त्यसको विरोधमा सुवेदी नेतृत्वको समिति उपत्यका बन्द आह्वान गरेसँगै विवाद सुरु भयो । राप्रपाले बन्दमा आफ्नो समर्थन नभएको घोषणा गर्‍यो । 

बन्द घोषणा प्रभावहीन भयो । स्थानीय प्रशासनले पनि सिफल चौरसहितका स्थानमा मात्र प्रदर्शन गर्न दिने गरी निषेधित क्षेत्र घोषणा गर्‍यो । अलमलका बीच मंगलबार सिफल चौरमा प्रदर्शन भयो । तर सहभागीहरुको संख्या क्रमशः घट्दै थियो । 

त्यसैले अबको आन्दोलनबारे रणनीति बनाउन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले समीक्षा बैठक बोलायो । सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा जनआन्दोलन समितिमा रहेका सबै ४४ दल तथा समूहलाई बैठकमा बोलाइएको थियो । 

राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति पार्टी, शिव सेना, बीपी कांग्रेसलगायत राजसंस्था पक्षधर र हिन्दू राष्ट्र पक्षधर समूह र पार्टीका प्रतिनिधि उक्त कार्यक्रममा पुगेका थिए । तर कार्यक्रम सुरु भएदेखि नै सहज ढंगले अघि बढेन । 
जनआन्दोलन समितिमा सहभागी सबै दल तथा समूहका प्रतिनिधिलाई पालैसँग बोल्न दिइएको थियो । 

बोल्नेहरु कोही राजसंस्था र हिन्दूराष्ट्र स्थापना नभएसम्म आन्दोलन गर्नुपर्छ भन्दै थिए । कोही काठमाडौंमा मात्र होइन, देशभरि आन्दोलन गर्नुपर्छ भन्दै थिए । 

कोही भने काठमाडौंमा निश्चित ठाउँ तोकेर ४ बजेपछि मात्र आन्दोलन गरेमा  धेरै मान्छे सहभागी हुन्छन् भन्दै थिए । कसैले भने गणतन्त्रवादीहरुलाई सत्रु घोषणा गरेर जानुपर्ने र उनीहरुसँग भेटघाट बन्द गर्नुपर्ने धारणा पनि राखे । 

होहल्लाकै बीच शिव सेना नेपाल, बीपी कांग्रेसलगायत विभिन्न संघसंस्था र पार्टीका प्रतिनिधिले बोलिरहेका थिए । 

जतिजति कार्यक्रम अघि बढ्यो, होहल्ला त्यति हुन थाल्यो । त्यही बेला जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले माइक हातमा लिएर पत्रकारहरुलाई हल बाहिर निस्किन आग्रह गरे । 

उनले भन्दै थिए, ‘यो समीक्षा बैठक भएकाले नेतृत्वको विषयमा पनि आलोचना हुन्छ, त्यसैले मिडियाका साथीहरु बाहिर गइदिनुहोला, हामी पत्रकार सम्मेलनमा भेटौंला ।’ 

त्यसपछि पत्रकारलाई हलमा बस्न दिने कि नदिने भन्ने विषयमै विवाद भयो । नवराज सुवेदी र कमल थापाले स्वागत नेपाललाई सम्झाए । पत्रकारहरुलाई बाहिर निकालिएन । 

तर पत्रकारलाई राखेर कस्तो समीक्षा बैठक हुन्छ भनेर विरोध गर्नेहरु पनि उत्तिकै देखिए । 

होहल्ला धेरै भएपछि कार्यक्रम सञ्चालक राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडाले वक्ताहरु घटाए । राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले बोले ।

होहल्लाकै बीच उनले आफ्ना अध्यक्ष राजेन्द्र लिङ्देन संसदको बैठक भएका कारण कार्यक्रममा आउन नपाएको बताए । साथै आफ्नो दल आन्दोलनप्रति प्रतिवद्ध रहेको र आन्दोलनलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने बताए । 

तर बैठकको अध्यक्षता गरिरहेका सुवदीमाथि प्रश्न गर्दै सहभागीहरु पोडियमको वरिपरि झुम्मिए । उद्घोषकले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिए । कमल थापा मञ्चमा गएपछि झन् होहल्ला बढ्यो । कमल थापाले तपाईंहरु होहल्ला गर्ने भए म बोल्दिन भने ।

तर होहल्ला रोकिएन । त्यसपछि धर्मगुरु श्रीनिवास आचार्यले शान्त भएर संयोजकलाई सुन्न आग्रह गरे । लगत्तै संयोजक नवराज सुवेदीले कार्यक्रम उद्देश्य अनुसार चल्न नसकेको भन्दै स्थगित गरे । 

‘सानो कमिटी बनाएर आजै छलफल गरेर आन्दोलन कसरी हुन्छ भन्ने भरेसम्म जानकारी दिइसक्छु’, उनले भने, ‘मैले जुन उद्देश्यले बोलाएको थिएँ, त्यो हुन सकेन ।’ 

कार्यक्रम सञ्चालकको भूमिकामा रहेका राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष सिम्खडा भने आन्दोलनको स्वरुपप्रति असन्तुष्ट युवाहरुले होहल्ला गरेको बताउँछन् । 

उनका अनुसार युवाहरुले अहिलेको जस्तो आन्दोलनले नहुने भन्दै सशक्त बनाउन माग गरेका हुन् । 

‘जुन स्वरुपमा आन्दोलन लगिएको छ, सुरक्षाकर्र्मीले जता जता भन्छ त्यतै त्यतै प्रदर्शन गरेर आन्दोलन हुँदैन, सशक्त आन्दोलन गर्नुपर्छ भन्ने उनीहरुको भनाइ थियो’, सिम्खडाले भने । 

कार्यक्रम स्थगित भएपछि युवाहरुले छुट्टै छलफल पनि गरेका थिए । अहिलेको नेतृत्वले आन्दोलन अघि बढाउन नसक्ने भन्दै विरोध गरे । कोहीले राजेन्द्र लिङ्देन नआएकामा आक्रोशित थिए भने कोही कमल थापाप्रति ।

विगतमा कमल थापा गणतन्त्रवादीसँग मिलेका कारण राजसंस्था पक्षधर कमजोर भएको उनीहरुको तर्क थियो । 

नेतृत्वकै कारण गत चैत १५ गते तीनकुनेको आन्दोलनमा जनधनको क्षति भएको र त्यसको दोष राजसंस्था पक्षधरले बोक्नुपरेको समेत उनीहरुले बताएका छन् । वर्तमान नेतृत्वले राजसंस्था पुनस्र्थापना गर्न सक्छ भन्ने कुनै विश्वास नभएको भन्दै उनीहरुले युवाहरुको नेतृत्वमा आन्दोलन हुनुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति