नेभिगेशन
राजनीति
भिजिट भिसा प्रकरण

गृहमन्त्रीप्रति माओवादी थप लचिलो

प्रमुख प्रतिपक्षी माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा थप लचिलो भएको छ । यद्यपि अरु विपक्षी दलहरुसँग समेत छलफल गरेर मात्र निर्णयमा पुग्ने नेताहरुले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले बिहीबार आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा पूर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष अग्नि सापकोटा जोडिएको अर्जुन लामाको अपहरण तथा हत्याको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल भएको थियो ।

एक पदाधिकारीका अनुसार सञ्चार माध्यमहरुमा आए जस्तो नेताहरुलाई पक्राउ गरेर प्रहरीलाई अनुसन्धान गर्न बाटो खोलेको हो भने यसले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन मद्दत गर्दैन भन्ने नेताहरुको धारणा थियो ।

तर अदालतको फैसलाको पूर्ण पाठ नआएकाले बैठकले कुनै निष्कर्ष निकालेन । एक नेता भन्छन्, ‘अदालतको फैसला पूर्णपाठ अध्ययन गरेर मात्र एउटा निष्कर्षमा पुग्ने भन्ने भएको छ ।’

बैठकमा संसदको अवरोध खुलाउने विषयमा पनि छलफल भएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनाको माग छाडेको माओवादी छानबिन समितिको मागमा पनि लचिलो हुने संकेत देखिएको छ । ‘अख्तियारले अनुसन्धान गरिहेको हुनाले गृहमन्त्रीले त्यसमा सहयोग पुर्‍याउनुपर्छ  । त्यसो हो भने पुनःर्विचार गर्न सकिन्छ भन्ने कुराकानी भएको छ’, एक पदाधिकारीले भने ।

उनका अनुसार गृहमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए संसद खोल्न माओवादी सकारात्मक छ । तर अरु विपक्षी दलहरुसँग पनि छलफल गर्ने उसले बताएको छ ।

त्यसका लागि बिहीबार १२ बजे विपक्षी दलहरुको बैठक बोलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति