वाइसीएलले फिर्ता ल्यायो जम्बो पदाधिकारीको रेकर्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै शब्दमा भन्दा योङ कम्युनिस्ट लिग अर्थात वाईसीएल नेपाल पार्टीको उत्तराधिकारीहरु तयार पार्ने संगठन हो ।
तर त्यही वाईसीएलको नयाँ कमिटीमा भने पदाधिकारीको जम्बो टिम बनेको छ ।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १८ गते काठमाडौंमा सुरु भएको थियो । २० गते नै सकिनुपर्ने सम्मेलन नेतृत्व चयनमा भएको विलम्बका कारण ६ दिनसम्म चल्यो ।
अन्तिममा पुष्प ओलीको अध्यक्षमा नयाँ टिम बन्यो । तर ७५ जना त पदाधिकारी छन् । यसमा २२ जना उपाध्यक्ष छन् । १९ जना उपमहासचिव र ३० जना सचिव छन् ।
हुन त वाईसीएलमा पहिला पनि ६१ जना पदाधिकारी थिए । तर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले २०८० असोजमा ६३ सदस्यीय पदाधिकारी टिम बनाएर त्यो रेकर्ड तोडेको थियो ।
वाईसीएलले त्यो रेकर्ड गुमाउन चाहेको देखिएन । विधानमा अनेक संशोधन गरेर जम्बो टिम बनाएको छ । जबकी राष्ट्रिय सम्मेलनमा ३५ पदाधिकारी रहने गरी विधान प्रस्तुत भएको थियो ।
समूहगत छलफलमा पनि ८ वटा समूहमध्ये एउटाले मात्र पदाधिकारी संख्या बढाउनुपर्छ भनेको थियो । तैपनि जम्बो टिम बनाइयो ।
किन त ? एक केन्द्रीय सदस्यका अनुसार वाईसीएलको नेतृत्वमा लामो समयदेखि जाम भएको थियो । २०७४ मा भएको राष्ट्रिय सम्मेलनबाट रामप्रसाद सापकोटा दिपशिखा अध्यक्ष बने । एमाले र माओवादी मिलेर नेकपा बनेपछि वाईसीएल थप अस्तव्यस्त बन्यो । नेकपा फुटेर एमाले र माओवादी बन्यो ।
वाईसीएलको नेतृत्व फेरि दिपशिखाले गरे । २०७८ मा उनी वाईसीएलबाट विदा भए, तर राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेन ।
पार्टीले सुमन देवकोटा संयोजक र सुवोधराज शेर्पाली सहसंयोजक तोकिदियो । ४० वर्ष उमेर नकटेका पुराना पदाधिकारीहरु सबै त्यहीँ रहे । यही जेठ १८ देखि २० गतेसम्म तेस्रो राष्ट्रिय सम्मेलन बोलाइयो । फेरि नेतृत्व चयनमा अड्कियो ।
आकांक्षीहरु धेरै थिए । त्यसको सहज व्यवस्थापन चुनावी प्रतिस्पर्धा हुनसक्थ्यो । तर माउ पार्टी माओवादीले नै चुनाव हुन दिएन । लामो अलमलपछि माओवादी अध्यक्ष प्रचण्ड आफैंले नेतृत्वका आकांक्षीहरुमध्ये ओलीलाई अध्यक्ष र गणेश शाहीलाई महासचिव तोकिदिए । त्यसपछि अरु अकांक्षीहरुको व्यवस्थापन गर्ने क्रममा ७५ सदस्यीय पदाधिकारी टिम बनेको छ ।
अघिल्लो कमिटीका ६१ पदाधिकारीमध्ये केही उमेर हदका कारण विदा भए, केही विदेशिए । ३४ जना त ४० वर्षभन्दा कम उमेरकै थिए । चुनाव हुन नदिएपछि उनीहरुलाई वाईसीएलबाट अलग गर्ने हो भने अर्को कमिटीमा लैजानुपर्यो ।
तर सबैलाई माओवादीको केन्द्रीय समितिमा लैजान सक्ने अवस्था थिएन । त्यसैले नेतृत्वले ४० वर्षे उमेर हदले नछेक्ने सबैलाई वाईसीएलमै सक्रिय हुन भन्यो । वाईसीएलमा रहने भएपछि पदाधिकारी भइसकेकाहरु सदस्य मात्र बन्न चाहेनन् ।
उनीहरुलाई कायम राख्दा विधान अनुसार पदाधिकारीमा नयाँ त एक जना मात्र आउने भए । त्यसैले आकांक्षीहरु हेरेर विधान फेरफेर गर्नेतिर लागे । पुरानो कमिटीमा रहेका ३४ जनामा नयाँ आकांक्षीहरु थप्दै जाने क्रममा ७५ जनाको पदाधिकारी टिम बन्यो ।
वाईसीएलका एक नेता भन्छन्, ‘एमालेको युवा संघले तीन पटक सम्मेलन गर्दा हाम्रो एउटा पनि भएन । नेतृत्वमा जाम भयो । लामो समयसम्म संगठनमा काम गरेकाहरुलाई यत्तिकै छाड्न पनि मिलेन । सबैलाई समेट्दा पदाधिकारीहरुको ठूलो टिम बन्न पुग्यो ।
अब दैनिक कार्यसञ्चालनका लागि भनेर महासचिव र त्यसभन्दा माथिका पदाधिकारीहरुको कार्यालय वा सचिवालय बनाउने वाईसीएलको तयारी छ । अरु बेला पदाधिकारी र केन्द्रीय समितिको बैठक बस्छ ।
सोमबार विहान वाईसीएल पदाधिकारीहरुसँग भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी सोचेभन्दा बढी बनेको बताए । बढी भएपनि क्षमताहरुको केन्द्रीकरण भएको र यसले संगठनलाई गतिशील बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

संसदीय समितिमा रमिता, टेबल ठोकाठोक र बाझाबाझ

भौतिक पूर्वाधारको बजेटमा ओली र देउवाका लागि विशेष प्याकेज

माओवादी र सत्तापक्षबीच सहमति, रास्वपाको नाराबाजीकै बीच संसद सञ्चालन

संसदको अवरोध खुलाउन दलहरु सहमति नजिक, के छ रास्वपाको अडान ?

संवैधानिक आयोगको पदाधिकारीको मुद्दामा निर्णय सुनाउने दिन सर्यो
